भ्यागुतोको पैतला!

You are currently viewing भ्यागुतोको पैतला!

कुनै समय
हामी दुवै भ्यागुता थियौँ
ट्वार-ट्वार गरिरहन्थ्यौँ
भोक लाग्थ्यो- अन्न थिएन
निन्द्रा लाग्थ्यो- ओछ्यान थिएन
सपनाहरू थिए- असरल्ल!

हामी दुई
आ-आफ्नै जिन्दगीको कुवामा बसेर
सँग-सँगै गरिरहन्थ्यौं- ट्वार-ट्वार! ट्वार-ट्वार!
अघाएकाहरू विरुद्ध
निदाएकाहरू विरुद्ध
हाम्रा सपनाहरू लुट्ने विरुद्ध

एकदिन
निस्कियो ऊ
खुसीले उफ्रँदै पुग्यो पर-पर 
र जाँदा
ऊजस्तै, मजस्तै धेरैलाई साथ लिई गएछ!

सुनेको थिएँ
आफूसँगै गएकाहरूलाई खाँदै, कोपर्दै
ऊ विषालु सर्प बनेको छ
आज देखेँ पनि
जब ऊ आफ्नो विष बोकेर कुवा छेउ आयो…

मलाई थाहा छ
उसको दुई जिब्रोमध्ये
एउटाले आहरा खोज्दै छ
र, अर्कोले साहरा!

मलाई यो पनि थाहा छ
चीलले आफ्नो पन्जा कुवा छेउमा गाडिसकेको छ
अबको केहीबेरमै 
उसको घाँटी चीलको चुच्चोबीच हुनेछ।

उसको उड्ने रहर पूरा भएकोमा
निकै बेरसम्म मुन्टो उठाएर हेरिरहेँ- आकाश 
अलि बेरपछि चाल पाएँ 
चीलको पन्जाको छापमाथि पो उभिएको रहेछु म
र, मेरा पैतालाहरूले मेटाइसकेछन्- त्यो छाप।

इतिहास साक्षी छ
शासकहरूले खसालेका बम/बारुदको डोबहरू 
जनताका पैतालाले मेटाइरहेछन्- सदियौंदेखि। 

(सेतोपाटीमा आइतबार, मंसिर १९, २०७८, १५:२९:१६ मा प्रकाशित)

https://www.setopati.com/literature/255949

Leave a Reply