मानव बस् ढोङ गरिरहेछ! 

You are currently viewing मानव बस् ढोङ गरिरहेछ! 

यस शताब्दीका चल्तीका नाराहरू:
ओल्ड टाउन, सिटी हल, ग्रेट मस्कोको पुनर्निर्माण गर्नुपर्छ।
आइएसआइएल, बोको हराम, अल नुसरालाई रोक्यौँ।
त्यहाँ मध्यपूर्वी, उत्तर अफ्रिकी सभ्यताको अस्थिर पञ्जर जीवित छ।

यस समयका हाइलाइटेड हेडलाइनहरू:
गहिरा गुफा र कुवा जोगाउनुपर्छ।
त्यहाँ माया र मोहनजोदारोको अवशेषहरू सुरक्षित छन्।
भेरियोभकिना गुफाको उत्खनन बन्द गरौँ,
ब्ल्याक सीको राज उदाङ्गो पार्नु आवश्यक नै छैन।
च्यालेन्जर डीपमा पुगेर बोतलमा पानी भर्न जरुरी छैन।

अहिलेको प्रमुख जनचासोको विषयहरू:
पानीलाई बग्न दिऊँ, रोकिन नदिऊँ।
इथोपियालाई रोक्यौँ, नाइललाई मेडिटेरियन सागरमै खस्न दिऊँ।

क्यास्पियन सागरलाई पाँच टुक्रा नबनाऔँ, तेल मात्र सबथोक होइन।
अमेजनमा पुल नबनाऊ, मान्छेसँग मात्र हात-खुट्टा छैन।
 
मस्टार्ड ग्याँस, साइरिन ग्याँसको उत्पादन र वितरण बन्द गर्यौं,
धरती अर्को सद्धाम हुसेन, मोहम्मद अल गद्दाफी चाहँदैन।

एटम बम र राफल भण्डारण कम गरौँ,
धरती अर्को क्युबियन मिसाइल क्राइसिस चाहँदैन।
सोलर प्यानल तताएर पानी तानीतानी गाँजा हुर्काउन छोड्यौँ,
फारसलाई उसकै सूफी गीतसङ्गीतमा झुम्न दिऔँ।
धर्म, जात, वर्ग र पैसा मात्र सबथोक होइन।

रबरको विकल्प खोजौँ, कङ्गो समुन्द्रसम्म पुगेर पौडी खेलिरहन सकोस्।
रगतको लर्को नसमातौँ, आस्विट्समा अब रंगरोगन आवश्यक छैन।
चकलेट चुस्न मरिहत्ते नगरौँ, आइभोरी कोस्टबाट बालश्रम हटाउन जरुरी छ।
‘ह्वाइट म्यान बर्डनस्’ र ‘बधू शिक्षा’को पुनर्मुद्रणको कुनै औचित्य छैन।
 
आजका स्पष्टीकरणहरू:
तक्षशिला विश्वविद्यालय हुन जातिको आक्रमणबाट काँपिसकेको छ,
नालान्दा विश्वविद्यालय अब अर्को बख्तियार खिल्जी चाहँदैन।
मालदिभ्स, किरीवशलाई समुन्द्रमा नडुबाऔँ।
बिकिनी आइल्याण्ड, मार्शल आइल्याण्ड अब 
अर्को हाइड्रोजन बमको थप्पड सहन सक्दैनन्।
फीजी आफ्नै समुन्द्र किनारमा माछा मारेर बस्नेछ, अब ऊ दादुरा चाहँदैन।
सुडान आफ्नै जङ्गलमा गाई पालेरै बस्नेछ, 
अब ऊ ‘निलो क्याप’ आफ्नो गोठमा सिउरिन चाहँदैन।

आजका वक्तव्यहरू:
श्रीलंकाले घाँटीमा बम फिट गर्ने कवाज खेल्न छोडिसकेको छ।
जापानले सानी बच्चीको योनी च्यात्ने खुकुरी फ्यालिसकेको छ।
चीन अब लोकतन्त्र माग्ने विद्यार्थीको कन्चटमा तोप तेर्साउने छैन।
अरब अब तरकारी बेच्ने ठाउँ माग्ने आम युवकलाई 
तेल खन्याएर जिउँदै जलाउने छैन।

यस शताब्दीका चल्तीका नाराहरू,
यस समयका हाइलाइटेड हेडलाइनहरू,
अहिलेको प्रमुख जनचासोको विषयहरू,
अहिलेका प्रकृति प्रेमीहरूको आवाजहरू,
आजका स्पष्टीकरणहरू, वक्तव्यहरू..
आजका घोषणापत्रहरू, लिखित बयानहरू..
 
यस्तो लाग्छ,
मान्छे मानवता जोगाउन अब राम, कृष्ण पुकार्दै छैनन्।
मान्छे सामाजिक बन्दै छ- जिसस, मोहम्मद गुहार्दै छैनन्।
मान्छेहरू स्व-ध्यानी हुँदै छन्- शकरांचार्य, जरथ्रुस्त, बुद्ध, कन्फुसियस, महावीर समक्ष फिराद गर्दै छैनन्।

यस्तो लागिरहेछ,
बुझिरहेछ मान्छे- आफ्नो दायित्व।
भनिरहेछ ऊ-
‘पृथ्वीको संरक्षणको जिम्मा आफ्नो हो! हाम्रो हो!’
राम्रो!
धेरै राम्रो।

तर यहीँनेर मलाई समस्या छ,
मान्छे बस् ढोङ गरिरहेछ कि,
यो धर्तीको ऊ बाहेक कोही संरक्षणकर्ता छैन।

मान्छे बिर्सिरहेछ
ऊ पनि हो- प्रकृतिकै एक अंश।
ऊ पनि हो- प्रकृतिकै एक सानो हिस्सा।
सम्झनै चाहँदैन मान्छे
हो ऊ,
बस् एक प्रजाति- मानव!
बस् एक जीव- मानव!
बस्, एक कण- मानव!

उसले के सोचेको छ?
उसको संरक्षणको जिम्मेवारीबाट पन्छियो भने प्रकृति
के ऊ यो सत्यतासँग दुर्घटित हुन सक्दछ? 

Leave a Reply