नयनराज पाण्डे, प्रेमललवा र चे शङ्कर

You are currently viewing नयनराज पाण्डे, प्रेमललवा र चे शङ्कर
  • नाटक समिक्षा

‘जीवनको अशान्त महासागरमा डुबुल्की मार्नु, चिन्ताका जुम्रा मार्नु, अनिश्चित भविष्यका चायाँ झार्नु ।’ 

अशेष मल्लको ‘साहित्य बाहेक खास अभिरुचि केमा छ?’ भनेर गरेको प्रश्नको उत्तरमा भूपी शेरचनले फर्काएको यस जवाफलाई गरिमा वर्ष २, अङ्क ३, पूर्णाङ्क १८ ले छापेको छ ।

पङ्क्तिकार शेरचनसँग पूर्णतः सहमत छ, त्यसमा मात्रै एक वाक्य थप्न चाहन्छ, ‘सहरका झल्याकझुलुक हुने राम्रा-नराम्रा नाटक हेरेर त्यसमाथि छुद्र टिप्पणी गर्नु । लागेको कुरा प्वाक्क बोल्नु ।’ म यहाँ सोही गर्न गइरहेछु ।

(अशेष दाइ, सप्रनेको वार्षिकोत्सवमा सोह्रखुट्टेमा तपाईँको प्लेटबाट काँक्रो चोरेर कपाकप खाएकोमा म माफी चाहन्छु । एकैछिनमा तपाईँको भागको एक प्लेट काँक्रो सक्काउने मै हुँ । काँक्रो चोर्नुकै एकै कारण छ- काँक्रो (कला-साहित्य, नाटक) तिर हरहमेसा औँलो तेर्साइरहँदा काँक्रो कुहिने डर हुन्छ । हामीकहाँ एक उमेरपश्चात् काँक्रोतिर चोर औँलो देखाउने चलन बढ्तै हाबी छ । )

यसलाई यसरी सुरु गरौँ,

हरियो गाता भएको कापी बोकेर नयाँ सडक–पीपलबोट आइपुगेका नयनराज पाण्डे राजेन्द्र पराजुलीसँग सोही दिन पुतलीसडकको एउटा रेस्टुराँ पुगे । प्रसङ्ग, ‘तन्नेरी’ साहित्यिक द्वैमासिकको नयाँ वर्ष अङ्कको । रेस्टुराँ पुग्नासाथ पराजुलीले नयनराजको हरियो कापी पल्टाए र, भकाभक कथा पढ्दै गए । प्रेमललवा र द्रौपदीको प्रेमले लट्टिएका पराजुलीले सोच्न भ्याएका थिएनन् होला, नेपालगन्जको प्रेमललवालाई २५ वर्षपछि निर्देशक चे शङ्करले राजधानीको ‘कौशी’ चढाउँछन् भनेर ।

हो, प्रेमललवा यतिखेर काठमाडौँमै छ (मधेस काठमाडौंसम्म आइपुगेको हो ?) । कौशी थिएटरमा घोडा (वसन्ती) खेदिरहेको प्रेमललवाले आफू पनि उसैगरी ‘खेदिइरहेको’ चाल पाउन साह्रो भागदौड गर्छ । मुग्लिङमा खाँदाखाँदैको चिया छोड्छ, सिंहदरबार अगाडि हात जोड्छ । बालुवाटार र पुल्चोकका फुटपाथमा लड्खाइरहन्छ । मन्त्री क्वार्टरसम्म भौतारिरहन्छ । लेखकलाई आफ्नो बचेखुचेको पैसा चपाउन दिएर काठमाडौंको जाडोमा आफू लुगलुग कठ्याङ्ग्रिइरहन्छ, कठ्याङ्ग्रिइरहन्छ,..। लुग..लुग..। कठ्याङ्ग्रिइरहन्छ… कठ्याङ्ग्रिइरहन्छ ।

काठमाडौं–मधेस सम्बन्धको यो ‘जाडो’ टेकु पुगेर हेरेकै जाती । मधेसबाट चुनाव जितेका राजिन्दर बाबुहरूले संविधानमा स्वीकार्यताको औँठाछाप किन लगाउन पुगे, बुझेकै जाती । संविधानसँग असन्तुष्ट बृहत् पक्षको सामूहिक स्वर मधेस बन्न पुगेको र बनिरहेको कुरालाई मनन गरेकै जाती । काठमाडौँ-मधेशबीचको सामाजिक संवाद र ऐक्यबद्धताका सूत्रहरू कहाँ-कहाँ कसरी कसरी भाँचिरहे, गमेकै जाती । नेपालमा उदार लोकतन्त्र, बहुलता र विविधता, मानवअधिकार र समानता कुन दुलोमा कहाँनेर लुकेको रहेछ भनेर खोजेकै जाती । सिंहदरबार र संसद्ले मात्र होइन, काठमाडौंको नागरिक तहले पनि मधेसलाई कति हेलाहितो गर्छ, देखेकै जाती । बुझेकै जाती । केन्द्रीकृत स्वरुप, असमावेशी चरित्र, नाभी केन्द्रित वितरण प्रणालीका बारेमा प्रश्न गरेकै जाती.. ! जाती ।..ताँती । तर, ताँती जति सबै थाँती..!

प्रेमललवालाई वसन्तीलाई कुल्चेर मारेकाहरूले नै ‘आफूलाई कुल्चिरहेका छन्’ भनेर बुझ्न निकै समय लाग्छ । त्यो निकै समय ‘निको समय’ होइन । प्रेमललवाको द्रौपदी, राजिन्दरबाबु, शान्तिराजा, कलुवासँग भलाकुसारी नै नाटकको सेरोफेरो हो । नाटकको प्रेमललवाले तराई–मधेसको पृष्ठभूमिमा टेकेर राजनीतिको विद्रुप तस्बिर हाम्रोसामू राखिदिएको छ । निम्नवर्गीय मजदुर (टाँगाचालक) अर्थात् प्रेमललवाको घोडा राजनीतिज्ञको खुट्टा तल किचिएपछिको कथा दृश्य नै जम्माजम्मीमा उलार हो ।

चे शङ्करको परिकल्पना तथा निर्देशनमा नयनराजको उलारलाई गार्डेन थिएटरले कथा घेराको रङ्गमञ्चमा उतारेको छ । एउटा निम्नवर्गीय मजदुर टाँगा चालकको घोडाको मृत्युपछिको वियोगान्त कथा बोकेको नाटकमा सबिर चुरौटे, सरिता गिरी लगायत कलाकारहरूले जीवन भर्न खोजेका छन् । वैशाख ६ गतेदेखि मञ्चन सुरु भएको नाटक उलार वैशाख १८ गतेसम्मका लागि नियमित मञ्चन भइरहेको छ ।

चे शङ्कर र नयनराज पाण्डे:

मधेसको समाज, संस्कृति, मनोवृत्ति, उत्पीडनलाई नजिकबाट छामेका पाण्डेको प्रेमललवा र ‘कलाले जहिले पनि राज्यलाई खबरदारी गर्नुपर्छ’ भनिरहेका शङ्करको प्रेमललवामध्ये को-कत्ति अब्बल, को-कत्ति दोयम खोट्याउने जिम्मा पाठक/दर्शकको भइ नै हाल्यो, रही नै हाल्यो । म यतातर्फ लागिनँ । लाग्नेहरूलाई बाटो खुल्ला गरिदिएँ । तर, नीर शाहले ‘विजय दाइ (मल्ल) चलचित्र ‘कुमारीबाट त्यति सन्तुष्ट हुनु भएन’ भनेर भनेझैँ चे शङ्करले ‘नयन दाइ नाटक ‘उलार’बाट त्यति सन्तुष्ट हुनु भएन’ भन्ने दिन नआई जाओस् भन्ने सदिच्छा चाहिँ मैले मनमनै गरेकै हो ।

अलिकता त भनौँ क्यारे,

साहित्य सत्ताको पोल्टोमा ‘नुनु’ गरिरहेको बखत ‘विचार पृष्ठ’मा नाटक देखिन खोज्नु गतिलै कुरा हो तर, रङ्गमञ्चले समाजको कुरा गरिरहँदा समाज नै छुटाउनु चाहिँ नजाती कुरा हो । पङ्क्तिकार ठान्दछ, नाटक उलारमा कसोकसो मधेस ‘ल्याक’ छ । नाटकको प्रेमललुवा भन्ने पात्रले जति सङ्घर्षपूर्ण गोरेटो हिँड्छ, त्यत्तिकै अप्ठ्यारो गोरेटो दर्शकले पनि हिँड्नुपर्ने देखिन्छ । नाटक ‘ठ्याक्क ठ्याक्क’ छैन, ‘ठ्याक ठ्याक’ छ । यो भनेको के हो भन्दा त्यही हो, गर्न खोज्दा गर्न नसकिएको भन्ने अर्थ तर, गर्दै नगरिएको भने होइन । मधेश संघर्षको बहुआयामिकता देखाउने क्रममा हतारो गरियो कि भन्ने मात्रै । तर, लामो आन्दोलन र लामो  उपेक्षाका कारण भुईं तह (प्रेमललवा)मा बढेको नैराश्यलाई विद्रोहको स्वाद दिने सवालमा भने नाटक अब्बल साबित भएको छ ।

तर, त्यहि विद्रोहका बीच सबीर चुरौटे र सरिता गिरिको संवादमा ‘समाजसितको जुडाव’ छुटेको भान भने भयो । पहिचान, प्रतिनिधित्व र पहुँचका प्रक्रियाहरूमा ‘नेपालीकरण’ तथा ‘अभारतीयकरण’ गरिँदाका दृश्यहरू छुटेको भान भने भयो । संघर्षरत मधेशी समुदायको गुरुत्व नदेखिएको हो कि भन्ने महसुस पनि भयो । मधेसी समाजले बेहोरिरहेको आर्थिक, सांस्कृतिक र राजनीतिक विभेद, त्यसमा उसको सचेतता र सहभागिताजस्ता कुराहरूमा मैले बढ्तै चासो राख्दा म दुर्घटित हुन् सक्ने सम्भावना पनि उत्तिकै छ ।

यसलाई ठ्याक्कै यसरी भन्दिऊ न-  ‘लेखन सामाजिक प्रतिबद्धता हो’ भन्ने नयनराज र ‘नाटकले समाजलाई प्रगतिशील र जागरूक बनाउन ठुलो भूमिका खेल्छ’ भन्ने चे शङ्करको मझधारमा बसेर प्रेमललवा भनिरहेको छ, “म अर्थात् नेपाली नाटकलाई ‘होमसिक’ भइराछ । म अर्थात् नेपाली साहित्यलाई ‘होमसिक’ भइराछ ।’ यथार्थतावादको कुरा नि ! कल्पनाशीलता मर्‍यो भन्ने कुरा नि ! नेपाली नाटक र साहित्य साह्रो नोस्टाल्जिक भइगए भन्ने कुरा नि ! अनि फेरी ‘कल्पग्रन्थ’ बन्दिजाने पो हो कि भन्ने चिन्ता पनि । लास्ट चिन्ता छ यार ।!

एउटा कुरा – कुनै पनि पुस्तकको नाट्यरूपान्तरणले पुस्तकका दृश्यहरू कति चलाउनुपर्छ, कति चलाउनु हुँदैन भनेर एकपटक बहस भएकै जाती । आकांक्षा कार्कीले एनिमल फार्ममा ‘केपोलियन’लाई उभ्याएर, अन्जान प्रदीप र केदार श्रेष्ठले शिरिषकको फूलमा ‘पारिजात’लाई उभ्याएर, विमल सुवेदी र सुरज सुवेदीले पल्पसा क्याफेमा ‘जनआन्दोलन’लाई उभ्भाएर वा सुलक्षण भारतीले खतमा ‘बारुद’लाई उभ्भाएर वा चे शंकरले उलारमा ‘प्रेमललवा’लाई उभ्याएर यो बहस निम्ताएका छन्, यसका बारेमा दर्शक/पाठकबीच एकचोटी ‘र्याकठ्याक’ पर्दिए हुने थियो । चिन्ता लिइदिए हुने !

अर्को कुरा-  साहित्यिक गल्लीहरूमा हल्ला छ, ‘अब उपन्यास नभनौँ, नाटक भनौँ ! नाटकनै लेख्नेहरू चाहिँ कतै गएछन् ?’

अब टुङ्गाऊ,

‘पत्रकारिता जस्तै थिएटर पनि मनमा लागेको कुरा व्यक्त गर्ने राम्रो प्लेटफर्म रहेको’ बताउने निर्देशक चे शङ्करलाई पङ्क्तिकारले सोधेको थियो, “नेपालगन्ज, प्रेमललवा र नयनराज नै किन ?’ जवाफमा शङ्कर दाइले मुस्कान चिप्लाउँदै भनेका थिए, “मलाई राजनीतिक, सामाजिक मुद्दाहरूमा काम गर्न मन छ, त्यही भए उलार ।”

‘बुकाहोलिक्स चकटी बहस’मा पाण्डेले पङ्क्तिकारको ‘मधेस नै किन ?’ भन्ने प्रश्नको उत्तरमा भनेका थिए, “मधेशका विषयमा लेख्नु मधेशीका लागि मात्र लेख्नु हैन । मधेस र मधेशको दुःखलाई फिटिक्कै नबुझ्ने समाजमा रहेका पटमूर्खहरूलाई बुझाउन लेखेको हुँ ।”

May be an image of 1 person, standing and indoor

साहित्य लेखकीय जीवनसन्दर्भसँग सहसम्बन्धित हुन्छ । लेखकको भाषिक अभिव्यक्ति कला नै साहित्य हो । नाटकको हकमा पनि यही कुरा लागू हुन्छ । सामाजिक प्रतिबद्धताको हकमा पनि सिर्जनाधर्मिता महत्त्वपूर्ण कुरा हो ।

दुवै स्रष्टाको समाजप्रतिको प्रतिबद्धता र सिर्जनाधर्मितालाई नमन । समाजसित चेतन या अवचेतनमा रूपमा संवाद गरिरहनेहरूसँग नै गुनासो पोख्न मन लाग्ने रहेछ, यो तिनै गुनासोहरू ! आत्माभिव्यक्तिहरू !

अस्तु !

(प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार १०:३५, हिमाल दर्पण)

Leave a Reply