- अनुवाद कविता
सन् १९२६ मा इन्दौर, मध्यप्रदेश, भारतमा जन्मिएका कवि अनन्त कुमार ‘पाषण’का ‘क्या कहूँ, स्फूट कविताएँ, लौटो सिन्दवाद लगायत कविता संग्रहहरू प्रकाशित छन् ।
पाषणको कविता ‘उजाड घर’ लाई राजु झल्लु प्रसादले नेपालीमा अनुवाद गरेका हुन्;
उजाड घर
हिजो म त्यो घरमा पुगेर फर्किएँ,
दिनभर तिमी आउने बाटो हेरिरहेँ,
जसको पहेलो बार्दलीमा बसेर हामी चिया पिउने गर्थ्यौँ !
पर क्षितिजमा, घोडाहरू दगुरिरहन्थे,
धमिलो शहर ढल्दै जान्थ्यो.., ढल्दै जान्थ्यो
बिस्तारै..बिस्तारै रात सामुन्ने आउथ्यो !
मोटो कप, लाम्चो भद्धा प्लेट,
बासका मेच-कुर्सी,
कप भरि-भरि चिया सेलाउथे, पिउदै नपिइकनै
हामी चुपचाप, केवल एक-अर्कालाई हेरीरहन्थ्यौँ !
फराकिलो थियो सामुन्नेको मैदान, हाम्रो उचाई समान झाडी थियो !
काला ताराहरूको आकृति अझ अँध्यारिँदै जान्थ्यो !
सैनीकका छाउनीमा बिगुल बज्थ्यो,
र हामीसँग डराइरहने छाती थियो !
सिसाको गिलासको पानी, कठ्याङ्ग्रिएर लुग-लुग कामिरहन्थ्यो !
बगैचाको तँगारोसम्म आएर हावा,
खै के सोच्थ्यो..
र, अचानक रोकिने गर्थ्यो !
आफ्नो कुहिनोसम्म स्विटर तानेर तिमी,
आफ्नो हात बाँधेर बसीरहन्थ्यौँ चुपचाप..,
त्यसपछि म अधीर हुन्थेँ,
तिमी लामो हाई गरेर उठ्थ्यौ,
त्यसपछि फेरी नर-नारीको त्यो जोडीअँध्यारिदै गएको क्षितिजमा,
पर..पर कहिँ पुगेर हराउने गर्थे !
टुटे-फुटेको झैँ लाग्थ्यो गोरेटाहरू..
र, सडक फर्किने गर्थ्यो पुन:
आफ्नो निन्द्रा बिथोलीएर अनिँदो रहेको
त्यो घर फेरी रहन्थ्यो एक्लै
खुल्ला झ्याल र ढोका..,
सुनसान-सुनसान कुनै पराइ वस्तु झैँ !
पानी आफ्नो उचाई नापेर,
फेरी किनारमा ठोकिने गर्थ्यो !
हिजो म त्यो घरमा पुगेर फर्किएँ,
दिनभर तिमी आउने बाटो हेरिरहेँ,
साँझ आयो, रात पनि आयो,
चिसो हावाले निकै सतायो !
खाली थियो घर, ढोका..
बन्द थिए सबै, चुपचाप थिए,
तर न तिमी थियौँ, न म नै थिएँ
एक प्रेत जस्तो कोहि घुमीरहेको थियो,..भौतारिरहेको थियो !
निलेर तातो श्वास, बनाएर चिसो फोक्सो,
निक्लिएँ म,
आइपुगे त्यहिँ हाताको बाहिर,
परिचित जस्तो कुनै अनुहार
काला ताराहरूको बगैचाबाट उठेर आयो
फर्किएर हेरेँ उसलाई,
निर्निमेष,..एकटक !
चन्द्रमा सामुन्ने थियो,
बतास चिसो सुसेलीरहेको थियो,
म थिएँ र मेरो छायाँ थियो,
र, घर थियो, जो बन्द थियो !
- (प्रकाशन: २०७८, १९ भाद्र शनिबार ११:५६, भिजन न्यूज नेपाल)