खोला बगिरह्यो,
मानिसले उसको बहाव रोक्न बाँध बाँध्यो
किनारा खुम्चायो, बालुवा खनायो
तर, नदी रोकिएन
नदी अविरल गति समातेर झरिरह्यो
नदी बनिरह्यो, समुन्द्र बनिरह्यो।
पहाड अडिग रहिरह्यो,
मानिसले उसको कद तिखार्यो, जग प्वाल पार्यो,
शीर छेदन गर्यो, पालुवा निमोठ्यो,
तर, पहाड रोकिएन
पहाड अदम्य साहसको साथ उभिइरह्यो
जंगल हुर्काइरह्यो, झाडी बढाइरह्यो।
चरा चिर्बिराइरह्यो,
मानिसले उसको घाँटी अट्ठायो, ठुँड भाँच्यो,
पिँजडाको डर देखायो, प्वाँख कुज्जायो,
तर चरा रोकिएन
चराले पनि मानिसलाई टेरेन
चिर्बाउँदै गुँड बनाइरह्यो, बचेरा हुर्काइरह्यो।
जीवजन्तु, कीटपतंग कसैले मानिसलाई सुनेनन्
ढुंगा, माटो, चट्टान कसैले मानिसलाई मानेनन्
हावा, प्रकाश र मेघगर्जन कसैले मानिसलाई स्वीकारेनन्!
पराजयको सिलसिलेवार शृङ्खलाले
मानिसको सत्तोपरान उड्यो/उडिरहेछ
हरेक पटक-
लाजले शीर
डरले काँध
र, निराशताले आँसु झरिरह्यो।
मानिस आफ्नो लाज लुकाएर
आफ्नो काँध बचाएर
आफ्नो दाँत चम्काएर
अग्ला-बलिया महल ठडाएर घरभित्र लुक्यो,
तर भुइँचालो र सुनामीले मानिसको सातो लिइदियो।
सुकिला, चिल्ला-चिप्ला मोटर र जहाज बनाएर दौडियो,
तर झरी, बादल र पहिरोले मानिसको खुट्टा समाइदियो।
मानिसले अन्तरिक्ष यान बनायो, रकेट लिएर भाग्न खोज्यो
तर प्रकाश, अक्सिजनले मानिसको ओठ सुकाइदियो, घाँटी अठ्ठाइदियो
यो सिलसिला लगातार चलिरह्यो,
मान्छेले तरबार बनायो, बङ्कर र युद्धपोत खडा गर्यो
तर हरिया पालुवाहरू फेरि देखिए, दुबोले कुरुक्षेत्र फेरि हरियो देखियो
र, फेरि अर्को पटक
मानिस पराजित भइरह्यो
पटक-पटक आफ्नो लाज लुकाइरह्यो!
तब न मानवले निम्तायो
धर्मयुद्ध
विश्वयुद्ध
तब न मानवले निर्माण गर्यो,
ग्याँस च्याम्बर
तरबार
र, रोबर्ट
तब न मानवले मच्चायो
कोकोहोलो
रगतको नदी
र, मानव संहार।
फेरि अर्को पटक
मानिस पराजित भइरह्यो
पटक-पटक आफ्नो लाज लुकाइरह्यो!
मानिसले गमला बनायो, तर फूल फुलाइरहन सकेन
मानिसले प्लास्टिकको फूल सार्योइ, तर सुगन्ध बसाइरहन सकेन
अत्तर छर्कियो, तर भमरा डाकिरहन सकेन!
कारणहरू धेरै छन्
परिमाणहरू धेरै छन्!
तर एउटा कुरा सधैँ पक्का छ-
र, फेरि अर्को पटक
मानिस पराजित भइरह्यो
पटक-पटक आफ्नो लाज लुकाइरह्यो!
मलाई पनि त
यतिखेर ऐना सामुन्ने उभिन लाज लागिरहेको छ।
(सेतोपाटीमा बुधबार, असोज २०, २०७८, १४:३३:०४ प्रकाशित)