दीपक लुङ्गेली मगर, प्राध्यापक
विश्वास नै गर्दिन । कहिले देखेको भेटेको छैन । मान्छेले आफ्नो स्वार्थपू्र्तिका लागि भगवान बनायो अनि भगवानको दास आफू बन्यो । यति कुरामा चाहिँ म विश्वास गर्छु ।
शान्तिम कोइराला, कवि/संगीतकार
विश्वास गर्छु । किनभने अनुत्तरित प्रश्नहरू र रहस्यहरू संसारमा अथाह छन् । संसार दोस्रो कुरा आफैँभित्र अथाह छन् आफूबाहिर उत्तिकै छन् । जसलाई कुनै शास्त्रले अथवा कुनै सिद्द चेतनाले समेत भेटाउन सकेका छैन । जो भेटाउन लागिपरे र केही पाए झैँ भए उनीहरू शरणगत भए । ती सारा रहस्य र यो प्रकृति नै इश्वर हो भन्ने लाग्छ । र यो सब कसरी ? र के भन्न कुराको गहिराइ चाहिँ सायद महशुस हुन बाँकी छ ।
टीका ढुंगाना, लेखक/समिक्षक
विश्वास गर्छु किनभने कहिले पनि जीवन, मन अनि शरीर आफ्नो वशमा भएकाे अनुभव छैन । म आफूलाई निमित्त मात्र ठान्छु, चालक अरू कोही छ र त्याे ईश्वर हाे ।
अनिला रिजाल, विद्यार्थी
ईश्वरको अवधारणाबारे बुझेकै त केही छैन तर विश्वास छ । जस्तो, हावालाई कसैले नदेखे पनि छ भन्ने महशुस गर्न सक्छन् त्यस्तै हामी विश्वासको घेराले यति धेरै कसिलोसँग बाँधीएका छौँ कि आफैँ सो चीजको आभास गर्न पुग्दा रहेछौँ ।
मलाइ त लाग्छ ईश्वर हुनुहुन्छ तर कहाँ हुनुहुन्छ त्यो चाहिँ भन्न सक्दिन तर आस्था र विश्वास भने भरपुर छ । अनि यति पनि भन्छु कि जब आफ्नो साथ कोही हुँदैनन तब ईश्वर हुन्छन् । मेरो विश्वासमा ईश्वर हावा हुन्, जसलाई म महशुस गर्दछु ।
अन्वेश राई थुलुङ्ग, लेखक/समिक्षक
वास्तवमा ईश्वरकाे आडमा सामाजिक न्यायकाे कुरा हराएर जाने रहेछ । हामी कसैलाई उसले कर्मकाे फल पाउँछ भनेर छाडिदिन्छाैँ जब कि उसले पाउँदैन । तब भगवानप्रतिकाे आस्था भनेकाे रहस्य बनेर जान्छ । मनमा दिलासा दिएर अन्यायलाई पापकृत रुपान्तरण गर्नुहुन्न । वाट इज रङ इज रङ । त्यसमा अन्याय छ भने न्याय खाेज्नपर्छ ।
तपाईंलाई यो पनि मन पर्न सक्छ
“ भाषाको साहित्यमा पाश्चात्य साहित्यको विषयमा विवेचना गरेकै हुन्छ।”- राजनारायण प्रधान
समीक्षात्मक वेदीमा “इजा अर्घ्य” अर्पण – कृष्ण प्रधान
“चुनौतीमा गरेको कार्य नै ऐतिहासिक र सन्तोषजनक हुन्छ ।”- हर्कबहादुर लामगादे ‘रोहित’
कर्ण थामीको “उदुम्बरा” -लाई हेर्ने काकाकुली तिर्सनामा – कृष्ण प्रधान
प्रकाश चन्द्र जिम्बा, कवि
ईश्वरको अवधारणालाई मान्ने र नमान्ने भनेर दुवै एक्स्ट्रिमिजममा म जादिनँ ! ईश्वर मान्ने र नमान्ने भन्ने खाले जुन किसिमको विवाद छ, त्यसलाई भिर्ने पक्षमा म छैन । जहाँसम्म भगवान भन्ने इन्टिटी छ, त्यसको साइकोलोजी र त्यसले धार्मिक रुपमा खडा गरेको अन्तरद्वन्द र कल्चरल हेजिमनी छ, त्यो पटक्कै मन पर्दैन ।
भगवान भन्ने अवधारणाका धेरै आयाम होलान् ! कुनै आयामले छुन सक्छ्न्, त्यसको डिबेट अर्कै हुन जान्छ । समुदाय विशेषले प्रकृतिसँग जोडेर मान्ने कतिपय चलनहरू वैज्ञानिक छन्, ती गज्जब छन् ! प्रकृतिसँग जोडिएको चलनचल्तीले खडा गरेको कम्युनवाला भावना र एकताबद्ध गराउने प्रक्रियाहरू सहि लाग्छन् । त्यस उप्रान्त धार्मिक द्वन्द सिर्जना गराउने, लाद्ने, विज्ञान र यसका उपलब्धिहरूलाई निम्छरो सोच्ने, सिर्जनालाई बन्देज गराउने, र समाजमा वर्गीय विभेद खडा गर्ने जुन तत्व छ, त्यसलाई जब भगवान भन्ने अवधारणासँग जोडिन्छ अनि मलाई ठिस लाग्छ ।
भगवानले यसो भनेका छन्, हेरिरहेका छन् भनेर यो नेगेटिभ एनर्जी छिराउने प्रवृत्ति लास्ट मन पर्दैन । साहित्य, न्याय, कानुन, नैतिकता, विज्ञान, तथ्यभन्दा माथि उठेर यो सब्जेक्टिभ ब्लाक मेल गर्छन् नि । बढी भावनात्मक हुन जान्छ एटमोस्पियर । मान्छेलाई न्याय चाइएको छ अनि भगवानले माथिबाट हेरिरहेका छन् । सोसियल जस्टिसमा चैँ छिर्नु पर्यो नि । खै त खड्ग प्रसादले यत्रो सत्यानास पारे, कुन भगवानले हेर्यो ? फिल्म र मिडिया इफेक्ट लास्ट छ के, इन्डियन सबकन्टिनेन्टमा, सिरियल, भगवानको तस्बिर र घण्टी बजाएर सुरु हुने सिन, मन्दिरको ज्यादा रोमान्टिसिजम झ्याउ लाग्छ । तर फेरि मन्दिरको बासना, पर्यावरणको भाइभ्स, धुवाँ र घाटहरूले चैँ मलाई पर्सनल्ली जोडेका छन् ।
हर्कबहादुर लामगादे ‘रोहित’, लेखक
संसारमा कुनै पनि धर्म, पंथ, सम्प्रदायको उद्गम हुनुअघि यहाँ बस्ने मानिसले सूर्य, चन्द्रमा, रूखपात, हावा इत्यादिलाई पूजा अनि सम्मान गर्ने गर्दर्थे । गर्नु पनि स्वभाविक हो जुन प्रकृतिले प्राण दिन्छ, संसार दिन्छ, जिउने आधार दिन्छ उसलाई माया गर्नु नैतिक कर्तव्य हो । प्रकृति महान छ, शक्तिशाली छ । उसैको अनुकम्पाले पृथ्वीमा बस्ने सबै प्राणीहरू जीवनयापन गर्ने गर्छन् । प्रकृतिमा सौन्दर्य छ, भिन्न-विभिन्न मौसम छ, रङरूप फेर्न नियम छ, हरियाली छ । एक शब्दमा भन्दा प्रकृतिको शक्ति र महानताको सीमा मानिसले आंकलन गर्न सक्दैन । त्यही शक्तिलाई बुझेर हाम्रा दूरदर्शी पुर्खाले प्रकृतिलाई नै देवता मानेर पुज्दै आए । कारण पनि यही हो हामी आफूलाई सनातन धर्मावलम्बी भन्ने गर्छौँ ।
कालान्तरमा मानिस एवं समाजलाई व्यवस्थित, जागरूक, शान्तिपथ, समरसता र सत्यको बाटो देखाउन सज्जन पुरूष एवं महिलाले जन्म लिएर यो धर्तीमा बस्ने प्राणीको बाटो देखाउँदै गए । उनीहरूको उपदेश पालना गर्नेहरूले उनीहरूलाई ईश्वरको स्थान दिए । धर्म, श्रेष्ठता, सत्यता एवं विश्वासको डोरीले विश्वास गरेर ईश्वर पूज्दै आए । यही समाजको अस्था एवं धर्म हुँदै गयो।
ईश्वर त विश्वास हो । विश्वास नै ईश्वर हो । दुईटामा एउटा छैन भने एउटाको अस्तित्व नै रहँदैन । यो धर्तीदेखि आकाशसम्म विराजमान हुने प्रकृतिले प्राणीमा जीवन दिएर विश्वास जन्मायो । विश्वासले ईश्वरको सृजना गर्यो । तसर्थ पृथ्वीको कणकणमा ईश्वरको वास छ । प्राणमा, जलमा, थलमा, हावामा, सूर्यमा, चन्द्रमा, लतामा, प्राणीमा, धुलोमा, माटोमा, ढुङ्गामा, सजीवमा, निर्जीवमा, जयमा, अजयमा, अमृतमा, विषमा, नरमा, नारायणमा, महिलामा, पुरूषमा, सुखमा, दुखमा, प्रार्थनामा, रागमा, अनुरागमा, तालमा, सुरमा, गीतमा, संगीतमा, आकाशमा, पातालमा ईश्वर विद्यमान छ ।
ईश्वरको शक्तिको सामु कुनै वैज्ञानिक अविष्कारको तुलना नै हुन सक्दैन । एक क्षणको लागि पनि सोचौँ कि ईश्वर एउटा कल्पना मात्र हो । एउटा उदाहरणतिर ध्यान आकर्षित गर्छु- सन् २०१३ मा भारतको उत्तराखण्ड राज्यमा प्रलयकारी विपद आयो । प्रकृतिको भयानक शक्तिले स्थानीय ठाउँमा त्राहिमाम् त्राहिमाम् मचायो । पहाड पघ्लिएर गाउँ, सहर तबाह बनायो । हजारौँ मानिस मरे, लाखौँ लापता भए । तर विपदको मुख्य उद्गम ठाउँ बद्रीनाथमा शिवधामलाई विपदले केही क्षति पुर्याउन सकेन । यदि क्षति पुर्याउँथ्यो भने करोडौँ मान्छेको आस्था र विश्वासमा चोट लाग्ने थियो । तर प्रकृतिले त्यो आस्था र विश्वासलाई कायम राख्यो । प्रकृतिले विश्वास यानि ईश्वरको विद्यमानतालाई डग्मगाउन दिएन । प्रकृति र ईश्वर एक अर्काका पूरक हुन् । जहाँ प्रकृति त्यहाँ ईश्वर, जहाँ ईश्वर त्यहाँ प्रकृति । दुवैको विद्यमानताले सृजना भएको विश्वास हो जहाँबाट मानिसको धर्म र ईश्वर भएको भावना जागृत हुन्छ ।
यो कणकणमा भएको ईश्वर प्रत्येक प्राणीको आत्मामा बस्ने गर्छ । जसले यो नश्वर शरीरलाई मात्र शरीर नसम्झेर आत्मालाई चिनेर त्यसमा विराजमान ईश्वरको भक्ति गरेर परमात्माको दर्शन गर्दछ तब संसारमा ईश्वर सर्वत्र देखिन्छ । विश्बाँस सर्वत्र पाइन्छ । असंख्य आत्मामा बसेका ईश्वरको महिमा बुझी एक सर्वश्रेष्ठ ईश्वरको महत्व पाइन्छ ।
स्वामी अनुपम, लेखक
ईश्वर मान्छेको पूर्ण र असीमित क्षमता हो ।
(शब्दसोपानमा बैशाख १९, २०७८ मा प्रकाशित)