प्लास्टिकजन्य आयातित सामग्रीको प्रयोगको उकालोलाग्दो खपतले डोकोथुन्सेलाई विस्थापित गरिसकेको छ । डेढदशक अघिसम्म बाँस र निगालोबाट तामाङ बाहुल्यता रहेको धादिङको माथिल्लो भेग (झार्लाङ, री, सेर्तुङ)का समुदायले डोको, डालो, नाङ्लो (सुप्पो), चाल्नो, टपरी, भकारीलगायत घरायसी प्रयोजनका लागि प्रयोग गरिने सामग्री बिक्री गरेर पर्याप्त आम्दानी गर्दै आएका थिए । तर, अब त्यो स्थिति रहेन ।
जिल्लाको निलकन्ठ नगरपालिका, गङ्गाजमुना, नेत्रावती डबजोङ, ज्वालामुखी, सिद्धलेक गाउँपाकिका विभिन्न ठाउँमा यही पेसाका भरमा जीविकोपार्जन गर्दै आएका कैयौं व्यक्ति अहिले पेसा परिवर्तन गर्न बाध्य भएका छन् । वैदेशिक रोजगारी, सदरमुकाम झरेर होटल-व्यवसाय गर्नतर्फ युवापुस्ताको झुकाव बढेसँगै सीप पुस्तान्तरणमा समेत समस्या आएको छ । घरेलु उद्योग धरासयी बनाउँदै युवापुस्ता विदेसिनुले राष्ट्रलाई नै घाटा पुर्याइरहेको छ ।
झार्लाङ पहिरो वारी डोको थुन्से एवं मान्द्रो बुनिरहेका भेटिन्छन्, स्थानीय दुई दाजुभाई । उनीहरू नित्य ६७ वर्षदेखि बगिरहेको विनाशकारी पहिरोभन्दा पनि जेठा छन् । उनीहरूको बुढेसकालको साहरा नै चोया बनेको छ । केहीवर्ष अघिसम्म गाउँघरमा कृषि कर्म तथा सुरक्षित खाद्यान्न भण्डारणका लागि प्रयोग गरिने यी साधन पछिल्लो समय लोप हुँदै गएकोप्रति उनीहरू चिन्ता व्यक्त गर्छन् ।
उमेरको ८४ औं वसन्त कटाइसकेका सेर्पे पाख्रिन भन्छन्, “बजार छिर्यो जम्मै । सामुदायिक वन पनि काट्नु हुँदैन भन्छन् । बाँस र निगालो काटेमा जरिवाना तिराउछन् । आफ्नो हातमा सीप छ, तर यसैबाट जीविकोपार्जन सकिएको छैन बाबूहरू ।”
उनी उमेरमा दिनहरूमामा आफूले ४ वटासम्म डोका-थुन्से बुन्ने गरेको बताउँछन् । बिहान उठेदेखि रात नपरुञ्जेलसम्म डोको बुनेर दिन बितेको पाख्रिनलाई पत्तो हुँदैन थियो । ‘पहिले चोया काढ्न सिकें । सुरुमा एउटै आकारको र चिल्ला चोया बनाउनै गाह्रो थियो’, उनी भन्छन्, ‘चक्कु चिप्लिएर औंलामा धेरै घाउ भयो तैपनि काढ्न छाडिनँ । अहिले सजिलो लाग्छ ।” उनले एकवटा बाँस २०० देखि तीनसय सम्ममा किनेर डोको बुन्दै आएका छन ।
यस भेगका समुदायले बाँस र निगालोको चोयाबाट बन्ने प्रति डोकोलाई रु ३०० देखि रु ५०० सम्म बिक्री गर्ने गरेका छन् । यस्तै डालो, भकारी, मानो र नाङ्लो रु आठ सयदेखि रु तीन हजारसम्ममा बिक्री गर्दै आएका छन् ।
“गाउँठाउँमा बाटो आयो । बाटोसँगसँगै प्लास्टिक पनि आयो । प्लास्टिकले हामीसँग रिसवी साँधेको छ । तर हामी प्लास्टिक हालेर आएको गाडीमा चोयाले बुनेको डोको थुन्से हालेर धादिङवेशीसम्म पठाइदिन्छौं”, उमेरको ८० औं खुड्किलो उक्लिसकेका चिनी तामाङ भन्छन् । बुढ्यौली कायाले गाँजीसकेको भएता पनि यस पेशालाई उनले अहिलेसम्म उत्तिकै जोश जाँगर मेहनतका साथ निरन्तरता दिँदै आएका छन ।
उनले भनेझैँ उल्लेख्यमात्रामा डोको-थुन्सेहरू धादिङवेशीसम्म झर्न सकेका छैनन् । कृषिजन्य आयातित सामग्रीको बढ्दो प्रयोग र गाउँघरका सामुदायिक वनमा पनि कच्चापदार्थको अभावका कारण यो व्यवसाय लोप हुँदै गएको स्पष्ट देखिन्छ ।
पालिका अध्यक्ष रणबहादुर तामाङ कृषिसँग सम्बन्धित सबै कार्यमा सहयोग गरेको भए पनि यस काममा नागरिकको चासो नभएकोले पालिकाको कार्यक्रममा नपरेको भन्दै आगामी दिनमा यस्ता सामग्री उत्पादन गर्न तालिम सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गर्छन् । “पछिल्लो समयमा बेतबाट बुनेका सामानप्रति मानिसको आकर्षण बढ्न थालेको छ । बढ्दो आकर्षणसँगै यसको व्यवसाय पनि फस्टाउँदै गएको छ । हामीले यतातर्फ पनि सोचेका छौं”, उनले भने ।
पछिल्लो समय प्लास्टिक तथा अन्य धातुुका सामग्रीको प्रयोग बढ्नाले चोयाबाट बनाइने यस्ता सामग्रीहरू खपत ओरालो लागेको छ । गाउँघरमा बाँस र निगालाका सामान प्रयोग गर्ने किसानको सङ्ख्या पनि घट्दै जानु एवं बिक्री भए पनि उचित मूल्य पाउन नसक्नुले यस परम्परागत पेशा लोपोन्मुख हुन् पुगेको छ ।