कुमार अम्बुजका दुई अनूदित कविता

You are currently viewing कुमार अम्बुजका दुई अनूदित कविता

१. क्रूरता

बिस्तारै बिस्तारै क्षमाभाव समाप्त हुनेछ
प्रेमको आकाङ्क्षा त हुनेछ तर जरुरत भने हुनेछैन
समाप्त हुनेछ प्राप्तिको सुख, गुमाउनुको पीडा
क्रोध एक्लो हुनेछैन, ऊ सङ्गठित हुनेछ

कुमार अम्बुज

कुमार अम्बुज

अनन्त: एक प्रतियोगिता हुनेछ
जसमा मानिसहरू
पराजित हुनको लागि होइन
आफ्नो श्रेष्ठताको लागि युद्धरत् हुनेछन्

त्यो समय आउनेछ- क्रूरता
पहिले हृदयमा आउनेछ, फेरी अनुहारमा देखिनेछ

त्यसपछि घटित हुनेछ धर्मग्रन्थहरूको व्याख्यामा
त्यसपछि इतिहासमा, त्यसपछि भविष्यवाणीहरूमा
त्यसपछि यो जनताको लागि आदर्श हुनेछ
त्यतिबेला निरर्थक हुनेछ आलाप-विलाप

दोस्रो मृत्युले सुकाउनेछ
पहिलो मृत्युको कारण निस्किएको आँसु
त्यतिबेला छिमेकी सान्त्वना होइन हतियार दिनेछन् ।

===

२. खाना बनाइरहेकी स्त्री

जब ऊ बुलबुल चरा जस्तै थिई,
उसले खाना बनाई
त्यसपछि हिरणी भएर खाना बनाई
त्यसपछि फूलहरूको डाली भएर खाना बनाई

जब नरम दुबो झुमिरहेको थियो हावासँग लहलह
जब सबैजना तापिरहेका थिए पुषको घाम
उसले हृदयाकाशको जुन-तारा तोडेर
आफ्नो सपनालाई मुछेर,
स-साना पोथ्राबाट रस निकालेर खाना बनाई
तर, आखिरमा उसले सुन्नु परेको थियो- फ्याँकिएको थाल बजेको आवाज !

जब तपाइले उसलाई सुन्दर भन्नुभयो, उसले खाना बनाई
र, ‘डायन’ भन्नुभयो तब पनि उसले खाना बनाई
बच्चालाई गर्भमा राखेर उसले खाना बनाई
त्यसपछि बच्चालाई काखमा राखेर उसले खाना बनाई

उसले आफ्नो निन्द्राबाट ब्युँझेर खाना बनाई
तपाइ सपना देखिरहँदा पनि उसले बनाइरही खाना

पहिले दुब्लो-पातलो थिई, खाना बनाई
त्यसपछि सुडौल भई, खाना बनाई

ऊ समुन्द्रदेखि नुहाएर आइ, र खाना बनाई
जुन-तारालाई छोएर आइ, र खाना बनाई

उसले कयौँपटक सिर्फ एक आलु, एक प्याजले खाना बनाई
र कतिपटक सिर्फ आफ्नो धैर्यताले, सहनशीलताले खाना बनाई

दुखिरहेको कम्मर र बढिरहेको ज्वरोमा,
बाहिर आएको तुफानमा,
भित्र आएको बाढीमा,
उसले खाना बनाई !

===

नाम : कुमार अम्बुज (१३ अप्रिल सन् १९५७; गुना- मध्यप्रदेश, भारत)

प्रकाशित कृतिहरू: किवा (१९९२), क्रूरता (१९९६), अनन्तिम (१९९८), अतिक्रमण (२००२)

अनुवाद: राजु झल्लु प्रसाद

लेखकका अन्य सिर्जनाहरू पढ्न यहाँ क्लिक गर्नुहोस्…#कुमार अम्बुज#राजु झल्लु प्रसाद

(साहित्यपोस्टमा २०८०, अषाढ २८, बिहीवार १५:०१ गते प्रकाशित)

Leave a Reply