मन चिसो बनाउने ‘हिउँभन्दा चिसो’

You are currently viewing मन चिसो बनाउने ‘हिउँभन्दा चिसो’
  • राजु झल्लु प्रसाद

तपाइँ मण्डला थिएटर आउँदै हुनुहुन्छ । म तपाइँलाई पर्खिदै छु । र, तपाईले बताएअनुसार, तपाई पहिलोपटक नाटक हेर्न थिएटर आउनुभएको छ । 

म सँगसँगै हुनुहुन्छ दाजुद्वय, प्रेम बाँस्तोला र सुजन खनाल । इटहरीका बाँस्तोला दाजुले पत्रकारितामार्फत मनग्ये सामाजिक बेथिति र कुरीतिलाई अगाडि सार्दै आइरहेको ३० वर्ष नाघ्यो भने उहाँको रेडियो नाट्यकारिता र फिल्म क्षेत्रमा पनि दख्खल छ । मकवानपुर खनाल दाजु हाल फेकोफनमा छन्, यसअघि र आज र यसपछि पनि उनी पर्यावरण र सामाजिक-सांस्कृतिक मनोदशाहरूलाई केलाइरहेका छन्/रहनेछन् ।   

मेरोबारेमा तपाइँ जान्नुहुन्छ । र, म तपाइँबारे जान्दिनँ ।
तपाईले आफ्नो परिचय मसँग साट्न सक्नुहुन्छ र ‘भुत्रो लाछ र ?’ भन्न पनि सक्नुहुन्छ ।

***

र, म भन्दै थिएँ, हामी मण्डला थिएटरमा छौँ । तपाइँ आइपुग्दा हामी थापाथलीको भगवती मन्दिरमा कालो चिया बुत्याईरहेका थियौँ । तपाइँ आइपुगेको खबरपश्चात् हामी थिएटरतर्फ बत्तिएका हौँ । र, तपाइँ हामीलाई नपर्खी मण्डलाको बरण्डामा चिया पिउँदै हुनुहुन्छ । यति पिउनुभएको छैन, पिउनुस् किनकि ‘यहाँ यतिखेर तपाइँले चिया पिउनु अत्यावश्यक छ ।’ यो श्रावण सिमसिमे चिस्याइलो झरीमा तपाइँले तातो चिया पिउनु मुनासिब हुन्छ । किनभने हामी ‘हिउँभन्दा चिसो’ नामक नाटकको कथावस्तु, साजसज्जा, पात्र-परिवेश, मनोभाव-मनोदशा र कलर इफेक्टको माइनस डिग्रीको चिसोमा न्याकिनेवाला छौँ । यसैकारण नाटक हेर्नुअघि तपाइँले आफूलाई हल्काफूल्का गरम, मनतातो बनाउनु परम आवश्यक छ । मनतातो चिया पिउने हाम्रो आग्रहले तपाइँले ‘मन चिसो’ बनाउनु भएको छैन भन्ने हाम्रो अनुमान हो ।

तपाइँ हाम्रो निम्तालु हुनुहुन्छ र मण्डला आइसक्नुभएको छ । अतयव: तपाईसँग मण्डलाको कान्दानी झिकेर फ्याल्दिएपछी बचेको ‘मण्डल’को खास अर्थ के हो भनेर सोधिहालु किनभने नाटक ५:३० सुरु हुनुपर्नेमा ५:४६ तिर सुरु हुनेछ । यो १६ मिनेटमा हामी १७ थरि कुरा गर्न सक्छौँ । एक थरि कुरा यहि कान्दानी फुस्किएको ‘मण्डल’को बारे भयो । 

पन्चायतकालतिर सर्वप्रचलित र प्रजातन्त्र आएसँगै लोपोन्मुख हुन् पुगेको ‘मण्डले’ शब्दसँग नजिक्याई बाट्ने ‘मण्डला’ शब्द संघीय गणतान्त्रिक मुलुकका कलाकारहरूले किन राखेका होलान् भन्ने प्रश्न मेरो मनमा खेलिरहेको छ । र, म मण्डल शब्दको परिभाषा खोजिरहेको छु । तपाइँसँग उत्तर छ भने बताइदिनुहोस । अन्यथा मेरो थप जिज्ञासाहरू सुन्नुहोस् । 

र, तपाइँले बताउनुभएको छ, “मण्डल शब्द ‘मण्ड’ र ‘ल’ मिलेर बनेको छ । ‘मण्ड’ को अर्थ सुख अनुभूति गराउने सार हो भने ‘ल’ को अर्थ शरीर हो ।” तपाइँको अनुसार, मण्डलले एक हुनु या ब्रम्हाण्ड एवम् मानव शरीर पनि एक मण्डल हो । तपाइँले दिएको सांस्कृतिक परिभाषा सत्य हो भने मण्डला शब्दले मानिसको अन्तिम लक्ष्य वा ध्येय सुख प्राप्त गर्नु हो र यो त्यसै कुराको द्योतक हो भन्ने दार्शनिक बहसलाई सतहमा ल्याइदिन्छ । जो सुनिरहँदा कान रत्तिभर टट्याएको छैन । र, तपाइँ बताउँदै हुनुहुन्छ कि, मण्डल जमिनमा बनाइन्छ । यसको अर्थ तपाइँ पौभा चित्र वा म्ह्य पूजाका समयमा नेवारले बनाउने ‘मण्डल’लाई संकेत गर्दै हुनुहुन्छ । यी कुराहरू तपाइँबाट सुन्न पाउनु हर्षको कुरा भयो ।

तपाइँको कुरालाई काटेर दाजुद्वयले ‘मण्डले’ शब्दको परिभाषा पनि गर्नुभयो । उहाँहरूले उहाँहरूले रुपचन्द्र विष्टको ‘मण्डलेदेखि होसियार’ शीर्षकको कविता पनि सम्झनुभयो । उहाँहरूको कुरा सुनिसकेपछि मलाई लाग्यो, तीस दशकतिर कलेजका भित्ता-भित्तामा खोपिएका ‘मण्डले’ शब्दसँग ‘मण्डल’ या ‘मण्डला’को खासै साइनो सम्बन्ध रहेनछ । एउटा अबोध सांस्कृतिक शब्दको बित्थामा राजनीतिकरण भई चिरहरण गरिएको रहेछ । 

रुक्नुस, अझै ५ मिनेट बाँकी छ । मण्डलेबाट मण्डलातिर जानुपर्छ । फरक विचार सुन्न या ग्रहण गर्न नसक्ने र आक्रामक रुपमा प्रस्तुत हुनेलाई पञ्चायतकालमा ‘मण्डले’ भानिन्थ्यो । र, यहाँनेर मण्डलाले ‘नाटकीय स्वाद सहित फरक विचार तर ग्रहण गर्नै पर्ने’ कुरा गर्दै छ । र, यस कुराको नाम् हो- नाटक हिउँभन्दा चिसो । 

***

यतिखेर हामी नाटकघरको अँध्यारो कोठामा छौँ । मन्चको मध्यभागमा मधुरो बत्ति बलेको छ र दुई मनुवाहरू हातमा टिकट बोकेर आ-आफ्नो कुर्सी खोजिरहेका हामीजस्तै अन्य दर्शकलाई ‘तपाइँको चाक यहाँ राख्नुस’ भन्दै छन् । 

र, जब हामीले ५०० रुपैयाँ तिरेर करिब डेढ घण्टाको लागि किनिएको ‘चाक बिसौनी’मा आ-आफ्ना चाक विसाइसकेका छौँ, हाम्रा कानमा मधुर स्वरवाणी गुन्जिरहेको छ । गुन्जित स्वर बाँसुरीको हो र प्रेमदाइका अनुसार यो रेकर्डेड ‘फ्ल्यूट सङ’ हो । यदि हो भने यो नजाती कुरा भयो, १०/१० मिनेटसम्म साउने झरी छिचोलेर आएका हामीलाई  रेकर्डेड ‘फ्ल्यूट सङ’ सुनाउनुको खासै अर्थ छैन । तर, कुरा के पनि हो भने, बाँसुरी सदैव श्रुतिमधुर नै हुन्छ, त्यो चाहे निरोले बजाऊन वा श्रीकृष्णले । 

र, हामीले करिब १० मिनेट  गैर पश्चिमी सांगीतिक वाद्ययन्त्रलाई सुन्दै थिएटरको मध्यभागमा ठडीएको घरजस्ता आकृति र तत्पश्चात् पृष्ठभूमिमा देखिएका थिएटर व्यवस्थापनका दृश्यहरूलाई देख्दै गर्यौं । यति नै बेला कसैले ‘चिसो भयो’ पनि भने कसैले ‘एसी घटाउनुपर्यो’ पनि भने । तर, तपाइँ गुमसुम भई मेरो छेउमा बसी अपलक टोलाएर थिएटरमा झुन्डिएका आकृतिहरूलाई घुर्दै हुनुहुन्थ्यो । तपाइँ-हामी कसैले पनि थिएटरको बत्ति नबलुन्जेल ती मानव अनुहार अंकित काष्ठकलाहरू ‘आत्मा’ होलान् भनेर बुझ्न सकेनौं । यो बुझ्नलाई हामीलाई नाटक सुरु भएको ३० मिनेट जति समय लाग्यो । 

सुरुसुरुमा त यी आकृतिहरू ‘भूतप्रेत, पिचास, डाकीनी, साकीनी’लाई जनाऊ गर्ने बिम्बको रूपमा रातो-निलो लाइट पोतिएर सोही प्रकारका पार्श्व संगीत सहित आइरहेका थिए । तपाईले भन्नु पनि भयो, “यार, कस्तो डर लाग्दो ।’ यसो भन्दा तपाईले फर्स्ट रोमा आफ्नो बुबाको काखमा बसेर डराइरहेकी एक बच्चीको मनोभावलाई पनि ख्याल गर्नुभएको थियो । त्यतिबेला मैले बुझेको थिएँ, तपाइँ अमूर्त चित्रमा मानव मनोविज्ञान खोज सक्ने व्यक्ति हुनुहुन्छ । र, जबजब नाटकमा उत्कृष्ट रंग संयोजन गरेको पाउँछु, मलाई सिङ्गै रंगमंच एक ‘फ्ल्युड आर्ट’ जस्तो लाग्छ । मनभित्रको भावनालाई रंगको माध्यमबाट व्याख्या गर्न सक्नु र एक मूर्त काष्ठकलालाई सोही व्याख्या मार्फत अमूर्त बनाउनु गजब कुरा हो नि । मैले तपाइँसँग यस कुरा गर्दा तपाईले भन्नु पनि भयो, “क्या बात । कस्तो मिठो कुरा गरेको ।’ म खिस्स हाँसेको थिएँ – अमूर्त कलाको  एक मूर्त अभिव्यक्ति । 

दाजुद्वय अपलक रूपमा नाटकको विषयवस्तुप्रति ध्यानस्थ हुनुभएको थियो । विषयवस्तु यहाँ नखोलम भन्ने ‘आदर्शवान’ विचारधाराका कारण तपाइँले पनि उहाँहरूको ध्यानलाई भंग गर्न खोज्नुभएन । म पनि उसैगरि गोता खाइरहेको थिएँ । ‘यार, यो डाक्टर (डा. सिद्धान्त आचार्य)लाई यी बुढाबुढीले मार्छन् कि क्या हो ? यो डाक्टर अलि असुहाउँदो खालको लुगा भिरेर र नचाहीडो अंग्रेजी बोलेर आफ्नो पात्रता किन खराब गर्दैछ ? त्यो भन्दा बढी यो डाक्टरले एउटा सुनसान गाउँ (मृत)मा जीवित यस घरमा कसको उपचार गर्न आएको हो ? गोपी( की श्रीमती नौरतीले फोनमार्फत उसलाई किन यहाँसम्म बोलाएकी थिई ? र बडो वातावरणविद् छनक दिँदै ‘आइ लब हाइकीङ’ भन्ने यो डाक्टर गोपीलाई किन यो गाउँ यति सुनसान छ, यहाँका मान्छे कहा गएँ भनि सोध्दैछ ?” यसप्रकारका रबर जस्ता प्रश्नहरू तन्किएको तन्कियै थियो मेरो खोपडीमा । 

एक्कासि, गृहिणी नौरती डाक्टरलाई हल्लिरहेको झोलुंगेतिर लान्छे तर डाक्टर एक्कासी तात्तिन्छ । त्यसपछि कथावस्तु वासरल्ल हुन् पुग्छन् । यसपश्चात् मेरो टाउको टनक्क भएको थियो तर तपाइँले टाउको मिच्दिनुभएन । मेरो बुझाइ छ, तपाइँको पनि टाउको दुखेको हुनुपर्छ । नौरतीको बेहिसाब मातृत्व, उसले  ठानेकी वास्तविकता, सुत्यैको सुत्यै गरिरहने बच्चा, पत्नीले मानेको सत्य स्वीकार गर्नुपर्ने गोपीको बाध्यता र स्याल कराइरहने रातको झर्कोलाग्दो दृश्यले तपाइँलाई पनि दिक्क बनाएरै छाडेछ । तपाइँले कानेखुसी भनिहाल्नुभयो, “मनले पनि कति झुटलाई सत्य मान्दो रहेछ, कति सत्यलाई झुट मान्दो रहेछ । तैट ।” 

यसपछि मैले ‘हैट’ भन्दै दाजुद्वयलाई नियालेँ । उहाँहरू डाक्टर सिद्धान्त आचार्यलाई आइपरेको झर्कोलाग्दो फसादमा अल्झिरहनुभएको थियो । म पनि उहाँहरूसंगै मिसिए । एवम् रितले तपाइँ पनि मिसिन आइपुग्नुभयो । र, हामीले एउटा अक्करे यात्रा गर्यौँ, जहाँ खेलौनालाई आफूले जन्माएको बच्चा ठानेरहेकी नौरती, त्यही बच्चा बिरामी छ भनेर मान्छेको नाममा यी दुई जोइपोई मात्रै भएको भएको गाउँमा आइपुगेको डाक्टर हाम्रा सहयात्री बन्न आउँछन् । उनीहरूसँगै आइपुग्छन्, मानिसका मोहहरू क्षणभङ्गुरता र भ्रमपूर्ण तानाबानाका जीवत ठानिएको मृत बच्चा जस्ता खेलौने वास्तविकताहरू । उनीहरू हामीसँग आ-आफ्ना सीमा र बाध्यताहरू कहन्छन् । हामी चुपचाप सुनीरहन्छौं । 

हामी सुनीरहन्छौं- ‘माओवादी द्वन्द्वपछी बसाइँले रित्तिएको गाउँ । नौरती र गोपीको आफन्त नभए पनि स्वर्गबासी पुर्खाहरू (जो गाउँलाई प्रेम गर्थे) अर्थात् आत्माले भरिएको गाउँ । खेलौना बच्चाको उपचार गर्नुपर्दा प्रथमत: रिसाएको, त्यसपछि झिंझो मानेको, त्यसपछि अत्तालिएको डाक्टर । मातृमनोविज्ञानको मर्म छताछुल्ल भई पोखिएकी नौरतीको ‘पागल’जस्तो प्रतित हुने मनोदशाहरू । प्रेमको असिमित गहिराइमा डुबेका  एवम् गाउँ छाडि जानेहरूप्रति कुनै द्वैष नपालेका दम्पतिहरू । नेपालका दुर्गम गाउँले खेपिरहेको पट्यारलाग्दो दुःख, व्यथा, मर्का र गुनासोका शृंखलाबद्ध आक्रोश, पीडा, झिझकहरू । दम्पतिले संगालेका धार्मिक विश्वास (कुलदेवता र मष्टो देवता)हरू । अनि सबभन्दा बढ्ता चाहिँ, श्रीमतीको खुसीका लागि जानीजानी झुट बोलिरहेको अर्थात् चाइनिज बोल्ने गुडिया दिएर बच्चा हो भनेर बताइरहेको गोपीका प्रकारान्तरका दुखाइहरू ।’

डाक्टरको गाडीको चाबी गएर तुर्लुङ्ग झुन्डिएको यस कथाले हामीलाई असिम पीडा र मानसिक कोलाहलता दिँदै भन्छ- ‘नौरतीको काखमा गुडिया देखेर दर्शकहरू हाँसेजस्तै सिंगो कर्णालीवासीको रोदनमा राज्य हाँसिरहेको छ ।’

***

यसपश्चात् हामी चुपचाप निस्कन्छौँ । तपाइँले चिया खाने आग्रह गर्नुपूर्व म गोपीको भूमिकामा देखिएका गोविन्द सुनारलाई अँगाल्छु । उनी थ्रिलर शैलीको नाटकको पात्रतालाई कुशलतापूर्वक निभाएर बाहिरिदै गरेका हुन्छन् । उनलाई म भनिदिन्छु, “तपाइँको  हाउभाउ, लवज गजब । नाटकको संवाद पनि मजा आयो । अन्त्यतिर परेको हिउँले भन्दा पनि तपाईले चिस्याउनुभयो ।” उनी मुस्कान झिकेर मलाई दिन्छन् र सिंढी ओर्लिन्छन् । र, दृश्यबाट हराउँछन् । 

यसपश्चात् तपाइँको चिया खाने आग्रहलाई हामी पुरा गर्न नजिकैको गल्लीदेखि भित्र छिर्छौँ । र, यहाँ जे हुन्छ, त्यो गजबको हुन्छ । नाटक सकिएपश्चात् निकै बेर हामी चुपचाप थियौँ । र, अब मौनता तोड्ने बेला भएको थियो । त्यसको श्री गणेश तपाइँले गर्नुभयो । 

भन्नुभयो, “नाटकको कथानकले छोयो । राजनीतिक र धार्मिक रूपले संवेदनशील भूमि कस्मिर क्षेत्रलाई आधार बनाई भारतीय शुक्ला (सौरभ)ले लेखेको कथालाई मज्जाले प्रस्तुत गरिएछ । मन पर्यो ।”

अब यसपछि पालो प्रेम दाइको आउँछ, उहाँ भन्नुहुन्छ, “म नाटकलाई १० मा ६ नम्बर दिन्छु । हामी ट्वाँ पर्देनौं किनभने उहाँ नाटक बुझ्नुहुन्छ र छाम्न सक्नुहुन्छ । उहाँले कारण पनि बताउनुभयो । “नेपाली रंगमञ्च वैचारिक र सैद्धान्तिक बहस गर्न डराउँछ तर, डा. सिद्धान्तको भूमिका अलि फितलो छ । नौरती पनि पात्रताअनुसार ढल्न सकेकी छैन, उसको लवज र लुगामा समस्या छ । तर, गोपीले नाटकलाई बचाइदिएका छन् ।” 

सुजन थप्नुहुन्छ, “यस्तै कथा देशभर छन् । मलाई ३ महिना लगाएर कर्णाली हिडेका दिनहरू याद आयो । गाउँहरू चकमन्न छन् । गाउँहरूसँग आत्मविश्वास छैन । नेपालका गाउँहरू नौरतीको कोख जस्तै चिसो भइसकेका छन् । चाइनिज गुडियाले गाउँलाई न्यानो दिन सक्दैन ।”

तपाइँले झटपट एउटा प्रश्न गर्नुभयो, “निःशुल्क हवाई उद्धारका कुराहरू सहि हुन् ? गाउँ–गाउँमा खोलिएका बर्थिङ सेन्टरहरू जीवित होलान् ? गर्भवती/सुत्केरी महिलाको मृत्युदर घटेको कुरा साँचो हो ? निःसन्तान दम्पतीको सन्तानप्रतिको आसक्ति नौरती-गोपीकै जस्तै हुन्छ या अझ बढ्ता हुन्छ ? उनीहरूले जस्तै हामीले कृतिक जीवन (खुसी) त् बाँचिरहेका छैनौं या बाच्न विवस बनाइएका त छैनौं ? सत्ता र शक्तिले कस्तो सत्य निर्माण गर्दैछ ?” तपाइँले लगातार प्रश्न गरिरहनुभयो, हामी चिसो मन लिएर तातो चिया छिटोछिटो घुट्क्याइरहेका थियौँ । तपाइँले हामी तीनै जनालाई अन्तिम प्रश्न गर्नुभयो, “देखेकै सत्य मात्रै सत्य हुन् ? कि नदेखिने सत्य पनि सत्य हुन्छन् ? सत्यका आधार के हुन् ?”

हामी तपाइँको प्रश्नले रन्थनिएर एकार्कालाई हेर्दै थियौँ । …तपाई देखिनुभएन ।

पृष्ठभूमिमा तपाईको स्वर सुनिदै र क्रमश: पातलो हुँदै थियो:

‘हिउँभन्दा चिसो समय,
हिउँभन्दा चिसो विस्मय,
धुरी खाँबोभन्दा तलतिर,
दैलोको पिँधभन्दा मास्तिर जीवन आफैँमा दोख हुन्छ ।’

अस्तु ! 

Leave a Reply