निबन्ध : झरी निख्रिएछ !

You are currently viewing निबन्ध : झरी निख्रिएछ !

मैले यादै गरिनँ, झरी निख्रिएछ । भदौ महिनाले छाता बिसाइसकेछ । असोज महिनाले ज्येष्ठ, असार, साउन एवं भदौ महिनाका बलेँसीले कोट्याएर गएका पिँढीको छेउहरूको लिपपोत कार्य सुरु गरिसकेछ । ….हेहे..झरी निख्रिएछ । मैले यादै गरिनँ ।

एउटा वर्षको साह्रो सुन्दर ४ महिना फुत्तै हिँड्दिनु साह्रो मापाको कुरा हो । र, यी ४ महिनामा आफूले चाहिँ ४ थोक पनि गरी नभ्याउनु कम्ता गाह्रो कुरा होइन ।

गर्नु एउटा हुन्छ, गरिरहेको अर्को हुन्छु । यो अर्को मापाको काकताली हो । भन्नु एउटा हुन्छ, भनिरहेको अर्को हुन्छु । सुन्नु एउटा हुन्छ, सुनिरहेको अर्को हुन्छु । जानु एकातिर हुन्छ, गइरहेको अर्कैतिर हुन्छु । यो साह्रो खुलबिन्दाङ माहौल हो । र, यो वर्ष कसोकसो यसै भएछ । यस वर्षको झरी फुत्तै निख्रिएछ । २/४ लट पनि छाता खोल्न भ्याइएनछ । २/४ राउन्ड पनि दर्किरहेको झरीको आवाजलाई सुबिस्ताले सुन्न पाइएनछ । एउटा आदत नि..। अघिल्ला वर्षहरूमा यसो गरेकाले नि !

भन्नुस्, यस वर्षको झरीसँग सामान्य भलाकुसारी समेत हुन् नपाई झरी निख्रिएछ, यस कुराको मलाई सामान्य दु:ख जस्तो महसुस भइरहेछ । विगतका वर्षहरूदेखि म चाल पाउँदैथेँ, ‘झरीका दिनहरूमा हृदय थोरबहुत रमाइदिन्छ । किप्याडमा औँलाहरू पनि दौडिन्छन्, जो यसपछिका ठन्डी र त्यसपछिका रुक्खा दिनहरूमा क्रमशः कम हुन्छ । र, म बोध गर्छु- ज्येष्ठदेखि भदौसम्म साह्रो लेख्न सकिन्छ । यतिबेला खुरुरु लेख्न सकिन्छ । सायद म सक्छु । सक्दो रहेछु ! र, एउटा ‘लेखियो’ भन्ने खुसीजस्तो उफ्राइ पनि त हृदयमा हुन्छ । र, यो उफ्राइ सबभन्दा मापाको उफ्राइ हो । वर्षमा एकचोटी यो उफ्राइ उफ्रिन पाइयो भने पुग्छ । तर, यो वर्ष हालसम्म त्यसरी उफ्रिन पाइएको छैन ।

झरीका/मा दुई चार राम्रा कुरा छन् । अझ बढी होलान्, अहिले २/४ वटा सम्झिन खोजौँ । पहिलो कुरा- मजस्ता लेख्नेहरूलाई एउटा गतिशील मन निर्माण भइरहन्छ । सिर्जनात्मक होइदिऊ भन्ने हो भने झरीमा ‘झरी जत्तिकै’ सिर्जनात्मक भइदिन सकिन्छ । नभइदिऊ भन्दा पनि भई गइन्छ ।

झरीको अर्को राम्रो कुरा के छ भने, ऊसँग एउटा अत्यन्त कोमल प्रवाह पनि छ । नदीनाला बगेका, भुइँकुहिरो धुम्मिएका, हुस्सु ढाडिएका, चराका प्वाँखहरू गलेका, फूलका जराहरू सुम्लिएका वा जैविक विविधताका हरेक आयाम फस्टाएका, फुलेका, चम्किएका अनेकन् दृश्य-उपदृश्यहरू देख्न/भेट्न सकिन्छ । मजस्ता डुलुवाहरूका लागि यो कम्ताको कुरा छैन । मानव नपुगेर सित्तैमा खेर गइरहेका देशका अनेकन् चोक्टाहरू चाक बिसाउनु र एउटा मिठो चिसो महसुस गर्न पाउनु साह्रो दामी कुरा हो । यस्ता चोक्टाहरू गएर चाक बिसाउनु भनेको ‘मन बिसाउनु’ हो । मन बिसाउने ठाउँ भेटेपछि पुगेन त अनि ? मन जस्तो थकित जैविक वस्तुले विश्रामलीन हुन् पाएपछि/सकेपछि अरू के चाहियो ? एक खेप मनले थकाई मार्यो भने ऊ तयार भयो- एउटा लामो भावनात्मक यात्राका लागि ।

आजको पूँजीवादी र सूचना प्रविधिका मालिकहरूले एकछिन एकान्त नदिएर यहि मनलाई लखेटिरहेको हुन् । यिनीहरूलाई थाहा छ, झ्यापझुप वाइफाई बन्द गरेर मजस्ता मान्छेहरू ४ हप्ता एउटा कोठामा दियो (बत्ती) वा मैन्टोल बालेर बस्दिएँ भने उसको ५०/६० हजार ‘लस्ट’ हुन्छ । यसैले उनीहरू घरघरमै पठाओ वा फुडमान्डू गरेर मलाई बाहिर लगिउरहन्छन् । उनीहरूका संशाधन र बजारकेन्द्रित प्रडक्टहरूमा मलाई अल्झाइरहन्छन् । कृषि पूँजीवाद वा बजार सामान्तवाद, वाणिज्य पूँजीवाद, औद्योगिक पूँजीवाद र वित्तीय पूँजीवाद अर्थात् साम्राज्यवादले मजस्ता देश डुल्ने/घुम्ने चाह राख्ने र ‘विदेश नजाम् न त’ भन्नेहरूको स्वावलम्बीपन र आत्मनिर्भर सोचलाई लोप्याइरहन्छन् । खिस्याइरहन्छन् ।.. र, सामाजिक र अर्थ-राजनीतिक आयामबीचको सम्बन्ध र अन्तरक्रीडाका पक्षहरू पर्गेल्न खोज्ने मेरो जस्तो अटेरी मन पटकपटक थाकिरहन्छन् । किन ? किनभने यस देशमा एउटा ‘अटेरी मनबासी’ भइखानु भनेको साह्रो दौडीरहनु हो । फनफनी रिंगिरहनु हो । एउटा रिंगटा चलाउने दौडमा दौडिएको घोडा हुनु हो । एअरबस र बोइङ बेच्ने ‘आर्थिक कूटनीति’ बारे गनगन नगर्ने गधा हुनु हो । र, यिनीहरू दौडाउन सकेसम्म मेरो जस्तो हरेक ‘अटेरी मन’लाई दौडाइरहने पक्षमा छन् । किन ? किनभने दौडिनेहरूले दौडिएजति मेरो भनेर पनि लास्टमा त्यहिँ टल्सटयको छ फूटे चिहान पाउने हुन् । उसको दौडीन्जेलको पसिनाको मूल्य वा रेस दौड प्रतियोगिताको टिआरपी पूँजीवादीकै हो । यसैले भनेको, आजको चकचके र चटके दुनियाँमा मन जस्तो थकित जैविक वस्तुले विश्रामलीन हुन् पाएपछि/सकेपछि अरू के चाहियो ?

झरीले अर्को कुरा चाहिँ, एउटा गर्भावस्था जस्तो स्थिति निर्माण गरिदिन्छ यसले । या अझ, बच्चा जन्मिएपछिको प्रथमाकालीन स्याहारसुसार जस्तो रैवैया देखाउँछ । झरीले यसो नगरिदिने हो भने देश साह्रो जब्बर र कठोर भइदिन्छ । ४ महिना पानी नर्पने हो भने देशको आधाउधि विकास बजेट खर्च हुनै पाउँदैन । यो नहुँदा रेमिटेन्स कहाँ खर्च गर्ने ? विदेश पुगेर रगत-पसिना बेचिरहेका युवाहरूको मिहेनत कहाँ अवमूल्यन गर्ने ? खैर, यहाँ प्रशासन/पद्धति/व्यवस्था वा सिद्धान्तको कुरा नगरौँ (हाललाई) !

झरीकै कुरा गरौँ केहीबेर । मानव हुनुको जैविक भावावेग ‘झरी कालखण्ड’मै हुर्किन्छ । र, देश भन्नु जम्मामा त्यहीँ मानव हुनुको भावावेगसँग गाँसिएको राष्ट्रियता, स्वाधीनता, सार्वभौमिकता, सांस्कृतिकता वा सामाजिकताका मसिना-मसिना गाँठाहरू न हुन् । गाँठाहरू एउटा निश्चित समयमा कसिनुपर्छ र फेरी फुकाइनुपर्छ । र, देशमा त्यो भइरहेको छैन । कि कसिएका छन्, कि फुकिएका छन् । दुई खेमा भयो । यसैले बित्यास पारिरहेको छ । कस्ने र फुकाउनेहरूको गाँठोमा जनता छन् । यो तेल निचोर्याइ साह्रो चर्को छ यार !

देशकै कुरा आइगो, गरौँ । अरू छोड्दिउ ।

यो मेरो सतवचन हो- देशले साह्रो लठभूत र बेइमान ब्युरोक्र्याटसलाई पालिरहेको छ । यी पाल्तुहरू साह्रो फाल्तु छन् । यसका म एकएक दसीप्रमाण र रेकर्डहरू उपलब्ध गर्न/गराउन सक्छु । र, अब यिनै पाल्तु फाल्तुहरूको चर्चा गरौँ । सक्नुहुन्छ, सुघौँ यिनलाई । सक्नुहुन्न- नाक थुनौं । तर, आँखा/कान खोलौं र यस चर्चालाई ‘श्री अस्तु’ गरुन्जेल हातमा फूलअक्षता लिई ध्यानपूर्वक यो म्हात्म्ये श्रवण गरौँ । ‘श्रमण कुमार’ नबनौं, अन्यथा शिकारमा निस्किएका तत्कालिन अयोध्या राजकुमार दशरथले तपाइँको छातीमा तीर घोप्नेछन् । र, तपाईको आमा-बुबा नामका दुई थान ‘देश र समृद्धि’ घुप्लुक्कै हुनेछन् ।

***

एक खेप एउटा पाल्तु मकहाँ आइपुग्यो र भन्यो, ‘भाइ, एउटा रिसर्च पेपर छ । न्युज बनाउनुपर्‍यो ।’ म फाल्तुले पनि भनिदिएँ, ‘कस्तो रिसर्च हो ? कोठाबाटै कि फिल्डकै ?’ उसले ‘मिक्समाक्स’ भन्यो । रिसर्च मागेँ र पढेँ । त्यो फाल्तुले के गरेछ भने २३/२४ वर्षअघि मरिसकेको मान्छेलाई २३/२४ दिन अगाडि भेटेछ र स्वर्गीय मान्छेलाई जिउँदो ठानेर खुइका खुई उसका कुरा उतारेछ ।

‘कस्तो फिल्डमा जानुभयो त हो ? हुँदै नभएको मान्छे तपाईँको रिसर्चमा छ ?’ भनेर सोधेको थिएँ, ऊ भन्छ, “कसलाई थाहा हुन्छ ?” हो, कसैलाई थाहा हुँदैन । यो देशमा कसले के गरिरहेछ ? किन गरिरहेछ ? त्यो गरेर के हुन्छ ? नगरेर के हुन्छ ?.. यस्ता कुरा कसैलाई थाहा हुँदैन । किन थाहा हुँदैन भन्ने कुरा चाहिँ थाहा हुन्छ, तर त्यो थाहा हुँदैन किनभने ‘थाहा हुनु हुँदैन’ । किनभने रुपचन्द्र विष्ट २३/२४ दिनअगाडि उसको फिल्डमा उसँग छन् । म ‘त्यसिमाकि मुजी’ भन्ने अवस्था छु । किन छु, मलाई नै थाहा छैन । र, यो गजब छ ।

यस्ता फाल्तुहरूमध्येकै एउटा फाल्तुसँग साउनको महिनामा भेट भएको थियो । त्यो दिन झरी परेकाले यो कुरा प्रासंगिक हुन्छ सायद । उसले गरेको कम चाहिँ चरा गणना थियो । भन्थ्यो, ‘३ महिना लगाएर चरा गनेँ । यति चरा भेटेँ ।’ फेरी भन्थ्यो, ‘चरा बढेका छन् । अझ बर्खायाममा अण्डा पार्ने समय हुन्छ, यतिबेला रिसर्च गर्ने हो भने चरा अझ बढाउन सकिन्छ ।” म अचम्मित भए, “बढाउन सकिन्छ ?”

मैले सोधेँ, “मैले के गर्नुपर्‍यो ?” ऊ भन्छ, “तैँले अण्डा गन्ने वातावरण बनाइदिनुपर्‍यो ।” म हाँसे ।

उसले फेरी भन्यो, “त्यो नसके, अण्डा गन्न आवश्यक छ भनिदिनुपर्‍यो ।” मैले भने, “सङ्ख्या कति पुर्‍याउनुपर्छ ?” ऊ भन्छ, “एक हजार पुग्यो भने संरक्षणको योजना अघि सार्न सकिन्छ । तर, त्यो भन्दा बढी हुनु हुँदैन । नत्र, आइयुसियन रेड लिस्टमा अट्दैन ।” मैले बुझेँ, वास्तविक तथ्याङ्क उसलाई चाहिएको थिएन । उसलाई ठ्याक्कै एक हजार चाहिएको थियो । र, उसले एक हजार पुर्यायो ! चानचुन ३/४ हजार भएको चरालाई उसले १ हजारमा झार्यो ! किन झार्यो ? कसलाई थाहा हुन्छ ? कसैलाई हुँदैन । किनभने ‘थाहा हुनु हुँदैन।’

अर्को फाल्तु प्रशासनतिरको थियो । गर्‍यो के भने- एउटा गाउँमा फोहोरदानी वितरण गर्‍यो । कति गर्‍यो भन्दा २ हजार । गाउँमा मान्छे कति मान्छे थिए- १०० जना । कति घर थिए ?- छोडेका/बसेका र छोड्न खोजेका गरेर २०० चानचुन । अब प्रश्न आउँछ, उसले २ हजार फोहरदानी कसरी वितरण गर्‍यो ? कसरी गर्‍यो/गर्‍यो । कसैलाई थाहा छैन । तर, यो कसैले थाहा नपाउने काम गरेर उसले के पायो ? कसैलाई थाहा छैन । र, मलाई चाहिँ थाहा छ- उसले एउटा एनजिओको प्रोजेक्ट डिरेक्ट गरिराछ अहिले । र, हाल ऊ बालविवाह उन्मुक्तिको कुनै प्रोजेक्टमा जोडिएको छ । पक्का छ, उसले धादिङ वा गोरखाकै कुनै हिमाली भेगमा तम्बु गाँडेर बसिरहेको छ । र, त्यहाँ पनि उसले यहि काम गर्नेछ । र, दुर्भाग्य के छ, हामी पत्रकार वा विद्यार्थीहरू यस्ता मुलाहरूले ल्याएको तथ्यांकलाई आधार मानेर दिगो विकास र मानव सूचकांक वा कुल ग्राहष्थ उत्पादनका गफ छाटछौँ । म कहिलेकाही सोच्छु, “जनकलाल शर्मा, डोरबहादुर विष्ट, महेशराज पन्त, कुलचन्द्र कोइराला वा हर्क गुरुङ” का किताबहरू किन पढ्नु हो ? त्यसरी कसले पो काम गरेको छ र ? देशमा अध्ययन-अनुसन्धानको नाममा के चलिरहेछ छ, छ ! कसैलाई थाहा छ ? थाहा छ । तर, कसलाई थाहा हुन्छ ?

अर्को एउटा फाल्तु भेट भयो । उसले एउटा भर्खर कृषितर्फको अधिकृत भएर गएकी अविवाहित महिलालाई प्रस्ताव राखेछ, ‘तँ मसँग सुत्छेस् भने केन्द्रमै बस्लिस् । अन्यथा, दूर गाउँ जा । गइहाल् । ” अधिकृतले भनिछे, ‘दूर गाउँ जान्छु ।”

अनि ऊ कार्यकक्षमा बजिरहेको ब्लु फिल्म मोबाइलमा बन्द समेत नगरी मसँग भन्दैथ्यो, “यसरी त यो महिला अधिकारले हामीलाई बित्यास पार्ने भो । हाकिमको कदरै छैन यार । एक रात सुतेकी भए जिन्दगी बनाइदिन्थे ।” उसका अनुसार, उसले लब नगरि, डेट नबसी ४/४ वर्ष लोकसेवा पढेर आफूलाई देशभक्तिका अर्पणमा गरेको र त्यसपछि देश सेवा गरेको उसले बुझ्न पर्दैन ? समकालीन महिला अधिकारले एउटा कोठाबाट ४/५ वर्ष हस्तमैथुन समेत नगरी हुर्किएको ‘लोकसेवाधारी पुरुषसत्ता’लाई बुझ्न खोजेकै छैन । मैले उसलाई भने, ‘म निस्केँ किनभने उसँग सार्वजनिक शिष्टाचार, नैतिकता त थिएन, थिएन, एक गेडा लैङ्गिक संवेदनशीलता पनि थिएन ।’ मलाई डर छ, ऊ अझ कति वर्ष हाकिम भइरहने हो ?

एउटा प्रदेशतिरको फाल्तु भेट भयो । ऊ तैबिसेक कम फाल्तु हो तर, उसले गर्न खोजेको काम गर्न सकेन । ऊ चाहन्थ्यो, एउटा परियोजनाको लागि सर्वप्रथम रिङरोड स्टाइलमा बाटो बनाऊ, त्यसपछि बाँकी पूर्वाधारको काम थालौँ । तर, उसको सचीव चाहन्छ, ‘बाटो भन्दा पहिला खच्चडबाट सामान बोकाएर भवन निर्माणका लागि आवश्यक कच्चा पदार्थ माथि पुर्यायौं । त्यसपछि बाटो बनाऔँ ।’ यसो गर्दा एउटा खच्चडको भारी बापत मनग्ये कमिसन भेटिन्छ, सिधै बाटो बनाउँदा अलि कम आइपर्छ । सुरुमै बाटो बनाइदिने हो खच्चरलाई भारि बोकाएबापत प्रति खच्चर ६ हजार मुनाफा हुँदैन । र, अर्कोचाहिँ सिधै बुल्डोजर चलाएर बाटो पुर्याउने हो भने सडक र भवन दुवै चाढै बन्छ, बहुवर्षीय योजनाको यसरि अल्पायूमै घांटी कस्नुहुँदैन ।

र, प्रदेशको त्यो फाल्तु हाल सोही विवाद मिलाउन राजधानी छिरेको छ । ऊ भन्दैछ, ‘केटा, त्यो सचिवलाई सरुवा गराउनुपर्नेछ । किनकि ऊ हुन्जेल मैले बाटो बनाउन पाउँदिनँ ।’ म उसको कुरा सुनेर हाँसे, किनभने उनीहरू दुवैले खान (घिच्न) जानेका थिएनन् । खुरुक्क न ल्याएर ‘खच्चड राजमार्ग’ बनाउन खोजेको भए कति आनन्द हुन्थ्यो ? विदेश जान नसकेका/नपाएका भारि बोक्ने खच्चडहरू चोकचोकमा कति छन्, कति ? जान्दैनन् केटाहरू ! अचम्म लाग्छ ।

अर्को एउटा थियो, पर्यटन क्षेत्रको । उसले चाहेको अलि महँगा टुरिस्ट देशमा ल्याऊ । तर, उसको फ्रस्टेसन हवाई फेयर र पृथ्वी हाइवेको निर्माणाधीन अवस्थासँग थियो । उसका महँगा टुरिस्ट यस्ता सस्ता रुटबाट आउँदैनन् । ऊ भन्छ, ‘पर्यटन बोर्डले १/१ करोड भाग लगाएर बजेट पास गर्दैछ ।” र, त्यो १/१ करोड सस्ता टुरिस्ट र चलिरहेकै कुरालाई चलिरहन दिनका लागि खर्चिएको छ । तर, ऊ भन्दैन, त्यस्ता १/१ करोड कति वटा हो ? तर, उसको बुझाइ छ, ५० भन्दा कम हैन । सस्ता टुरिस्ट इन्डियाका हुन्, तिनीहरू ट्रक मुनि भात पकाएर खाइदिन्छन् । ४ दिन नेपाल आउँदा एउटा सेन्डो वा ब्रसधरी किन्दैनन् । अनि बोर्ड भन्छ, ‘कोरोनापछि पर्यटन संख्यामा क्रमिक सुधार ।” के आधारमा भन्छ ? तथ्यांकको आधारमा ? तथ्यांक कसले बनाएको ? भन्न हुँदैन । किनभने भनेर के हुन्छ ?

एउटा अर्को छ, ऊ हो शिक्षक । तर, २/३ वटा गाउँपालिकातिर बुद्धिजीवी भई ख्याएको छ । उसलाई दुवैतिरबाट भत्ता आउँछ । र, ऊ भन्छ, “विद्यार्थीलाई हामीले इमानदारिता सिकाउन सकेनौँ । देश बरबाद भयो ।” एकदिन उसलाई भनेको थिएँ, “सर, एउटा आर्टिकल लेख्नुपर्यो, जसले वर्तमान शैक्षिक अवस्थालाई व्यंग्य गरोस् ।’ उसले फ्याट्टै भन्यो, “शिक्षामाथि व्यंग गर्नुहुँदैन ।” मैले पनि सोधिनँ, “किन सर ?” सोधेको भएँ उसले भन्ने थियो, “किनभने स्कुल क्षेत्रमा व्यंग निषेध छ ।”

र, यतिबेला मलाई अर्को एउटा फाल्तुको याद आएको छ । ऊ संघीय सांसद हो । ऊ एकाबिहानै हिमालयन जाभामा भेटिन्छ र बारबार बाहिर हेरिरहन्छ । म उसँग उसको क्षेत्रको पर्यटकीय सम्भावना र वातावरणीय सम्भाव्यताको अध्ययन यसकारण आवश्यक छ भनिरहेको हुन्छु । मेरो कुरालाई टारेर र बाहिर हेरिरहेर ऊ मलाई फ्याट्टै सोध्छ, “तँ विदेश जाँदैनस् ?” म प्वाक्क पर्दिनँ किनकी ऊ आफ्नो क्षेत्रको बडो भलाद्मी र कहिलिएको राष्ट्रभक्त नेता हो । र, यो कुरा ऊ आफैं भन्छ र भनिरहन्छ, आफ्ना हरेक भाषणमा ऊ भन्न छुटाउदैन, “ नेपाली समाजले देशबाट आशा गुमाउने बेला आएको छैन । वैदेशिक अध्ययन वा श्रमका लागि विदेश जाने दिन गए । हाम्रो ठाउँ हामीले बनाउने दिन आए ।” तर, आज ऊ प्वाक्क मलाई सोध्दै थियो, “तँ विदेश जादैनस् ? जाँ, मसँग राम्रो सम्पर्क छ । २ लाख मलाई चाहिन्छ, तेरो भिसा फिक्स ।” म फेरी ट्वाँ परिनँ किनभने उसले समकालीन धन्दा बुझेको रहेछ । आज तपाइँ विदेश पठाउने दलाल पेशामा हुनुहुँदैन वा राजनीतिमा हुनुहुँदैन भने तपाइँले संघीय सांसद भएर चुनावी खर्च तिर्न सक्नुहुँदैन । र, ऊ बाहिर हेरी नै रह्यो । एक्कासी एउटा ठिटो म भन्दा उमेरमा जेठो आइपुग्यो, उसलाई ढोग्यो ! ‘विदेश बसाइ फलदायी होस्’ भन्ने आशीर्वचनपश्चात संघीय फाल्तुले प्याट्टै भन्यो, “केटा, तेरो भाइको के हालचाल छ नि ? भाइको पनि दुई लाख छोडीराख न !” र, त्यो ठिटोले ४ लाख यसरि निकाल्यो मानौं कपालबाट फ्याट्ट रौँ निकाल्यो ।

उसले कफी पैसा तिर्न खोज्दै थियो, म आफैं उठें- ३ सय तिरें र यो भनेर चल्दिएँ, “मुलाङ, विदेश लखेट्ने कुरामा नि तिमिहरूकै हालीमुहाली रहेछ । बधाई ।’

***

पछिल्ला एक वर्षमै संकलित यस्ता प्रसंगहरू अनेक छन् । र, मलाई हाँसो पनि उठ्दैन । रिस पनि उठ्दैन किनभने ‘देश’ शीर्षकको यस कथामा यस्ता पात्रहरू आवश्यक छन् । पात्रहरू त मैले भेटें, फसाद के छ भने म त अझ चरित्र निर्माणकै क्रममै छु । विषयवस्तु चयनकै क्रममै छु । पृष्ठभूमि वा परिवेश निर्माणको क्रम अझ बाँकी छ । तर, मलाई दु:ख के लाग्छ भने यस कथाको शीर्षक ‘नेपाल’ हो । र, मैले यो कथा तुर्दासम्म ‘नेपाल नै नरहे के होला ? कथा लेख्दालेख्दै ‘मूल पात्र’ नै गयल भइदिनु सानो दु:खको कुरा हो ? यसैले आज साह्रो चिन्तित छु । यतिबेला मलाई वास्तवमै एक खेप झरी पारिदिए हुन्थ्यो लागिरहेछ तर दु:खको कुरा- झरी निख्रिएछ । मैले यादै गरिनँ ।

अस्तु !

लेखकका अन्य सिर्जनाहरू पढ्न यहाँ क्लिक गर्नुहोस्…#राजु झल्लु प्रसाद

(साहित्यपोस्टमा २०८०, आश्विन १२, शुक्रवार १०:०१ मा प्रकाशित)

Leave a Reply