‘पृथ्वीनारायण शाहकाे मृत्यु विष ख्वाएर भएको हुनसक्छ !’

You are currently viewing ‘पृथ्वीनारायण शाहकाे मृत्यु विष ख्वाएर भएको हुनसक्छ !’

तेह्रथुममा जन्मे-हुर्केका लेखक इङ्नाम अहिले काठमाडौँ अनामनगरमा बस्छन् । ६५ वर्षीय इङ्नाम २०७१ सालमा सरकारी जागिरबाट निवृत्त भएपछि निरन्तर लेखनमा तल्लीन छन् । 

प्रस्तुत छ, मदन पुरस्कार पाएपश्चात लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रहका लेखक भगिराज इङ्नामसँग गफिएर द मार्जिनको साप्तहिक स्तम्भ ‘किनाराका साक्षी’ का लागि राजु झल्लु प्रसादले तयार गरेको सामाग्री :

लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रहमा के छ ?



सामान्य पदावलीमा भन्दा, इतिहास भएको कुरा हो । नभएको, हो कि होइन भएको, हुँदै नभएको कुराहरू इतिहास होइनन् । हामीकहाँ चलेको फेसनहरू जस्तै: राजा-महाराजाको वंशावलीको बोहीमात्र इतिहास कदाचित होइन । मिथक र काल्पनिक आख्यान पनि इतिहास होइन । यी सब इतिहासका नक्कल हो, नक्कल इतिहास कदाचित हुन् सक्दैन । 

कुनै पनि घटनाको राजनीतिक, सांस्कृतिक, सामाजिक इतिहास हुन्छ । त्यसको सत्यतथ्य विवरण र निरूपण इतिहास हो । इतिहास जित्नेहरूको मात्र होइन, हार्नेहरूको पनि हुन्छ, लेखिनुपर्छ । ऐतिहासिक चेत हरेक व्यक्तिको आधारभूत तत्त्व हो, हुनैपर्छ । र, यसप्रकारको इतिहास लेखन परम्परा विकसित गर्नका लागि ‘इतिहासको जगमा नै वर्तमान अडिएको कुरा’लाई सबैले बुझ्न आवश्यक छ । इतिहास भूतकालमा मात्र टुकुरटुकुर हिँड्दैन, वर्तमानको विभिन्न आयामहरूसँग पनि उसले उठबस गर्दछ ।

पाश्चात्य विद्द्वानहरूसँगको संसर्गमार्फत अंकुराएको इतिहास लेखनले देशको इतिहास, रहनसहन, रीतिस्थिति, आचारविचारलाई बताउन खोज्यो । तात्कालिक साधन स्रोतहरूको उत्खनन गर्‍यो । पुरानो लिपि, अभिलेखहरू पढ्ने लहर चलायो । उत्खननद्वारा प्राप्त सामाग्री: मुद्रा, मूर्ति, मन्दिरहरूको अध्ययन सुरु गर्‍यो । तर वैज्ञानिक रूपले विधिवत् इतिहासको पुनर्निर्माण गर्न सकेन । अग्रज (सुरुवाती) पुरातात्त्विक अनुसन्धानकर्ताहरू, इतिहासवीदहरूले ऐतिहासिक घटनाहरू वा ऐतिहासिक व्यक्तित्वहरूको बारमा पटक-पटक लेखे तर उनीहरूको पक्षधरता शासकवर्ग उन्मुख भयो । यसपश्चात, इतिहासवीदहरूको ‘अति-प्रशंसा र अति-आलोचना’ले समस्या निम्तायो । यस्ता विभिन्न कारण- साँचो इतिहास पाठ्यपुस्तक हुँदै आममानिसको पहुँचमा पुग्न सकेन ।

इतिहास भनेको शिलालेख, ताम्रपत्र, ताडपत्र, लालमोहर वा स्याहामोहरमा लेखिएका तथ्यहरूको संकलन मात्र होइन, सही अर्थमा इतिहास कसै न कसैको दृष्टिकोणबाट गरिएको तथ्यहरूको विश्लेषण पनि हो भन्ने वाक्यांशसँग पंक्तिकार सहमति जनाउँदै अगाडि बढ्ने अनुमति चाहन्छ ।

प्रजातन्त्र प्राप्त भएको वर्ष (००७) लाई आधार मान्दा जित्नेहरूको इतिहास लेखिन थालेको पनि लगभग ७१ वर्ष हुन् आइपुग्यो । पराजितहरूको इतिहास एकदमै कम लेखिएको, लेखिएकोमा पनि सत्य तथ्यलाई बङ्गाइएको पनि लगभग उत्तिकै वर्ष पुग्न लागेछ । जित्नेहरूको इतिहास लेख्ने क्रममा हार्नेहरूको प्रसङ्ग छुटपुट रूपमा कहिकतै परेको पनि उत्तिकै समय भयो । यद्यपि इतिहासकार इमानसिंह चेमजोङले २००५ सालतिर नै सबाल्टर्न इतिहास (गान्तोकबाट प्रकाशित किरात इतिहास) लेखनको सुरुवात गरिसकेका थिए। तर, उनीपश्चात् सबाल्टर्न इतिहास (तलदेखि इतिहास लेख्ने परम्परा) लेखनले जुन मात्रामा गति समात्नु पर्ने थियो, समात्न सकेको थिएन । 

अझ, लेखिएको भनिएका इतिहासहरू हार्नेहरूको इतिहास हो कि होइन भन्नेमा बहस हुन जरुरी थियो (कहिकतै हुँदै आइरहेको पनि देखिन्छ), भइरहेको थिएन । इतिहास खोतल्ने क्रममा कुन-कुन विद्वानहरू कहाँ-कहाँ पुगे र कुन-कुन निष्कर्षमा हाम्फ्याले भनेर पनि विमर्श हुन आवश्यक थियो, भइरहेको थिएन।  इतिहास लेख्दा पुस्तक, पुस्तकालय, दरबारिया लिखत र सरकारी अभिलेखहरूमा मात्रै सीमित हुने अनुसन्धानको तरिका फेरिनुपर्ने आवश्यकता महसुस भइरहेको थियो, भइरहेको थिएन ।

पुरानो फोहोरको थुप्रोबाट सफा प्लास्टिक टकटकाएर ‘नयाँ तथ्य (इतिहास) भेटिएको’ भाष्य पटक-पटक जोडतोडले उछालिरहिएको थियो/छ । चल्तीको नेपाली भाषाभन्दा बाहिर पुगेर इतिहास लेखन भर्खर-भर्खर मात्रै सुरु भएको हो/छ । इतिहास लेखनमा किरात, नेवार, तामाङ, गुरुङ लगायत मौखिक स्रोत भएका जनजातिहरू, लोक साहित्य र असरकारी स्रोतहरूलाई मान्यता नदिने पुरानो परम्परा बरकरार नै थियो/छ । 

साहित्यतर्फ पनि लगभग यही हविगत थियो/छ । यसैले पृथ्वीनारायण शाह, महेन्द्र शाह, भानुभक्त आचार्य, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम जस्ता ‘ठुला’ नामले गणतान्त्रिक चेतनाका प्रश्न खेपिरहेका थिए/छन् । उनीहरू जस्तै समकालीन लेखक एवं बुद्धिजीवी वर्गहरूले इतिहास स्थिर हुँदैन भन्ने कुरा भुलिरहेका थिए/छन् ।

समग्रमा, ‘इतिहासकारसँग एकैपटक अन्वेषक, जासुस, कवि र कलाकारको समेत क्षमता हुनुपर्छ’ अर्थात् ‘इतिहास लेख्नका लागि सीमित विषयको मात्रै विज्ञताले पुग्दैन’ भन्ने कुरालाई नेपाली इतिहास लेखन परम्पराले भुलिरहेको थियो/छ ।अझ, इतिहास लेखनमा ‘नेपालीपन’को नाममा अन्धराष्ट्रवादको खेती र  ‘जनपक्षधर’ इतिहास लेखनका नाममा इतिहासकै निषेध र अपव्याख्या गर्ने काम पनि भइरहेकै थियो/छ । 

कुनै जमनादेखिका शासक, भारदार, सेनापति, प्रधानमन्त्री, मन्त्री बनेर आएका व्यक्तिहरू र तिनकै वरिपरि मात्र देशको इतिहास, संस्कृति, संस्कार, सङ्ग्रहालय खडा गर्दा र लेखिँदा त्यो देशको जनता खुसी थिएनन् । आम जनता समावेशी चरित्रको आफ्नै इतिहास, संस्कार, संस्कृति र सङ्ग्रहालय तथा इतिहास मागिरहेका थिए । नेपाल खाल्डोभित्र साँघुरिएर बसिरहेको राज्यसट्टालाई आ-आफ्नो गाउँठाउँमा आ-आफ्नो जात–भाषाको संस्कार, संस्कृतिको साँचो इतिहास दिलाउन माग गरिरहेका थिए ।  राज्यको कर्तव्य थियो तर राज्यले यो काम गरेन, गर्न इच्छा देखाएन । राज्यले जनता (विशेषत: आदिवासी, जनजाती र महिला)प्रति अपनत्व र अपेक्षा दुवै नदेखाएको लेखक इङ्नामले आफ्नो ६५ वर्षीय जीवनकालमा राम्रैसँग बुझेका थिए । 

यसैकारण, तेह्रथुम जिल्लाको सुब्बाङ्गी प्रथा (२०७०) र लिम्बू जातिको इतिहास (२०७५) गरी यस अघि दुई वटा पुस्तक प्रकाशन गरेका लेखक इङ्नामले  लिम्बुवानको सिङ्गो इतिहास उधिन्ने क्रममा माथि उल्लेखित यावत विसङ्गति, कमजोरीमाथि लगालग प्रश्न गर्दै इमानदार भएर जवाफ समेत दिए । तीन सय एक वर्ष (वि.सं. १७१९–२०२०) अवधिका दस्ताबेज सङ्ग्रह ‘लिम्बुवानको ऐतिहासिक दस्ताबेज सङ्ग्रह’  हाम्रोसामु राखिदिए । 



यस पुस्तकमार्फत लेखक इङ्नामले आगामी पुस्ता र अध्येयताहरूका लागि लिम्बुवानको इतिहास अध्ययन गर्न माग प्रशस्त गरिदिएका छन् । “लौ, मैले मैले आफूले सकेजति/भेटेजति तिमीहरूको/हामिहरूको इतिहास खोजेर राखिदिएको छु, अब यहाँ आफूहरूलाई खोज/खोजौं’, उनले पुस्तकमार्फत यहि कुरा भनेका छन् । 

यसअघि पनि पटक-पटक लिम्बु जातिको इतिहास लेख्न खोजिएको थियो, लेखिएको पनि थियो तर यति धेरै खोज, अनुसन्धान सही ऐतिहासिक दस्ताबेजहरू सङ्कलन गर्ने आँट पहिलोपटक गरिएकाले इङ्नाम सम्मानको हकदायक रहेको लेखक एवं अध्येताहरू बताइरहेका छन् । सँगसँगै, ३ सय १ वर्षसम्मका सक्कल-नक्कल कागजातहरू समावेश यस कृति पुरस्कृत भएसँगै मदन पुरस्कार गुठी र सरकारको यस कदमलाई स्वागत गरिएको छ । 

‘लिम्बुवान’ भन्नू बित्तिकै जातिवादी भनेर बुझ्नेहरूलाई पुस्तकले थप बुझ्ने मौका दिनेछ  । लिम्बुवान भनेको भूगोल हो । लिम्बुवान भनेको इतिहास हो । लिम्बुवान भनेको ऐतिहासिक राज्य हो । समग्रमा लिम्बुवान भनेको इतिहासमै उन्नत लोकतन्त्र, महिला समानता, समावेशिता सँगसँगै आफ्नै मौलिक भाषा धर्म, संस्कार संस्कृतिले भरिएको नेपाल नामक देश भित्रको एउटा सक्षम राज्य हो ।’ भनेर सागर सरगम चेम्जोङले स्ट्याटस राखेका छन् । यसैगरि, गणेश कार्कीले लेखेका छन्, ‘यो पुस्तक मात्रै होइन, भविष्यका लागि वर्तमानले सुरक्षित राखिदिएको इतिहासको नासो हो । यो मदन पुरस्कारकै वजन बढाउने पुस्तक हो । मदन पुरस्कारलाई बधाई छ ।’ 

विशाल नाल्बो आफ्नो कुराहरू पनि सम्मानको हकदार भएको खुसी लागेको बत्ताउँछन् । यसैगरि, “पुरस्कारको दाबीको लागि सरसल्लाह दिने व्यक्तिको हैसियतले आफू नै पुरस्कृत भएको अनुभूति भइरहेको राजकुमार दिक्पालले बताएका छन् । 

नेपालको पूर्वाञ्चलको ऐतिहासिक दस्ताबेजहरूको सँगालो ‘लिम्बुवानको ऐतिहासिक दस्ताबेज’ जनसमक्ष ल्याइदिएकोमा खुसी व्यक्त गर्दै शताब्दी पुरुष सत्यमोहन जोशीले भूमिकामा लेखेका छन्, “यतिबेला हाम्रो देश राजतन्त्रात्मकता गणतन्त्रमा प्रवेश गरिसकेको छ, हाम्रा सात इन्द्रधनुषी प्रदेशहरू छन् । हामीहरूको सांस्कृतिक विविधतामा समावेशीकरण र सहअस्तित्वको आधारमा नेपालको ‘राष्ट्रिय इतिहास’ को निर्माण कार्यमा प्रस्तुत ग्रन्थ एउटा अमूल्य उपलब्धि भएको छ ।” 

यसैगरी, भूमिका लेखनकै क्रममा वरिष्ठ साहित्यकार वैरागी काइलाले लेखेका छन्, “लिम्बूजाति, भाषा, धर्मसंस्कृति, रीतिथिति, भूमि र राजनैतिक व्यवस्था र भाषिक प्रणालीको प्रामाणिक इतिहास लेखनमा इङ्नामको यस बहुमूल्य ग्रन्थले ठुलो सहयोग दिनेछ । उनको यो पुस्तक आफैँमा सुनको अक्षरमा लेखिएको दस्ताबेज हो ।”

‘इतिहास संरक्षण गर्नुपर्छ भन्ने लागेपछि म यो निकाल्न जसरी पनि लागिपरेँ । आफूलाई टाइप गर्न नआउने, यसमै मेरो धेरै समय र स्रोत खर्च भयो । तर, म सन्तुष्ट छु । एक हजार प्रति छापेँ । छाप्दा १३ लाख रुपैयाँ खर्च भयो’, ६५ वर्षीय लेखक इङ्नाम भन्छन। आफ्नो लामो मिहेनत र परिश्रमस्वरूप तयार भएको पुस्तकलाई राज्य(गुठी)ले सम्मान गर्दा आफू खुसी रहेको उनी बत्ताउँछन् । 

२०७० बाट किताब लेख्ने सुर थालेका लेखक इङ्नामले झन्डै सातवर्षे अवधि सेन र शाह राजाहरू तथा राणा शासकबाट पल्लो किरातका लिम्बू, राई, याक्खा, आठपहरिया तथा लोहरूङलाई सुब्बा, राय, राई, रायगिरी र मझिया सम्बोधन गर्दै जारी गरेको स्याहामोहर, लालमोहर, कस्यरुक्का, कस्यपत्र र इस्तिहार सङ्कलन गर्नमा खर्चिए । ३४ वर्ष ८ महिना सरकारी सेवामा खटिएका भगिराज जागिरबाट अवकाश मिल्ने बित्तिकै पाको उमेरको जोस निकालेर दस्ताबेज सङ्कलन यात्रामा निस्किएका थिए । 

लिम्बुवानको सिङ्गो इतिहास उधिन्ने ध्याउन्नमा पहिलेदेखि नै रहेका उनले करिब सात वर्षे अवधिमा ७८ वटा सक्कल लालमोहर र ३ सय ९५ वटा अभिलेख जम्मा पारे । 



पुस्तकमा के छ ? 

इतिहासकार बालचन्द्र शर्मादेखि बाबुराम आचार्य, योगी नरहरिनाथ र इमानसिंह चेम्जोङद्वारा लिखित इतिहास पढेका लेखकले आफ्नो पुस्तकमा इमानदारिता देखाएका छन्, जे भेटिएको हो, जस्तो अवस्थामा भेटिएको हो- सो कुरालाई तोडमोड नगरीकन  राखिदिएका छन् । साथै अग्रज इतिहासवादहरूका गल्ती, कमजोरीलाई पनि इंकित गरिदिएका छन् । 

यस दस्ताबेज सङ्ग्रहमा वि.सं. १७१९ देखि २०२० सम्म ३ सय १ वर्षसम्मका कागजात समावेश छन् । स्थलगत भ्रमण गरी सङ्कलन गरिएका स्याहामोहर, लालमोहर, कस्यरुक्का, कस्यपत्र,  इस्तिहार र अन्य ऐतिहासिक, पुरातात्त्विक दस्ताबेजहरू हुबहु जे-जस्तो अवस्थामा भेटिएका थिए, उसैगरी सङ्गृहीत छन् । अमाली सुब्बाहरूमा परेको फिराद, उजुरी-पत्रहरू, सुब्बा र रैतीबीच भएका लिखतहरू, मुचुल्काहरू, कम्पु पल्टनमा दाखिला गरेका रसिदहरू, सपर्ट जाँच एवं अड्डा-अदालतबाट जारी भएका पत्रहरू पनि पुस्तकमा समाविष्ट छन् । उनले जम्मा पारेका दस्ताबेजमा कोही देवनागरी लिपिमा त कोही मैथिली, हिन्दी र कोही लिम्बू भाषामा लेखिएका छन् ।

अलपत्र एवं बेवारिसे अवस्था आफ्नो ऐतिहासिक महत्त्व लगभग गुमाउने अवस्थामा पुगिसकेका दस्ताबेजहरूको सङ्कलन र सङ्कलन गरिएका सक्कल, नक्कल दस्ताबेजहरूलाई यथावत् अवस्था राखी  सरलीकरणसमेत गरिनु नै पुस्तकको विशेषता हो । अझ,  पुस्तकमा समावेश गरिएका अधिकांश दस्ताबेजहरू प्रथमपल्ट प्रकाशित भएका हुनाले पनि यसको ऐतिहासिक महत्त्व अझ धेर छ ।



घना लिम्बु बस्ती रहेको तमोर खोला, ताप्लेजुङ, याङरुप, पाँचथर, आठराई, फेदाप, छथर, चौबिस र मिक्लाजुङ थुमहरू, धरान, झापा सँगसँगै काठमाडौँ उपत्यका (राष्ट्रिय अभिलेखालय, भूमि व्यवस्था  तथा अभिलेखा शाखा- डिल्लीबजार, परराष्ट्र मन्त्रालयका कागजातहरू) लाई खोज-अनुसन्धानको प्राथमिक स्रोत बनाइ विभिन्न व्यक्तिहरूकहाँ समेत पुगी दस्ताबेजहरू सङ्कलन गरिएकाले पनि यो पुस्तक इतिहासप्रति चासो हुनेहरूका लागि उपयोगी साबित हुन्छ ।

मितिअनुसार कागजातहरूको क्रमबद्धता, दस्ताबेजको स्पष्ट प्रस्तुति, संक्षिप्त विषयसार र टिप्पणी लगायतका कुराहरूले पुस्तकलाई अझ महत्त्व प्रदान गरेको छ । भाषा शास्त्रीहरूलाई भाषा विकासको इतिहास बुझ्न पनि यस पुस्तकले सघाउ पुर्‍याउनेछ । यसैगरी, हाल निषेध रहेको तर इतिहासमा लिम्बू जातिले भाइबुहारी बिहे गरेको प्रमाण पनि पुस्तकमा समावेश भएको छ । 

यता, राजा पृथ्वीनारायण शाह र प्रतापसिंह शाहको मृत्युसम्बन्धि टिपोट संकलनमार्फत इतिहासमै पहिलोपटक पृथ्वीनारायणको मृत्यु नभइ हत्या भएको हो कि भन्ने संकेत पनि गरेका छन् । “बिरामी भएको नौ दिनमा राजा पृथ्वीनारायाण शाहको मृत्यु भयो । (आचार्य २०६९, दोस्रो संस्करण पृ.४३५, शर्मा २०४०, पृ. २३४) तर यो टिपोटअनुसार बिरामी भएको आठौँ दिनमा मृत्यु भएको देखिन्छ ।  यस टिपोटमा राजाद्वयको मृत्युमा शंका उपशंका गरेका छन् । प्रतापसिंह शाहको मृत्यु सम्बन्धमा केही भारदारहरूलाई पक्री केरकार गर्दा कचहरीमा काजी स्वरूपले अराएको हुँदा प्रयोग गरेको भनी बलभद्रले बयान गरेको हुँदा कतै विष सेवन गराएको हो कि ? भनि शंका गर्ने ठाउँ छ”,  पृ. ५८७ मा उनले लेखेका छन् ।



विशेषगरी पुस्तकमा पल्लो किरात लिम्बुवानसँग सम्बद्ध र सान्दर्भिक अन्य क्षेत्रका लागि जारी भएका दस्ताबेजहरू पनि तुलनात्मक रूपमा अध्ययनको लागि समावेश गरिएका छन् । पुस्तकमार्फत पल्लो किरातको किपट, भूमि र सुब्बाङ्गी प्रथाबारे तुलना गर्न सकिन्छ।  लिम्बू, राई, याक्खाहरूको धर्म, संस्कार , संस्कृतिमा राज्य पक्षबाट भएको दमन (हिन्दूकरणको नालीबेली) यहाँ भेट्न सकिन्छ । यसैगरी, लिम्बुलाई मात्रै सुब्बाङ्गी, किपट दिने चलन भएर शासक वर्गले अन्य र अन्त पनि सुब्बाङ्गी, किपट दिएको तथ्यमाथि पुस्तकले प्रकाश पारेको छ ।



वि.सं. १९७२ मा चन्द्रशमशेरले पहिलो विश्वयुद्ध लड्नका निम्ति इस्ट इन्डिया कम्पनीमा भर्ती हुन् यो–यो जात जानु भनेर तोकेरै जारी गरेको इस्तिहार पुस्तकमा छ । वि.सं. १८७२ मा नेपाल इस्ट इन्डिया कम्पनीबिचको युद्धमा पूर्वका राईहरू हातहतियार लिएर विजयपुर किल्लामा पुगेकोदेखि वि.सं. १९१२ को नेपाल–तिब्बत युद्धमा नेपालले ओलाङचुङगोला, केरुङ, कुतीलगायत स्थानमा आक्रमणमा सहभागी हुन तात्कालिक शासकले सुब्बाहरूलाई इस्तियार जारी गरेको पुस्तकमा उल्लेख छ । तत्कालीन शासकले ढाल, तरबार र बन्दुक लिएर उपस्थित हुन सुब्बाहरूलाई इस्तियार जारी गरेको प्रमाण पुस्तकले बोल्छ ।

गाई वध गर्न निषेध गरी लिम्बूको संस्कृतिमाथि दमन सुरु गरिएको विषयवस्तुमा पुस्तक बोलेको छ । शाहकालमा सम्वत १८४३ फागुन सूदी रोज १, ऐ. ज्येष्ठ सुदी २ रोज २ लालमोहरबाट गाई वध गर्न निषेध गरी लिम्बू रायको संस्कृतिमाथि दमन गरिएको प्रमाण लेखकले अगाडी सारिदिएका छन् । 



लेखकले शासकद्वारा लिम्बू किरातीलाई दुई खेमामा विभाजित मात्रै नगराई मुन्धुम मान्ने लिम्बूहरूलाई निरुत्साहित र हिन्दुधर्ममा लाग्ने लिम्बुहरूलाई प्रोत्साहित गरिएको तथ्य अगाडी सारिदिएका छन् । अझ, वि.स. १९७५ को कागजात अगाडी सार्दै लिम्बू किराँतीहरू सेनकालबाटै नीति र स्मृति (हिन्दूधर्म) मान्दै आइरहेको तथ्यलाई उजागर गरेका चाहन । यसैगरी, लेखकले शासक वर्गले गुरुङलाई चार-स्रोह, तामाङलाई बाह्र-अठार जातमा विभाजन गरी एकै जातमा ठुला-साना बनाइ जातीय विभाजन गरी फुट गराउन सफल भएको तथ्यलाई पनि हाम्रोसामु राखेका छन् ।

सरसरती भन्नुपर्दा, किताबको भाग १ मा राजाहरूबाट प्रदान गरिएका सक्कल स्याहामोहर, लालमोहर र रुक्का समेटिएका छन्। भाग २ मा स्याहामोहर, लालमोहर र रुक्काका नक्कल छन्। भाग ३ मा राणा प्रधानमन्त्री, सरकारी अड्डाबाट प्रदान गरिएका कागजपत्रलगायत छन् ।



अन्त्यमा,
सात साललाई आधार मान्दा मूलधार अर्थात् जित्नेहरूको इतिहास लेख्न थालेको लगभग ७० वर्ष व्यतीत भइसकेको रहेछ। यस अवधिमा पराजितहरूको इतिहास अत्यन्त कम लेखिएको प्रतीत हुन्छ। यद्यपि इतिहासकार इमानसिंह चेमजोङले २००५ सालतिर नै सबाल्टर्न इतिहास (गान्तोकबाट प्रकाशित किरात इतिहास) लेखनको सुरुवात गरिसकेका थिए। जित्नेहरूको इतिहास लेख्ने क्रममा हार्नेहरूको प्रसङ्ग केही मात्रामा परेको देखिएको थियो। सँगसँगै, लेखिएको (लेखाइएको ?) इतिहास हार्नेहरूको पनि इतिहास हो कि होइन भन्नेमा बहस हुन जरुरी थियो। इङ्नाम यस पुस्तकमार्फत यसप्रकार बहसहरू सुरु होउन् । इतिहास लेखनका क्रममा बरालिएको बहस-विमर्शले पनि यस पुस्तकमार्फत आफ्नो बाटो भेट्न सकोस् ।

साथै, इतिहास पढ्ने/पढाउने, लेख्ने/लेखाउने प्रवृत्ति छुट्दै गइरहेको परिवेशमा भगिराज इङ्नामले ‘लिम्बुवानको ऐतिहासिक दस्ताबेज सङ्ग्रह (संवत् १७१९-२०२०)’ नामको पुस्तक २०७७ को मदन पुरस्कारबाट सम्मानित गर्‍यो। इतिहासका नाममा राणाकालीन र राजतन्त्रकालीन मूल्यलाई नै निरन्तरता दिने परम्पराबाट बाहिर निस्कन खोजेको हो कि भन्ने प्रत्याभूति दिलाएकोमा गुठीलाई पनि साधुवाद । 

अस्तु !

Leave a Reply