पृथ्वी नाङ्गो छ । प्रकृति नाङ्गो छ । आकाश पनि नाङ्गै छ । ब्रह्माण्ड सिङ्गोमा नाङ्गो छ । यसैले सुन्दर छन् ती । निश्चल छन् ती । पवित्र छन् ।
लाज मानेर त केही पनि हुँदैन । जीवन हुँदैन । मृत्यु हुँदैन । प्रजनन हुँदैन । सृष्टि हुँदैन । निर्माण हुँदैन । विनाश हुँदैन ।
धक मानेर के हुन्छ ? न कविता हुन्छ । न सङ्गीत हुन्छ । न गीत हुन्छ । न दर्शन हुन्छ । न अध्यात्म हुन्छ । न विज्ञान हुन्छ ।
हिमाल नाङ्गो भएरै त्यति सुन्दर छ । नदी नाङ्गो हुँदा नै वेगवान हुन्छ । फुल लाज नमानी फुल्छ र त् सुन्दर छ ।
पशुपंक्षी ! किटपतंग ! झारपात ! रुखविरुवा ! ढुङ्गामाटो.. ! सब लाजहिन छन् । यसैले मधुरसयुक्त छन् । प्रीतिकर छन् ।
तर हामी मान्छे ?
आकाशको चराहरू नाङ्गो देख्छौँ । पिँजडामा थुनीदिन्छौं ।
बगैँचा नाङ्गो लाग्छ । गमलामा गुलाब हुर्काउँछौँ ।
क्युरियो पसल/टुँडालका ईश्वरहरू नाङ्गो देख्छौँ । मन्दिर भित्र लुकाइदिन्छौँ ।
वेगवान नदी नाङ्गो भन्छौ । बाँध बाँधीदिन्छौं ।
हामी मान्छे शरीर ढाक्छौ यसैकारण,
हामीलाई सौन्दर्य बुझ्देनौं, सुन्दरता बुझदेनौं ।
जहाँ प्रेम छ, त्यहाँ नाङ्गोपन छ । र, त्यो नै सुन्दर छ ।
अस्तु !
(भिजन न्यूज नेपालमा २०७८, १९ भाद्र शनिबार ०७:३० मा प्रकाशित)