नेपाली समाजको जीवनशैली र दुःख पीडाको आख्यानात्मक अभिव्यक्ति ‘ऐना’का लागि मदन पुरस्कार प्राप्त गरेका रामलाल जोशीले आफ्नो अर्को आख्यानात्मक कृति ‘सखी’मा कमलरीका कथाव्यथालाई प्रस्तुत गरे । प्रस्तुत छ, सुदूरपश्चिम धनगढीमा रही पूर्णकालीनरूपमा लेखन तथा साहित्यिक गतिविधिमा संलग्न रामलाल जोशीसँग ‘द मार्जिन’को साप्ताहिक स्तम्भ ‘किनाराका साक्षी’का लागि राजु झल्लु प्रसादले गरेको कुराकानीको सम्पादित अंशः
तपाईंले ‘सखी’ लेख्नुभयो । ‘ऐना’ लेख्नुभयो । ‘अन्जानमै साहित्य लेखनमा लागेर’ पनि त लेखिँदो रहेछ है ? समाजको विडम्बना र कुरुपता हाकाहाकी लेख्ने आँट बटुल्नुअघिको तपाईंको पृष्ठभूमिबारे थोरै बताइदिनुहोस् न ।
हो । साहित्यको क्षेत्रमा म जानीनजानी लागेँ । कुनै योजना र लक्ष्य लिएर लागेको होइन । रहर, रुचि र खै केके नजानिँदो आनन्दका लागि सानैदेखि साहित्यकाे एउटा लत बन्यो ।
साहित्य लेखेर म यो गर्छु , यस्तो बन्छु भन्ने कुनै पनि लेखकको कुनै योजना हुँदैन । लेख्ने मान्छे त्यस्सै लेख्छ । लेख्ने कर्म सम्झिन्छ र लेख्छ । त्यसलाई अरूले पढिदिन्छन्; मन पराइ दिन्छन् र चर्चा गरिदिन्छन्; त्यो छुट्टै कुरा हो । आफ्ना रचनाहरूसँग लेखकको प्रेम हुन्छ तर त्यस्तो कुनै अपेक्षा हुँदैन ।
मैले पनि ऐना र सखी कुनै अपेक्षाले लेखेको होइन । लेख्नुको त्यस्तो कुनै कारण र पृष्ठभूमि पनि छैन । म जुन समाजमा बाँचे, जे देखेँ, जे भोगे, जे जाने, त्यही लेखे । मेरो लेखन कुनै नयाँ कुराको आविष्कार पनि होइन । समाजकै एउटा प्रतिबिम्ब हो ।
नेपाली साहित्य बजारमा कम समयमा बिक्रीको रेकर्ड बनाएको कृति ‘ऐना’ असमीया भाषामा पनि छापियो । ऐनाका कथाहरू पढिएनन् मात्रै, नाटकका रूपमा मञ्चन समेत भए । ‘सर्ट मुभी’ एवं ‘थेसिस’ पनि गरिए । ऐनाको सफलतालाई कसरी हेर्नुहुन्छ ? एउटा कृतिले लोकप्रियता कमाउनु भनेको के रहेछ ?
हो, तपाईंले भनेको ठिक हो । ऐनाको बारेमा जे उल्लेख गर्नुभयो त्यो शतप्रतिशत सही हो । ऐना लेख्दा कुनै अपेक्षा गरेको थिइन । तर, आज कल्पनातीत खुसी ऐनाले दिएको छ । तर पनि मेरो मान्यता के हो भने कुनै पनि कृति लेख्दा लेखक कहिल्यै असफल हुँदैन । कृति लेखेर छापिएन भने असफल भन्नु ठिक हो । लेखेको कुरा प्रकट गर्न सकिएन भने असफल हुनु हो । तर कृति जन्मिनु भनेको लेखक स्वयममा सफल हुनु हो । बढी पाठकले पढ्नु र कम पाठकले पढ्नु या बढी बिक्री हुनु र कम बिक्री हुने कुरा सफलता र असफलताको मापन होइन । सौभाग्यले ऐना धेरैले पढे , धेरैले रुचाए । लोकप्रिय बन्यो । यो नितान्त पाठकको छनौटको कुरा हो । म ती सबै प्रिय पाठकप्रति नतमस्तक छु ।
एउटा कृति लोकप्रिय हुनु भनेको लेखक सङ्कटमा पर्नु पनि हो । बढी जिम्मेवार बनाउनु पनि हो । हरेक लेखक आफ्ना पाठकको मनमुटुमा बसिसकेपछि त्यहाँबाट बाहिर निस्किन चाहन्न । यो कुराले लेखकलाई जहिल्यै सङ्कटमा पारेको हुन्छ । आफ्ना पाठकहरूमा लोकप्रिय बनिरहन ऊ आफ्ना कृतिहरूमा अत्यधिक चिप्लो घस्न चाहन्छ । फलतः ऊ चिप्लिन्छ । मान्छेको मनलाई केले छुन्छ, कुन कुराले प्रभाव पार्छ, लेखकले ठ्याक्कै तोक्न सक्दैन, भन्न सक्दैन । लेखकको प्रयास र पाठकको छनौटका बीचमा जहिल्यै द्वन्द्व भैरहन्छ ।
मानव अधिकारको व्यापक बहस चलिरहेको बखतमा कमलरी केटीको सङ्घर्ष, समर्पण र सफलताको गाथा ‘सखी’ प्रकाशित भयो । तपाईंलाई सोधीहालौँ, कमलरी जनप्रतिनिधिहरू अघि सरेका छन्, कमलरी परिचयपत्र निर्देशिका लगायतका सतही कामहरू देखिएका छन्, तर कमलरीहरूको पछिल्लो वास्तविक यथार्थता कस्तो छ ? घर फर्किएकाहरू पुनः कमलरी बस्न जाने क्रम जारी छ भनिन्छ । ‘सखी’पश्चात के-कस्ता परिवर्तन एवं पहलकदमीहरू देखिए ?
होइन, मानव सभ्यताको सुरुवातदेखि नै दासदासी प्रथा चलिआएकै देखिन्छ । समाजको वर्गीय, जातियलगायतका अनेक विभेदले यी समस्याहरू उब्जाएको हो । ती सबै विभेद अन्त्यका लागि मानव इतिहासमा ठूल्ठूला क्रान्तिहरू पनि भए । हाम्रै देशमा पनि कमैया र कमलरी प्रथाको अन्त्य त भयो तर सम्पूर्ण रूपमा समाजबाट त्यसका जरा अन्त्य भैसकेका छैनन् । यसमा केही गरिबी, केही मान्छेको प्रवृति , केही राज्यको गैर-जिम्मेवारी आदि अझै बाँकी छन् ।
सखी त्यही जीवनको एउटा कारुणिक कथा हो । त्यो कहाली लाग्दो जीवनको आवाज हो । आवाजले समाजलाई त झस्काउँछ नै । परिवर्तन त समयको माग पनि हो । सखीको माग पनि त्यही हो । परिवर्तन हुँदै जाला ।
भर्खरै धुमधामसँग बालदिवस मनाइयो तर कमलरीजस्तै अनेकन् बालश्रमको अवशेषहरू अझै पनि हामीकहाँ जीवित छन् । गैरमानवीय क्रियाकलापहरू पनि रोकिएका छैनन् । साहित्यमार्फत यी-यस्ता मुद्दाहरूमा कत्तिको खबरदारी भइरहेको पाउनुहुन्छ ? या अझ यसरी सोधौँ- लैङ्गिकताको सवालमा, स्वतन्त्रता र समानताको सवालमा एवम् नारी/अपाङ्ग/प्रौढ/सीमान्तकृत समुदायको सवालमा हाम्रा लेखकहरू कता छन् ?
जसका दृष्टिमा जे देखिए ती विषय र मुद्दाहरूमाथि लेखिरहेको पाएको छु । पछिल्लो समयमा आएर नेपाली साहित्य किनारीकृत विषय र मुद्दाहरूमाथि बढी केन्द्रित भएको पाएको छु ।
समकालीन नेपाली साहित्यले लेख्न छुटाइरहेको विषयवस्तुहरू के-के हुन् ? लेखिएकाहरूमा देखिएका समस्याहरू ? पछिल्ला किताबहरूलाई केवल ‘लेखकको एकांगी अनुभूतिमा सीमित भएको’ आरोप लागिरहेको छ, तपाईंको मत ?
लेख्न छुटेका भन्नुस् या लेखिन बाँकी विषयवस्तु त कति छन् कति । समयक्रममा लेखिँदै जालान् । लेखिएका कुराहरूमा देखिएका समस्या, या लेखकमा देखिने रुग्णता अथवा एकङ्कीपन जे-जति आरोप-प्रत्यारोप या विवाद छन्, ती सबै समीक्षाका विषय हुन् । त्यसको चिरफारको लागि नेपाली समालोचना क्षेत्र छ नि ।
‘लेखक बजारमा त पुग्यो तर लेखकभन्दा बजार बलियो हुन् पुग्यो ।’ के म सही छु ? लेखक आफ्नो अस्मिता/नैतिकतामा बाँच्न नसकेको कि बजार तानाशाही हुँदै गएको ?
म यस्ता कुरामा विश्वास गर्दिन । साहित्यको बजार भनेको सडकमा चटपटे बेचेजस्तो होइन । कस्मेटिक विज्ञापन र हल्लाको भरमा साहित्यको बजार तात्दैन । यो अन्यन्त बुद्धिमानी मस्तिष्क र संवेदनशील हृदयको क्षेत्र हो । यसलाई उत्पादक कम्पनी र उपभोग्य बजार ठान्नु नै भूल हो । यसमा तीनटा पक्ष हुन्छन्- लेखक, माध्यम (बजार) र पाठक । लेखक पहिलो पक्ष हो । उसले पाठकलाई चिनेर लेख्दैन । बिक्रीका लागि पनि लेख्दैन । आफ्नै आनन्दका लागि लेख्छ । त्यसैले ऊ कहिल्यै अनैतिक हुँदैन । अनैतिक भएर लेख्नुको के स्वार्थ ?
दोस्रो पक्ष भनेको प्रकाशक या वितरक अथवा तपाईंले भनेको बजार हो । ऊ त केवल एउटा माध्यम मात्रै हो । उसको न कुनै हस्तक्षेप रहन्छ न धेरै भूमिका । लेखकको कुरा पाठसमक्ष पुर्याइदिने माध्यममात्रै हो ।
तेस्राे पक्ष भनेको पाठक हो । यो सबैभन्दा बलियो पक्ष हो । यसलाई न लेखकले झुक्याउन सक्छ न बजारले । यो अत्यन्तै संवेदनशील पक्ष हो । पाठक न कहिल्यै तानाशाही हुन्छ न निर्मम । लेखकलाई भौतिकरूपमा पनि र मानसिक रूपमा पनि बचाइराख्ने नै पाठक हो । जब पाठकको हृदय लेखकले छुन सक्यो, मान्नुस् त्यही दिन लेखक र पाठकका बीचको दिवार भत्कियो । यहाँ बजार भन्ने चिजै गौण कुरा हो ।
‘दुई वर्षभित्रमा अवश्य नयाँ उपन्यास पाठकका हातमा पर्नेछ’ भन्नुभएको थियो, हामीले तपाईंको दोस्रो उपन्यास कहिले पढ्न पाउछौँ ? साथै, तपाईंले लेख्नु भएको सबभन्दा पहिलो रचनालाई कसरी सम्झना गर्नुहुन्छ ? त्यो रचना उपलब्ध हुन सक्छ ?
म चार क्लासमा पढ्दा राजा वीरेन्द्रको जन्मदिनमा सुनाएर १०/१० गरी २० रुपैयाँ पुरस्कार पाएको कविता मसँग छैन । जिन्दगीका धेरै कुरा छुटेजस्तै त्यो पनि कता छुटेर हरायो ।
त्यसपछि छापिएको पहिलो रचना भनेको ‘नेपाली चरित्र’ शीर्षकको कविता हो । त्यो २०५० सालमा मैले आफैँ सम्पादन गरेको सौगात पत्रिकामा छापिएको छ । त्यो मसँग सुरक्षित छ ।
अर्को कुरा ऐना आएको अढाइ वर्षमा सखी आयो । सखी आएको तीन वर्ष पुग्यो । सखी आएको दुईवर्षमा अर्को आख्यान आउँछ भनेको थिएँ । तर एक वर्ष बढी नै घर्क्यो क्यारे । कोरोनाले सब चौपट्टै पार्यो नि । तर अब चाडैँ आउँछ । अबको चारपाँच महिनापछि नयाँ आख्यान आउँछ । यो कुरा सबै पाठकहरूलाई भन्दिनोस् है ।
‘लेख्नका लागि पढ्नुपर्छ’ या ‘पढ्नेले लेख्छन्’ भन्ने गरिन्छ । अझ, ‘लेखन भनेको अध्ययनको सहउत्पादन हो’ भन्ने भाष्य छ । तपाईंको मत ? तपाइँ किन लेख्नुहुन्छ ? तपाईं किन पढ्नुहुन्छ ?
लेख्नका लागि पढ्नु पर्छ । आफ्नो कथा कसरी भन्ने त्यो तरिका पढेर नै सिकिन्छ । लेख्नका लागि देश दुनियाँ बुझ्नुपर्छ । सकेसम्म धेरै पढ्नुपर्छ, यो सत्य कुरा हो । तर पढ्नेले नै लेख्छन् भन्ने कुरा होइन । कम पढ्नेले पनि धेरै लेखेका उदाहरण संसारमा प्रशस्त छन् । म किन लेखनमा लागेको हुँ थाहा छैन । अचेल एउटा लत बस्यो त्यसैले लेख्छु । आफूलाई प्रकट गर्नलाई लेख्छु । नलेख्दा कतै म अधुरै रहन्छु कि, मेरा कुरा अपूरै रहीदिन्छन् कि भन्ने लागेर लेख्छु । पढ्ने कारण त एउटा जिज्ञासा र आनन्दको हुटहुटी मात्रै हो ।
‘हत्केलामा आकाश’ नामक गजलसंग्रह प्रकाशित छ तपाईंको । अलि ठाडो प्रश्न गरेँ, गजलमा चलिरहेको जुँगाको लडाइँको तपाईंको पक्षधरता कतातर्फ छ ? यो विवाद आवश्यक थियो ?
यस्ता कुराहरू चलिरहन्छन् । साहित्यको क्षेत्रमा मुख्य कुरा भनेको सिर्जना हो । अरू कुरा गौण हुन् । के लेख्ने, किन लेख्ने, कसरी लेख्ने ? कथा लेख्ने कि उपन्यास ? निबन्ध लेख्ने कि नाटक ? कविता लेख्ने कि मुक्तक ? गीत लेख्ने कि गजल ? गजल र कविता लेख्दा पद्यमा लेख्ने कि गद्यमा ? त्यो त सर्जकमा निर्भर हुने कुरा हो । कविता र गजल छन्दमा मात्रै लेख्नुपर्छ गद्यमा हुँदैन भन्ने पनि कहीँ तर्क हुन्छ ? यसका लागि पनि विवाद र आन्दोलन हुन्छ ? खुरुखुरु लेख्ने कुरा पो हो त बरू । लेखेरै आफ्ना मान्यता स्थापित गर्नु पो आन्दोलन हो त । कलासाहित्य भनेकै पुराना मान्यता भत्काउँदै नयाँ किसिमका रचना र मान्यता स्थापित गर्ने क्षेत्र हो नि ।
बढ्दो बजारीकरणसँगै नेपाली साहित्य पनि अहिले उद्योगको रूपमा स्थापित भइसकेको छ । शिक्षण पेशालाई छाडेर लेखनमै करिअर बनाइरहनुभएको तपाईं (पूर्णकालीन लेखक)बाट अनुज पुस्ताले के सिक्ने ?
सिकाउने, पढाउने कुरा त मैले शिक्षणसँगै छोडेर आइसकेँ । म अब कसैलाई सिकाउन आएको होइन । घुम्ने, फिर्ने, आफ्नो देश, समाज, संस्कृति र जनजीवन बुझ्न र त्यसैलाई अक्षरमार्फत फर्कट गरौँ भन्ने उद्देश्य हो । म कुनै पनि पुस्तालाई सिकाउन असमर्थ छु । बरू सबै पुस्ताबाट आफू पो केही न केही सिक्ने प्रयत्नमा छु !