नदी पुरातात्त्विक भग्नावशेष बगाइरहन्छ, पुरातत्व विभाग र लुम्बिनी विकास कोष हेरिरहन्छन् !

You are currently viewing नदी पुरातात्त्विक भग्नावशेष बगाइरहन्छ, पुरातत्व विभाग र लुम्बिनी विकास कोष हेरिरहन्छन् !
  • राजु झल्लु प्रसाद, प्रेम बास्तोला, सुजन खनाल

‘साथी यो ठाउँमा जाँदा आँसु आउँछ यार । यस्तो दामी साइट छ । खेरा गा’छ ।’

रातको पूर्वार्द्धमा एकाएक लुम्बिनी क्षेत्रमा सक्रिय रूपमा उत्खनन कार्य गर्दै आइरहेकी आर्कोयोलोजिस्ट, साथी शुभेच्छा (पोख्रेल) को म्यासेज आयो । उसको यो म्यासेजलाई मलाई झसङ्ग बनायो । 

उसले इनबक्समा लुम्बिनी क्षेत्रमा रहेर सक्रियरूपमा फोटोग्राफी गरिरहेका चन्द्र प्रकाश पाठकको एउटा पोस्ट एट्याच गरेकी थिई, जहाँ उनले लेखेका थिए, “बगिरहेको सम्पदा: लुम्बिनीबाट करिब ७ किलोमिटर दक्षिण (नेपाल भारत सीमाबाट मात्र १,३०० मिटर) मा रहेको निपनियामा दानव नदीको कटानले देखा परेको प्राचीन Ring कुँवा, प्रत्येक वर्ष यसरी कैयन पुरातात्त्विक वस्तु नदीमा मिसिएर खेर गइरहेका छन् । यिनको संरक्षण कसले कहिले गर्ने हो ?” 

प्रत्येक वर्ष यसरी कैयन पुरातात्त्विक वस्तु नदीमा मिसिएर खेर गइरहेका छन् । यिनको संरक्षण कसले कहिले गर्ने हो, तस्बीर: चन्द्र प्रकाश पाठक

शुभेच्छाले बताएकी र पाठकले चिन्ता व्यक्त गरेका क्षेत्र, लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ मा अन्तर्गत अमहवा गाउँनजिकै निपनियामा रहेका पुरातात्त्विक भग्नावशेष र सम्पदाहरू हुन्, जो बगेर भारततर्फ गइरहेका छन् । बर्सेनि दानव नदीमा आउने भेलले यी सम्पदालाई बगाएर भारत लिएर गइरहेको छ, यस वर्ष पनि सोही घटना दोहोरिएको छ ।

“यस पुरातात्त्विक सम्पदा र ऐतिहासिक भग्नावशेषहरूले यहाँ ‘बुद्धकालीन मानव बस्ती’ रहेको प्रमाण दिने गर्दछ । पोहोर सालको बाढीमा पनि यसैगरी दानव नदीले कटान गरेको थियो, यसपाला पनि सोही दोहोरिएको छ । यसलाई जोगाउन कहीँ कोही अग्रसर भएको छैन”, शुभेच्छा पुनश्च: भन्दै थिई, “हाल पनि दानव नदीको तटमा तहगत रूपमा रहेका विभिन्न पत्रहरू हेर्दा यहाँ ठूलो शहरी सभ्यता रहेको स्पष्ट  देखिन्छ । दुर्भाग्य, यस स्थलको उत्खनन र अध्ययन कार्य हुन सकेको छैन ।” 

वरिष्ठ पुरातत्त्वविद् वसन्त बिडारी सहित शुभेच्छा पोख्रेल, निशा पन्थी र अन्य साथीहरू

ऊ केही वर्षअघि अध्ययन भ्रमणकै क्रममा त्यस क्षेत्र (बन्जरही, निपनिया, पैसिया) पुगेकी रहिछे । सो अध्ययन भ्रमणलाई नेतृत्व गरिरहेका थिए, लुम्बिनी क्षेत्रका वरिष्ठ पुरातत्त्वविद् वसन्त बिडारी । बिडारीका अनुसार, यहाँ फेला परेका भग्नावशेष र पुरातात्त्विक सम्पदाले प्राचीन मानवबस्तीको साथसाथै बुद्धको जीवनीपछि बुद्ध तीर्थस्थलहरू जानका लागि तीर्थयात्रीले प्रयोग गर्ने प्राचीन मार्गसमेत रहेको देखिन्छ । 

“सर (बिडारी) ले त्यतिबेला पुरातात्त्विक यी स्थलहरूको संरक्षण गर्न सरकार पछाडि परेको बताउनुभएको थियो । सरको चिन्ता थियो यही अवस्था रहिरहने हो भने यस्ता पुरातात्त्विक स्थलको नामोनिसान मेटिँदै जानेछ”, उसले भनी । अझै पनि पुरातात्त्विक केही सम्पदा बचेकाले तत्काल संरक्षण गरी अन्वेषण र वैज्ञानिक ढङ्गबाट अध्ययन गर्न अत्यावश्यक भएको उसले बताई । 

यहाँ फेला परेका भग्नावशेष र पुरातात्त्विक सम्पदाले प्राचीन मानवबस्तीको साथसाथै बुद्धको जीवनीपछि बुद्ध तीर्थस्थलहरू जानका लागि तीर्थयात्रीले प्रयोग गर्ने प्राचीन मार्गसमेत रहेको बताउँछ, तस्बीर: सुभेच्छा पोख्रेल

ऊ लुम्बिनी विश्वविद्यालयमा पुरातत्त्व अध्ययनरत त छे नै, साथमा ऊ सम्मिलित समूहले यस वर्ष कपिलवस्तु र रुपन्देहीका पुरातात्त्विक स्थल उत्खनन गरेको थियो । सो समूहले कपिलवस्तुस्थित पुरातात्त्विक स्थल गोटिहवामा प्राचीन इनार र तेस्रो शताब्दीको भग्नावशेष भेटाएको थियो भने बुद्धको मावली क्षेत्र देवदहमा समेत उत्खनन गरेको थियो । 

***

अब हामी हाम्रो कथ्यमा आऔँ । 

हामीले बाढीले बगाइरहेको निपुनियाको चर्चा गर्नुपूर्व बन्जरही र पैसियाको उत्खननको चर्चा गर्नुपर्ने हुन्छ । यी दुई गाउँहरू निपनियाका छिमेकी गाउँहरू हुन् । यी दुई वटा गाउँको उत्खनन भारतका प्रख्यात पुरातत्त्वविद् प्रोफेसर सन्तराम बालचन्द्र देव (एसबी देव) सन् १९६४ मा नै गरेका थिए । सो उत्खननलाई निकै महत्त्वका साथ हेर्ने गरिन्छ । 

प्रथमतः हामीले त्यस उत्खननका महत्त्वपूर्ण उपलब्धिहरू बारे चर्चा गर्नेछौँ;

सन्तराम बालचन्द्र देवले गरेका त्यो उत्खनन:

माथि पनि भनियो, सन् १९६४ मा एसबी देवले बन्जरही र पैसियाको उत्खनन गरेका थिए, सो कार्य भारत सहयोग नियोगका तर्फबाट गरिएको थियो । पुरातत्त्वविद् देवको सो उत्खननको चर्चा नेपालको पुरातत्त्व विभागले सन् १९६८ मा प्रकाशित गरेको ‘नेपाल तराईको पुरातात्त्विक अनुसन्धान’ नामक पुस्तकमा उद्धृत छ । यस सम्बन्धमा थप कुरा प्राचीन नेपालको १८५औँ अंकमा पनि भेटिन्छ ।

बन्जरहीको उत्खनन:

पुरातत्त्वविद् देवले बन्जरहीको उत्खननका क्रममा विभिन्न किसिमका माटाका भाँडाकुँडा, कचौरा, बिटबिनाका कचौरा, भाँडा, प्लेट, लामो घाँटी भएका घैँटो, हातबाट बनाइएका भूदेवीको मुखौटो, साँढे, हात्ती, थालहरू, आरीलगायतका सामग्री  भेट्टाएका थिए । उत्खननका क्रममा पुरातत्त्वविद् देवले माटोको भाँडा पाएका थिए, जसलाई उनले सातौँ शताब्दीको भनी उल्लेख गरेका छन् । 

“लुम्बिनीदेखि दखिनपट्टि बन्जरहीको उत्खननमा कुनै औजारको प्रयोग नगरी केवल हातबाट मात्र बनाइएको नारीको मृत्तिका मूर्तिको शीर्षभाग पाइएको छ। यो मूर्तिलाई ईपू तेस्रो शताब्दी ताकाको मानिएको छ। लुम्बिनीको बन्जरहीमा पाइएको यस नारी मूर्तिलाई नेपालमा हालसम्म पाइएको सर्वप्राचीन कलाकृति मानिएको छ (स्रोत: डा. जगमान गुरुङ)।” गुरुङको यस भनाइले बन्जरहीको थप उत्खनन एवं अध्ययनको आवश्यकता औँल्याउँदछ । 

पुरातत्त्वविद् तारानन्द मिश्रको नेतृत्वमा ०७० सालमा भएको उत्खननमा बन्जरिया गाविसको पण्डितपुरमा इसापूर्व ७ सयकालीन विभिन्न सामग्री भेटिएका थिए । उत्खनन क्रममा माटोका इनार (रिंग वेल), पत्थर, टोपाज, चुरा, ग्लासहरू, कुषाणकालीन मानव मूर्ति भेटिएका थिए । ती पुरातात्त्विक वस्तुका आधारमा पण्डितपुर नै रामग्राम भएको पुष्टि  हुने र ती सामानले उक्त स्थान प्राचीन कोलीय गणराज्यको राजधानी रामग्राम भएको प्रमाणित गर्ने मिश्रले बताएको पाइन्छ (स्रोत: ऐतिहासिक स्थल उत्खनन, कान्तिपुर, फागुन १७, २०७०)।  पुरातत्त्व विभागका पूर्व-उपमहानिर्देशकसमेत रहेका मिश्र ०२१ सालदेखि उत्खननमा संलग्न थिए ।  

पैसियाको उत्खनन:

पुराना पैसाहरू पाइने भएकाले यसको नाम पैसिया परेको हो ।   

यस गाउँमा तीन वटा ठुलाठुला ढिस्काहरू देखिन्छन्, जसको उत्खननबाट तीनवटा मन्दिरको अवशेष भेट्टाएका थिए, पुरातत्त्वविद् देवले । ढिस्काहरूमध्ये एउटा १२ फिट अग्लो मन्दिरको अवशेषयुक्त ढिस्काको उत्खनन गरिएको थियो । उनका अनुसार यी मन्दिरहरू इसाको चौथो शताब्दी  (गुप्तकालीन) आसपासका हुन् । उत्खननबाट दुईवटा समतल आँगन (प्लेटफर्म) र तीनवटा मन्दिरका अवशेष प्राप्त भएका थिए । 

उत्खननले सबैभन्दा तल एउटा समतल आँगन रहेको र सो क्षेत्र २७*२० फिट रहेको पायो । त्यसमा १६ इन्च लम्बाइ, १२ इन्च चौडाइ र १२ इन्च उचाइको भएको पोलिएको इँटा प्रयोग गरिएको छ । इँटामा ब्राह्मी लिपिका अक्षर पनि अङ्कित गरिएका छन् । समतल आँगनमाथि मन्दिरका भग्नावशेष, खैरो रङ्गका कडा माटो र इँटाहरू बिछ्याएर यी मन्दिरको जग बनाइएको देखिन्छ । मन्दिरको तहमा उत्खननका क्रममा माटाका मूर्तिका केही खेलौना पनि भेटिएका छन् । मूर्तिका टुक्रा हिन्दु धर्मसँग सम्बन्धित छन् । त्यहाँ पार्वती, महादेव, शिव लिङ्गलगायतका मूर्तिका टुक्रा प्राप्त भएको र यसले एउटा महत्त्वपूर्ण हिन्दुस्थल भएको देखाउँछ । 

पुराना पैसाहरू पाइने भएकाले यसको नाम पैसिया परेको हो ।   

देवका थप उत्खननहरू:  ‘पुरातत्त्वविद् देवले सन् १९६४ मै लुम्बिनी र नारायणी नदीका बीच नौ स्थलहरू पनि उत्खनन गरेका थिए भने सन् ६५ मा उनले काठमाडौंको लाजिम्पाट र हाँडीगाउँ क्षेत्रमा उत्खनन गरेका थिए । (स्रोत: Archaeological Study in Indio-Nepalese Border Sites, Dr. Geetu Giri)’  यसैगरि, भारतकी देवला मित्रले सन् १९६२ देखि लुम्बिनी क्षेत्रको अध्ययन थालेकी थिइन्, यस क्रममा उनले यस क्षेत्रमा उत्खनन नगरेको देखिन्छ ।

निपनियाको उत्खनन हालसम्म भएन

पुरातत्त्वविद् देवले सन् १९६४ निपनियामा उत्खनन गरेका थिएनन् । यद्यपि उनले निपनियालाई ‘प्राचीन मानवबस्ती’ भनेका छन् । उनले ती स्थानका पुरातात्त्विक सम्पदाले सातौँदेखि ११औँ शताब्दीको नदीमुखी मानवबस्ती र मानव सभ्यतालाई देखाएको समेत बताएका थिए । उनले अध्ययनका क्रममा यस क्षेत्रमा रहेका माटाका संरचना भारतको हस्तिनापुरको समकालीन संरचना भएको निचोड निकालेका थिए ।

उत्खनन नै नगरी उनले यस्तो निचोड कसरी निकाले त ? यस सम्बन्धमा लुम्बिनी विकास कोषका पुरातत्त्व विभागका प्रमुख हिमाल उप्रेती भन्छन्, “हालसम्मको नेपालको उत्खनन परम्परामा ‘कम्प्यारिटिभ डेटिङ’लाई पनि प्राथमिकता दिने गरेका छौँ । यो भने कुनै एक ठाउँमा अध्ययन गरिँदा मिल्दोजुल्दो ‘टेक्सचर’ देखियो भने अर्को ठाउँमा अध्ययनमा त्यसलाई प्रयोग गरिन्छ । हामीले हरेक ठाउँको ‘एब्सल्युट अध्ययन’ गरेका छैनौँ । विस्तृत अन्वेषण गर्नु अत्यावश्यक भइसकेको छ ।” 

उनले अगाडि भने, “यस क्षेत्रमा ‘नर्दन ब्ल्याक पोलिस’ गरिएका भाँडा भेटिएकाले यी सम्पदाहरू मोहनजोदारो र हरप्पा सभ्यतासँग मिल्दोजुल्दो देखिन्छन् भनी देवले उल्लेख गरेका हुन् । उनले निपनियालाई सातौँदेखि ११औँ शताब्दीको नदीमुखी मानवबस्ती र मानव सभ्यता बताएका छन्, जसलाई हामीले हालसम्म मान्दै आएका छौँ ।” 

नर्थर्न ब्ल्याक पोलिश्ड वेयर संस्कृति भारतीय उपमहाद्वीपको एक नगरीय लौहयुगीन संस्कृति हो, जसको कालक्रम १२०० इसापूर्वदेखि इसाको ७०० वर्षसम्म मानिन्छ । यस अवधिले सिन्धु घाँटी सभ्यताको पतनदेखि पहिलोपटक भारतीय उपमहाद्वीपमा ठूलो सहरहरूको उदय हुँदाको समयसम्म जनाउँदछ । 

हिउँदको बेला दानव नदी किनारमा पैदल हिँड्दा माटोका भाँडाकुँडा लगायतका सम्पदा आज पनि भेट्ने गर्दछन् । कपिलवस्तु, देवदह, भारतमा पर्ने सराबस्ती, बोधगया, राजगीर, नालन्दा र पाकिस्तानमा रहेको तक्षशिलालगायतका बौद्ध तीर्थस्थलको भ्रमणका लागि बौद्ध तीर्थयात्री हिँड्ने रुट यही स्थल भएको अनुमान समेत गर्ने गरिन्छ । 

“त्यतिबेलाको लुम्बिनी सभ्यता बुझ्नका लागि पनि यस स्थलको अध्ययन त टाढाको कुरा, संरक्षणमा समेत  गर्न सकेका छैनौँ । १९६४ मै ती स्थलको अध्ययन भएर पुरातात्त्विक महत्त्वको भएको जानकारी भएर पनि अहिलेसम्म संरक्षणको पहल नगरिनु दुर्भाग्य हो,” पुरातत्त्वविद् उप्रेती भन्छन्, “संरक्षणमा भएको बेवास्ता र ढिलासुस्तीले ती स्थलमा पाइएका धेरै ज्ञान, सभ्यता र इतिहास नदीमा बगेर विलय भए । यस वर्ष पनि भइरहेका छन् ।’ उप्रेतीका अनुसार, यहाँ भेटिएका माटाका केही भाँडा र संरचना स्थानीयवासीले लुम्बिनी विकास कोषलाई उपलब्ध गराएका थिए । 

स्थानीयवासीले उपलब्ध गराएका पुरातात्त्विक वस्तु कोषसँग सुरक्षित रहेको कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले बताए । “पुरातात्त्विक वस्तु हामीले सुरक्षित राखेका छौँ । पछि अध्ययन–अनुसन्धान र उत्खनन गर्दा सहयोग हुनेछ ।’

निपनियाको उत्खनन भएमा ‘रोहिणी नदीको पहिचान विवाद’ सुल्झेला ?

बुद्धकालिन अवस्थामा शाक्य वंश र कोलिया वंश राज्यबिच रोहिणी नदीको पानीको अधिकारका विषयमा भीषण रक्तपातपूर्ण युद्धलाई बुद्ध आफै आई रोकेको इतिहास भेटिन्छ । 

लुम्बिनी विकास कोषका पुरातत्त्व विभागका प्रमुख हिमाल उप्रेती

चिनियाँयात्रीद्वय पाँचौँ शताब्दीमा फाइयानले र सातौँ शताब्दीमा हुएन सांगले आ-आफ्नो लुम्बिनी भ्रमणको क्रममा रोहिणी नदीको चर्चा गरेका छन् । रोहिणी नदी विश्वको दोस्रो र एसियाको पहिलो मानव सभ्यताको शुरुवात स्थल हो भन्ने कुरा एक करोड दश लाख वर्ष पुरानो नर-वानर रामापिथेकसको बङ्गारा तिनाउँ नदीको किनारमा भेटिएबाट प्रष्ट हुने दाबीहरू पनि बौद्धिक जगतमा पाइने गरिन्छ । 

प्राचीन रोहिणी नदीको प्रमाणिकताबारे अझै पनि प्रश्नहरू अनुत्तरित रहेको अवस्था निपनिया, बन्जरही र पैसिया क्षेत्रको अध्ययनले यसलाई प्रष्टाउने दाबी उप्रेतीको रहेको छ । 

“म व्यक्तिगत रूपमा अहिलेको  रोहिणी नदीसँग कन्भिस छैन । निपनिया क्षेत्रको वास्तविक उत्खनन हालसम्म भएको छैन । भएको खण्डमा हामी तथ्यको नजिक पुग्ने थियौँ । यस क्षेत्रको वास्तविक अध्ययन हुन् सके वास्तविक रोहिणी नदी पहिचानमा बल पुग्ने थियो भन्ने मेरो व्यक्तिगत विचार हो । पुरातत्त्व विभागका पूर्वउपमहानिर्देशक एवं पुरातत्त्वविद् तारानन्द मिश्रले बताएअनुसार नै तिनाउ नदीको एक भँगालोको रूपमा यस दानव नदी ‘वास्तविक रोहिणी नदी’ हुनुपर्छ भन्ने मेरो बुझाइ रहिआएको छ”, उप्रेतीले भने । विस्तृत अध्ययन एवं उत्खननले लुम्बिनीसँग सामञ्जस्य रहेको रोहिणी नदीको ऐतिहासिक खोजलाई सघाउने दाबी गर्छन्, उप्रेती ।

यता, बुद्ध दर्शनमा स्नातकोत्तर गरेका देवदहवासी डा. कृष्ण न्यौपानेले आफ्नो शोधपत्रमा  प्राचीन रोहिणी नदी भनेको अहिलेको तिलोत्तमा नदी हो भनेको पाइन्छ । जो पहिले चुरेको फेदी हुँदै यही भएर बग्दथ्यो पछि नदीले बाटो बदलेर सोझै दक्षिण गएको हो भन्ने उनको तर्क छ । यसप्रकार, तराईमा नदीले पटक पटक बाटो बदल्ने हुँदा वास्तविक रोहिणी नदी पहिचानमा यद्यपि अलमल देखिन्छ ।

बुद्धकालिन अवस्थामा शाक्य वंश र कोलिया वंश राज्यबिच रोहिणी नदीको पानीको अधिकारका विषयमा भीषण रक्तपातपूर्ण युद्धलाई बुद्ध आफै आई रोकेको इतिहास भेटिन्छ । , सांकेतिक तस्बीर

निपनियाको चर्चाको कारण ०७१ सालको बाढी:

०७१ सालको बाढीको कुरा गर्नुअघि हामी निपनियाबारे थोरै चर्चा गर्नेछौँ;

क). निपनियाको किम्बदन्ती:

प्राचीन समयमा त्यस ठाउँमा ‘पम्पापुर’ नामको नगर रहेको स्थानीय किम्बदन्ती पाइन्छ । तत्कालीन समयमा हैजाको प्रकोपबाट धेरै जना मासिएको हुनसक्ने र बाँकी अन्यले नगर छोडेर अन्यत्र बसाइँ सरेको विश्वास गरिन्छ । यसपश्चात् सो भूभाग खण्डहरमा परिणत भयो र कालान्तरमा मानव बस्ती सुरु भयो । कसैकसैले सो समृद्ध नगरलाई दानव नदीको बाढीले पुरेको पनि बताउने गर्दछन् । 

२०५७ सालतिर दानव नदीले धार परिवर्तन गरि यस भेगको कटान सुरु गर्‍यो, जसक्रममा सो क्षेत्रमा जमिनमुनि रहेका विभिन्न पुरातात्त्विक महत्वका संरचना प्रत्यक्ष देखिन थाले । नदी कटान हुनुअघि धेरै पुराना घर, माटाका भाँडा, बाकस, सुनचाँदी, मन्दिर, इनार, धातुका सिक्काहरू नभेटिने होइनन् । 

कुनै कुनै इनारमा मानिसका कङ्काल समेत भेटिएको स्थानीयवासीले विभिन्न पत्रपत्रिकालाई बताएका छन् । यहाँ ३०/४० वटा इनार समेत देखेको तर्क उनीहरू गर्छन् । त्यस क्षेत्रमा पाइने माटोका भाँडामा स्थानीय वयोवृद्धहरूले सानामा सुनचाँदी भेट्टाएको समेत बताउने गर्दछन् । उनीहरूले त्यसरी भेट्टाएको सामान कसैले घरमा लगेर राखेमा उसको घरमा अशुभ हुने विश्वास रहेकाले पनि त्यो सामान कसैको घर वा हिफाजतमा रहन नसकेको पाइन्छ । 

२०६८ सालमा नदी छेउमा पाँच फिटजति अग्लो ढुङ्गाको रिङ भेटिएको, २०६९ सालमा इनार  भेटिएका र त्यसलाई नदीको भेलले बगाएको स्थानीयवासी बताउँछन् । २०७१ भदौ १ गते इँटाबाट बनाइएको गोलाकार स्तम्भमाथि ढुङ्गाबाट चारपाटे आकृति भएको करिब ३० फिट अग्लो संरचना फेला परेपछि यस क्षेत्रको संरक्षणको कुरा उठेको हो । 

ख). जल उत्पन्न प्रकोप नियन्त्रण विभागलाई काटिएको  पत्र

टुर न्युजले पुरातत्त्व विभागले ०७१ सालमै जल उत्पन्न प्रकोप नियन्त्रण विभागलाई वस्तुस्थिति खुलाएर पत्राचार गरेको पाएको छ । विभागको तर्फबाट तत्कालीन ए. कम. पो. अधिकृत भाष्कर ज्ञवालीका नाममा ‘संरक्षण सम्बन्धमा’ भन्ने शीर्षकमा ०७१/०५/१५ मा काटिएको पत्रमा लेखिएको छ:-

“प्रस्तुत सन्दर्भमा रुपन्देही जिल्ला आमा गा.वि.स.अन्तर्गत अमुहवा क्षेत्रको बन्जरही पुरातात्त्विक स्थलमा यस वर्षको वर्षायाममा दानो (दानव) नदीले त्यस क्षेत्रमा रहेका प्राचीन इनार लगायत पुरातात्त्विक संरचना र वस्तुहरूलाई व्यापक रूपमा क्षति पुर्‍याएकोले उक्त पुरातात्त्विक महत्त्वको क्षेत्रको  संरक्षणका लागि तत्काल नदीमा तटबन्ध बाँधी नदीको धारलाई पूर्वतर्फ फर्काउन आवश्यक पहल गरिदिनुहुन नदीले क्षति पुर्‍याएको स्थल र संरचनाको फोटो यसैसाथ संलग्न राखी पठाएको व्यहोरा निर्देशानुसार अनुरोध छ ।”

पुरातत्व विभागका वरिष्ठ पुरातत्व अधिकृत भाष्कर ज्ञवाली भन्छन्, “यस चिठी पठाएको १५ दिनपश्चात् अर्थात् २०७१/०६/०१ का दिन विभागको आदेशअनुसार हामीले स्थलगत निरीक्षण गरि विभाग समक्ष प्रतिवेदन पेश गरेका थियौँ ।  जहाँ साबिकको फरेना गाविसको पुरातात्त्विक स्थलगत निरीक्षण पनि समावेश थियो । जुन प्रतिवेदन असोज २९ गते विभागमा पेश गरेका थियौँ । त्यतिबेला शाखा प्रमुख राम बहादुर कुँवर हुनुहुन्थ्यो”, उनले भने । 

ग). पुरातत्त्व विभागको स्थलगत निरीक्षणको प्रतिवेदन : 

टुर न्यूजलाई प्राप्त  प्रतिवेदनमा तत्काल नदीमा तटबन्ध बाँधी नदीको धारलाई पूर्वतर्फ फर्काउनु पर्ने  भएको र सो कार्यका लागि पुरातत्त्व विभागसँग रकम अभाव भएकाले २०७१/५/१५ मा नै जल उत्पन्न प्रकोप नियन्त्रण विभागलाई सो स्थलको सुरक्षाको लागि पत्राचार गरिसकेको व्यहोरा समेत उल्लेख गरिएको पाइन्छ । दानव नदीमा पाइएको पुरातात्त्विक स्थल र त्यसका संरचनालाई समयमा नै संरक्षण गरी जतिसक्दो चाँडो सो क्षेत्रको उत्खनन गर्न सकेको खण्डमा सो क्षेत्र मात्र नभएर पश्चिम तराईकै Chronology मा महत्त्वपूर्ण उपलब्धि हासिल हुने दाबी समेत प्रतिवेदनले गरेको देखिन्छ । 

सो स्थलगत अध्ययनले मुख्यतः यी यस्ता कुराहरू बोलेको देखिन्छ:

१. दानो नदीको कटानका कारण ०७१ सालमा नदीको पश्चिमी किनारामा रहेको अमहवा गाउँको करिब ३०० मिटर दक्षिणतर्फ एउटा महत्त्वपूर्ण सम्भवतः कुषाणकालीन Brick well र अर्को Ring well कटान गरि नदीमा बगेको थियो भने अन्य महत्त्वपूर्ण पुरातात्त्विक वस्तुको विनाश गरिसकेको थियो । 

२. नदीले कटान गरेको Brick well को माथिल्लो भाग पूर्व-पश्चिम ११७ मिटर र उत्तर-दक्षिण १.२७ मिटर रहेको  थियो भने उक्त Brick well को इँटाको साइज ३२x२२४५ से.मी. रहेको थियो,  जसले सो इनार कुषाणकालीन समयको हुन सक्ने  देखाउँछ ।

३. सो इनारको माथिल्लो भागदेखि पानीले छोपेको भागसम्मको कुल लम्बाई ३४७ से. मी. रहेको एवं सो इनारको माथिल्लो भाग वर्गाकार र तल्लो भाग गोलाकार रहेको थियो । साथै माथिल्लो वर्गाकार भागको कूल लम्बाई ७७ से.मी. रहेको छ । 

४. त्यसैगरी सो इनारबाट करिब ४० मिटर माथिपट्टि नदी बगेकै कुनामा एउटा अर्को Ring well (इनार) समेत रहेको र सो Ring well नदीमै रहेकोले त्यसबारे जानकारी लिन नसकिएको । सो पुरातात्त्विक स्थलमा नदीले काटेर बनेको Section मा २५० से.मी. को गहिराइसम्म Cultural material देखिएको । 

५. स्थलगत निरीक्षणको क्रममा सो क्षेत्रबाट Redware, Black sliped ware र Gray weare का केही नमुनाहरू समेत सङ्कलन गरिएको । 

६. सोही स्थलको अत्यन्त अप्ठ्यारो ठाउँमा एउटा N.B.P. ware समेत प्रष्टसँग देखिएको ।

निपनिया क्षेत्र: हल्ला व्यापक, उत्खनन र संरक्षण शून्य 

दानव नदीले बर्सेनि आफ्नो धार परिवर्तन गरिरहेको छ । पछिल्लो समय नदीको कटान तीव्र गतिमा बढिरहेको छ । कटान नियन्त्रणको माग बारम्बार स्थानीयले गरे पनि कसैले नसुनेको पाइन्छ । दानव नदी कटान नियन्त्रणका लागि तटबन्ध र तारजाली लगायतको ठोस पहल भएको देख्न पाइँदैन । 

पुरातत्त्व विभागमार्फत सरकारले यस क्षेत्रका पुरातात्त्विक सम्पदाहरू बगिरहेछन् भनेर थाहा पाएको १० वर्ष बित्यो तर, संरक्षण कार्य शून्य छ । एक वर्ष नगरपालिकाले सामान्य तटबन्ध गरेको थियो, बाढीले बगाइदियो । बाढीले तटबन्ध मात्रै बगाएन, राष्ट्रको पुरातात्त्विक मर्यादा र संरक्षण नीति पनि बगाइदियो/ बगाइरहेछ । पछिल्ला वर्षहरूमा संरक्षणमा चरम ढिलासुस्ती र लापरबाही देखिएको छ । एउटाले अर्कोको मुख ताक्दा दानव नदीको कटानकै कारण त्यस स्थलमा फेला परेका करिब दर्जन इनारका भग्नावशेष र महत्त्वपूर्ण पुरातात्त्विक सम्पदाहरू भारततर्फ बगिसकेका छन्, बगिरहेका छन् ।  

सस्कृतिप्रेमी एवं साहित्यकार जीवनपानी

अध्ययन र उत्खननमा ढिलाई हुँदा निपनिया–बन्जिराहा जस्तै अन्य ठाउँका सम्पदाहरू पनि बर्खे भेलमा बग्ने जोखिम  बढ्ने,  लामो समय उत्खनन नहुँदा कतिपय नष्ट भई विलय हुने खतरा देशभर नै बढेको बताउँछन्- संस्कृतिप्रेमी एवं साहित्यकार जीवनपानी । जबसम्म नागरिकमा राज्यद्वारा तिरष्कृत यियास्ता सम्पदाको महत्त्व प्रकट हुँदैन, तबसम्म कुनै एक निकाय वा संस्थाको जोडबलमा मात्र केही हुन् नसक्ने बताउँछन् उनी । “विस्तारै हामी आफ्नो मूल्यमान्यता र सम्पदाहरूलाई बिर्सदैछौँ । जब जनता नै निदाउँछन् भने सुत्न पल्किएको सरकार किन बुझिन्थ्यो” उनी भन्छन् । 

“सम्पदाको महत्त्व घरदेखि विद्यालयसम्मै पुर्‍याउन आवश्यक छ । विद्यालय तहदेखि नै सम्पदाको संरक्षणका विषयमा अनिवार्य रूपमा पाठ्यक्रम तयार गरेर पठनपाठन गर्नु आवश्यक छ । यसो गर्न सकियो भने हाम्रा सम्पदाले पुनः जीवन पाउने छन् । बालबालिकालाई इतिहास, सम्पदा र यसको महìव दर्शाउन सके भविष्यका लागि देशको आर्थिक विकासको एउटा दह्रो आधार पर्यटनबाटै खडा हुन्छ”, उनी बताउँछन् ।

दानव नदीको भेलमा खसिरहेछन्, पुरातात्त्विक अवशेषहरू

निपनियाको संरक्षणबारे सरोकारवाला निकाय के भन्छन् ? 

लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद ज्ञवालीले सार्वजनिक जग्गा एवम् पुरातात्त्विक, ऐतिहासिक, धार्मिक सम्पदा स्थलको संरक्षणका लागि नगरपालिकाले काम गरिरहेको बताउँछन् । “हामीले तपाईँले भनेका स्थलहरू संरक्षणतर्फ चासो दिने भएका छौँ । एसियन डेभलपमेन्ट बैङ्कले हाल एउटा सर्भे पनि गरिरहेको छ । दानव नदीको कटान रोक्नका लागि ठोस कामहरू भने अगाडि बढेको छैन”, उनी भन्छन् । 

ज्ञवालीले लुम्बिनी विकास कोषले पालिकासँग खासै समन्वय नगरेको र आफ्नै ढङ्गमा चलिरहेको समेत बताए । 

पुरातत्व विभागका वरिष्ठ पुरातत्व अधिकृत भाष्कर ज्ञवाली

निपनिया लगायतका स्थलहरू पुरातात्त्विक स्थल नै भएको र संरक्षण, अध्ययन र अनुसन्धान गर्ने दायित्व पुरातत्त्व विभागको भए पनि आर्थिक अभावले काम गर्न नसकिएको पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमले बताए । नदी कटान नियन्त्रण गरी पुरातात्त्विक सम्पदाको लोप हुन नदिन विभागले तत्काल एउटा टोली खटाएर ती स्थलको नक्शांकन गरी संरक्षणका लागि सम्बद्ध निकायलाई पत्राचार गर्ने उनले बताए । ‘त्यहाँ नदी कटान रोक्न पुरातात्त्विक संरचनाको संरक्षण गर्न ठूलो रकम लाग्ने भएकाले यसका लागि पटक–पटक लुम्बिनी विकास कोषलाई अनुरोधसहित पत्राचार गरिएको छ,’ उनले भने, ‘तीनै तहका सरकारले पनि आ-आफ्नो क्षेत्रमा रहेका पुरातात्त्विक स्थलको अध्ययन, संरक्षण र उत्खननका लागि हातेमालो गरेर अघि बढिदिए सजिलो हुन्थ्यो ।’

पुरातत्व विभागका वरिष्ठ पुरातत्व अधिकृत भाष्कर ज्ञवाली आफूले रिपोर्ट बुझाएको एक दशक बितिसक्दा पनि सामान्य संरक्षण हुन् नसक्नु दु:खद रहेको बताउँछन् । “हामीले उतिबेला पनि विभागसँग पैसा छैन, सरकारले वा कोषले सहयोग गरिदिनुपर्‍यो भनेका थियौँ, तर अहिलेसम्म केही भएन”, उनी अगाडि भन्छन्, “गत आ.व.मा रेस्क्यू एस्काभेसन कार्यका लागि ५ लाख बजेट छुट्टाएका थियौँ तर अर्थ (मन्त्रालय) ले रोकिदियो । यसपालि पुनः जल उत्पन्न प्रकोप विभागसँग ताकेता गर्दैछौँ । उसले गरेन भने हामी नै गर्छौँ ।”

“हामीले अहिले गर्न सक्ने भनेको वाल लगाउने नै हो । तटबन्ध गर्नका लागि हामीसँग पैसा छैन । विकास कोष (लुम्बिनी) सँग पैसा छ । उसको क्षेत्राधिकार भित्र नपर्ने भएता पनि को-अर्डिनेसन गर्न सक्ने हो भने यो काम तत्काल हुन् सक्छ”, उनी भन्छन् । सो स्थलको पुरातात्त्विक महत्वलाई मध्यनजर राख्दै तत्कालै सो क्षेत्रलाई जोगाउन विभाग (पुरातत्त्व) क्रियाशील रहने विश्वास ज्ञवाली  दिलाउँछन् ।

दानव नदीको कटानले यस इनार बगाउने खतरा बढेको छ, तस्बीर: चन्द्र प्रकाश पाठक

निपनिया लुम्बिनी विकास कोषको दायित्व भित्र पर्दैन ? 

बगिरहेको निपनिया र लावारिस अवस्थामा रहेका बन्जरही र पैसिया क्षेत्र लुम्बिनी विकास कोषको क्षेत्राधिकार भित्र पर्दैनन् । “बुद्धको जीवनसँग प्रत्यक्ष वा परोक्ष रूपमा सम्बन्ध रहन गएका तिलौराकोट (प्राचीन कपिलवस्तु), गोटीहवा, निग्लीहवा, सगरहवा, सिसनियाकोट, कुदान (कपिलवस्तु), देवदह (रुपन्देही), रामग्राम (नवलपरासी) पुरातात्त्विक क्षेत्रको अन्वेषण, उत्खनन, संरक्षण तथा विकास गर्न लुम्बिनी विकास कोष ऐन, २०४२ द्वारा लुम्बिनी विकास कोष गठन भएको हो”, भनेर स्पष्ट उल्लेख भएको पाइन्छ । यद्यपि  यी स्थलहरू बुद्धको जीवनसँग प्रत्यक्ष वा परोक्ष रूपमा सम्बन्ध राख्ने भएकाले कोषले आफ्नो दायित्वको घेरा फराकिलो बनाउने बेला आएको छ । 

यस क्षेत्र निजी जग्गामा भएकाले जग्गाधनीलाई पुरातात्त्विक स्थलबारे जानकारी गराउनु आवश्यक हुन्छ, सो काम नगरपालिकाले गर्न सक्दछ । यसपश्चात् निपनियाको संरक्षणका लागि पुरातत्व विभाग र लुम्बिनी विकास कोषको संयुक्त प्रयास जरुरी हुने बताउँछन्, वरिष्ठ पुरातत्त्वविद् वसन्त बिडारी बताउँछन् । “निपनियाको हकमा पुरातत्त्व विभाग र कोष संवेदनशील हुनुपर्छ । तत्काल तटबन्धनका लागि भूसंरक्षण विभागले जिम्मेवारी लिनुपर्छ । प्रादेशिक सरकारको सहयोगमा यसलाई बचाउन सकिन्छ, तत्काल काम सुरु गरौं”, उनी भन्छन् । 

राजेन्द्र सुवाल, डब्लुडब्लुएफ नेपाल

“हामीले उत्खनन गर्नुपर्नेमा नदीले गर्दिएको छ । अब पनि हामी नब्युझिए, कहिले ब्युझिन्छौ ?,” लुम्बिनी क्षेत्रमा ३५ वर्षदेखि अध्ययन गरिरहेका राजेन्द्र सुवाल भन्छन् । “एउटा महत्त्वपूर्ण पुरातात्त्विक सम्पदा बर्खे भेलमा बगिरहँदा कोष, सरकार, त्यस क्षेत्रका सांसद, नगरपालिका एवं नगरवासी एकार्काको मुख ताकेर बस्नु सुहाउने कुरा होइन । ऐतिहासिक पुरातात्विक सम्पदा जोगाउन पुरातत्व विभाग र सरकारले संरक्षणसँगै अध्ययन–अनुसन्धान र उत्खननमा प्राथमिकता दिन ढिलाई गर्नु हुँदैन’,उनी भन्छन् ।

प्राणीशास्त्रमा स्नातकोत्तर सुवाल हाल डब्लुडब्लुएफ नेपालमा आबद्ध छन् । डब्लुडब्लुएफको आर्थिक सहयोगमा उनको नेतृत्त्वमा हालसालै लुम्बिनीसहित नेपालभर नै सारस गणना कार्यक्रम सम्पन्न भएको छ ।

[साउन १५ गते टुरशालामा प्रकाशित]

Leave a Reply