(मिथिलाङ्ग ४): नेपालको ताजमहलमा हराउँदा

You are currently viewing (मिथिलाङ्ग ४): नेपालको ताजमहलमा हराउँदा

प्रेम दाइले क्यामरा समाएका छन् । सरद्वय प्रफुल्ल घिमिरे र सञ्जीव शाह लड्डुको स्वाद लिँदै छन् । म छोटे महन्त अर्थात् उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवको आतिथ्ययताबाट आकस्मिक खुसी भएँ । विवाह महोत्सवको अवसरमा सरियाती दल (घरगाउँले समूह वा माइती पक्ष) द्वारा श्रीरामचन्द्रको डोलालाई स्वागत अभिवादन गर्दा यस्तै मिठास हुँदै हो । कल्पना न हो गरियो । आफूलाई एक हिसाबले राम मानियो भनौँ न ! सीता को हो भनेर प्रश्न नगर्दिनु, असजिलोमा परिन्छ हाउ !

वैष्णवको कक्षमा हामी सँगै थिए- इन्डिया टुडेकी सिया केसी र उनको सहयोगी (क्यामराम्यान) । केसी किञ्चितरूपमा इतिहास र संस्कृतिभन्दा पनि महन्तप्रति आस्थावान् देखिन्थिन् । मेरो आस्था मिथिलाको इतिहास र संस्कृतिमै थियो, यसैले महन्तलाई देखाउनुपर्ने आदरभाव मबाट भएन क्यारे ! भनौँ, जेजति प्रश्न थिएँ, ती सोधेर निस्किहाल्नु थियो र जानकी मन्दिरको भव्यतासामु आफूलाई छोडिदिनुथियो (मन्दिरको कुनाकुना चहार्न आतुर थिएँ) । नढाँटी भन्दा- ‘जग्गा मठमन्दिरको, हालीमुहाली महन्तको’ भन्ने त वास्तविकता नै भएकाले महन्तहरूप्रति आदरभाव देखाउन जाँगर चलिरहेकै पनि छैन । ‘मठमन्दिरको जग्गा बचाउनु छ भने सबैलाई ट्रस्टमा ल्याउनुपर्छ’ भन्ने कथित महावाणीहरू काठमाडौंतिरै पनि गुञ्जायमान भई आएकै हुँदा यो टन्टोमा नफस्ने मेसो गरेँ । (‘मुठीमा गुठी’ राख्नेहरूको कुरा अर्को अङ्कमा नगरी त किन छोड्थेँ रे ?)

लकडाउनताका वैष्णवले मनमौजी मन्दिर सञ्चालन गरेको तथा विभिन्न उत्सवमा आउने सहयोग र चन्दाका विषयमा मूल महन्तलाई जानकारी नगराएको भन्ने खाले समाचार सामग्री (अन्नपूर्ण पोस्ट) पढेकै थिएँ । गुरु शिष्य बिचको यो विवाद सल्टिसकेकाले यसलाई यतै तुरौँ ।

उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवसँग

र, पहिलो प्रश्न हुन् पुग्यो- “सुरकिशोरदासदेखि तपाईँसम्म आइपुग्दा जनकपुरमा केके भयो ?”

“जानकी मन्दिरको संस्थापक महन्त हुनुभयो सुरकिशोरदास । निमको वृक्षमुनिको शिलामा सबै भगवान् स्थापित भएर बसेको जुन स्वप्न देख्नुभथ्यो, त्यो यहाँ पाउनुभएछ । यसप्रकार जनकपुरधामको प्रादुर्भाव (जन्म) भयो । उहाँको शिश-उपशिश हुँदै अहिलेसम्म हाम्रो लगाएर सत्र, माथिसम्म सोल (१६) पिँढीसम्म हामीहरू प्रवेशमा छु”, उनले सरासर भने । तर, के भयो भनेनन् । यहाँनेर जानकी मन्दिरको महन्त्याइको रोलक्रम पनि उल्लेख गर्नु आवश्यक हुन्छ,

१. सुरकिशोरदास (यिनी महन्त नभई सन्त हुन्- जनकलाल शर्मा)
२. प्रयागदास
३. जनकवैदेहीदास (यी ३ महन्त नभई सन्त हुन्- रोशन जनकपुरी)
४. हरिनारायणदास
५. बलरामदास
६. सुवर्णदास
७. विश्वम्भरदास
८. रामगुलेलादास
९. नरहरीदास
१०. हरिभजनदास
११. रामकृष्णदास
१२. नवलकिशोरदास
१३. रामकरणदास (रामशरण दास)
१४…
१५. ..
१६.रामतपेश्वरदास (वर्तमान)

जानकी मन्दिरको महन्त्याइको रोलक्रम (वंशवृक्ष)

***

उनले जनकको छोरा भए तापनि जनकपुरमा छोरी प्रधानता रहेको बताइरहँदा म यस भेगका महिलाको अवस्थाबारे सोच्न पुगेको थिएँ र आफैँलाई सोधेको थिएँ- ‘होला र ?’ यसपालिको चुनावमा मधेस प्रदेशको प्रतिनिधि सभा सदस्यको १५ वटा निर्वाचन क्षेत्रमा महिलाको शून्य सहभागिता देखिएपश्चात् ‘होइन’ भन्नेमा पुगिहालेँ । कानुनी आरक्षण हुँदाहुँदै पनि दोस्रो चरणको स्थानीय तह निर्वाचन समेत महिला सहभागिताको कुरामा उत्साहित देखिएन । पुरुष नेतृत्वको नियन्त्रणमा रहेको मधेसी समाजभित्रको आन्तरिक बनोट, मधेसी समाज सुहाउँदो समावेशीपनका बारेमा प्रश्नहरू रहिरहनेछन्, यो अर्कोपटकको घुमफिरमा उजिल्याउने कोसिस गरौँला ।

मैथिल समाजमा ‘अहाँ (उहाँ)’ शब्दबाट सम्बोधित हुने मैथिली नारीको वास्तविकता जनकपुरको पछिल्ला दिनहरूमा देख्न पाइहालेँ । प्रातः स्मरणीया मैथिली नारी सीतालाई विश्वकै आदर्श र उत्कृष्ट गृहिणी बनाउन लालयीत ‘लालबहादुरहरू’ले सुनयना, माण्डवी, उर्मिला, श्रुतकीर्ति, गाग्री, मैत्रेयी, चन्द्रकलादेवी आदि महिमाशालिनी महिलाहरूको महत्त्वपूर्ण योगदान त पोलेर खाइसकेकै छन् । सीताको नाम बेच्दा किञ्चित लाभ हुने हुँदा मिथिला सीताप्रति मनग्गे आभारी हुँदै आएको हो । जे हो त्यो बोल्नैपर्छ । मिथिला महिलाहरूको अभूतपूर्व बयान गर्न राष्ट्रकविले पनि छुटाएका रहनेछन्-

जन्मिन् यहीँ जानकी
मञ्जरी जस्तै धानकी
माण्डवी कीर्ति उर्मिला
बहिनी बालचञ्चला
………………………
लावण्यमयी जानकी
गहुँ र गोरी जानकी
…………………..
अर्पित भइन् राममा
यही हो मेरो मिथिला
धरती शस्यश्यामला

कलाकार एससी सुमनको कलाकृति

***

सीतालाई हेर्ने-बुझ्ने भिन्न-भिन्न तरिका छन् । सीता अयोनिजा (योनीबाट नजन्मेकी), भूमिजा र कृषिकी देवी हुन् । वैदिक साहित्यका देवताहरू प्रकृतिका देवता हुन् र त्यहाँ सीता र उर्वराको उल्लेख पाइन्छ । डा. रामदयाल राकेशका अनुसार तेत्तरिया उपनिषद्मा सीता-सावित्री, सूर्यकी सुपुत्री र सोम राजाको उल्लेख छ । उनले ऋग्वेद मण्डल-१ लाई उद्धृत गर्दै वैदिक साहित्यमा सीताको दुई भिन्नभिन्न उल्लेख भएको बताएका छन्,

१. कृषिकी अधिष्ठात्री देवी
२. राज सोमसँगको सम्बद्धता ।

‘ऋग्वेददेखि गुह्य-सूत्रसम्म सीताको वर्णन आर्यजातिमा सिमित रहेको छ । सीताको मानवीकरण कहीँ पनि गरिएको छैन । उनमा व्यक्त्तित्त्वको आरोपण असम्भव छ (सीताको आविभार्व र अवसान, मिथिलाञ्चल लोकसंस्कृति, राकेश)।

वाल्मीकि रामायणमा सीताको चरित्राङ्कन महाकाव्यकी नायिकाको रूपमा देखाइएको, रामको ईश्वरीकरणपश्चात् सीतालाई लक्ष्मीका रूपमा देखाइन थालिएको छ । कालिदासकृत रघुवंशमा सीता देवीको रूपमा प्रतिष्ठित हुन् पुगेकी छिन् । स्कन्द पुराणमा ब्रह्म विधाको साक्षात अवतार हुन् पुगेकी छन्-सीता । विदेशी रामकथाहरूले सीतालाई मन्दोदरी पुत्री, कतै रामकी बहिनी पनि (दशरथ जातक लगायत) र कतै माताको रूपमा चित्रित गरिएको छ । आठौँ शताब्दीमा रचित कुमारदासकृत ‘जानकीहरण काव्य’मा जानकीको करुण पक्ष चित्रित छैन । अभिनवकृत रामचरित, क्षेमेन्द्रकृत ‘रामायणमन्जरी’मा सीताको चरित्र चित्रण पौराणिक परम्पराअनुसार नै भएको छ । सत्रौं शताब्दीको चक्रकवीकृत ‘जानकी परिणय’मा उनी सौन्दर्यशालिनी महालक्ष्मीको स्वरूपमा चित्रित छिन् ।

सीताको व्यक्त्तित्वमा पतिव्रता धर्म कहिले जोडिएको हो भन्ने प्रश्न पनि छ । तर, हिन्दीका महाकवि तुलसीदासले यिनै यिनै कुरामा आधारित रहेर (वा नरहेर पनि) ‘रामचरित मानस’मार्फत सीताको चरित्रचित्रण गर्दा आदर्श पत्नीको रूपमा प्रस्तुत गरेको हुनुपर्दछ । सीतालाई वात्सल्यमयी आमाको रूपमा सम्बोधित गर्ने काम पनि ‘मानस’मा भएको छ । रामचरित मानसको प्रख्यातिकै जोडबलमा केशवदास र सेनापतिजस्ता दरबारी कविहरूमार्फत सीतालाई जग्रानी, सियारंई र साम्राज्ञीको कल्पना सामुन्ने आए । रसिक सम्प्रदायको उदयपश्चात् जगत मूलत: जानकीमै समाहित हुन् पुग्यो भन्ने भाव देखिए । डा. राकेश संख्यामा प्रचुर भए पनि समाजमा रसिक सम्प्रदायका रचनाहरूमा काव्यिक गुण नभएको र युक्तिसंगत कल्पना नपाइएको बताउछन् । “त्यसैले लोकमानसमाथि सीताको कुनै प्रभाव परेन र सीता असंधिग्ध रुपमा तुलसीदासद्वारा प्रतिष्ठित जगज्जनैनी र आदर्श पतिव्रता स्त्रीका रूपमा नै पूज्य छ (राकेश, पृ. २०९, ऐ.)

सीता उत्पतिका सम्बन्धमा पनि अनेक कथा प्रचलित छन् । कम्बोडियाको ‘रआमकेर (रामकीर्ति); ले सीता जनकलाई हलो जोत्नेबेला नभई यमुना नदी किनारमा डुङ्गा चलाउँदा भेटिएकी, र उनी सेतो रंगमा भएकाले ‘श्वेता’ भनिएको र कालान्तरमा ‘सीता’ हुन् पुगेको उल्लेख गर्छ । प्राकृत भाषाको महाकाव्य ‘पऊमचरिअ’ले सीता जनकपत्नी विदेहामा उत्पन्न भएकी बताउँछ । तिब्बती रामायणसहित इन्डोनेसिया, मलाया आदितिरका ग्रन्थले सीता रावणकी सुपुत्री भएकी र उनी पटरानीबाट उत्पन्न भएको हामीलाई अपच्य जस्तो लाग्ने कुरा सुनाउँछ । विद्वान् रावणले ज्योतिषीद्वारा बालिका चिना हेराउँदा थाहा हुन् आयो कि यो बालिका कुलनाशक हुन्छे र यसलाई फ्याक्नुपर्छ । नदीमा फ्याकिएको बालिका प्रवाहित हुँदा जानकालाई प्राप्त भइन् । श्यामदेश (थाइल्याण्ड) ले सीतालाई विभिषणको छोरी बताउँछ । ‘आनन्दरामायण’मा सीतालाई अग्निकुण्डबाट उत्पन्न, दशरथ जातकका दशरथको छोरीको रूपमा उल्लेख गरेको पाइन्छ ।

श्रीराम पूर्व सीताजीको वन्दना गर्ने परम्परा चाहिँ सबै शास्त्रहरूमा पाइनाले सीताका सम्बन्धमा निकै लामै कुरा गर्नुपर्नेहुन्छ ।

***

अब हामी वैष्णवकै कुरा सुनौँ ।

उत्तराधिकारी महन्त वैष्णवले सीतालाई हरेक कलामा निपूर्ण गरेर जनकले हुर्काएको, सीताले पाँचै वर्षमा दश हात्तीको बलले उठ्ने धनुष उठाउन सक्षम भएको लगायतका सीताका सुन्दरतम कुराहरू सेयर गरे । सीता सम्बन्धी सम्पूर्ण लीला (क्रिडास्थल) यही जनकपुरधाममै घटित भएको (अध्ययन थलो- ज्ञानकुप्, सीता दिनहुँ नुहाउने-सीता कुण्ड, दिनहुँ सीताले पूजा गर्ने थलो- पुष्पवाटिका/गिर्जामन्दिर) एवम् जनकद्वारा स्थापित पूर्वमा कपिलेश्वरनाथ महादेव, पश्चिममा जलेश्वरनाथ महादेव मन्दिर, उत्तरमा क्षिरेश्वरनाथ महादेव र दक्षिण कुपेश्वरनाथ महादेव मन्दिर यही छन् । विहारकुन्ड (बेहुलाबेहुलीलाई जलविहार गराइएको थलो), अग्निकुण्ड (हवनस्थल), रत्नकुण्ड सागर (जनकको खजना), मनिमण्डप (सीताको विवाह भएको स्थान), धनुषाधाम (टुक्रिएको धनुष) आदिबारे पनि उनले बताए, जसले गर्दा जनकपुर आएर घुम्ने/देख्ने/डुल्ने/भुल्ने थातथलोहरूको पत्तो चल्यो, जो राम्रै भयो । एकप्रकारले उनले सरसर्ती टुरिस्ट गाइडको भूमिका पनि निभाइदिएँ, जो गजबै भयो ।

सीता-लीलाको पुरातात्त्विक खोजीखबरी चाहिँ गर्नुपर्ने जिकिर पनि उनले गरेकै हुन्, जो मलाई सबैभन्दा बेसी रुचिकर लाग्यो । पुरातात्त्विक अंश भएका राम, लक्ष्मण, जनक, कुपेश्वरनाथ, जानकी, हनुमानगढी, कपिलेश्वर मन्दिरहरू र रत्नसागरबारे पुरातात्त्विक खोजी पनि भइदिए क्या दामी हुन्थ्यो ! विडम्बना, पुरातत्त्व विभाग जनकलाल शर्माले ०१६ सालमा आफ्नो बलबुताले खोजी ल्याएको ‘चितवनदेखि जनकपुरसम्मको पुरातात्त्विक स्थल’ नामको प्रतिवेदन देखाएर भत्ता खाइबसेको छ । पुरातत्त्व विभागका पुरातत्त्व तथा सम्पदा शाखा प्रमुख देवेन्द्र भट्टराईले पङ्क्तिकारलाई जनकपुरको पुरातात्त्विक अध्ययन प्रतिवेदन दिन सकेनन् । टेकोमा सम्पदा हुँदा वास्ता नगर्ने विभागले मूर्तिको आयु बताउला, के सोच्नु ? देशभर मन्दिरको सङ्ख्या कति छ भन्नेसम्म थाहा नपाउने विभागसम्म यो प्रश्नको उत्तर खोज्नु नै खेलाँची थियो । गरियो ! धन्न सन् २०१५ मा युनेस्कोले उपत्यकाका मन्दिरहरूको सूची बनाइदिएको थियो र कसैले सोधेको ‘हाम्ले उपत्यकामा त गनेका थियौँ भन्न उसले पाएको छ । पुरातत्त्व विभागका आफ्नै दु:ख छन् यार !

उनी वैष्णव हुनुको कारण पनि खोजेँ ।

सीताराममय भजनले जानकी मन्दिर परिसर गुन्जायमान भइरहेको हुन्छ

नेपालमा वैष्णव नाम्धारी थरको जुन जाति छ त्यो रामानुज परम्पराको वैष्णव हो । रामानुज परम्परा भन्नाले रामानुजाचारीले चलाएको धर्म या सम्प्रदायलाई बुझ्नुपर्छ । त्रिचनापल्लीको छेउ श्रीरंगम निवासी रामानुजाचार्यको गणना प्रसिद्ध दार्शिनिकको रूपमा र उनको समय १२औँ शताब्दीतिर भएको थियो । अपवादको रूपमा वैष्णवहरू कतै शाकाहारी देखिए पनि प्रयास: मांसहारी नै देखिन्छन् । (हाम्रो समाज:एक अध्ययन, शर्मा, पृ. ७४) । मूलतः शैव, शाक्त र प्रकृतिधर्मी रहेका जनकपुर र मैथिलवासी समयक्रममा रामकथा र रामानन्दीय वैष्णवीहरूको प्रभावमा पुगे ।

***

उनले धनुषामधामको प्रसङ्ग उप्काएकाले सोधिहालेँ, ‘रामद्वारा खण्डित शिवजीको पिनाक धनुष १७ कि.मि. पर कसरी उछिट्टियो ?” मिथकको मिथकीकरणको रोग धार्मिक इतिहासको लुतो भएकाले पनि यो प्रश्न सोध्न मन लाग्यो ।

“त्रेता युगमा मान्छे आयू थियो दश हजार बरस् । अनि मान्छे हामी-तपाईँ जस्तो हुन्थेन, सत्र किलोमिटर त पाँचै पद हो त्यो बेलाको । पाँच डेगमा त्यहाँ पुगिन्थ्यो । अहिले कलियुगमा सो बरस् भएछ । द्वापरमा १ हजार बरस् आयू दिएछ”, उनले आफ्नो कक्षबाहिरको जानकी मन्दिरतर्फ इङ्कित गर्दै थपे, “टिकमगढीकी सन्त महारानीले भाकल गर्नुभो र यो निर्माण भयो ।”

कुराकानीमा, एउटा दाम्पत्य जीवनमा विश्वस्त भएर जसप्रकार विवाह संस्थाले विश्वरूप लिएको छ, यो यही भूमिको देन रहेको दाबीसमेत उनले गरे । उनले यसलाई ‘गाँठ बाँध्ने’ शब्दले सम्बोधन गरे । यहाँको लोकसंस्कृति पछि जनकसँग आबद्धित हुन् पुगेको तर उनी पहिल्यै पनि यहाँको सांस्कृतिक विरासत रहेको तर्क समेत उनको छ । दिना-भद्री पूजा (मुसहर जाति), घुइयामाई थान पूजा आदि उदाहरण पेश गरे । विवाहपन्चमीको ‘छप्पन्न भोक पाकवान’ आदि चाहिँ जनकको देन रहेको बताए ।

उनले जनकको महिमागान यसरी गाएँ-

“जो सम्पदा निच निच गृह स्वाह,
सो सम्पदा सुरनायक मोहा ।।”

अर्थात् जनकजीको राजै यस्तो थियो डोमको घर पनि हेर्दा दरबारै जस्तो देखिन्थ्यो ।

उनले जनकपुर मध्यमा परिक्रमा जनकको दरबारको परिक्रमा रहेको बताए । मिथिलाको मध्यमा परिक्रमाको नामले चिनिने मिथिला परिक्रमा सम्भवतः विश्वमा सबैभन्दा लामो समयसम्म चल्ने धार्मिक यात्रा (१ सय ३३ किलोमिटर पैदल दुरी) हो । प्रत्येक वर्ष भगवान् राम र सीताको सम्झनामा यहाँ बृहत्, मध्यमा र अन्तरगृह गरी तीन प्रकारको परिक्रमा मनाउने गरिन्छ । परिक्रमा अवधिमा १५ धार्मिकस्थलमा विश्राम गर्दै १५ दिनसम्म पैदल यात्रा गर्ने गर्दछन् । १५ विश्रामस्थल मध्ये ११ नेपाल र चार भारतमा रहेको छ । (यसबारे जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शितल साहसँग गफिएकाले अर्को अङ्कमा थप लेखौँला ।)

वैष्णवसँग यसप्रकार निरन्तर गफ्फिरहँदा सरद्वय र प्रेमदाजू चुपचाप नै थिए । भारतकी केसीजी पनि चुपचाप हुनुहुन्थ्यो । याद गरेँ, मेरो हातमा लड्डु अझै बाँकी छ, अरूले त खाइसिध्याएछन् । जनकपुरबारे थाहा पाउनु जति गुलियो यो हातको लड्डु कहाँ ? हेहे..।

सियाजीबाट मोदी र योगीको जनकपुर आगमनको प्रसङ्ग उप्कियो, उनको प्रश्न थियो- ‘उहाँहरूबाट जनकपुरको पर्यटन प्रवर्द्धन भएको साँच्चै हो ?” वैष्णवले लामै भूमिका बाँधिसकेर भने ‘हो, बढेको छ । यसमा कतै सन्देह छैन ।”

सियाजीपछि प्रेम दाइको प्रश्न सुनियो- ‘यतिका सम्भावना बोकेर पनि जनकपुरमा विश्व सम्पदा सूचीमा किन पर्न सकिरहेको छैन ?” यो प्रश्न निकै गह्रौँ परेको वैष्णवको मुखाकृतिबाट प्रस्टिन्थ्यो । यो किन पनि भने नेपालको हकमा प्राचीनताका आधारमा जनकपुर सर्वप्रथम सूचिकृत हुनुपर्ने नगर हो, तर भएको छैन । किन त ? यसमा महन्तको उत्तर यस्तो छ-

“कति मिटिङमा भनिसकेको छु, सूचिमा जाने रिक्वाइरमेन्ट लेख्दिनुस्, हामी पुरा गरेर देखाउँछु । दरिलो मेयर छैन यहाँ । नेताहरू क्लियर छैनन् । सूचिमा जाने रिक्वाइरमेन्ट जुटाउन धेरै आँट चाहिन्छ, त्यो यहाँ छैन । २०/२५ वर्ष जनप्रतिनिधिविहीन भयो, अब आएर यो कुरा उठ्या छ तर यल्लाई रूप दिन केही न केही कमी भइरहेको छ”, उनले निकै बेर लगाएर यी कुरा भने । जनकपुर नै वर्ल्ड हेरिटेज हो, जानकी मन्दिर मात्रै होइन भन्ने कुरा पनि उनले प्रसङ्गवश उप्काए । भक्तपुरसरह नै सम्पूर्ण जनकपुरकै कुरा उठाउने हो भने चाडै सूचीकृत हुने विश्वास पनि उनमा देखियो । जो खुसीकै कुरा हो । दुःखको कुरा चाहिँ- मन्दिर व्यवस्थापन समिति, जनकपुर क्षेत्र विकास परिषद्, पुरातत्त्व विभाग, स्थानीय सरकार तथा संस्कृति तथा पर्यटन मन्त्रालय लगायतले चुप्पी साँध्दिँदा एवम् आपसी समन्वय गर्न नसक्दा ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व भएको जनकपुरधाम विश्वसम्पदामा पर्ने सम्भावना टर्दै गएको देखिन्छ । अपजसे भन्नुहोला तर, जनकपुर बसाइ भरी नै यस प्रश्नको चित्तबुझ्दो उत्तर कसैबाट पाइएन । एउटाले अर्कोलाई, अर्कोले अर्कोलाई दोष लगाउने परिपाटी यहाँ बढ्तै देख्न पाइँदो रहेछ ।

***

जनकपुरस्थित जानकी मन्दिर परिसर। तस्बिरः नवीनबाबु गुरूङ

वैष्णवले जानकी र सीतारामको मुख्य पूजा हुने र सो पूजाविधिलाई ‘अष्टयाम सेवा’ भनिने बताए । बिहानदेखि रातिसम्म जागरण, स्नान, अभिषेक, वस्त्रत्रियादी, सिँगार, धूप-दिप-नैवेध-आरति, भोग, भोजन, भोग आरति, शयन, शयनपछि जागरण, फेरी सिंहासनमा बसाउने, फेरी भोग लगाउने, त्यसपछि सन्ध्या आरति, बेलुका फेरी भोग लगाएर शयन आरति, आरतिपश्चात् विश्राम र फेरी बिहान जागरण हुने प्रक्रिया नै अष्टयाम सेवा हो, जो नित्य हुँदै आइरहेको छ । आफूजस्तै भगवान्लाई भोक लागेको छ, थकाइ लाग्छ, निन्द्रा लाग्छ भनेर यो पूजाविधि गरिने रहेछ, यस पूजाविधिले भगवान् साकार (साक्षात्) भएको भाव दर्शाउछ । अर्को निराकार पूजा पनि हुन्छ तर यहाँ साकार पूजा नै गरिन्छ । यसप्रकार “हामीसँग छ भगवान्, मूर्ति मात्रै होइन उहाँ एउटा जीव हो’ भन्ने भाव महन्तहरूमा देख्न पाइन्छ, जो साँच्चैमा सुन्दरतम पक्ष हो । ‘वृक्षराज नमस्तुते’ अर्थात् वृक्ष पूजनको मैथिल संस्कार पनि सुन्दरतम कुरा छ ।

मैले धन्नै छुटाएको, उत्तराधिकारी महन्त रामरोशन दास वैष्णव सीतालाई दिदीको भावमा पूजा गर्ने गर्छन्, जबकि सुरकिशोर दास लगायत छोरीको भावमा पूजा गर्ने गर्दथे । यो प्रसङ्ग उप्काइदिने काम प्रफुल्ल सरबाट भएको थियो, सरलाई यसबेला पनि आभार ।

यसप्रकार हामी छोटे महन्तको कक्षदेखि निस्कियौँ, उनले पनि आफ्नो पूजा कार्य सुरु हुन् लागेको बताए । सरद्वय ‘समयाभाव’ बताउँदै सोही कक्षदेखि बाहिरिनुभयो । र, यसप्रकार ४९ हजार ५५५ वर्ग फिटमा फैलिएको, करिब ५० फिट अग्लो मन्दिरको भव्यताबिच हामी दुई दाजुभाइ रहन पुग्यौँ । यहाँ गुन्जायमान भइरहेको भजनहरू, बहिरहेको हावा, मानिसका चहलपहल आदित्यादीले मैथिली लोकसाहित्य-संस्कृति सरस, सजीव रहेको मुखरित गरिरहेको थियो । म मौन हुन् पुगेँ । यसै जनकलाल शार्माले जानकी मन्दिरलाई ‘नेपालको ताजमहल’ भनेका होइन रहेछन् । ‘प्रत्यक्षम् किम् प्रमाणम्’ अर्थात् ‘प्रत्यक्षलाई केको प्रमाण ?’

मौनम् स्वीकारलक्षणम् !

अस्तु !!

===
सन्दर्भ सामाग्री :

चितवनदेखि जनकपुरसम्म: केही पुरातात्त्विक स्थल, प्राचीन नेपाल, जनकलाल शर्मा
जनकपुरको ऐतिहासिक पक्ष, रोशन जनकपुरी
मैथिली संस्कृति, मिथिलान्चल लोकसंस्कृति- डा. रामदयाल राकेश
मिथिलाक सांस्कृतिक परम्परा, डा. रेवती रमण लाल
वृहत्तर जनकपुर क्षेत्र विकास परिषद् ऐन, २०५५
The History of Janakpurdham: A study of asceticism and
the hindu polity, by Richard Burghart

लेखकका अन्य सिर्जनाहरू पढ्न यहाँ क्लिक गर्नुहोस्…#मिथिलाङ्ग#राजु झल्ल#राजु झल्लु प्रसाद

(साहित्यपोस्टमा २०७९, मङ्गसिर २३, शुक्रवार १४:०४ मा प्रकाशित)

Leave a Reply