शहरमा नाटक चलिरहेका छन् । औंलामा गन्न सकिन्छ, तर गनिरहन अल्छी लाग्छ । नाटक पल्लो कुनामा चलिरहेको छ, वल्लो कुनाहरूमा राजनीतिक टिप्पणीहरू चलिरहेका छन्, जो साह्रो बेस्वादिलो छन् । नाटकहरूले जिब्रो पट्काउन दिएका छैनन्, ट्वाक्क । यो यस्तै कुरा हो, सबैले सबै गर्दैनन् । अंशियार हुनु नै जीवनको सार हो ।
शहरमा चलेका नाटकहरूलाई हामी कविता महोत्सव, कला प्रदर्शनी, पुस्तक भेला (मेला), चिया सुरुप्प सुरुप्प र दारु झ्याप्प झ्याप्प जस्ता उपनामले बोलाउनेछौँ । लाग्ने गर्दछ, उपनाम परिचितकै हुने गर्दछ । र, म शहरका प्रायश: नाटकहरूसँग परिचित छु । बाँकी नाटकहरू मबारे परिचित होलान् । भनिहालें- अंशियार हुनु नै जीवनको सार हो । सम्पूर्णत खोज्नु मूर्खता हो । यही म्रुख्याई विद्वानहरूले गरिरहेकाले उनीहरू पटमूर्ख घोषित भएका हुन् ।
लेख्नु र नलेख्नु दोसाँधमा म आज पनि जकडिएको छ । म आफैँ आफ्नो लेखाइसँग सन्तुष्ट छैन । र, म पाउँछु- मबाहेक हरकोही मेरो लेखाइसँग सन्तुष्ट छन् । गफ होइन, भेट हुँदाका गफगाफमा प्रसंशाका केही हरफ र केही कप चिया मैले यो वा त्यो शहरमा खाइरहेको छु । चिया खान बोलाइएका निम्ताहरूलाई टार्ने काम गरिरहेकाले यो गलफतीमा उत्रिएको हूँ ।
मलाई लाग्दछ, म आज ३ महिनापछि अलि ढुक्कसँग लेख्न बसेको छु । ३ महिना नलेख्नुका विविध कारण होलान्, रहलान् । मूलत: ‘लेखुँला-लेखुँला’को ‘लाछी मनोभावना’ प्रमुख कारण हो । म सोच्ने गर्दछु, कोही किन लेखुँला लेखुँला गर्दछ तर लेख्ने गर्दैन ? कोही किन शीर्षक ‘कलर नोट’मा टिपेर महिनौँ अरूका लेख-रचना र चुट्किलाहरू सुनिरहने गर्दछ ? यस सहरसँगको पौने दश वर्षको उठबसले मलाई बताउँदछ कि – यहाँ लेख्नु-नलेख्नुको कुनै भेद छैन । राजधानी सदैव तीन तिघ्रे बनेर हिँडेको छ, यसको मर्दांगी कला-भाषाप्रेमीको लागि टाउको दुखाइको विषय हो तर, दैनिकी उठबसका क्रममा योसँग आफ्नो इज्जत नसाटी धरै छैन । यो शहर आफ्नो ऐतिहासिक र पुरातात्त्विक गौरवगाथालाई सम्झदै बाडुल्की पनि ओकल्दो हो तर..। तर, ऊ जनकलाल शर्माको ‘हाम्रो समाज एक अध्ययन’ बटुलेर कतिन्जेल बस्न सक्छ ? यसपछि उसले मजस्ता धेरैको घाँटी अठ्ठाउँदो हो र कट्टु फुस्काइदिँदो हो । उसलाई यसमै मज्जा छ त मेरो के चल्छ ?
कहिलेकाही निन्द्रा नपर्दा, बिहानसम्म पनि आँखामा कचेरा जम्मा नहुँदा, म सोच्ने गर्दछु- ‘प्रदीप गिरी के कति स्वादले संसदमा हाई -हाई गर्दै संसदका उखानहरू सुन्थे होला ? सत्यमोहन जोशी कुन उन्मादमा देशदेशावर डुल्ने गर्दथे होला ?’ बितिजानेका के कुरा, बाँचिबस्नेहरूमा पनि यस्ता धेरै नाम छन्, जो निरन्तर लेखिरहेका छन् । तर, किन लेखिरहेका होलान् ? पट्यार पनि नलाग्ने । वाक्कदिक्क पनि नहुने । बरै.. मान्नु छ यिनको हिम्मतलाई पनि ।
एउटा साथी हाइकमा गएकी थिई, उसले संस्मरण लेखिपठाएकी छे । ऊ लेख्छे- ‘जिन्दगीको यात्रामा बाटोहरू टुंगिनै लाग्दा पनि विकल्पहरू भेटिन्छन् र भेटिएका पनि थिए ।’ उसले जुन विकल्प भेट्याई, त्योसँग पनि मलाई समस्या छ । म छुट्नु र उसले विकल्प भेट्नु एकैचोटि भएको थियो । तर, गुनासो कति गर्नु ? सबैसँग सबैको लागि हार्दिकता कहिलेसम्म रहोस् ? कोहीसँग कसैको लागि सदिच्छा कहिलेसम्म होस् ? मान्छे पनि त निम्ठो हुन्छ, बिटसम्म भरिएपछि पोखिन्छ । कोही माना होलान्, कोही पाथी तर, हरेक निम्ठो हुने चाह राख्छन् र पोखिन्छन् । भरिनु नियति हो भने पोखिनु स्वाभाविकता हो । यहाँ म सोही काम गरिरहेछु । भरिइरहेछु । पोखिइरहेछु ।
चिसोले नाक चुहिएको छ । काठमाडौंको पनि नाक छ, तर उसको गन्ध हराइसकेको छ । म अझै गन्धालु (सुगन्धालु ?) छु सायद र, मलाई लेखाइको गन्ध वाँस आइरहेछ । हो, लेखाइ एक गन्ध हो । यो गन्ध मनपराउने मौरीहरू कम छन्, बाँकी केजीका केजी चिनी बुत्त्याउनमै लागेका छन् । तिनीहरू उखुको ढाक चिन्दैनन्, तोरीका फाँटहरू जान्दैनन् । नित्य भुन-भुन तिनको खाइपाई हो । भरपाई हो । चारपाई हो । मुवारक !
चिसोले नाक चुहिँदा दिमागको एक नशो बटारिन्छ । तातो हुने मेलोमेसोका तमाम उपकरणहरू मलाई यतिबेला चाहिएको छैन । भनौं न, लेखेरै तात्छु भन्ने छ । तातिएनछ भने तातिएनछ, भुत्रैसित्ती ! तात्तिहालिएछ भने पनि तात्तिहालिएछ, भुत्रैसित्ती ! लेख्नु-नलेख्नुको दोसाँधमा एउटो किरो बत्तीमा झुम्मियो त के भयो ? बाचेछ भने भाग्य बलियो, मरेछ भने कर्महारा !
दाँतमा नङ छ, नहुनु पर्ने थियो तर छ । यो आदत हो, नहुनुपर्ने पर्ने हो तर छ ।
भनौँ न, जे लेख्दा पनि हुने भएको छ । नलेख्दा-नलेख्दा वाक्कदिक्क भएको मनुवालाई लेख्नुको अत्यासले न्याकेको छ किनकि यतिसम्म लेख्नु भनेको ‘लेख्न सकिँदो रहेछ’ भन्ने बोध हो । यो बोधको दुखाइ म महसुस गर्दैछु । मलाई साच्चैमा भन्ने हो भने आज पनि लेख्न थिएन । हिजो पनि मैले लेखेको हो झैँ मलाई लाग्दैन । भोलि लेखुला भन्ने त् सोचेकै कुरा होइन । तर, आज लेखियो । भनियो पनि, ‘नलेख्नु पर्थ्यो, लेखियो । ’
अब खुसी हुँदा हुने हो म । तर मन छैन । मन खुसी छैन ।
अब नाच्दा हुने हो म । तर, मन छैन । नाँच्न मन छैन ।
अब नलेख्दा पनि हुने हो । तर, मन छैन । नलेख्न मन छैन ।
त, फेरी लेख्नु पर्यो । नलेख्नुको असीमितता कारण लेख्नुको सीमिततामा थन्किएको छु । यसलाई थकान मान्दा ‘थाकियो’ भन्न पनि सकियो । तर नभन्ने ! हाललाई थाक्न मन छैन ।
यसप्रकारको मन हुनुका अनगिनत् कारण छन् । मसंग यतिखेर लेख्ने काम गर्नु बाहेक कुनै काम छैन । रुची छैन । जाँगर छैन । पेट भोको छ, भातलाई लात मारिरहेको छु । केहि संस्मरण र रिपोर्टीङ तयार पार्नुपर्नेछ, जाँगर छैन् । केहि अग्रजलाई आफ्नो तयार हुँदै गरेका कथाको पान्डुलिपि बुझाउन जानुपर्ने थियो, डेग चलेको छैन । धादिङ झरेर दुई चार ऐतिहासिक सामाग्रीको जोहो गर्नुपर्ने थियो, निस्कनै मन छैन । समग्रतामा भन्नुपर्दा, हाइसन्चोको स्थितिमा छु । तर, यसलाई ‘छटपटी’ भन्दा उपयुक्त हुन् सक्ला । यो सबै गन्थन एक छटपटाहट हो । छटपटाउनु जीवान्ताको बिम्ब हो भन्ने तोरी तर्कलाई म खोकनाको तोरी मिलमा लगेर पिँध्ने वाला छु, यसैले यस्ता तर्क नगर्नु !
आज दिउँसो दुई-चार कुरा भयो । हरेक दिउँसो हुने गर्दछ, नौलो कुरा केहि नै छैन । यसैले यसलाई ‘त के भयो ?’ भनेर बिट मार्यौँ ।
डेरा फर्कदै गर्दा, तास किनेँ । खेलिनँ । च्यातेँ । च्यात्नलाई आफ्ना कविता-कथा नहुनुले त्यसो गरेको हुँ । र, नमज्जाको कुरा के भन्दा, आजभोलि कापी-कलम समातेर कमै लेखिन्छ (विरलै) । यसो हुँदा च्यात्ने कुरा भेटिदैन । ल्यापटप च्यात्नु भएन । किताब च्यात्नु मेरो हकाधिकार भित्र पर्दैन, म आफ्नो बाहेक हरेकको रचनाको सम्मान गर्छु । तर, फसाद कहाँ छ भन्दा- हरेकमा निकै कम व्यक्ति सूचिकृत गरेको छु ।
फेरि अर्कै कुरा गरि मन बहलाउनु छु । यो साँझ वियाल्नु छ । त, यसो गरौँ;
प्रेम जोसुवाको म्युजिक बजाएर छोडेको छु । एकातिर जोशन कुँवर ‘चौरी हिमाल चराउँदै’ गाउँदै छन् । अर्कातिर किबोर्डमा म खचाखच यिनै कुरा वाकीँरहेछु । भित्तोमा एउटा साङ्लोको अस्थिरपन्जर टाँसिएर बसेको छ । हिजो रातिको मेरै उपद्रव हुँदो हो । हो, हत्या उपद्रवमा दरिएको छ आजभोलि, सायद सदैव ।.. सामुन्नेको दुई रित्ता कप चिनी कमिलाले भरिएका छन् । तातो पानी खन्याएर तुइतुई पिइदिऊ कि भन्ने झोँक चलेको छ । तर मङ्सिर लाग्न लाग्दाको यो कार्तिके जाडोमा मलाई ‘खोला तर्नुछैन ।’ सो त्यसो नगरौं ।
म यहाँनेर एकछिन अल्झिएँ, ‘सो’ नेपाली शब्द हो ? हो क्यारे, ‘उक्त, त्यही’ जस्ता कुरा बताउनु पर्दा प्रयोग हुने सर्वनाम हो – सो । हाहा.. मलाई अङ्ग्रेजी शब्द जस्तो लाग्यो । ..अँ, यस्तो अनेकथरी लागिरहन्छ मलाई । आज बिहान अफिस निस्कन लाग्दा ‘ननिसक्यौं’ भन्ने लागेको थियो । अघि अफिसदेखि घरको लागि निस्कन लाग्दा पनि ‘ननिस्कौं’ लागेको थियो । अघि लेख्न थाल्दा पनि ‘नलेखौं’ लागेको थियो । अहिले लेख तुर्ने बेला भयो भन्दा पनि ‘नतुरौँ’ भन्ने लागेको छ । हाय, अस्थिरता !
प्रकाश पौड्याल मामाले कल गर्नुभयो । भन्दै हुनुहुन्थ्यो- ‘भान्जाश्री, माथिको निबन्ध पढेपछि म निकै हर्षित भएँ र अचम्मित पनि । तपाईँको विचारको बुनाइ, घटनाहरूको सांकेतिक प्रस्तुति निकै अर्थपूर्ण छ । बौद्धिक पाठकको ठूलो माग यसले गरेको छ । बधाइ र शुभकामना । ’
उहाँसँग ३ सूर्यास्त अघि धादिङ बीचबजारमा भेट जुर्यो । उहाँ म कल्चर र हिस्ट्री लेखिरहेको/पढिरहेकोमा खुसी हुनुहुन्छ । म उहाँसँग धादिङ किन बौरिएन ? सोध्दै हुन्छु । उहाँ ‘हामी गर्नुपर्छ भन्नुहुन्छ ।’ धादिङको ऐतिहासिक र सांस्कृतिक विरासतका बारेमा प्राइमरी सोर्स नै जुटाउन परिरहेको गाह्रो मैले उहाँलाई सुनाएँ, उहाँले मुन्टो हल्याउनुभयो ।
तर, म फोन राखिसेपश्चात् सोच्दै छु कि, देशभर नै यही अवस्था छ । अबको एक दशक पनि यसैगरी बितिजाने हो भने हाम्रा तमाम संस्कृति गतार्थ हुनेछन् । ढिलो भएको छ । जागरूकताका ढिकीहरू मिर्मिरेमै चलेका राम्रा हुन्छन्, तर हामीसँग साँझ भइसके पनि ढिकी चलाउनुको विकल्प छैन । ढिकी- तमाम बेथिति र विसङ्गतिहरूमाथि पनि चलाउनु पर्नेछ । को तात्ने ?.. आगामी प्रदेशसभा चुनाव भन्दैछ – ‘म तात्छु ।’ ऊ तात्ने कुराले म तातेको छु । यो मुला तातेरै यो गति भएको हो । यो वित्यास परेको हो ।
दिउँसो कतै कोही मेरो कानसम्म आवाज पुग्ने गरी भन्दै थियो, ‘विश्व शौचालय दिवसको भोलिपल्ट प्रदेशसभा तथा प्रतिनिधिसभा चुनाव हुँदैछ । अब धेरैले त्यसै दिन हग्ने भए !’
त्यो आवाजमा जो मात थियो, माद थियो; त्यो यो लेखाइमा कहाँ ? अत: यसलाई बन्द गर्नु नै जाती हुन्छ ।
(साहित्यपोस्टमा २०७९, कार्तिक २५, शुक्रवार ०७:०१ मा प्रकाशित)