पृष्ठभूमि :
सञ्चार अवरोधका कारण कान नसुन्ने (बहिरा व्यक्ति) हरू रोजगारीका अवसरबाट वञ्चित भइरहेको र रोजगारी पाएकालाई पनि रोजगारदाताले विभिन्न बहानामा निकाल्ने र कम तलब दिने गरेका समाचारहरू सञ्चारमाध्यममा छाइरहेको बखत थियो । भृकुटीमण्डपस्थित राष्ट्रिय बहिरा महासंघले यस्ता गुनासाहरू नसुनेको भन्ने खाले कुराहरू पनि समाचर पृष्ठमा देखिरहेकै हुन्थे । राज्यले बहिराका लागि प्रष्ट नीति निर्माण र व्यवहारमा उतार्न नसक्दा बहिराहरू आज पनि उत्तिकै अपहेलित छन् ।
कुरा, कोरोनाकालको नै हो । सडक साविकभन्दा फराकिला र शान्त थिए । प्रेस कार्ड झुन्डाएर एक न एक बहानामा ट्राफिक प्रहरीदेखि उम्कनु तात्कालिन दैनिकी, साहस र उपद्रव सबै थियो । यसैताका म पाटनका गल्लिहरू चाहर्ने मनासयले थापाथली-कुपन्डोल पुल नाघ्दै थिए । कसोकसो म अलि अगाडि नै बढे र ‘कान देवताथान’ मै पुगेर रोकिएँ । ‘कान देवता’ नामधारी देवताको पनि यस उपत्यकामा अस्तित्त्व छ भनेर मैले चाल पाएको प्रथम घडि त्यही हो । जसै चाल पाएँ, स्वभावत: म जिल्ल र वाल्ल परेको थिएँ । यसपछि दिमागको माथापच्चिसी (माथापच्ची) सुरु भयो, जो अझै शान्त भएको छैन ।
कुपन्डोलका कान देवता
‘देवताको कानमा नपरोस्’ भन्दै एकअर्काले अरूअर्कोको कुरा काटेको खुबै सुनेको हूँ/ सुनिन्छ । देवता एवम् मान्छेका कान पनि वृहत ठुला-ठुला भएका दन्त्यकथाहरू पढेको हुँ (जसको यथोस्थानमा चर्चा हुनेछ) । हात्तीको कान, हात्ती काने बिरुवा (Alocasia macrorrhiza) पनि देखेकै हो । राति सुतेको मानिसको दिमाग खाएर बिहानीपख कानबाट निस्किएर भाग्ने किरा (कन्सुत्ला) आदि बारे सुनेर राति सुत्दा दुवै चोरी औँला कानमा छिराएर पनि सुतेकै हो । तर, शहरको मूल सडकछेउमै यति ठुला-ठुला पित्तलका कान झुण्डिएको हुनेछ र तिनी कान देवता हुनेछन् भन्ने कुरा मेरो लागि कल्पना बाहिरको कुरा थियो । देउताका अनेकन् रुप-रंग र कथा-उपकथाहरू देखिरहेको/पढिरहेको परिवेशमा ‘कान देउता’सँग यो भेट आकस्मिक र अप्रत्याशित थियो ।
तस्बीर: राजु झल्लु प्रसाद
मोरङको कानेपोखरी : उसो त यसअघि २०७० संवत् आसपास झापा पुग्दा मोरङको ‘कानेपोखरी’ बारे सुनेको हूँ, पोखरी अवलोकन गर्न भने भ्याएको होइन । किम्वदन्तीहरूअनुसार, कानको आकारको पोखरी भएकाले कानेपोखरी भनिएको, पोखरीमा काने झार प्रशस्तै पाइने हुनाले कानेपोखरी भनिएको हो एवम् यस भेगमा बस्ने बृद्ध महिलाले मेला भर्न जाने महिलाहरूलाई कानमा लगाउने गरगहना उपहार दिने भएकाले कानेपोखरी भनिएको लगायतका कथनहरू त्यता प्रचलित छन् ।
तर, नेपालकै एक मात्रै कान देवता मानिएको (शक्तिपीठ)को बारेमा पनि आधिकारिक जानकारी भेट्न गाह्रो पर्यो । मन्दिरमा पुजारी नहुने व्यवस्थाका कारण पनि यसो भएको हो । अर्को चाहिँ तन्त्र उपासना गरिरहेका व्यक्तिहरू भेट्न मुस्किल छ, बोलाउन सार्है कठिन ।
कुपन्डोल-लगनखेल सडकखण्ड अन्तर्गत कुपन्डोल चोकको दाहिनेतर्फ कान दुखेमा निको पार्ने देवताको रुपमा ‘कान देवता’ परिचित छन् । कुनै पनि व्यक्तिको कान सुन्निने, कान दुख्ने, कान पाक्ने, कान नसुन्ने अथवा विभिन्न उपचार गर्दा पनि कानको रोग निको नहुनेहरू यहाँ आउने गर्दछन् । कान देवता थानमा एउटा सानो प्वाल रहेको छ, जहाँ तेल हालेर पुजा गरियो भने कानको समस्या ‘छु मन्तर’ हुन्छ भन्ने आमविश्वास रहेको छ ।
कानदेवता होइन ‘नागदेवता’
कानदेवताको सन्दर्भमा राजेन्द्र मानन्धार भन्छन्, “नेपालभाषामा न्हायपंस्याः-द्यःको आधाउधी अनुवाद हो कानदेवता । न्हायपंस्या-द्यः को अर्थ ‘कान दुखाइको देउता’ भन्ने हुन्छ । कान दुख्दा त्यहाँ पूजा गरिन्छ । तर, यो नागदेउता हो । यसको पूजाविधि फरक हुन्छ । त्यहाँ एउटा दुलो हुन्छ । त्यही नै नागदेउताको बासस्थान हो ।”
उनका अनुसार, ‘टुडिखेलमा सिटिमल अगाडिको नागदेउता (कर्कोटक नागराज) आदि सबै नागदेउताको एउटै पूजाविधि हुन्छ । टौदहमा बस्नुभन्दा अघि कर्कोटक नागराज त्यहाँ बस्थ्यो । सिटिमल र वरिपरि केही समयअघिसम्म पनि पोखरी थियो । अहिले पनि त्यो ठाउँलाइै दहमार्ग भनिन्छ । तर दह मासियो र भवनहरु बने ।’
नागदेउताको पूजामा गाईको दूध चढाइन्छ । कपासको माला बनाएर पनि चढाइन्छ । नागदेउता पूजामा सबै सामग्री त्यहीँ छोडेर आउनु पर्छ । केही लिएर आएमा नराम्रो हुन्छ भनिन्छ । जनैनाग आदि सबै नागको पूजाविधि एउटै हुन्छ, यसको यो लिखित पाइँदैन, अभ्यासको हस्तान्तरण हो । पुराना मानिसहरुलाई यस्ता कुरा कण्ठै हुन्छ ।
इतुम्बहालको इनारमा जनै खटिरा आउँदा नागको पूजा गरिन्छ । थायमदुमा रहेको दाँतको देउता पनि नागदेउता हो । तर त्यसमा दाँत दुख्दा पैसा ठोकिन्छ । त्यस्तै अट्कोनारायण थानमा पनि एउटा काठको मुढा (रुखको जरा) मा पैसा ठोकिन्छ ।
स्थानीय श्यामलाल महर्जनका अनुसार कानदेवता अहिलेको कुपन्डोल-लगनखेल सडकमै थिए, बाटो विस्तारको क्रममा छेउमा सारियो । जङ्गबहादुरले कोत पर्व मच्याउने लागेको खबर कान देवतामार्फत थाहा पाई दरबारका काजी बाचेका कथनहरू पनि आफ्ना पुर्खाबाट सुनेको उनी बताउँछन् ।
पातलो च्यादर ओढाएर राखिएको सो प्वाललाई छोएर पालैपालो दाहिने र देब्रे कान ३/३ पटक छुने प्रचलन ज्यादा रहेको छ । यहाँनेर अंकको दर्शनले काम गरेको हुनुपर्दछ । अंक दर्शनमा हरेक तीनको महत्त्व ज्यादातर देख्न पाइन्छ । जस्तै : सात लोकमध्ये चारवटा लोकहरु गौण मानेर पाताल, पृथ्वी र स्वर्गलाई महत्त्व दिइन्छ । यज्ञ, तप र दान-तीनवटा विधिलाई मोक्षका मूल उपाय बताइन्छ । यसैगरी, सत, रज र तम नाम दिएर गुणहरुको चर्चा गरिन्छ । चेतन, अचेतन र अर्धचेतन भनेर मनको तीन तहको चर्चा पाइन्छ । अत: अंकको दर्शनबाट हामी प्रभावित भइरहेको तथ्य यि-यसरी प्रकट भइरहेकै हुन्छन् ।
कान दुखाइको बारेमा चिकित्सा क्षेत्र के भन्छ ?
पछिल्लो आहारविहारका कारण टाउको दुख्नु सरह कान दुख्नु पनि आम समस्या हुँदै गएको छ ।
कान दुख्नुका धेरै कारण हुन सक्छन् । रुघाखोकी, कानमा पानी पस्नु, कानमा फोहोर जम्मा हुनु, गिंजा वा दांत दुख्नु, चोटपटक लाग्नु, कान पोल्नु, इन्फेक्सन हुनु वा कानभित्र किरा पस्दा पनि कान दुख्न सक्छ । कान दुख्दा सुनाई पनि कम भएको महसुस हुन्छ र कहिलेकाहीँ चिलाउँछ पनि । पौडी खेल्दा कानमा पानी छिर्नु, हेडफोनको ज्यादा प्रयोग गर्नु, कानमा औला छिराइरहने बनाई आदि कान दुखाइका प्रमुख कारणहरू हुन् । उमेरले ५५ वर्ष लागिसकेपश्चात् कानको श्रवण शक्ति कम हुँदै जाने समस्या अर्को समस्या हो ।
कान दुख्दा तुलसीको पत्ता हाल्ने, एक चिम्टी नून मिलाएर ऊनको कपडामा लसुनलाई पोको पारी दुखेको ठाउँमा राख्ने, जैतुनको तेललाई अलिअलि तातो बनाउने र कानमा हाल्ने, मुलाको पातलाई पिसेर निक्सिएको रसलाई तेलमा तताएर कानमा राख्ने, आफ्नै पिसाबको केहि बूँद कानमा राख्ने जस्ता घरेलु उपचारपद्धतिहरू कान दुखाइ निवारणको रुपमा प्रयोगमा आइरहेका छन् ।
वर्षायाम सुरु भएपश्चात् कान दुख्यो भन्दै आउने बिरामीहरूको संख्या बढ्ने चिकित्सकहरू बताउँछन् । कानको नलीमा ढुसी (फंगस) को संक्रमण अर्थात् अटोमाइकोसिसका यो समस्या देखिने गर्दछ । एस्पर्जिलस नाइगर र क्यान्डिडा एल्भिकेन्स नामक फंगसका कारण यो संक्रमण हुन्छ । मधुमेही, क्यान्सर रोगी, केमोथेरापी गराइरहेका, मृगौला प्रत्यारोपण गराएका वा डायलासिस गराइरहेका, शरीरमा रोग प्रतिरोधक क्षमता कम भएकाहरूको कानमा फंगस उत्पन्न हुने समस्या बढी हुन्छ । यस्तो फंगसले पछि गएर कानको संक्रमण उत्पन्न मात्रै नगरेर यो शरीरका अन्य अंगमा समेत फैलिन सक्छ । यसले कानको पर्दामा असर र श्रवणशक्ति प्रभावित हुन्छ । कानमा जथाभावी थोपा औषधि हाल्ने गर्दा पनि यस्तो समस्या निम्तिने गर्छ ।
उसो त कान आँफै सफा हुने मानव अंग हो । यो अंगलाई कुनै पनि प्रकारको सक्रिय सफाइको आवश्यकता हुँदैन । सडकको छेउछाउ पिर्का लिएर बसेकाहरूबाट कान सफा गर्ने वा आफैं कुनै बाह्य वस्तु कानमा हालेर सफा गर्नु लाभदायक छैन । दाँत माझ्ने, मुख धुने जसरी कानको फोहोर झिक्न जरूरी छैन । एयर बर्डले कोट्टाउँदा कानको जालीमा नै प्वाल पर्न सक्छ ।
अत: कान दुखाइ आम समस्या हुँदै जानु र कुपन्डोलको ‘कान देवता’ वरपर भक्तजनहरुको घुइंचो लागिरहनुको पछाडिको कथा मलाई खोज्न मन थियो । कुन आमविश्वासमा र दन्त्यकथाका कारण जनसमुदायको सहभागिता त्यहाँ भइरहेको छ भनेर जान्नु अनिवार्य बन्न पुग्यो ।
कान देवता र किम्बदन्तीहरू:
यस स्थानका बारेमा अस्पष्ट रुपमा केहि प्रचलित कथनहरू प्रचलित छन्, जसले तान्त्रिकहरूको बुद्धि, मन्त्र र यन्त्रले एक समयमा उपत्यकामा पकड जमाएको प्रष्टाउछ । यसमा प्रशस्त अपव्याख्या र तथ्यहरू तोडमोड गरिएको प्रष्ट हुन्छ । सँगसँगै, पाटन र काठमाडौंका वासीहरूले आ- आफ्नो राजालाई ठुलो बताउन तथ्यहरू आफूअनुकल तोडमोड गरेको पनि देखिन्छ ।
किम्बदन्ती: १ – एक समयमा पाटनका राजाले काठमाडौंका राजालाई एउटा पौभा चित्र उपहार दिएका थिए । त्यो पौभा चित्र यन्त्रजडित थियो । यसपश्चात् काठमाडौंका राजाले गोप्य बैठक बस्दा केहि कुरा सल्लाह गरेमा पाटनका राजाले सुन्ने गर्दथे र, उताको सबै कुरा थाहा पाउँथे । पछि यो कुरा काठमाडौंका राजाले थाहा पाएपछि सो यन्त्रलाई निर्जीव गरेर बागमती पारी (कुपन्डोल) लगेर फ़्यालिदिएको अनुश्रूति रहेको छ (स्थानीय कथन) ।
यस कथनअनुसार;
१. पाटनका राजाले पौभा उपहार दिएका हुन् ।
२. काठमाडौंका राजाले पछि यन्त्रलाई निर्जीव पारी मिल्काएका हुन् ।
तस्बीर: राजु झल्लु प्रसाद
किम्बदन्ती : २ – पाटनका राजा र काठमाडौंका राजाबीच निकै नै प्रतिस्पर्धा चलिरहन्थ्यो । एक राजाले अर्को राजालाई कसरी सिध्याउने भन्ने जमर्को भइरहन्थ्यो । ‘काठमाडौंका राजाभन्दा पाटनका राजा बलियो र चतुर भएकोले’ काठमाडौंको राजाले आफू पनि बलियो हुन् मन गरे । यसका लागि पाटन दरबार भित्रको गोप्य कुरा थाहा पाउनु अत्यावश्यक थियो । विज्ञहरूसँग सल्लाह गरि एक ध्वनि यन्त्रलाई पौभा चित्रमा जडान गरि पाटनको राजालाई उपहार दिई पठाए । उक्त उपहार (पौभा) पाटनको राजालाई यति मन पर्यो कि उनले आफ्नो शयनकक्षमै झुन्डाए । यसपश्चात् पाटनका गोप्य बैठक र रणनीति सबै काठमाडौंका राजाले सुन्न थाले । पाटनको गोप्य कुराकानी सर्वप्रथम कान देवताकहाँ पुगी काठमाडौंतर्फ फर्छ्यौट हुने गर्दथ्यो । सो ध्वनियन्त्रको ‘ट्रान्समिटर’ चाहिँ हाल कान देवतास्थान रहेको ठाउँमा थियो अरे ।
यता, काठमाडौंका राजाले पाटनका हरेक कुरा थाहा पाउँदै जाँदा पाटनलाई गाह्रो बनाउँदै लगे । हरेक ठाउँमा पाटन काठमाडौंभन्दा पछी पर्न थाल्यो । उता, पाटनको राजालाई शंका लाग्यो र विज्ञहरूलाई बोलाई छानबिन गर्दा पौभामा समस्या रहेको पत्तो लाग्यो । यसपश्चात कुपन्डोलको ट्रान्समिटरलाई यसप्रकार बिगारियो कि पाटनको कुरा काठमाडौंले सुन्न नपाओस् तर, काठमाडौंका कुरा पाटनले सुन्न सकोस् । ठ्याक्कै उल्टो पारिएछ (सिस्टम एक्सचेन्ज) । यो सिलसिला चलिरह्यो । पाटन काठमाडौंभन्दा मजबुत हुँदै जान थाल्यो । काठमाडौंले उक्त ट्रान्समिटर जांच गर्न आउँदा सबै कुरा थाहा पाएपश्चात् सो ध्वनि यन्त्र बिगारेर बागमती पारी ल्याएर मिल्काइदिए । (द नेवार, फेसबुक पेज)
यस कथनअनुसार,
१.काठमाडौंका राजाले पौभा उपहार दिएका हुन् ।
२. पाटनका राजाले सो पौभा मन पराई शयन कक्षमा झुण्डाए ।
३. पाटनको गोप्य कुराकानी फर्छ्यौट गर्नका ट्रान्समिटर कुपन्डोलमा राखिएको थियो, जो पछी पाटनद्वारा मोडियो र पाटनले आफ्नो हितानुकुल प्रयोग गर्यो ।
४. यसपश्चात् सो ट्रान्समिटर अन्तत: काठमाडौंले नै बिगार्नु पर्यो ।
५. तान्त्रिक प्रभाव जोडिएका हुनाले सो ट्रान्समिटरलाई जनसामान्यले देवता मान्न थाले कि ?
किम्वदन्ती- ३ :
मल्लकालीन समयमा तत्कालीन कान्तिपुर र पाटन राज्यका राजा बीच गहिरो वैमनस्यता थियो । आपसी वैरभावका कारण एक अर्का राज्य माथि हमला हुनु पनि स्वभाविक नै हो । यसै क्रममा पाटनका राजाले तन्त्रको प्रयोग मार्फत एक षड्यन्त्र रचना गरे । तान्त्रिक गुरुपुरोहितको मद्दतबाट पाटनका राजाले काठमाडौँका राजाको कमजोरी थाङ्का (पौवा) चित्र हो भन्ने थाहा पाइ तीन यन्त्रको सिर्जना गरे र अत्यन्त कलात्मक स्वर्ण लिखित पौवा चित्रमा यन्त्रलाई गुप्त रुपमा राखी कान्तिपुरका राजालाई भेट गरे । कान्तिपुरका राजाले विशिष्ट व्यक्तित्वबाट प्राप्त उपहार आफ्नो अन्तःपुरमा झुण्याई राखे ।
अर्को यन्त्र बाग्मती किनारमा एउटा ठूलो खम्बा बनाई कानको आकृतिरुपको यन्त्र र अर्को यन्त्र पाटनकै राजाको दरबारमा राखे । त्यो तीन यन्त्र एक आपसमा अन्तरसम्बन्धित थियो । कान्तिपुरको गतिविधि र गोप्य संवादलाई पौवा यन्त्रले कानदेवतामा पठाउँथ्यो र कान देवताले पाटन दरबारमा फ्याँक्थ्यो । यसरी कान्तिपुरको गोप्यता पाटनका राजाले थाहा पाउँथे । पछि गएर कान्तिपुरका राजा र रानीको राज्यको विषयका गोप्य संवाद पाटनमा यत्रतत्र सर्वत्र फैलियो । कान्तिपुरका राजाले यो के भयो भनी गुरुपुरोहितको सहायताबाट विचार गर्दा पाटनका राजाको सबै कर्तुत थाहा पाएर कान्तिपुरका राजाले पनि यन्त्रलाई नै ठीक विपरीत गरेका थिए र यो क्रिया पनि पाटनमा ज्ञात भएपछि पाटनका राजाले यन्त्र निष्कृय गराउन लगाएका थिए । (स्रोत : नेपालमा तन्त्र परम्परा : प्रयोग र समुच्चय, सन्दीप सापकोटा, अनलाइन केन्द्र)
यस कथनअनुसार,
१. पाटनका राजाले पौभा चित्र (पौवा यन्त्र) उपहार दिएका हुन् ।
२. उपहारस्वरूप पाएको स्वर्ण अंकित पौभा काठमाडौंका राजले आफ्नो अन्त:पुर (शयन कक्ष ?)मा झुण्डाए ।
३. तीन वटा यन्त्रहरू थिए । एउटा पौभामा जोडिएको, अर्को पाटनको राजासँग र तेस्रो चाहिँ दुई यन्त्रलाई जोड्नका लागि प्रयोगमा आउथ्यो, जो कान आकारको थियो ।
४. काठमाडौंका राजा-रानीको शयनकक्षमा भएका आपसी कुराकानीसमेत पाटनका गल्लि (आम मानिस)ले सुन्न पाए । जो पछी कान्तिपुरद्वारा मोडियो र कान्तिपुरले आफ्नो हितानुकुल प्रयोग गर्यो ।
५. आफूले बनाएको यन्त्र आफैँमाथि प्रयोग भएको पाएपछी पाटन स्वयम्ले सो यन्त्र आफैँ बन्द गर्यो ।
किम्बदन्ती: ४- कान्तिपुरका राजा प्रताप मल्ल (वि.सं. १६९८-१७३१) र ललितपुरका राजा श्रीनिवास मल्ल (वि.सं. १६८४- १७४३) का प्रतिस्पर्धा थियो । दुवैको सहयोगी तान्त्रिक जामुन वज्राचार्य र विश्वनाथ थिए । तान्त्रिकहरूको प्रभाव त्यस बेला ठुलो थियो । एकअर्काको गुप्तचर पनि बन्थे । जामुनले राजा प्रताप मल्लले अह्राए अनुसार एक सुन्दर चित्र (पौभा) तयार पारी पाटनका राजा श्रीनिवासका बैठकमा टाँस्ने प्रबन्ध मिलाए । चित्रमा कुनै यन्त्र जोडियो । जोडिएको यन्त्रलाई कानदेवता भनि पूजा गर्ने प्रबन्धसमेत मिलाए । प्रतापका कोठमा पनि यन्त्र जोडिएको थियो । यसमार्फत श्रीनिवास मल्लका सबै गोप्य कुरा प्रताप मल्लका कानमा पर्ने भए ।
प्रकारान्तरले आफ्ना गोप्य कुरा प्रतापले थाहा पाएको श्री निवासलाई थाहा भयो । आफ्ना गुप्तचर विश्वनाथ (तान्त्रिक) मार्फत अनुसन्धान गर्न अह्राए । अनुसन्धानपश्चात् सो यन्त्र, कानदेवतामार्फत भएको थाहा भयो । यसपश्चात् विश्वनाथले कानेदेवताको एक्सचेन्ज फर्काए (बटारे) । यसपश्चात् प्रताप मल्लका गोप्य कुरा श्रीनिवाससमक्ष आउन थाले ।
उता, कान्तिपुरमा हल्लाखल्ला भयो । प्रतापले यो समस्याको निवारण मागे । कान्तिपुरका गुप्तचर जामुनले घटनाको छानिबिन गरि कानदेवताभित्र रहेको यन्त्र झिकी बागमतीमा बगाइदिए । अहिले सो यन्त्र मिल्किएको स्थानमा कानदेवता छन्, भक्तहरू दर्शन गर्दछन् । (नेपालको धार्मिक स्थलहरू, घटराज भट्टराई, पृ. २७-२८)
यस कथनका अनुसार,
१. राजाहरू प्रताप मल्ल र श्री निवास मल्ल थिए ।
२. गुप्तचर (तान्त्रिक गुरु) हरू जामुन र विश्वनाथ थिए ।
३. कान्तिपुरले पाटनलाई पौभा उपहार दिएको हो र, पौभा श्रीनिवासको बैठकमा झुण्डियो।
स्पष्टीकरण : थोरबहुत तथ्य प्राप्त भएको किम्वदन्ती ३ र ४ एकापासमा बाझिएका छन् । किम्बदन्तीमा ३ का अनुसार पाटनका राजाले पौभा उपहार दिएका थिए, जसको माने कान देवताको स्थापनाको जस पाटनका राजालाई दिनुपर्दछ । तर, किम्बदन्ती-४ का अनुसार, काठमाडौंका राजा प्रताप मल्लले पाटनका श्रीनिवास मल्ललाई पौभा उपहार दिएका थिए, जसको माने कान देवताको स्थापनाको जस प्रताप मल्ललाई जाने भयो । साथै किम्वदन्ती-१ ले किम्वदन्ती ३ लाई साथ् दिएको र किम्वदन्ती-२ ले किम्वदन्ती-४ लाई साथ् दिएको हुँदा ‘बराबरको हिसाबकिताब’ पनि छ ।
यसकारण यी किम्वदन्तीहरूबाट कसले कसलाई पौभाचित्र उपहार दिएका हुन् भन्ने कुरा खुट्टीन आउदैन । अब हामीले ऐतिहासिक तथ्यको भर पर्नु उचित हुन्छ । र, सो पौभाचित्र छ भने कहाँ छ, छैन भने किन छैन भनि खोजि गर्नुपर्ने हुन्छ ।
तस्बीर: राजु झल्लु प्रसाद
तन्त्र र विश्वनाथ र जामुन
शिवको अर्धनारीश्वर स्वरुपलाई तन्त्रस्वरूप मानिएको छ । तन्त्र शास्त्रले ‘जे कुरा यो ब्रह्माण्डमा छ, त्यहीकुरा हाम्रो शरीर भित्र पनि रहेको हुन्छ’ भन्ने गर्दछ । ब्रम्हाण्डसँग समपर्क स्थापित गर्न तन्त्रको प्रयोग गर्नेहरू यसबेला पनि नभएका होइनन् । तान्त्रिक अभ्यासमा लागिरहेका राम्रा लेखकहरूकै अनुसार यस्ता व्यक्तिहरू बाहिरफेर सित्ति देखिदैनन्, देखिन चाहदैनन् । उनीहरूका अनुसार ज्ञान विस्तारको मार्ग तन्त्र हो र तन्त्रको निम्ति साधन चाहिँ शरीर नै हो । वाणको शैयामा ‘लेटेका’ महाभारतमा भीष्मको इच्छामृत्यु तन्त्र साधानाको एउटा उदाहरण भइ नै हाल्यो ।
जुन साधनाले प्रकृति र परमेश्वरलाई आफनो अनुकुल बनाउन सकिन्छ, त्यो तन्त्र हो । यहाँ ‘तन्’ पदले प्रकृति र परमात्मा तथा ‘त्र’ ले स्वाधीनता बताउँदछ । नेपालको हिन्दू र बौद्ध परम्पराको महायान र बज्रयान पन्थमा तन्त्रको प्रयोग व्यापक रुपमा हुने गर्दछ भन्ने कुरा सर्वविदितै छ । यसबाहेक जैन, सिख, बोन, किराँत (टों ), वहर्थमान, दाओ तथा जापानको शिन्तो परम्पराका मानिसहरू पनि तन्त्र साधना गर्दछन् ।
१. विश्वनाथ: भट्टराईले विश्वनाथ मात्रै उल्लेख गरेका कारण उनी वाध्यवाद्यनमा समेत प्रख्यात पाएका विश्वनाथ उपाध्याय थिए वा अरू नै कोही भन्ने प्रष्ट हुन् सकेको छैन । श्रीनिवासका बाबु सिद्धि नरसिंह मल्लले नाट्य क्षेत्रका गुरु हरिवशं आचार्य र वाद्य क्षेत्र एवम् तान्त्रिक विधाका गुरु विश्वनाथ उपाध्यायलाई बोलाई ‘५ दिने कार्तिक नाँच’ सुरु गरेको इतिहासले तान्त्रिक गुरु विश्वनाथ १०४ वर्ष बाँचेका राजा सिद्धिनरसिंह (वि.सं. १६७५ – १७१६, ४१ वर्ष शासनकाल) का पालाका गुरु रहेको तथ्य खुल्न आउँछ ।
यसो हुँदा भट्टराईले उल्लेख गरेका विश्वनाथ ‘विश्वनाथ उपाध्याय’ नै रहेको र उनी आफ्नो वृद्धवस्थामा रहेको संकेत मिल्दछ । कान्तिपुरका राजा प्रताप मल्लको बहकाउमा लागेर आफ्नै पितासँग विद्रोह गरि कीर्तिपुरमा छुट्टै राज्य गठन गर्न खोज्दा राजा सिद्धिनरसिंह मल्लले त्यो बुझेर २ वर्ष पछि (वि.सं. १७१७ ) आफैँले राज्य त्याग गरिदिएको इतिहास प्रमाणित भएको हुँदा विश्वनाथ उपाध्यायबारे उनले चर्चा गरेको खुल्न आउँछ । यद्यपि तान्त्रिक विश्वनाथ उपाध्यायबारे थप प्रमाण जुटाउन पंक्तिकार असमर्थ छ । लेखक भट्टराईको निधन भइसकेको छ ।
काशी विश्वनाथको मुखुन्डो पूजा: यता, भक्तपुरको टौमरी टोलमा रहेको भैरवनाथ मन्दिरमा मूर्तिको सट्टा भैरवनाथ र काशी विश्वनाथको मुखुन्डो पूजा गर्ने चलन छ । बिस्केट जात्रा हेर्नका लागि काशी विश्वनाथ मानिसको रूप धारण गरेर भारतबाट नेपाल आएको र काशी विश्वनाथलाई नेपालमै राख्न यताका तान्त्रिकहरूले उनलाई पछ्याउन थालेको सन्दर्भमा भाग्दाभाग्दै काशी विश्वनाथ धर्तीमुनि छिर्न खोज्दा यताका तान्त्रिकहरूले उनको टाउको थुतेर भक्तपुरमा राखेका थिए । काशी विश्वनाथको टाउको मन्दिरमा राखिएकाले अहिले पनि उनकोे मुखुन्डो पूजा गरिने संस्कृतविद जगमान गुरुङको तर्क छ । काशी विश्वनाथ मन्दिर भारतको उत्तर प्रदेशस्थित वाराणसीमा अवस्थित छ । (भैरवनाथमा काशी विश्वनाथको मुखुन्डो, वसन्त खड्का, नागरिक दैनिक)
यहाँनेर एउटा अर्को प्रसंग उल्लेखनीय छ, ‘डोकामा पानी भरेर सानो चस्का दिएका जामन गुभाजुले रूखको टुप्पो नुहाएर भेंडाबाख्रालाई घाँस खुवाएको देखेपछि उनीसामु झुक्दै अबदेखि काष्ठमण्डपमा जादु नदेखाउने कसम खाई भारतीय जादुगर बाटो लागेको थियो’ भनेर श्याम रिमालले उल्लेख गरेका छन्, यद्यपि भारत लागेको सो जादुगर विश्वनाथ नहुन पनि सक्दछन् । (स्रोत: जनआस्था) यदि हुन् भन्ने मान्ने हो भने काठमाडौंका जामुन र भक्तपुरमा विश्वनाथबीच टकराव भएको देखिन आउँछ ।
जामुन (जामान): भट्टराईले उल्लेख गरेको तान्त्रिक जामुन वज्राचार्य ‘जामनः गुभाःजु’ हुनुपर्दछ । ‘मञ्जुबज्र’ बज्राचार्य असली नाम रहेको उनलाई जामुन वज्राचार्य पनि भनिन्छ। जामन गुभाजुका प्रचलित किस्साहरू अठारौँ शताब्दी (राजा प्रताप मल्लको समय) का हुन् ।
‘मञ्जुबज्र’ बज्राचार्यको नाम जामुन गुभाजु किन भयो भने उनले सन् १६५४ मा बनाएको ब्रह्मटोलको मुसुमबहालस्थित इनारको बीचबीचमा दुईतिर जामुनका काठहरू राखी बीचमा प्वाल परेका ढुंगाका च्यापा फल्याकहरू बिछ्याई (पिँधमा कलश राख्नुअघि) इनारलाई साततले बनाएका थिए भन्ने भनाइ छ। जामुनको काठलाई पानीले खाँदैन भनेर चिन्न सक्ने त्यो युग थियो । यसैले बालुवामा ढुंगा नभासियोस् भनेर वाग्मती र विष्णुमतीका किनाराका ढुंगाका सिँढी र भकारीहरूका कतिपय पिँधमा जामुनको काठका टेकाहरू राखिएका छन् पनि, जुन १० वर्षअघि थापाथली पुलबाट टेकुसम्म हुतराम वैद्यसँग यात्रा गर्दा पङ्क्तिकारले देखेको हो, उदासी मठ र अन्यत्रको सामुन्ने । (सौरभ, कान्तिपुर)
किम्बदन्तीहरू के भन्दै छन् ?
कथा-कहानी र किम्वदन्ती पनि आंशिक इतिहास हुन् । तर, अपडेट हुन् नखोज्ने इतिहास विज्ञहरूका कारण किम्बदन्तीहरू नै पूर्णत: इतिहास बन्ने जोखिम बढिरहेकै छ । यसो हुँदा घाटा के हुन्छ भने, जुँगाको लडाईका खातिर मिथकको मिथकीकरण बढ्दै जान्छ । फलत: मिथकको पुनःलिखित संस्करणले इतिहासको दर्जा पाइदिन्छ । लक्ष्मण रेखा, द्रौपदीको चिरहरण जस्ता ‘बडे मिथक’हरू उदाहरणस्वरूप हाम्रासामू उपस्थित छन् ।
माथि उल्लेखित किम्बदन्तीहरूलाई पनि हामीले सूक्ष्मातिसुक्ष्म तवरले हेर्नु आवश्यक छ, अन्यथा मन्दिर निर्माणको पृष्ठभूमि तथा तत्कालीन सामाजिक मूल्य र अवस्थाबारे चर्चा हुन् पाउनेछैन ।
१.तान्त्रिक जामान र विश्वनाथको आपसी संघर्ष
कान्तिपुरका राजा प्रताप मल्ल र पाटनका राजा सिद्धिनरसिंह मल्लबीच निकै शक्ति संघर्ष चलेको थियो । यी दुई राजाको शक्ति संघर्षको कथा बसन्तपुर दरबार स्क्वायरमा रहेको काष्ठमण्डप अगाडीको चारकुने खाल्डो (भुतसिगाः) र भूतेश्वर महादेव मन्दिर एवम् पाटनको कृष्ण मन्दिरबारे प्रचिलत किम्बदन्तीहरूले पुष्टि गर्दछ नै ।
कथानुसार, ‘राजा सिद्धिनरसिंह मल्लले कृष्ण मन्दिर निर्माण सम्पन्न भएपछी भव्य कोटीहोमको आयोजना गरे तर, मधुर सम्बन्ध नरहेकोले उनले काठमाडौका राजा प्रताप मल्ललाई निमन्त्रणा दिएनन् । राजा प्रताप मल्ल र जामान गुभाजुले पाटनमा लगाइएको कोटीहोममा बिघ्न डाल्न तान्त्रिक पद्धित अपनाए, जसानुसार गुभाजुले टेकुमा गई अक्षता छर्कीदिए र प्रताप मल्ल अजिंगर बनेर यज्ञस्थान पुगे । पाटनका तान्त्रिक गुरु विश्वनाथले च्याप्प समातेर अजिंगरलाई गड्यौला बनाइ आफू बसेको पिर्का मुनि राख्दिए । पछि मयजु र भाजुलाई यज्ञस्थानमा भिक्षा माग्न पठाई जामुनले प्रताप मल्ललाई जोगाए, अन्यथा विश्वनाथले यज्ञ सकिएपछि सो गड्यौला (राजा प्रताप मल्ल)लाई यज्ञमा होम्ने बताएका थिए । सारमा कथा यियस्तै भएको र यसलाई व्यक्तिअनुसार विविध तरिकाले सुनाउने गरिन्छ ।
कान्तिपुर र पाटनको आपासी तानतानमा तान्त्रिकहरूको कस्तो भूमिका रहन्थ्यो भन्ने सन्दर्भमा शंकरमान राजवंशीकृत यस अंश पनि पढ्न सकियो,
‘..यस्तै तहसँग दुई चार बिग्र्दा यो त बडो आश्चर्य भयो क्या कारण रहेछ भनि विचार गर्दा चुकबहालको गुभालले गर्याको ठह्रयाईआफै प्रोहित विश्वनाथउपाध्याय जाई यता ईश्वरका प्रतिष्ठाकर्म गर्न लाग्दा जागे विघ्न गरिदिन्या काम नगर बरु तलाई पनि जज्ञ पूर्ण भयापछि केहि द्रव्य दिउला । मैले गर्याको जज्ञमा तैंले विघ्न गरिदिन्या काम नगर भनि बुझाइ हाल लि आई कोट्याहति जज्ञ वेदोक्त तन्त्रोक्त प्रमाण गरि आफू होता भै विश्वनाथ उपाध्यायले जज्ञ आरम्भ गरि कर्म चलाउँदा एस समय कान्तिपुरका राजा प्रताप मल्ल र उनका प्रेमि जामं नाम गुवबाहलले सिद्धिनरसिंह मल्लका जज्ञ विघ्न गर्नको इक्षा गरि जझ मण्डपमा भुतका छौडाको रुप ली गै रुन लाग्या । किन रुन्छौ भनि सोधदा षान्या कुरो माग्या । षान्या कुरो दिंदा भोटाका थैला भरिदिन नसकदा इनहरू त मानिस रहेछन् भनि विघ्न गर्न निमित्त आउन्या हुन् भनि जानी षोजी गर्दा तिनीहरू अद्रिष्ट भै गया । फेरी थोरै बेर पछि सर्पका रुप धरी जज्ञमण्डपमा आउँदा इनिहरू विघ्न गर्न आउन्या हुन् भनि जानी मन्त्रका वलले ती दुवै सर्पकाँ आसन गरि चाहिँदो कर्म चलाउन लाग्या । जब पूर्णहुतिका बेलामा टि सर्पकाँ श्रुवामा राषी आहुति दिन तयार गरि तिमिहरू को हौँ भन्या भया भन तत्र आहुति गरि दिन्छु भन्दा तिनीहरूले हामी कान्तिपुरका राजा प्रताप मल्ल र जामान गुभाल हौँ । हाम्रा जीवकाँ बचाउ भनि विश्वनाथ उपाध्याका कानले सुन्या गरि विन्ती गर्दा फेरी तिमिहरूले कैले एस्तो उत्तम कर्म गर्दा विघ्न गर्या काम नगर्नु भनि वाचा गरि छाडी पठाया ।..”
यस कथन उल्लेखको कारण प्रताप मल्ल र सिद्धिनरसिंहको तान्त्रिक विद्वता सँगसँगै उनीहरूको वैमनस्यता पनि बताउनु रहेको छ ।
२. तीन राज्यको आपसी संघर्षको वार्तास्थल ‘टेकु दोभान’
अब हामी श्रीनिवास र प्रताप मल्लका सन्दर्भमा केहि कुरा गरौँ;
वि.सं. १६८४ मा जन्मेका श्रीनिवास मल्ल वि.सं. १७१५ मा बाबु सिद्धिनरसिंह विरुद्ध विद्रोह गरी वि.सं १७१७ मा ललितपुरको राजा भए । उनलाई त्यसो गर्न कान्तिपुरका राजा प्रताप मल्लले उचालेका थिए ।
‘वि.सं.१७१५ भाद्र २० गते कान्तिपुरका राजा प्रताप मल्ल र पाटनका राजा श्रीनिवास मल्ल बीच श्रावण कृष्ण सप्तमीका दिन एउटा धर्म पत्र (शान्ति सम्झौता) भयो, जसको उल्लेख गरिएको पशुपतिनाथको ताम्रपत्रअनुसार कान्तिपुर र पाटन ललितपुरका राजा आजीवन ‘एकान शत्रु, एकान मित्र’ भई बस्ने वानप्रस्य राजा सिद्धिनरसिंह मल्ल र अन्य कुनै भारदारका कुरा नसुन्ने, आफूहरुले थाहापाएका राम्रा नराम्रा कुराहरु एक अर्कालाई बताउनु पर्ने, भक्तपुरसँग दुवै राज्यले मैत्रीभाव नराख्ने र भक्तपुर राज्यका बारेमा दुवै राजाहरुले एक अर्कालाई जानकारी गराउने उल्लेख थियो । यसरी उक्त ताम्रपत्रबाट कान्तिपुर र ललितपुर दुवै राज्यको भक्तपुर राज्यसँग शत्रुता रहेको थाहा पाइन्छ ।
त्यस्तै भक्तपुर राज्यको विरुद्ध कान्तिपुर र ललितपुरका राज्यका राजा र भारदारहरु पनि मिलेको देखिन्छ । त्यस्तैमा ललितपुर र भक्तपुर राज्य बीच युद्ध भई भक्तपुरको ‘बोडे’ माथि ललितपुरले नियन्त्रण कायम गर्यो । तर त्यसको केही वर्षपछि ललितपुरका राजा श्रीनिवास मल्ल र भक्तपुरका राजा जगतप्रकाश मल्ल बीच वि.सं.१७२२ वैशाख १९ गते धर्म पत्र अर्थात् शान्ति सम्झौतामा हस्ताक्षर भई कान्तिपुर राज्यका विरुद्ध मोर्चाबन्दी हुन पुग्यो । तर पछि पुनः कान्तिपुर र ललितपुर राज्य मिली भक्तपुरका ‘नाला’, ‘चौकोट’ र दाप्चा गरी चार इलाका माथि नियन्त्रण स्थापित गराउका र भक्तपुरका राजा जगत प्रकाश मल्लले ती गाउँ र इलाका फिर्ता गरेका थिए । तर क्रान्तिपुर र ललितपुरको यो मित्रता धेरै दिन सम्म टिक्न नसकी ललितपुरका राजा श्रीनिवास मल्लले भक्तपुरसँग मित्रता गाँस्न पुगेपछि कान्तिपुरका राजा प्रताप मल्ल श्री निवास मल्ललाई पक्रने योजना बनाई विष्णुमति नदीको दोभान टेकु दोभानमा बोलाएको तर श्रीनिवास मल्ल त्यहाँ नगएकाले त्यो योजना असफल भई दुई राज्य बीच पुनः वैमनष्यता भएको देखिन्छ ।
कान्तिपुर राज्यसँग वैमनष्यता भएपछि ललितपुरका राजा श्रीनिवास मल्ल र भक्तपुरका राजा जगत प्रकाश मल्ल बीच वि.सं. १७२२ वैशाख ९ गते पुनः मैत्री सम्बन्ध स्थापित भएको थियो । तर वि.सं. १७२७ मा श्री निवास मल्ल र प्रताप मल्लको सम्बन्ध पुनः स्थापित भई जगतप्रकाश मल्लसँग वैरभाव रहन गयो । त्यसको केही समयपछि वि.सं. १७२५ भाद्र १७ गते ललितपुर र भक्तपुर राज्य आपसमा मिली कान्तिपुर राज्यका केही भू–भाग ललितपुरको अधिनमा ल्याइयो । तर त्यस्तैमा भक्तपुर राज्यले ललितपुरको लुभु र विशङ्खु नामक दुई इलाका आफ्नो राज्यलाई दिनुपर्ने भनी ललितपुर राज्यलाई प्रस्ताव गरेपछि ललितपुरका राजा श्रीनिवास मल्लले त्यो प्रस्ताव स्वीकार गरेनन् । त्यसपछि श्रीनिवास मल्ल र कान्तिपुरका राजा प्रताप मल्ल बीच ‘एकान–शत्रु एकान–मित्र’ को अर्को शान्ति सम्झौता हुन पुग्यो । त्यस्तैमा वि.सं. १७२८ अषाढ १४ गते ललितपुर र भक्तपुर राज्यका राजाका बीच अर्को मैत्री सम्बन्ध स्थापित भई कान्तिपुर राज्य अन्तर्गतको नाला इलाकालाई ललितपुरमा गाभियो।
वि.सं.१७३१ वैशाख ९ गते कान्तिपुरका राजा प्रताप मल्लको देहान्त भए पश्चात कान्तिपुरमा कसलाई राजा बनाउने भन्ने प्रश्न उठेपछि उक्त विषय उपर छलफल गर्न ललितपुरका राजा श्रीनिवास मल्ल, भक्तपुरका राजा जितामित्र मल्ल, कान्तिपुरका राजकुमार मान्चातासिंह लगायतले बागमती नदी किनारको टेकु दोभानमा वि.सं. १७३१ वैशाख १७ गते एकापसमा छलफल गरे । वि.सं.१७३१ आषाढ ३१ गते ललितपुरका राजा श्रीनिवास मल्ल र भक्तपुरका राजा जितामित्र मल्ल अग्रसर भई कान्तिपुरमा राजकुमार नृपेन्द्र मल्ललाई राजा सिंहासनमा राखियो (पाटन राज्यको संक्षिप्त इतिहास, हेमन्त बुढाथोकी) ।’
विष्णुमति र बागमती नदीको संगम टेकु दोभान भन्ने शब्द बारबार प्रयोग हुनु र त्यहि आसपास कान देवता रहनु उल्लेखनीय विषय हो । यसबाट कुपन्डोल आसपासको इलाका कुटनीतिक हिसाबले महत्त्वपूर्ण रहेको साबित हुन् आउँछ ।
तस्बीर: कनकमणी दीक्षित
कानदेवता र टेकु दोभानको ऐतिहासिक महत्त्व:
माथि उल्लेखित किम्बदन्तीहरूले कान देवता सन्दर्भ र महत्त्व पुष्टाइ गर्दछ साथै टेकु दोभानमा हुने राजनैतिक हलचललाई पनि संकेत गर्दछ । तर, चिन्ताको विषय के छ भने- टेकू देवस्थलमा आज पुग्दा अनगिन्ती सम्पदाहरू छरपष्ट रहेको देख्न पाइन्छ । टेकु दोभानबारे कनकमणी दीक्षित भन्छन्, ” नेपालमण्डलको जुहारत हो टेकू दोभान, तर हामीले रछ्यान झैं ठानिरहेका छौं ।”
काठमाडौं शहरको दक्षिणी प्रवेश विन्दु हो टेकु दोभान । यहाँ वाग्मती र विष्णुमती एकै ठाउँमा मिसिने भएकाले यसलाई टेकु दोभान भनिएको हो । यो क्षेत्र व्यापारिक दृष्टिकोणले लोकप्रिय मानिन्थ्यो । यहाँ मानिसहरू नुहाउने, मृतकको सम्झनामा धार्मिक संस्कार गर्ने र आगन्तुकहरू शहर प्रवेशपूर्व आफूलाई शुद्ध बनाउँथे । टेकु दोभान र थापाथली क्षेत्रमा १० भन्दा बढी घाट, शवदाह गृह, सत्तल र मन्दिर छन् ।
थापाथलीदेखि टेकु दोभानसम्मको वाग्मती करिडोर प्राकृतिक तथा सांस्कृतिक महत्त्वको स्थान हो, यसको संरक्षण गर्न सकेमा यस्ता किम्बदन्तीहरूलाई पुष्टि गर्ने बलियो आधार तयार हुनेछ ।
प्रताप मल्लले श्रीनिवासलाई उपहार दिएको पौभा खै ?
‘नेपालका केही महत्त्वपूर्ण भित्ते चित्रहरू’ मा साफल्य आमात्य लेख्छन्, “वसन्तपुर दरबारका मल्लकालीन भाग, मोहनकाली भाग र शाहकालीन भाग नासलचोकका यी दुवै स्थानमा भित्तेचित्रहरू छन् । मोहनकाली चोकमा चित्रित भित्ते चित्रहरू राजा प्रताप मल्लका समयका हुनु धेरै सम्भव छ ।”
यस सम्बन्धमा उनी थप अगाडि लेख्छन्, “स्वयम्भूको प्रसिद्ध शान्तिपुरभित्र पनि भित्तेचित्र छन् । सत्रौं शताब्दीका प्रसिद्ध मल्लराजा प्रताप मल्लले निर्माण गर्न लगाएको उक्त शान्तिपुरका भित्ताहरूमा हाल देखा परिरहेका भित्तेचित्रहरू भने श्री ५ पृथ्वी वीरविक्रम शाहको समयमा हर्षमान चित्रकार नामक एक व्यक्तिले आफ्ना स्वर्गवासी पूज्य पिताज्यू र माताज्यूका सम्झनार्थ बनाउन लगाएका हुन् । तर निजैको त्यहाँ रहेको अभिलेखबाट यो सिद्ध हुन् आएको छ- निजले त्यहाँ पहिलेदेखिनै रहिआएका चित्रहरूको जीर्णोद्धारमात्रै गरेका हुन् । यहाँ जीर्णोद्धारको बदला नयाँ किसिमले चित्रित भएको पनि हुन् सक्दछ । जे होस्, ती भित्ते चित्रहरू सत्रौं शताब्दीमै लेखिएका पनि हुन् सक्दछन् । केहि ठुलठुला देवीहरूका चित्रहरूबाहेक त्यहाँ भित्रपट्टि करीब साढे एक फूट अग्ला पंक्तिहरूमा चित्रहरू अंकित गरि लहरै राखिएका छन् । ती चित्रहरू धेरैजसो स्वयम्भूपुरायणसँग सम्बन्धित घटनाहरूलाई लिएर चित्रित गरिएका छन् । तीमध्ये मैत्रेय बोधीसत्त्वले आफ्ना चेलाहरू जम्मा पारी उपदेश सुनाइरहेको दृश्य र मन्जुश्रीको चित्र आदि विशेष उल्लखेनीय छन् । सबैजसो चित्रहरूका मुनि चित्रसम्बन्धि घटनालाई अभिलेखमा समेत अंकित गरिएका छन् ।”
यस कथ्यबाट प्रताप मल्ल पौभा चित्र रुचाउने व्यक्ति रहेछन् भने बुझ्न आउँछ । तर, उनले आफ्नो दरबारमा यन्त्र जडेको भनेर भट्टराईले बताएता पनि श्रीनिवास मल्ललाई उपहार दिएको पौभा चित्रसरह पौभामा नै यन्त्र जडेका हुन् या चित्रबिहिन यन्त्र जोडेका हुन् प्रष्ट हुन् सकेको छैन । पाटन संग्रालयका कार्यकारी प्रमुख सुरेश लाखेलाई यसबारे सोध्दा ‘त्यस समयका भीत्ते चित्रहरू संग्रालयमा नरहेको प्रष्ट पारे ।’ सो किम्बदन्तीलाई आधार मान्ने हो भने प्रताप मल्लले श्रीनिवास मल्ललाई उपहार दिएको भित्ते चित्र (पौभा) हाल लापता छ ।
गौतम बुद्ध (इ.पू. ५६३–४८३) कै समयमा बौद्ध विषयक चित्रकलाको सिर्जना भइसकेको हुनाले यस किम्बदन्ती खोज्न हामी त्यति परसम्म पुग्न जरुरत छैन । राजवंशका राजा रिपु मल्ल (राज्यकाल इ.संं. १३१२–१३१३) को नाम उल्लिखित एउटा पौभा पाइएको छ । यस विषयमा जानकारहरू लागुन् ।
समापन :
जहाँ कम्पन हुन्छ त्यहाँ आवाज हुन्छ । यसको विपरित, ध्वनि उत्पादन कम्पनको सिर्जना पनि गरिन्छ। हामीले बोल्ने भाषा (शब्द) मा पनि कम्पन हुन्छ । लिखित शब्दको हकमा पनि यो कुरा लागू हुन्छ । कापीमा नेपालको नक्सा बनाउँदा पनि कम्पन सिर्जना हुन्छ नै । यसप्रकार अस्तित्व रहेको हरेक चीजको कम्पन र आवाज रहन्छ ।
आकाशीय संसारमा संगीत गन्धर्वहरूद्वारा अभ्यास गरिएको थियो । इन्द्र र अन्य देवताहरूले सृष्टिकर्ता, ब्रह्मालाई अनुरोध गरे कि मानिसहरूलाई केहि दिनुहोस् जसले न केवल तिनीहरूको खराब मार्गबाट विचलन सिर्जना गर्दछ, तर उनीहरूको उत्थानमा मद्दत गर्दछ । ब्रह्मा सहमत भए र असाधारण क्षमता भएका मानिस, नारद मुनि (ऋषि) मार्फत मानिसहरूलाई संगीत दिए । अहिले पनि नारदलाई तानपुरा बोकेको तस्बिरमा चित्रण गरिएको छ । यसहिसाबले संगीत र स्वरको इतिहास सुरु भएको पाइन्छ ।
थप:
हामीले लेखको सुरुमै उल्लेख गरेको ग्रीक मिथिलोजी: पानोत्ति/पानोट्टी (फानेसी, पानोतीओइ) भनिने अंग्रेजी शब्दको मतलब ग्रीक भाषाअनुसार पूर्ण कान (All Ears) भन्ने हुन्छ । ठूला कान भएका मानिसहरूलाई बोलाउन प्रयोग गरिने यस शब्दले एक विशेषणको काम त गर्छ नै सँगसँगै ठुला कान हुनेहरूको बिल्ला पनि गर्दछ । पानोत्तिहरूका कान यति लामा हुने गर्दथे तिनले सम्पूर्ण शरीर नै ढाक्न मिल्दथ्यो । हामीकहाँ खसीबाख्राको लामो कान हुनुलाई ‘लाम्काने वा लम्कने’ भन्ने गरिन्छ ।
सन् ७७-७९मा शास्त्रीय लेखक प्लिनी द एल्डरले वास्तविक र काल्पनिक दुवैको प्रविष्टिहरू समावेश गरी प्राकृतिक इतिहास भनेर चिनिने विश्वकोषीय कार्यहरूको ३७ खण्डहरू प्रकाशित गरेका थिए ।
प्राकृतिक इतिहासमा, प्लिनीले सिथियाको ‘अल-इयर्स टापुहरू’ मा बस्ने पानोट्टी भनेर चिनिने मानिसहरूको अनौठो जातिको बारेमा लेखेका छन् । जहाँ उनले यस ठाउँका मानिसहरूका कानहरू विचित्र रूपमा ठूला हुने र पनोट्टीहरूले रातको चिसोबाट आफ्नो शरीरलाई बचाउन ढालको रूपमा आफ्ना लाम्काने कानको प्रयोग गर्ने बताएका छन् । उनका अनुसार पनोट्टीले कपडाको साटो आफ्नो कानको प्रयोग गर्दथे । सन् १४९१ मा हेनरिकस मार्टेलस जर्मनसद्वारा कोरिएको संसारको नक्सामा पनोट्टीहरू दक्षिणी एशियामा बसोबास गर्दछन् भनेर बताइएको छ । उनीहरू सुत्दा एउटा कानले गद्दा र अर्को कानले कम्बलको रूपमा सेवा गर्दथ्यो।
यसैगरी, ५०० इ.पु.का मानेइका फ्रिगियन राजा मिडास ग्रीक स्रोतहरूमा एक प्रसिद्ध राजा तर अक्सर उपहास गरिएका व्यक्ति हुन्, उनको कान मानिसको जस्तो नभई ‘गधाको जस्तो’ चुच्चो थियो । साच्चै थियो या उनको प्रख्यातिको उपहासको लागि उनको छविचित्रहरूमा ‘गधाको कान’ जोडियो प्रष्ट छैन ।
(प्रकाशन: ७ पुष २०७९, बिहीबार १६:४३, हिमाल दर्पण)