“आजभोलि के गर्दै छस्, ब्रो?” – कसैले सोधिहाले सिधै झ्वाम्मै भन्दिन्छु, “यो, रिल्स हेर्दैछु यार!”
या कहिलेकाहीँ त रिल नै फ्याट्ट ठेल्दिन्छु।
उसले पनि कुरो फटाफटी बुझ्छ, ‘झल्लु रिल्ससँग झुत्ति खेलिराछ!’
मेरो पछिल्लो दैनिकीको केही हिस्सा यसरी नै मस्त चल्दै छ! म धेरै (भनेको १०/१२ घण्टा) डिजिटल स्क्रिन ओहोरोदोहोर (फेसबुक-युट्युब-टिकटक-लिङ्क्डइन-स्न्यापचैट आदित्यादी) गरिरहने झन्झटिलो मान्छे होइन।
मेरो मोबाइलमा एउटो मेसेन्जर एप्स छ, एउटो ह्वाट्सएप छ, र एउटो इन्स्टाग्राम छ। बाँकी चाहिए ल्यापटपको झ्याली (window क्या) खोल्छु। मलाई अनावश्यक डिजिटल लाइभ चाहिएकै छैन, ट्याउँ छैन।
फिल्म, नाटक, गीत, किताब, हाइक, अनि थोरबहुत देश निर्माण (जेनजी आन्दोलन इधरउधर) को गफबाट थाकेर, काम पनि सकेर; घर आएपछि अनावश्यक ‘टनटन’ (वा त्यसलाई ‘मानसिक ठनक ठनक’ भनौं न) मलाई चाहिएकै छैन! यो झमेला बाट मलाई मुक्ति चाहिएको छ ब्रो।
म उसै पनि आफूलाई ‘मानसिकरुपमा स्टेबल छु’ भनेर भाँडभैलो गर्दिनँ। अलिअलि मानसिक अस्थिरता भएन भने, थोरबहुत ‘ल्याङल्याङ’ जिन्दगीमा रहेन भने, ‘खत्र्याकखुत्रुक गोजीसँग गल्याङमल्याङ’ भएन भने म लेख्नै सक्दिनँ हाव! मलाई ‘गज्याङमज्याङ’ चहिन्छ ।
लेखनको लागि भयंकर पिस चाहिन्छ, बुद्ध हुनुपर्छ, ध्यान गर्नुपर्छ, चिरशान्तिमा डुब्नुपर्छ भन्ने वाहियात गफ गर्नेहरूसँग त् मेरो ‘झ्याम्मै लटारो’ परिहाल्छ। म खेद्छु हो, त्यस्तो वाहियात कुरो गर्नेलाई। चाहिने कुरो गर्नुपर्छ। अतिरिक्त आदर्शवाद न मलाई लेख्नुछ, न कसैले लेखेको पढ्नुछ।
इन्स्टाग्राम: मेरो हालको ‘जमेको ठेगाना’!
अँ, यही भएर ठिकठाकको दैनिकी ठेलेमठेल गर्नका लागि अरू सामाजिक सञ्जालको भीड भन्दा इन्स्टाग्राम नै दामी लागिराछ।
तर, अहिलेको कुरा अर्कै छ। अहिले फेसबुकमा त म ‘यस्तै-यस्तै कुरा पोस्ट्याइदिउँ न त अनि घुम्न गएको फोटो पनि राखिदिउँ’ भन्नका लागि मात्रै छिर्छु, नत्र मनै छैन यार, त्यो साइडमा।
पछि गएर एआई (जस्तै Replika) तिर पनि पुगिएला नि! कसलाई पो थाहा छ र फ्युचर कता जान्छ? बेग्लै जमाना आइसक्यो!
तर, वर्तमानमा चाहिँ इन्स्टाग्रामसँग मेरो ठीकठाक जमिराछ।
इन्स्टाग्रामको रिल्ससँग यस्तो घनिभूत लभ परेको छ कि भनी साध्य छैन!। अरूको इन्स्टाग्राम फिडमा के आउँछ, मलाई ट्याउँ छैन। तर, मेरो फिड त ‘लेभलको माल’ ले खचाखच छ!।भरिभराउ छ यार, भरिभराउ। पुगीसरि ! यसैले यतातिर मजा छ।
हेर्नुस् न यार, दिमागमा त एउटै लहर छ:
एकातिर काफ्का, दोस्तोभ्स्कीको त्यो अस्तित्ववादी चिन्तनको गहिराइ, अनि कामु र सार्त्रको जीवनको अर्थ खोज्ने ठेलेमठेल। हर्मन हेस र भर्जिनिया वुल्फको भित्री यात्राले त मनै हल्लाउँछ।
अर्कोतिर, जौन एलियाको त्यो कटु सत्य मिसिएको नशादार शायरी, मन्टोको धारिलो लेखन र गुलजारको हरेक शब्दमा जादू। जावेद अख्तरको त कुरै नगरौँ—उनको बोलीमा धार र हेराइमा बेग्लै मात छ।
अनि, इरफान खानको त्यो शान्त मौनता र ‘कहिँ पुग्नु छैन, बाटोले भनोस्’ भन्ने फिलोसफी। त्यसले सधैँ, सीधै मुटु छेडछ।
जब नुसरत फतेह अली खानको सूफी आलाप बज्छ नि, रौं ठाडा नहुने कुरै हुँदैन। उनको कव्वाली, सुफी सङ्गीत, गजल र फ्युजन गायनको म त परम दिवाना हुँ। उनको गायन शैली, फनकार, ताल, सुर र त्यो सुरुर—जति सुन्यो, उति रिपिट गरिरहन मन लाग्छ। गुलाम अलि र लता मङ्गेशकरलाई त छोड्ने कुरै भएन, उनीहरू सङ्गीतको मन्दिर हुन्।
र, कलाकारहरूको कुरा? नसीरुद्दीन शाह, नाना पाटेकर, परेश रावल, तब्बु, कोकणा सेन शर्मा, मनोज बाजपेयी, अरशद वारसी, जयदीप अहलावत, शेफाली शाह— यस्ता बबाल कलाकारहरूको फौज। जाकिर खान र राहगिर जस्ता स्ट्यान्ड-अप र गायकहरूले त बेला-बेलामा इमोसनको डोज दिइरहन्छन्।
सारांशमा, यो सबै एउटै कलात्मक पागलपन हो, जसबाट म बाहिर निस्कनै चाहन्न।
सोले (Sholay), मुगल-ए-आजम (Mughal-E-Azam), मधुमती (Madhumati) जस्ता सदाबहार क्लासिक देखि लिएर द नेम्सकेक (The Namesake), स्थल (Sthal), मकबूल (Maqbool), राजा हिन्दुस्तानी (Raja Hindustani), माई नेम इज खान (My Name is Khan), बर्फी (Barfi), ग्याङ्स अफ वासेपुर (Gangs of Wasseypur), गुजारिश (Guzaarish), लुटेरा (Lootera), द लन्चबक्स (The Lunchbox), पीकू (Piku), करीब करीब सिंगल (Qarib Qarib Singlle), मसान (Masaan) , थ्री अफ अस (Three of Us) जस्ता अर्थपूर्ण सिनेमाहरूका मिठा र गहिरा संवादहरू बारम्बार आइरहन्छन्।
यार, कुरै नगरौं! हरेक रिल्सले ट्याक्कै केही न केही भन्छ, केही न केही फिल गराउँछ।
कसोकसो, कसैले मेरो वास्तावेस्ता नगर्दा नि, यिनीहरू (रिल्सहरू) चाहिँ मेरो बारेमा भयंकर पीर मानेर, मलाई सान्त्वना दिन र हौसला दिन ‘टुप्लुक्क’ टुपुल्किन्छन् कि जस्तो लाग्छ के!
हजारौं थरीका रिल्स छन्: कोही त प्रेमको गहिराइ देखाउँछ, कोही लाइफको भारी फिलोसोफी, कोही अस्तित्व चिन्तनको कुरा गर्छ, त कोही ‘नभनिएको रहस्य’ बोकेर आउँछ।
यी सबै डिजिटल गफगाफहरूले मेरो ‘मनको टनटन’ ((वा ‘ट्यान्ड्रम्’) लाई चिल पार्ने डिजिटल खुराक (वा डिजिटल डोज) बनिरहेका छन्। इट्स अ भाइब, यार! 😎
रिल्स लेनदेन’: एउटा नयाँ साहित्यिक संवाद
रिल्सको आविष्कारको पछाडि कुनै एक जना ‘वैज्ञानिक’ को नाम छैन, बरु यो डिजिटल युगको एउटा क्रम विकास हो, जो फास्ट फूड जस्तै फास्ट कन्टेन्ट खोज्ने दर्शकहरूको चाहनाको परिणाम हो। तर, मलाई ‘ताई न तुईका भाग्य न्यौपाने र ऋषि धमलाको रोइकारिता- चिच्याईकारिता’ हेर्नुभन्दा यो संसार प्रिय छ। १ घन्टा रिल्स उपभोग गर्दैछु होला, म दिनमा ।
मनलाई काउकुती लगाउने गरि यस्ता रिल्सहरू म पुरै टुङ्गो लाग्ने गरी हेर्छु, पुरै हेर्छु अनि लाइक ठोक्छु। आजकल त मजा लागेको माल रिसेयर गर्न पनि थालेको छु। कमेन्ट चाहिँ उति खेरै गर्दिनँ, तर आफ्नो ग्याङका केही खास साथीहरूलाई पठाउँछु। रमाइलो कुरा, तिनीहरूमा धेरैजसो महिला साथीहरू छन्। र, प्राय: अविवाहित छन् । उनीहरूको विवाहलाई लिएर उति फोकस पनि छैनन्। यस सम्बन्धमा द इकोनोमिस्टले ‘The rise of singlehood is reshaping the world’ खतरा लेख हालसालै लेखेको छ। त्यता अहिले नजाऊ।
जे होस्, मेरा महिला मित्रहरू पनि बबाल रिल्सहरू पठाउँछन्। एक हिसाबले भन्दा, हामीबीच ‘रिल्सको लेनदेन’ मज्जाले चलिरहेको छ। रिल्स ऐचोपैँचोमा फेरी बेग्लै मजा पनि छ।
उनीहरू मलाई ‘When Men are in Love’ शीर्षकको रिल्स पठाउछन्, जो कुनै महिलाले रिसाइट गरिरहेकी हुन्छिन्। र, म चाहिँ जाकिर खानले सुनाइरहेका ‘लड्कीओसे दोस्ती’ सम्बन्धि किस्सा सेयर गरिदिन्छु।कहिलेकाही सोच्छु, विवाहलाई लिएर उतिविधि वास्तावेस्ता केहि नगर्ने हामीहरू ‘किन यस्ता रिल्स पठाइरहेका छौं ?’ उत्तर त्, यतिखेर मसँग छैन। कसैले दिनु परेको पनि छैन।
फेसबुक, टिकटक, युट्युबको फाल्तु एल्गोरिदमसँग आजित भएर इन्स्टाग्राममा बसाइँ सरेको मनुवा हुँ म। यताको यो नयाँ बसाइँ सायद एक-दुई वर्ष भयो होला। अन्यथा, पहिले मेरो लागि इन्स्टाग्राम भनेको केवल ‘फोटो एडीट गर्ने टुल्स’ मात्र थियो, सहि हो, त्यत्ति नै थियो। इन्स्टा फिडसँग मेरो उति आत्मीय हिमचिम थिएन। तर अहिले त यो ज्यानमारा लत लागेको छ, र यो मलाई मन पर्ने ‘व्यक्तिगत डिजिटल पुस्तकालय’ भएको छ।
गजल-नज्म र कविता र फिलोसोफिकल कन्टेन्ट पोस्ट गर्ने एकाउन्टहरू दिनानुदिन बढी’राछन्, अनि उनीहरूले दिने सन्दर्भहरू (contexts) चाहिँ परम्परागत साहित्यिक भेलाको गफ भन्दा अझ बढी चाखलाग्दा लाग्छन्। रुचीपूर्ण छन्। यी डिजिटल लेखकहरूले ठूला दार्शनिक सिद्धान्तहरूलाई चिया पसलको गफ वा बसको यात्रा जस्ता दैनिक जीवनका साधारण घटनाहरूसँग जोडेर प्रस्तुत गरिरहेका छन्। उनीहरूले आफ्नो लेखनमा ‘म’, ‘तिमी’, ‘हामी’ लाई यसरी प्रयोग गर्छन् कि म जस्तो दर्शकको आफ्नै मनको कुरा जस्तो लाग्छ।
परम्परागत दर्शन प्रायः किताब र सेमिनारमा सीमित थियो। तर, अहिलेका कन्टेन्ट क्रियटरहरूले गजल वा नज्मलाई आधुनिक ब्याकग्राउन्ड म्युजिक, सुन्दर भिजुअल वा एनिमेसनसँग जोडेर ‘कूल’ बनाएका छन्। यसैले यसमा ‘टेस’ परेको हो, ब्रो।
किनकि, यसले नयाँ जेनेरेसनलाई गम्भीर साहित्य, कविता र दर्शनको नजिक ल्याइदिएको छ। यसरी त साहित्यको पाठक वर्ग अलिकति भए पनि ‘एक्स्टेन्ड’ भएको छ। यसले गर्दा साहित्य ‘बोरिङ’ मात्रै रैंच, हैन्छ भनेर युवाहरूले बुझ्दैछन्। साँच्चै भन्ने हो भने, यदि डिजिटल माध्यमले नयाँ, गुमनाम र ‘नन-क्लासिकल’ लेखकहरूलाई यसरी नै ‘पुश’ गरिदिने हो भने त मजा आइहाल्यो नि यार! 🤩
यसले परम्परागत गम्भीरतालाई आधुनिक सान्दर्भिकता (Modern Relevance) र मनोरञ्जनात्मक ढाँचा (Entertaining Format) मा बदलेको छ, जुन अहिलेको व्यस्त जीवनशैलीका लागि उत्कृष्ट ‘डिजिटल खुराक’ हो भन्ने म मान्दछु। यसले परम्परागत गम्भीरतालाई आधुनिक रिलेभेन्स र इन्टर्टेनिङ ढाँचामा बदलेको छ, जुन हाम्रो यो ‘सुपर-व्यस्त’ लाइफस्टाइलका लागि उत्कृष्ट ‘डिजिटल खुराक’ हो भन्ने कुरामा नो डाउट!
ह्याट्स अफ टू द भाइब! 💯
जौन एलिया वा मन्टोका ती भारी-भरकम र गहन विचारहरूलाई इरफान खानको त्यो शान्त र गहिरो मौनता (जसले हजार शब्द बोल्छ) सँग ट्याक गर्ने! अनि, त्यसलाई राहगिरको भावनात्मक आवाज (भ्वाइस) मा ‘डेलिभर’ गर्ने भिडियो! त्यसमा सीधै साहित्य ‘महसूस’ हुन्छ नि यार। पढेर आउने त्यो पर्सनल कल्पनाशीलता (जुन अर्को लेभल हो) आफ्नो ठाउँमा छँदैछ। तर, यसमा पनि मजाको ‘डोज’ कम छैन।
वाक्कैलाग्दो परम्परागत साहित्यिक ‘माहोल’
मैले काठमाडौं, पोखरा, चितवन, मकवानपुर, झापा, धरान, रोल्पा, धनगढी, सुर्खेत, धादिङ, नुवाकोट, जनकपुर आदितिर हुने साहित्यिक कार्यक्रमहरूमा खूब दगुरी मारेँ! जिन्दगीका दुई-अढाई वर्षहरू त्यतातिर ‘लखरपखर’ गरेर सिध्याएँ।
समकालीन नेपाली साहित्यिक हावापानीबारे मलाई उति नेगेटिभ कुरा गर्न मन छैन, तर यत्ति चाहिँ हो– ‘यतातिर वाक्कै लागिसक्यो!’
भयंकर फाल्तु माहोल छ। गुटउपगुट, चाकडीका नमस्कार, अभिभावन लेनदेन र पुस्तान्तरणको भयानक राजनीति महसुस हुन्छ। यसैले बोलाइएको ठाउँमा पनि तीन चोटी सोचेर बल्लतल्ल जाने गर्छु। धेरैले मलाई ‘झल्लु ठुलो भो’ भनेका छन् अरे, भनिरहून।
फेरि, म उति कविता लेखिरहन्नँ। मलाई धेरैले कवि भन्छन्, म कवितामा उति जम्न सक्दिनँ। मलाई त यस्तै मनोवाद, निबन्ध र खस्र्याङमस्र्याङ (मेरो ‘मनोभावना’ को स्ल्याङ) बढी लेख्न मन लाग्छ। यस्ता लामा आकारका कुरा त्यता गएर सुनाउने कुरै पनि भएन, र सुनाउनको लागि माहोल पनि हुँदैन। कसैले कसैको सुन्दैनन्!
त्यही त हो नि! छेउकै सिटको मान्छेले सुनाएको छ भने ऊ फर्किएर आफ्नो कुर्सिमा आएपछि ‘दामी छ, ब्रो’ भन्दिनका लागि एक-दुई लाइन सुन्दिने हो। प्रचलन नै यस्तै ‘ढोंगी’ छ। यस्तोमा मलाई चाहिँ बढी इमानदार भएर २/४ घण्टा टाउको दुखाईदुखाई भएजति जम्मै सुन्न केलाई पर्या छ र?
यसैले, ती साहित्यिक कार्यक्रमहरूमा पाइने ‘सकारात्मक वा नकारात्मक सौन्दर्यगत (aesthetic) टिप्पणी’ भन्दा इन्स्टाग्राम फिडमा भेटिने रिल्स, त्यसको कमेन्ट सेक्सनमा भइरहेका बहसहरू (जहाँ मान्छेहरू जेन्टल भएर आफ्ना कुरा राख्छन्) अझ बढी रुचिकर लाग्छन्। साहित्यको नयाँ गल्ली हो नि ब्रो! यता हिड्नुपर्छ भन्ने लाइन हो मेरो।
मेरो इन्स्टाग्राम फिडमा अनेक अनेक आउँछ (यसो एउटा-दुईटा उदाहरण) :
१. ‘जावेद अख्तरको ‘ओ कमरा याद आता है’ नामक कविता:
मैं जब भी
ज़िंदगी की चिलचिलाती धूप में तप कर
मैं जब भी
दूसरों के और अपने झूट से थक कर
मैं सब से लड़ के ख़ुद से हार के
जब भी उस एक कमरे में जाता था
वो हल्के और गहरे कत्थई रंगों का इक कमरा
वो बेहद मेहरबाँ कमरा
जो अपनी नर्म मुट्ठी में मुझे ऐसे छुपा लेता था
जैसे कोई माँ
बच्चे को आँचल में छुपा ले
प्यार से डाँटे
ये क्या आदत है
जलती दोपहर में मारे मारे घूमते हो तुम
वो कमरा याद आता है
२.
‘लोग देते होंगे मिलने पर गुलाब,
तुम मेरे लिए किताबें लेते आना…!’ र
, यो रिल्स कुनै भव्य किताब पसलमा खिचिएको हुन्छ ! किताब पसलले नै हुरुक्क बनाएर तान्छ ! र, पछाडि ब्याकग्राउण्डमा ‘मैं ख़ुद ही अपनी तलाश में हूँ मेरा कोई रहनुमा नहीं है वो क्या दिखाएंगे राह मुझको जिन्हें ख़ुद अपना पता नही है (रहनुमा = पथ-प्रदर्शक, मार्गदर्शक) भन्ने गजल Osman Mir को आवाजमा बजिरहेको हुन्छ, ! अनि यो भन्दा दामी कुरा अरु के हुन्छ ?
🇮🇳 को माथ्लो बेल्ट र 🇳🇵 को ‘खडेरी’
अलि बेसी कन्टेन्ट चाहिँ इन्डियातिरका छन्—त्यो पनि माख्लो बेल्ट (Upper Belt) – मुम्बई वाला! कहिलेकाहीँ तमिलनाडू, चेन्नई, कर्णाटका, बंगालीको भाइब पनि आउँछ। इरानी, टर्कीतिरका पनि झुल्किन्छन्।
नेपाली पनि आउँछन्, तर निकै कम, गन्तीका मात्रै छन्! नेपालको हकमा Munutales, Riya, #Ashmita, Anurag, #kritamsaKirti, Kayara Kalam, Suraj Subedi को नयाँ (sub•text with Suraj), Poet Idol का कविताहरू, विप्लव प्रतीक, नवराज पराजुली, कुमार नगरकोटी, सुबिन भट्टराई, नवराज लम्साल, प्रदीप रोदन, मनोज भण्डारी, भूषिता वशिष्ठ, केहि युट्युबमा [@bookandlifeofGG, @Voiceofbinisha1, @voicebyanju, @BijayaLuintel, @GeetaAmu]आदिका केही क्लोजअपहरू छन्। यत्ति नै! (मैले फ्लो गर्ने, अरु पनि होलान्)
मनै खिन्न हुन्छ कहिलेकाहीँ, यार! हामीतिर कतिविधि कविहरू छन्, कति खत्रा कथाहरू छन्। क्या जोडदार निबन्धकारहरू छन् । लाइभ हिँडिरहेका मान्छेहरू छन्। जीवित कवि, लेखकहरूसँग कसैले बसेर मनको गफ नै गर्न खोजेको छैन। पुष्कर लोहनी, तेजेश्वरबाबू ग्वङ्ग, मदन चित्रकार, नगेन्द्र शर्मा, रोचक घिमिरे, वैरागी काइँला, शैलेन्द्र साकार, मन्जुल, अभि सुवेदी, मन्जु काँचुली, बेन्जु शर्मा, उषा शेरचन, सनत रेग्मी, चट्याङ मास्टर, सरुभक्त, दिनेश अधिकारी, तीर्थ श्रेष्ठ, श्रवण मुकारुङ, मोमिला आदिआदिसँग पुराना गफहरू झिके कति सुन्न मन लाग्दो हो। तर, कुन्नि किन हो, मेरो इन्स्टाग्राम फिडमा उनीहरू आउँदै आउँदैनन्। महेशराज पन्त, दिनेशराजा पन्त, वीणा पौड्यालहरूसँग पनि इतिहासको क्या लोभलाग्दो कुराहरू गर्न सकिन्छ होला। तर, यो सबै त्यत्तिकै छ। डिजिटल अभिलेख (Digital Archive) कै लागि भए पनि यी सिद्धहस्त ‘ग्रेट्स’सँग बडो सिलसिलेवार कुराकानी (Serial Interviews) कसैले त गरिदिए हुन्थ्यो। नत्र त यी ‘लाइभ हिस्ट्री’ त्यत्तिकै हराउँछन्। यो ‘मिस’ गर्ने कुरै होइन। तर, कोही ‘माइकालाल’ निस्किएका छैनन्।
मन खिन्न छ यार, ‘क्या बोर क्या!’
मलाई त रिल्स हेर्दाहेर्दै अचानक ‘भर्जिनिया उल्फ’ आएको जस्तो पारिजातको कुनै ‘ब्रोकेन’ तर गहिरो लाइन, या शङ्कर लामिछानेको ‘बिम्व-प्रतिबिम्ब’ वाला कुनै ‘साइको’ हरफ, वा ध.च. गोतामेको ‘घामका पाइला’ वाला कुनै ‘पृष्ठ’ फ्याट्ट ‘पप-अप’ भइदिए हुन्थ्यो जस्तो लाग्छ! ती गहन ‘कोट्स’ ले त एक सेकेन्डमै ‘ मुड’ चेन्ज गरिदिन्छ! तर आउँदैन। मेरो फिडमा त खाली इन्डियन र रसियाली लेखक र उर्दू शायरहरू आइपुग्छन्।
कसम! यो डिजिटल एल्गोरिदमले नेपाली साहित्यका यी ‘लिजेन्डरी’ कोट्सलाई किन ‘प्रायोरिटी’ दिँदैन? नेपाली ‘भाइब’ लाई किन हेपेको?
‘तँ त्यस्तै कन्टेन्ट हेर्छस्, त्यही भएर हो’ भनेर मसँग ‘बाझ्न’ पनि मिल्ला, तर साँच्ची आउँदैन के!
फ्याक्ट के हो भने, हामीतिर ‘कन्टेन्ट क्रियटर’ नै कम छन्—जोले यस्तो गहिरो कुरालाई ‘कूल’ बनाएर ल्याऊन्। अनि, अलिअलि एल्गोरिदमले पनि हामीलाई ‘हेपेको’ होला—ठूलो बजारलाई मात्रै ‘बढावा’ दिने बानी परेको!
यस्तो ‘डिजिटल नाइंसाफी’ चाहिँ हुँदैन है! अब त कसैले ‘नेपाली साहित्यको एल्गोरिदम’ ह्याक गर्नुपर्यो! 🔥
तर, ‘ ठिकै छ’, अहिले नेपालतिरबाट पनि नेपाली भाषामै ‘केही न केही’ आइरहेको छ। पुस्तक पसलेहरूले पनि अब पुस्तकको क्रेज देखाउन थालेका छन्। साहित्यपोस्ट आदित्यादीले ‘डिजिटल बहस’ गर्न थालेका छन्। टेलिभिजन शोहरूमा गएका केही कविहरूको फुटेज पनि रिल्स बनेर आउँछन्। तर, उति छैन। १ घण्टा स्क्रोल गर्दा एउटा नेपाली कन्टेन्ट भेटिएला, नभेटिएला- म ठ्याक्कैसँ भन्न सक्दिनँ।
मेरो कानमा अरुणा लामा, भक्तराज आचार्य, अरुण थापा, मलेवा देवी,नातिकाजी, तारादेवी, नारायणगोपाल, प्रेमध्वज प्रधान, शान्ति ठटाल, धर्मराज थापा, शम्भु राइ, बच्च्चु कैलाश, नविन के भट्टराई, जेसन कुँवर, साजन राज वैद्य, वार्तिमा एम राय, सुजन चापागाई, उज्वल सागर जस्ता पुरानादेखि नयाँ गायकहरूको स्वर पछाडि बजोस्।
अनि, अगाडि कुनै बबाल फिल्म (बुलबुल, बधशाला, पशुपति प्रसाद, टलकजंग भर्सेस टुल्के, लुट, छड्के, झोला, कुसुमे रुमाल, Dying Candle, प्रेमपिण्ड, वासुदेव, हामी तीन भाइ, दर्पण छाया, अपवाद, Numafung, Sadanga, ऐना झ्यालको पुतली आदिको दृश्य नाचिरहोस्।
मह जोडी, नीर शाह, हुँदै राजवल्लभ कोइराला, विपिन कार्की, दयाहाङ राइ, विजय बराल, खगेन्द्र लामिछाने, अर्पण थापा, दिव्य देव, नाजिर हुस्सैन आदित्यादीसम्म। वसुन्धारा भुसाल, भुवन चन्द, लक्ष्मी गिरि, मिथिला शर्मा, रेखा थापा, अरुणिमा लम्साल, गरिमा पन्त, नम्रता श्रेष्ठ हुँदै स्वस्तिमा खड्का, सुरक्षा पन्त, दिया मास्के, मेनुका प्रधानहरूसम्म देख्न पाए गजब हुन्थ्यो भन्ने लाग्ने नि !!
अनि टेक्स्टमा चाहिँ शंकर लामिछाने, देवकोटा, सम, लेखनाथ पौड्याल, पारिजात, बानिरा गिरि, इबरा, गोविन्द मल्ल, धच गोतामे, प्रेमा शाह, मदनमणि दीक्षित, पिटर जे कार्थक, वासु शशी, मनु ब्राजाकी, गोविन्द वर्तमान, श्यामल, नारायण ढकाल, रोशन शेरचन, जीवनपानी, कुमारी लामा, रमेश सायन, राधिका कल्पित, मौन आवाज, कुशल न्यौपाने, कृष्ण ढुंगेल, कृष्णप्रसाद अर्याल,, प्रभात तिमिल्सिना, राजु उवरकोटी, शून्य नयन आदि-आदिका साहित्यिक लाइनहरू फ्याट्ट फ्याट्ट आइदिए हुन्थ्यो जस्तो लाग्छ।
तर, आउँदैन। देअर इस ‘मिसिङ नेपाली भाइब’ ब्रो !
खैर, भयंकर सम्भावना चाहिँ छ, हो। यो ‘डिजिटल स्वर्ण युग’ कुन्नि कहिलेबाट ‘एक्टिभेट’ हुन्छ।
Manu Tells र Suraj Subedi (जो लेखक, कवि र क्रिटिकको रूपमा उदाउँदै हुनुहुन्छ) जस्ता ‘दामी’ क्रियटरहरू अझ चाहिएको छ मलाई! जसले यो लिगेसीलाई मोडर्न ‘बीट’ मा प्रस्तुत गरून्।
मेरो यो ‘भोको चाह’ कसले डिजिटल्ली ‘सर्ट-आउट’ गर्ला? यसको लागि अब ‘वेट’ गर्न सकिन्न! लेट्स गो, नेपाली क्रियटरहरू! 🚀
‘पृष्ठ कविता’, ‘मन्च कविता’ अनि आयो ‘फीड कविता’ (Page-Poetry → Stage-Poetry → Feed-Poetry)
‘पृष्ठ कविता’, ‘मन्च कविता’ दुवैले इन्स्टाग्राममा बस्ने कविता संसारलाई चिन्दैनन्; र, इन्स्टाग्रामको संसारलाई पनि तिनीहरूको आवश्यकता छैन!
यार, ‘फ्याक्ट’ कुरा यही हो कि;
जब मेनस्ट्रिम मिडिया, साहित्यिक संस्थाहरू र राज्यका ‘ठूला-ठूला’ संवाद स्थलहरूले कवितालाई ‘भक्कुमारसँग वास्तै नगरेसी’ (completely ignored), तब साहित्यको यो ‘पुरै परिदृश्य’ नै मृतप्रायः (almost dead) जस्तो हुन पुग्यो। महत्त्वपूर्ण साहित्यिक भेलाहरूमा पनि युवाहरूको उपस्थिति खासै ‘सन्तोषजनक’ छैन!
मेरो ‘केस’ मा: म ‘प्रकाशित लेखक’ होइन। यसको पछाडि बहुत भयंकर-भयंकर कारणहरू छन्, छोडिदिऊँ।
तर, ‘मेन कुरो’ के हो भने, युवाहरू ‘पढीराछन्’, ‘लेखी’ पनि राछन्, तर प्रकाशित हुन खोजिरहेका छैनन्।
- एक त ‘रोयल्टी-सोयल्टी’ को कुरा त्यस्तैउस्तै भो—’नगन्य’ (negligible)।
- अर्को ‘पब्लिशर’ (प्रकाशक) को दादागिरी भो—’मनोपोली’ खतरै छ। वरिष्ठहरूको वान्ता छुट्ने लेखन र व्यापारीहरूको जीवनकथा छापेको छाप्यै !
अनि, ‘के आउनु भन्ने नि होला?’ अरू पनि के-के ‘फन्डा’ होलान् कुन्नि?
तर, जे होस्, ‘बजारमा झ्याप-झ्याप गतिला कविता संग्रहहरू ‘पप-अप’ (प्रकाशित) भएका छैनन्
तब यो डिजिटल विस्थापन सुरु भएको हो कि! इन्स्टाग्राममा कविता सुरु भएको होला। नत्र, कविता, कथा, गजल, निबन्ध वा फिल्मको चर्चा एकाएक इन्स्टाग्रामका ‘झ्वाम्मै’ युवाहरूले किन सुरु गरे त? यो आफैंमा एउटा डिजिटल-समाजशास्त्रीय प्रश्न हो। तर, जे होस्, यो उदय बडो जादुमयी र चाखलाग्दो लागिरहेको छ। नेपाली युवाहरू (युवा कवि/लेखक) हरू किन इन्स्टाग्राम पोयट्रीमा लाइक ठोकिराछन् त् ? यो कूल कोइसन हो। यो कोइसनमा ‘दम’ छ। यो अब सोधिनुपर्छ भन्ने हो।
इन्स्टाग्राममा कविता- परम्परागत कविता (पृष्ठ कविता, मन्च कविता) जस्तै गैर-नाफामूलक अर्थतन्त्र नै हो, तर यो अलिक स्वच्छन्द अवतार हो कि। यहाँ पुस्तक समीक्षा र प्रतिष्ठित पुरस्कारहरूको दबाब छैन, न त झमेला नै छ। यो स्वतन्त्रता ले नै यसलाई दामी बनाएको छ। अनि यसबाट थोरबहुत मोनिटाइजेसन इधर उधर पनि सुरु भइरहको होला। अहिले मूलत्: देखिएको भनेको इन्गेजमेन्ट हो।
कोही साथी ‘चिलिङ भाइब’ मा घुम्न गएको रिल्स पोस्ट गर्छ, कोही झरीमा भिजिरहेको एक्लो छायाँ वा सडक छेउमा हल्लिरहेको रुखको मौन छाया क्याप्चर गर्छ। कसैले पुस्तक पसलको कुनामा लुकेर किताब पढिरहेका जोडीहरूको हलचल कैद गरेर, घर आएर दुई लाइन मनको कुरा लेख्छन्, अनि दामी ब्याकग्राउण्ड म्युजिकसहित पोष्ट ठोक्छ। म आफैं रुकुम पूर्व, सल्यान, दाङ, ढोरपाटन तिर जेठमासमा पुगेर आएसी ४/५ वटा रिल्स बनाएर सुरु गरे। मेरो इन्स्टाग्राम त्यो छ। १००० भन्दा बढी भ्युअरसीप छ।
No gatekeeping।
No ‘senior–junior’ domination।
No राजनैतिक गुट।
No ‘published हो/होइन’ judgment।
Just raw expression।
जे होस्, पाठकहरू दर्शक बन्दै छन्। इन्स्टाग्राम कविता सेप्सलाई अलि घुरेर हेर्ने हो भने पाठकहरू पनि फेरिएका छन् भन्ने महसुस हुन्छ। अब किताब नै उठाएर पढ्ने भन्दा मोबाइल उठाएर ‘इन्स्टा पोयट्री’ हेर्ने दर्शकहरूको संख्या बढ्दै छ।
प्रश्न उठ्छ: पुस्तक प्रकाशन अझै पनि काव्यगत उपलब्धिको स्वर्ण मानक र प्राज्ञिक उन्नतिको मापदण्ड रह्यो र? मेरो हकमा त रहेन, ब्रो! मलाई त यद्यपि पनि ‘अप्रकाशित कवि/लेखक’ होइरहनुमा उतिविधि टेन्सन छैन।
इन्स्टाग्रामको ‘पल्सर गति’सँग हिँड्नलाई यहाँ एउटा स्क्वायरमा फिट हुने, ‘झटपट पच्ने’ (bite-sized) कविताहरू बन्छन्। साँचो भनौं भने, यसरि आइरहेका मध्ये कति त साच्च्चीकै ‘वाहियात’ (cringe) नै पनि छन्!
अनि, अलि ‘पढन्तेहरू’ले ‘डिजिटल डिटोक्सिफिकेसन’ गरेकाले, अहिले ‘नवआगन्तुक’ हरूले जान्ने पल्टेर ‘टुक्रे’ कुरा नि गरिरहेका छन्।
तर, सिधा कुरो: कसैले कुनै तालिम, गोष्ठी, सिकाइ बिना केहि लेखी राछ, केहि रिल्स बनाइराछ भने त्यसमा धेरै ‘ल्याङ’ किन गर्ने?
जन्मदै त मैले पनि ‘कट्टु’ लगाएको होइन! 🤣
सिक्दै जाला! सिक्दै सिकेन भने ऊ आफैं ‘डिमोटिभेट’ भएर हराउँछ!
त्यो भन्दा नि चिन्ता नै गर्दीम भन्ने हो भने (हामी नेपालीलाई चिन्ता गर्दीम-गर्दीम लाग्छ जेमा नि, जतिखेर नि!), इन्स्टा साहु र त्यसको बजारसँग चाहिँ गर्न सकिन्छ। मार्क्सवादी (न्यू लेफ्टिस्ट) ‘गुरु’हरूले आएर ट्याक्कसँग ‘पूँजीवाद’ छिराएर यहाँनेर ‘घनीभूत बहस’ गर्न मिल्छ।
मेरो हकमा चाहिँ, यो ‘नयाँ संस्कृति’ पूरै सोसल मिडिया र बजारको ‘सक्सेस’ मा केन्द्रित जस्तो देखिए पनि, यसले परम्परागत शिल्प र संस्थागत मान्यतालाई ‘झ्याम्मै’ चुनौती दिइराछ। ‘नो इफ्स एण्ड बट्स’!
टन्नै युवा पाठकहरू यता भेटिनु भनेको सानो कुरो त होइन, यार। यो ‘सिग्नल’ हो, मान्नैपर्छ।
अब एकछत्रै ‘पुस्तक, कागजको खुस्बु, पुस्तकालय, पाठ्यक्रम, कलेज लाइफ’ मात्रै फलाकिराखेर पनि भएन।
अब दुईवटा ‘अल्टिमेटम’ छ:
१. कि त झ्यापझुप लागेर देशैभरिबाट ‘वाईफाई’ थुत्दिऊँ (impractical!) ।
२. होइन भने, इन्स्टा रिल्स (डिजिटल स्पेस)मा भएका युवाहरूसँग ‘क्लासिक लिटरेचर’ले कुरा गर्नुपर्छ।’ट्यून-इन’ हुनुपर्छ।
यसकारण, अब नेपाली साहित्य जगतले ‘मारी एक खेप’ टाउको दुखाएर ‘गोष्ठी-सोष्ठी’ गर्दा हुन्छ! आदरणीय प्राज्ञिक मनुवाहरू, ‘मेक सम न्वाइज nah!’ (बोल्नै परे पनि म नि आएर ‘बोल्दिउला!) च्यालेन्ज एक्सेप्टेड! 🎤
यो किन पनि भनेको भनेको, धेरैले इन्स्टाग्राम कवितालाई परम्परागत कविताका लागि ‘प्रवेशद्वार औषधि’ (gateway drug) को रूपमा हेरे पनि, यो वास्तवमा कुनै पनि प्रकारको काव्य परम्परा (लिखित वा वाचन) सँग वा समकालीन कवितालाई समर्थन गर्ने कुनै पनि अवस्थित संस्थाहरूसँग ‘कुनै संवादमा’ छैन। यो आफ्नै तालमा चलिरहेको जस्तो देखिन्छ।
(इन्स्टाग्राम कविताको यो अद्भुत नयाँ संसारबारे अहिले नै जान्नेपल्टेर मैले धेरै भन्न नि सक्दिनँ। यसो म त आफ्नै महसुस, अनुभवहरू राखिरहेको हो।)
यसलाई कत्तिले प्रेरणादायक इन्टरनेट ‘मेम’ (Inspirational Internet Meme) को शब्द/छवि संयोजन मात्रै पनि मान्न पाइयो। ‘हैन, त्यो आत्म-अभिव्यक्तिको माध्यम हो, बढ्ता केहि होइन झल्लु’ भनेर मसँग च्या गफ गर्न नि पाइयो। या, पुस्तक र वाचनको प्रचार र बिक्री मार्फत अनलाइन फलोइङको अशिष्ट (unapologetic) र उद्यमशील मुद्रीकरण (entrepreneurial monetization) हो भनेर झगडा गर्न नि पाइयो। या नगरे नि पाइयो!
इन्स्टाग्राममा कविताले त निस्सन्देह आफ्नो छुट्टै ‘सौन्दर्यशास्त्र’ (Aesthetic) विकास गरेको छ! यो ‘छोटो र मीठो’ (Short and Sweet) फर्म्याटले नै समकालीन कवितालाई ‘मास मिडिया’ दर्शकहरूसम्म पुर्याउने महत्वपूर्ण काम गरिरहेको छ, यो ‘फ्याक्ट’ हो! अब हेर्नुस्, ‘पन्ने कविता’ (Page Poetry) र ‘मञ्चे कविता’ (Stage Poetry) सँगसँगै, अब ‘फिड कविता’ (Reels Poetry) ले ‘तेस्रो आयाम’ खोलेको छ! र, मलाई त यसैमा ‘मज्जा’ आइराछ।
मलाई उसैपनि डिजिटल संस्कृति, इमोजी कल्चर, स्क्रिनसट कल्चर, ह्यासट्यागहरूसँग ‘क्रेजी रुचि’ छ। यी नयाँ डिजिटल भाषाशैलीका बारेमा मेरो रुचि त दिन दुई गुणा, रात बीस गुणा बढिरहेको छ।
मेटा, एक्स जस्ता बहुराष्ट्रिय ‘आइटी साहूहरू’ (Capitalist Kings) ले इन्स्टाग्राममार्फत ‘कविता कल्चर’लाई ‘पम्प अप’ (बढवा) दिइराछन् भने ‘सो वट?’ मलाई त ‘पिरलो’ छैन। पैसा आओस्, आर्ट आओस्। आर्टबाटै पैसा आओस!
मेरो मेन ‘झगडा’ त घृणायुक्त भाषाशैली र लैङ्गिक द्वेषी ‘टक्सिक’ कमेन्ट सेक्सनसँग हो! त्यो चाहिँ म पिटिक्कै, फिटिक्कै सहन सक्दिनँ। ‘पिस आउट’ त्यस्तो टक्सिसिटीलाई! 🚫
लक्कीली, त्यो ‘कमेन्टको फोहोर’ फेसबुकको तुलनामा इन्स्टामा अलि कमै छ। इन्स्टा अझै ‘चिल्ड’ छ ब्रो!
अर्थात्, सरसर्ती भन्दा ‘क्यापिटलिज्म’ भन्दा ‘टक्सिसिटी’ मेन समस्या हो। यसैले, फेसबुकको ‘असह्य टक्सिसिटी’को तुलानामा इन्स्टाको ‘रिल्स पोएट्री’मा अर्कै ‘मज्जा’ र ‘सफा भाइब’ छ। यसकारण ‘रिल्स’ लाई फुल सपोर्ट! 💯
अब अन्तिम अन्तिमतिर आइसकेम !
नेपालमा कहिलेकाहीँ ‘कविताकै पाठक छैनन्’ भन्ने वाहियात कुरा सुनिन्छ। मलाई चाहिँ होइन जस्तो लाग्छ। मेरो रिल्समा मेरा १०/१५० जना साथीहरूले लाइक ठोकेको देख्छु। अनि हरेक दिन इन्स्टा स्टोरीमा ट्याकटुक १-२ लाइन लेखिरहेको देख्छु। फोटोमा क्याप्सन बडो काव्यिक आइरा हुन्छ। रुचि नभएको त होइन नि।
समस्या पाठकमा होइन, ‘एभ्याइलेभलटी’ (उपलब्धता) मा हो! नेपाली कविहरू नै ‘डिजिटल एभ्याइलेभल’ नभएका हुन्। उनीहरूको ‘प्रेजेन्स’ नै छैन।
कुरो के हो भने: अहिले हिन्दी र उर्दूको नशा हेरिरहेका मानिसहरूले नेपालीको ‘तिम्रो ओठ गुलाफजस्तो, सुन्दर शान्त नेपाल’ जस्ता कविताहरूलाई नहेर्दिएको, नपढीदिएको मात्रै हो। तर, ‘मानुषी’ पढीएको छ। ‘पागल’ पढिएको छ। ‘आमा’ पढिएको छ। ‘मेरो चोक’ पढिएको छ। युवाहरू ‘गहन’ र ‘क्लासिक’ कविता खोज्दैछन्। [हो, ‘पढिनुपर्ने’ कविताहरू त टन्नै छन्, हजारौं छन्। तर, कन्टेन्ट क्रियटरको ‘आँट’ र ‘उपस्थिति’ कम भएकाले गर्दा ती कविताहरू ‘पप-अप’ भएर आइरहेका छैनन्।]
नो, नो, नो!’ जब तथाकथित ‘साहित्यिक वरिष्ठहरू’ ले यी स्पोकन/रिल्स पोएट्री लाई ‘खराब कवि’, ‘वाहियात कविता’, वा ‘शिल्प नभएको नारीवादी नारा’ भनेर खेद्छन् नि, तब मलाई झ्याम्मै लाग्छ:
‘यो ‘ईर्ष्याको स्पर्श’ (A tinge of jealousy) हो!’ त्यो भन्दा बढ्ता केहि होइन।’फुलस्टप!’
एक त साझाले पुन: प्रकाशन नगर्दिने, कोसेली, फुर्सद, रचना, अभिव्यक्ति, साहित्यपोस्ट, समकालीन साहित्य आदित्यादीले ‘प्रा.डा., वरिष्ठ साहित्यकार, ..औंको संख्यामा किताब प्रकाशित लेखक’ भनेर टेको लाग्न खोजिबस्ने। अर्को, यी ‘वरिष्ठ’हरू एकेडेमी वरपर रिगीरहने, युवाहरूलाई खोज्दै नखोज्ने। अनि युवाहरूले हामीलाई पढेनन् भन्ने ? त्यो अलि टपरटुइया(Meaningless/Superficial) कुरा हुन्छ नि! कम अन ठुल्दाजुहरू, ठुल्दिदीहरू!
डिजिटल युग’ हो। पुरानो ‘टेप’ बजाएर मात्रै अब चल्दैन नि त हाव!
ल अब कुरा क्लियर गरौं!
कसैले ‘पढेकै छैन’ भन्नु त टोटल्ली ‘वाहियात’ (Nonsense) कुरा हो। यो ‘बुमर भीएस जेनेरेशन जेड’ को विवाद जस्तो पनि छ। यसको अलि साइकोलोजीकल एनालाइसिस गरिनुपर्छ।
ती ‘वरिष्ठहरू’ ले खेदेका ‘खराब कवि’हरू त मिर्जा गालिब, फैज अहमद फैज, गुलजार, जौन एलिया जस्ता ‘हेभीवेट’हरू लाई ‘रिपिट’मा सुनिरहेका छन्। उनीहरूको साहित्यिक स्वाद त्यता बसेको छ।
तिनीहरूलाई ‘यता ल्याउनको लागि यता पनि त्यही स्वादका लेखकहरू छन्’ भन्नका लागि ‘अलिअलि लाग्न पर्छ नि हो।’ ‘ईगो’मा उत्रिएर भएन नि!
‘मलाई खोज्दै खोज्दै आएर अहिलेका युवाले ‘पढीदिनुपर्छ’, म त वरिष्ठ हो, मेरो किताब पुस्ताकालयमा छ’ भन्ने ‘ईगो ट्रिप’मा ‘कन्फर्म’ एक्सिडेन्ट हुन्छ।
फ्याक्ट के हो भने युवाहरू ‘क्वालिटी’ हेर्दैछन्। अब ‘पुस्तकालयको धुलो’ पन्छाएर कोही पनि ‘ईगो’लाई सलाम गर्न जाँदैन।’ईगो’ साइड लगाएर आउने हो भने कुरा हुन्छ। युवाले आफूअघिकालाई नपढे कसलाई पढ्ने ? अहिलेका युवा ‘संस्कृति र इतिहास’प्रति भयंकर रुचिगत छन्।
अनि, हामीकहाँ पुस्ता-पुस्ताको ‘पुस्तागत झगडा’ पनि छ। ती झगडाहरू चाहिँ ठुल्दाजु, ठुल्दिदीहरूलाई मुवारक। २०३० को दशकसम्मका नेपाली साहित्यिक (क्लासिक) ले ‘ईगो’ देखाए पनि मानिएला, तर त्यसपछिका ठुल्दाजु, ठुल्दिदीहरूसँग चाहिँ अलि ज्याद्रै स्वभाव छ क्या! जातिवाद, पहिचानवाद, प्रगतिशील, इधरउधर अनेकथोक छ। नचाहिने झ्याउलो कति बेसाइरहेको होला ?
त्यसैले,
वरिष्ठहरूले ‘ईगो’ छोडेर ‘डिजिटल स्पेस’ मा आउने र ‘ट्यून इन’ हुने आँट गर्नुपर्छ। युवाहरूले ‘यतातिरको नपढी बाहिरबाहिर मात्रै फुत्रुक फुत्रुक’ गरेर पनि हुँदैन। यो दुवै पक्षबाट ‘सुललित’ (Symmetrical) हुनुपर्छ। नत्र, यो ‘ग्याप’ बढ्दै जान्छ, र, त्यो फेरी त्यो ‘सबभन्दा फाल्तु’ कुरा हुन्छ। किनकी, उसै त नेपाली साहित्यमा ‘क्वालिटी’ भएन भनिएको छ, त्यस्तोमा ‘क्वालिटी’ दिनेहरू पनि यो लडाईमा चेपिनु भएन। ‘तथाकथित साहित्यिक वरिष्ठ’हरूले इगो साइड लगाउनेबित्तिकै त ‘हामी’हरू पढीहाल्छौं नि, अहिले वरपर जानै नसक्ने गरि ‘डुंग गन्हाएको’ भएर पो त् !!🤢
यसैले ती लोकप्रिय, क्वालिटी लेखक र पहुँचयोग्य ‘वास्तविक’ कविहरू अब किताबको घमण्ड छोडेर इन्स्टाग्राम/टिकटकमा आइदिनुपर्छ। अब Munutales र Suraj Subedi जस्ता ‘दामी’ क्रियटरहरूको खडेरी अरुले मेटाउनु पर्छ।
यो इन्स्टाग्राम पोयट्री कल्चरमा आफू पनि नित्य फस्दै जाँदा मलाई पनि टक्क लागेको छ—अब मैले पनि सुरु गर्नुपर्छ। मेरो ‘खस्र्याङमस्र्याङ’ (मनोवाद, निबन्ध) लाई ब्याकग्राउण्ड म्युजिकसहित रिलमा ढालेर यो डिजिटल युद्ध मा होमिएर यो बकवास मेटाउनु छ।
