त्यो घर, जसको ढोका ढकढक्याइनँ!

You are currently viewing त्यो घर, जसको ढोका ढकढक्याइनँ!
  • राजु झल्लु प्रसाद

थाहा छैन, म यतिखेर कसको यादको छायाँ-छहारीमा सुस्ताइरहेको छु। कसैलाई सम्झिरहेको छु भन्ने एउटा धमिलो-दस्तक त छ, तर त्यो ‘को’ हो? त्यसको अनुहार मेरो चेतनाको ऐनामा अझै ‘अविष्कृत-अक्षर’ जस्तै छ। म एउटा यस्तो गन्तव्यहीन यात्री भएको छु, जो आफ्नै मनको गल्लीमा हराइरहेको छ, भौतारिरहेको छ, लर्खराइरहेको छ।

अहिले भर्खरै, छिमेकीको भान्साबाट डढेको-मसलाको एउटा तिखो गन्ध हावाको लहरमा पौडिँदै मेरो नाकको प्वालभित्र छिर्‍यो। र, छिरेको के थियो, यसले मेरो मगजको कुनै ‘अँध्यारो-अलिन्द’मा थुप्रिएको यादको पराललाई भुरुरु सल्काइदियो। र, यो गन्धमा एउटा यस्तो ‘अपरिचित-आत्मीयता’ लुकेको छ कि, जसले मलाई मेरै वर्तमानको सुरक्षित टापुबाट गलहत्याएर समयको एउटा यस्तो विस्मृत-गल्लीमा पुर्‍याइदियो, जहाँ मेरा खुट्टाहरू कहिल्यै पुगेका थिएनन्।

तर लाग्छ, मेरो एउटा ‘बेवारिसे-छायाँ’ त्यहाँ वर्षौँदेखि घाम तापेर बसिरहेको छ। मानौँ, त्यो गल्ली मभित्रै कतै खुइलिएको रङ्ग बनेर टाँसिएको थियो र आज यो डढेको मसलाको झोँकले त्यसलाई पुन: ब्युँझाइदियो।

कस्तो ‘अजिवोगरिब-अहसास’। कस्तो शून्य-संवेग। ….थाहा छैन।
यो याद हो कि, कुनै ‘पूर्वानुभूत-पुनर्जन्म’ को एउटा मधुरो प्रतिध्वनि?….थाहा छैन।

यत्ति थाहा छ, यो कुनै आकस्मिक हुरी होइन जसले मलाई एकै झोँकमा उडाएर लैजाओस्। न त यो कुनै सुस्त ‘अत्यास-अलाप’ नै हो, जसले मलाई रुवाओस्। यो न त कुनै पुराना किताबका पहेँला पानाहरू पल्टाउँदा पलाएको स्मृति-लहर हो, न त सामाजिक सञ्जाल र रिल्सका रङ्गीन दृश्यहरूले उरालेको कुनै बतासे उत्तेजना नै।

कुन्नि के हो? कसो हो? कतै केही गुम्सिएको जस्तो अनि कुनै सानो छिद्रप्वालदेखि सुस्तरी निस्किरहेको ‘गन्ध-गोली’ जस्तो। भनिहालेँ नि, कुन्नि के हो। मैले यसको आकार ठम्याउन सकिरहेको छैन। र, सायद ठम्याउनुको अतिरिक्त ठनक ठनक पनि मसँग छैन। यत्ति हो, मेरोमेरो भित्री सन्तुलन बिथोलिएको छ, छचल्किएको छ। र अनि छचल्किरहेकै छ। 

यो ठमेल र लेकसाइडको अत्तर छर्किएको गल्लीमा बजेको कुनै ‘बेसुर-बाँसुरी’को त्यो अन्तिम नोट जस्तो पनि छ, जो सुनिन त सुनियो, तर हावामै अदृश्य-अस्तित्व बनेर हराइसक्यो। तर, कानको जालीमा एउटा ‘मिठो-बिझाइ’ र मनको कुनामा एउटा ‘रेशमी-रन्को’ भने अझै छ।

‘रेशम फिरिरी…’।

बुद्धि परियारले कोरेको त्यो कालजयी लय, जुन सुन्दर श्रेष्ठ र द्वारिका लाल जोशीको गलामा कहिल्यै नमर्ने गरी बाँचेको, ठ्याक्कै त्यही धुन कसैले बाँसुरीका प्वालहरूमा फुके जस्तो। कतै कुनै गोराले आफ्नै शैलीमा भाँचिएको नेपाली लवजमा यो गीत गुनगुनाएको प्रतिध्वनि हो कि? अनि फेरी, यो गीत मात्र होइन, यो त एउटा ‘भावुक-भूकम्प’ मेरो लागि,  जसले मभित्रको शान्त तलाउमा सधैँ तरंग पैदा गरिदिने गर्दछ। अहिले पनि सोही भावुक भूकम्प मकन घटित भइरहेछ।

मैले कसलाई सम्झना-वन्दना गर्दै छु? र किन सम्झिरहेको छु? यी दुवै प्रश्नहरू उत्तरहीन-उदास छन्। र, यस शून्य र प्रेमिल-प्रलापको क्षणमा म अलमलिएको छु, धरमरिएको छु।..यस्तो लाग्दैछ, म एउटा यस्तो बाटोमा उभिएको छु जहाँ दिशा सूचकहरू त छन्, तर तिनमा लेखिएका अक्षरहरू समयको बर्खाले मेटाइदिएको छ। अब म जान्दिनँ कि मैले के गर्नुपर्छ, कहाँ पुग्नुपर्छ?

तर, एउटा ‘विरोधाभासी-विभ्रम’ले मलाई च्याप्प समातेको छ। म उसलाई भुल्न चाहन्छु, जसको मलाई नामै थाहा छैन। म त्यो घर फर्कन चाहन्छु, जसको मैले कहिल्यै ढोका ढकढक्याएको छैन।
कस्तो अनौठो-अतृप्ति। कस्तो विस्मृत-विरासत।

झ्यालको कापमा अड्किएको एउटा सुकेको झिङ्गाको पखेटा जस्तै छ यो याद। न उड्न सक्छ, न त खस्न नै। बस, एउटा अड्किएको-अस्तित्व बनेर मलाई नै गिज्याइरहेछ।

ठिकै छ नि, नाम नखुलेको यादको पनि आफ्नै ‘बेहिसाब-विरासत’ हुँदो रहेछ। सबै कुराको रसिद काट्नुपर्छ र? केही यादहरूलाई तिनकै ‘मौन-मज्जा’मा छोडिदिऊँ। यो चेतनाको चौतारीलाई नाम र थरको भारीले किन थिच्नु? केही यादहरूलाई बेनाम-बगरमै बालुवाको घर बनाउन छोडिदिऊँ।

तर कहाँ ? के भएको हो, हो..। छोड्न सके पो। मन माने पो। अनि घुर्की ल्याईरहने मनलाई फकाउन जाने पो।

छाड्न खोज्दा झन् अदृश्य-आँकुसे बनेर मुटुको पत्र-पत्रमा बिझिरहन्छ। मन मान्दै-मान्दैन। अनि यो घुर्की ल्याइरहने मनलाई फकाउने कुनै लयबद्ध-लोरी पनि त मसँग छैन। म त केवल यो ‘मखमली-मुसाफिर’को एउटा निरीह साक्षी मात्र भएको छु।..भइरहेछु।

जसरी ओसको एउटा थोपा चुपचाप पातको कोखमा बसिदिन्छ। न खस्ने डर छ, न त अडिने जिद्दी नै। बस एउटा ‘निश्चल-नशा’मा ढसमस्सै बसिदिएको छ। ठ्याक्कै त्यस्तै। हुबहु त्यस्तै। यो बेनाम याद मसँग चुम्बकीय-चुपचापमा टाँसिएको टाँसियै छ।.. अचम्मै छ। उल्कै छ।

लाग्दैछ, म कुनै यस्तो शान्त-सागरको किनारमा छु, जहाँ एउटा सानो ढुङ्गा पनि खसेको छैन, तर पानीको सतहमा एउटा मृदु-महोत्सव जस्तो कम्पन छ। त्यो कम्पन कसले दियो? बतासको सुसेलीले? या पानीको आफ्नै हृदय-हर्कतले? वा, पानीभित्रै कतै निसास्सिएको कुनै ‘मौन-माछा’को अन्तिम छटपटीले?

म खोज्न चाहन्नँ। म त मात्र त्यो ‘तरल-तृप्ति’लाई हेरिरहेछु। र, हेरिरहेकै छु… बस, हेरिरहेकै… रह्यै छु। 

जसरी एउटा सेतो बादलको टुक्रा निलो आकाशमा बिना कुनै ‘गन्तव्य-गाँठो’ तैरिरहन्छ, म पनि यो बेनाम यादको आकाशमा त्यसरी नै विश्राममग्न छु।

हाय.. यो अनाम याद।

***

अहिले आफ्नै औँलाहरू हेरिरहेछु। यी औँलाहरूले कसैको अनुहार छोएजस्तो लाग्छ, एउटा यस्तो ‘मृदु-स्पर्श’, जो मेरो नशा-नशामा अझै भुरभुर्याइरहेको छ। मानौँ, मेरा औँलाका टुप्पाहरूमा कसैको गालाको न्यानोपन अझै ‘कैद-बास्ना’ बनेर बसेको छ। तर, ऐनामा हेर्दा मेरो आफ्नै अनुहार पनि मलाई बिरानो-बस्ती लागिरहेछ। लाग्छ, ऐनाभित्रको त्यो मान्छे अर्कै कोही हो, जो मलाई नै चिन्न खोजिरहेछ। त्यो मान्छे अर्कै कुनै ग्रहको एकान्त-यात्री हो, जो मलाई नै चिन्नका लागि मेरो आँखाको नानीभित्र चेतनाको टर्च बालेर खोजिरहेछ।

यो यादको रङ्ग कस्तो छ? सायद यो ‘धमिलो-निलो’ छ, या त यो ‘धुस्रे-गुलाबी’ छ। ठ्याक्कै साँझ पर्नुअघिको त्यो आधा उज्यालो र आधा अँध्यारो आकाश जस्तो, जहाँ दिनले रातसँग र रातले दिनसँग ‘चपक्क-अँगालो’ मारिरहेको हुन्छ। एउटा यस्तो सन्ध्या-संयोग, जहाँ प्रकाशले आफ्नो अस्तित्व विसर्जन गरेर अँध्यारोलाई रेशमी-उपहार दिइरहेको हुन्छ।

के यो कुनै सम्झनापुञ्ज हो? थाहा छैन।
कि शून्य संगीत हो ? कस्सम थाहा छैन। 

माकस्सम, मभित्र एउटा ‘मखमली-मौनता’ छाएको छ। छाएको छायै छ। याद आएको आयै छ। तर कसको ? थाहा छैन। कस्सम थाहा छैन। 

बरु एउटा खस्रो-स्पर्श बनेर मेरो चेतनाको किनारमा ठोकिइरहेको छ। ठ्याक्कै त्यही पुरानो जोडी मोजाको हराइसकेको ‘दायाँ-मोजा’ जस्तो, चसक्क बिझाउँछ, तर त्यसको उत्ति काम पनि छैन। प्रयोगमा ल्याउनै सकेको छैन। यसको प्रयोग त के, अब त यसको ‘स्मृति-सम्बन्ध’ पनि कतै खुइलिइसकेको छ।

अचम्म छैन त? कसैलाई नचिन्नुमा पनि कति गहिरो आत्मीयता-आवरण लुकेको हुँदो रहेछ। यो याद कुनै मान्छेको अनुहार वा नागरिकता बोकेर आएको छैन, बरु एउटा ‘अदृश्य-स्पर्श’ र ‘बेवारिसे-बाफ’ बनेर मेरो चेतनाको किनारमा ठोकिइरहेको छ। र, यो ठक्करको उत्सव निरन्तर चलिरहेकै छ… चलिरहेकै छ।

कतै यो मेरो आफ्नै ‘एकान्त-उत्सव’ त होइन?
एउटा यस्तो भोज, जहाँ पाहुना पनि म नै हुँ र पस्कने हातहरू पनि मेरै हुन्।
कुन्नि खै? कुन्नि है?

जसरी शिशिरको बिहानीमा एउटा शून्य-शीतपुष्पले दुबोको सुइरोलाई प्रेमिल अङ्गालो हाल्छ, एउटा यस्तो मिलन, जो सूर्यको पहिलो झुल्कासँगै विलय हुनु छ। यो यादले पनि मेरो हृदयलाई त्यसरी नै ‘कोमल-बेरूँ’ मारिरहेको छ। म यसलाई ‘को होस् रे? तिमी नै हौ र?’ भनेर सोधेर यसको स्वच्छन्द-सुगन्ध र यसको कुमारी-पहिचान बिगार्न चाहन्नँ। केही कुराहरू त अनाम-अस्तित्व र अस्पष्ट-आवरणमै बढी जीवन्त र बढी सुन्दर हुन्छन् नि। हुन्नन् र?

यो कस्तो भाव-तरल क्षण।
ठ्याक्कै उसिनेको तरुलको न्यानो गुदी जस्तो- मिठो, नरम र तृप्त।
पाक्नै लागेको ‘तिँदूको दानो’ जस्तो, जसको बाहिरी आवरण अलि खस्रो छ तर भित्र एउटा रसिलो ‘मधु-मूर्च्छा’ लुकेको छ।
अरेरे,…कस्तो ‘घिउ-समय’ रे। एउटा यस्तो घडी, जहाँ समय आफैँ पग्लिएर मेरो चेतनाको कचौरामा थुप्रिएको छ।

न त यसको कुनै सुरुवात छ, न त कुनै अन्त्य। यो त एउटा वृत्ताकार-विश्राम हो, जहाँ म एउटा निश्चल-निर्मलताको महासागरमा तैरिरहेको छु। र, तैरिरहेको छु… बस, ‘बेहोस-होस’मा तैरिरहेकै छु।

हिसाबकिताबको यो बजारु संसारमा, यो ‘बेहिसाब-बेचैनी’। हाय..तौबा।
हाय..यो यो अनाम-अमृत। 

***

यो स्मृतिहरूको एउटा यस्तो भग्नावशेष-भ्रमण पो हो कि? जहाँ हरेक इँटामा एउटा खुइलिएको-कथा र हरेक कथामा एउटा ‘घाइते-घाउ’ लुकेको छ। र, अहिले त्यही घाउको खाटो उप्किएर स्मृतिहरू बौरिरहेका छन्। मेरो चेतनामा यो सब ‘घटित-दुर्घटित’ भइरहेको छ- प्रतिक्षण, प्रतिपल। हाय.. यो ‘चुलबुल-चस्काइ’। र, यो दुखाइ होइन, हुँदै होइन। यो त एउटा यस्तो मिठो-मरन हो, जसले मलाई जिउँदो हुनुको एउटा खस्रो-प्रमाण दिइरहेछ- प्रतिक्षण, प्रतिपल।।

थाहा छैन, यो क्षणको पृष्ठ-प्रसङ्गलाई म के भनूँ? के नभनूँ?
यो शोक-संवाद पनि होइन, किनकि यहाँ कुनै क्षति छैन।
आत्मघाती-अनुराग त झनै होइन।
‘खरानी-खामोशी’?… अहँ, त्यो पनि होइन। खरानीमा त ताप हुँदैन, तर मभित्र त एउटा ‘लाभा-लत’ छ। लतपत छ।

के उसो भए यो ‘बेनाम याद’ अरु कोही नभएर एउटा ‘विस्मृत-वर्तमान’ हो त?
एउटा यस्तो समय, जो मेरो अगाडि त छ, तर मैले त्यसलाई चिन्न बिर्सिएँ?
कसरी हो भनौँ ?
नभनौं, के भनौँ ? 

म मेरो कोठाको भित्तामा झुण्डिएको घडी हेर्छु। सेकेन्डको सुई टिक-टिक गर्दै अघि बढिरहेको छ, तर मलाई लाग्छ, यो मेरो मुटुको धड्कनभन्दा निकै ढिलो छ। सायद म भविष्यको एउटा यस्तो घटनालाई याद गरिरहेछु, जुन समयको एउटा प्राविधिक-भुलले गर्दा मभित्र पहिल्यै घटेर गइसकेको छ। कतै यो याद म आफैँले आफैँलाई सुदूर अतीतबाट पठाएको एउटा बेवारिसे-पत्र त होइन? एउटा यस्तो पत्र, जसमा लेखिएका अक्षरहरू आँसुले भिजेर मेटिइसकेका छन्, तर त्यसको ‘ओसिलो-अनुभूति’ अझै पनि मेरो हातको हत्केलामा ताजा छ।

थाहा छैन। साच्चिकै थाहा छैन। म त एउटा यस्तो पत्र-मन्जुषा’ भएँ कि क्या हो ? जहाँ चिठ्ठी त आइपुगेको छ, तर न पाउनेको ठेगाना प्रस्ट छ, न पठाउनेको नाम स्पष्ट छ। हत्तेरी, यो ‘अनाम-अपेक्षा’ हावामा कस्तरी तैरिरहेको नि। एउटा यस्तो बेवारिसे-बेखबर, जसले मलाई पढेको छ, तर मैले त्यसलाई वाचन गर्न सकिरहेको छैन।
कि के हो ? थाहा छैन।

तर, यत्ति थाहा छ, यादहरूको यो भुलभुलैया-गल्लीमा म एक्लै उभिएको छु। र, बिल्कुल उभिईरहेछु। तर मलाई कसैगरी याद भइरहेको छैन कि म कसलाई सम्झिरहेको छु। हत्तेरी यो ‘बासी-ब्युँझाइ’। 

म आफ्नै सम्झनाको एकान्त-टापुमा एउटा यस्तो शंख फुकिरहेको छु, जसको आवाज कतै प्रतिध्वनित हुँदैन।

मलाई माकस्सम, यतिबेला एउटा ‘स्मृति-खन्ती’ चाहिएको छ। एउटा ‘याद-बेल्चा’ चाहिएको छ, जसले मेरो चेतनाको यो अपरिचित-सतहलाई उप्काउन सकोस्। तर, चाहिएको कहाँ पाइएको छ र? कसले पाएको छ र?

तर मलाई चाहिएको छ। पाउनुपरेको छ। मलाई यो विस्मृति-विरासतको गहिराइ नाप्नु छ। मलाई पाउनुपरेको छ त्यो औजार, जसले मेरो मनको यो ‘बाँझो-बगैँचा’ खनेर त्यहाँ दबिएका ‘स्मृति-शिलालेख’हरूलाई बाहिर निकाल्न सकोस्। म एउटा यस्तो उत्खननकर्ता हुन चाहन्छु, जो आफ्नै अतीतको भग्नावशेषमा हराउन तयार छ, तर रित्तो हात फर्किन कदाचित मञ्जुर छैन।

अनि, मलाई ‘खड्याङ्-खड्याङ’ खन्नु छ आफ्नै मनको यो कठोर जमिन। र, बाहिर निकाल्नु छ, ती पुरिएका ‘स्मृति-शिलालेख’हरू, जो वर्षौँदेखि मेरो मौनताको जगमुनि दबिएका छन्। मलाई पहिल्याउनु छ, ती ‘स्मृति-लिपिहरू’, जो न त मौर्यकालीन अशोका–ब्राम्ही हुन्, न कलात्मक रञ्जना वा भुजिमोल नै। न यी सम्भोटाका गुप्त-अक्षर हुन्, न त किरात सिरिजङ्गाका सुसेलीहरू।

मभित्रको यो स्मृति-लिपि त कुनै ज्ञात भाषाको व्याकरणमै छैन। यो त सायद ६ हजार वर्षअघिको त्यो ‘प्राग्ऐतिहासिक गुफा’ को चित्रलिपि जस्तै छ, जहाँ शब्दहरू नजन्मदै भावनाहरू कोरिएका थिए। मलाई गर्नु छ, ती विस्मृत लिपिहरूको एउटा यस्तो ‘लिपिबद्ध-अनुवाद’, जसले मेरो यो अनाम-अतृप्तिलाई एउटा अर्थ दिन सकोस्।

तर, यो कस्तो अचम्मको लिपि हो? जति खन्यो, उति यसको ‘गहिराइ-गर्व’ बढ्दै जान्छ। जति पढेँ, उति ‘अक्षर-अस्पष्टता’ थपिँदै जान्छ। कतै यो ‘क्युनिफर्म’ जस्तै गिलो माटोमा कोरिएको मेरो लेनदेनको पुरानो हिसाब त होइन? अथवा, यो कुनै ‘ध्वनि-लिपि’ हो, जसलाई आँखाले होइन, मुटुको धड्कनले मात्र सुन्न सकिन्छ?

यो कुनै पुरानो प्रेमको भग्नावशेष होइन, यो पक्का छ।
न त यो कुनै बिर्सिएको अनुहारको धमिलो-धुलो नै हो। यो त झन् हन्ड्रेड एण्ड वान पर्सेन्ट सियोर छ।
तर, मेरो रगतका सेता रक्तकोषहरूमा ‘कुँदाक्षर’ बनेर कुदिएँझैँ लाग्ने यी स्मृतिलिपिहरू कसका हुन्? अनि किन नशा-नशामा कुँदिरहेछन्?

र, रै रै…

जब म ‘याद-बेल्चा’ले यो मनको ‘स्ट्रेटिग्राफी’कोट्याउँछु, तब माथिल्लो सतहमा त केवल वर्तमानको धुलो मात्र भेटिन्छ। तर, जति गहिरो खन्दै जान्छु, त्यहाँ तह-तहमा दबिएका अनाम-अन्वेषणहरू निस्किन थाल्छन्। अनि लाग्छ, यो लिपि केवल स्मृति-अक्षर होइन, यो त एउटा हराएको-सभ्यताको जग हो। 

र, यही लिपिको ‘इन्स्कृप्सन’ पछ्याउँदै जाँदा म एउटा यस्तो मौन-मन्दिरको ढोकामा पुगेर ठोकिन्छु, जो जमिनमुनि पुरिएको ‘गर्भ-गृह’ जस्तो छ। एउटा यस्तो मन्दिर, जसको गजुर त कतै देखिएको छैन, तर त्यसको वास्तु-शास्त्र मेरो चेतनामा जीवन्त छ। कुन्नि कहिलेदेखि तर छ। जहाँ कुनै देउताको मूर्ति छैन, सायद मूर्ति त समयको अपारदन (इरोइजन)ले खिइएर गइसक्यो। र, अब केवल एउटा ‘प्रार्थना-प्रतिध्वनि’ मात्र बाँकी छ, जो भित्ताका ससाना छिद्रहरूमा गुन्जिरहेछ।

के म त्यही प्रतिध्वनिको ‘डिसाइफर’ गर्न खोजिरहेछु? एउटा यस्तो डिजिटल युगमा, जहाँ सबै थोक युनिकोडमा कैद भइरहँदा, मेरो यो याद भने कुनै पनि सफ्टवेयरमा नअटाउने एउटा ‘अल्झिएको-आर्टिफ्याक्ट’ बनेर बसिरहेछ। यसलाई न त कुनै सङ्ग्रहालयले बुझ्न सक्छ, न त कुनै प्रयोगशालाले यसको कार्बन-डेटिङ नै गर्न सक्छ।

माक्स्सम, थाहा मरू। म यो लिपिको ‘संरक्षक (क्युरेटर)हुँ कि यसको अन्तिम पाठक?
कि म आफैँ नै त्यो ‘भग्नावशेष’ हुँ, जसलाई म नै खनिरहेको छु?
माक्स्सम, थाहा मरू।

***

के उसो भए यीयस्तै विस्मृति-विश्रामहरू नै मेरो अन्तिम गन्तव्य हो त?

यस्तो लाग्दैछ, म एउटा ‘शब्द-शून्य’ कोदालो चलाइरहेको छु। जहाँ खन्दा माटो होइन, एउटा ‘महसुस-मगमगी’ निस्किरहेको छ ! ठ्याक्कै पहिलो पटक पानी पर्दा तातो जमिनबाट निस्कने त्यो ‘सौँधो-सुगन्ध’ जस्तो। कसैको नाम नआउनु नै सायद यो हृदय-हर्कतको सबैभन्दा ठुलो सौन्दर्य हो। यदि नाम आइदिएको भए, यो याद एउटा साँघुरो-साइनोमा कैद हुने थियो। अहिले त यो ब्रह्माण्ड-बेचैनी जस्तै विशाल र स्वच्छन्द छ।

हाय..यो बेनाम-विरासत।
हाय..यो अर्थहीन-अस्तित्व।

खैर, छोडिदिऊँ यी सबै।
मलाई अब कुनै ठोस-जवाफ को पत्थरशीला चाहिँदैन। म त केवल यो ‘खनाइ-खल्बली’मा रमाइरहेको छु। मेरो कानमा खन्तीले ढुङ्गामा हिर्काउँदा निस्कने त्यो खड्याङ्-खड्याङ आवाज होइन, बरु एउटा ‘रेशमी-रन्को’ गुन्जिरहेको छ। जसरी एउटा मूर्तिकारले ढुङ्गा खियाउँदा-खियाउँदै, अन्त्यमा कुनै मूर्ति नबनाई, केवल त्यो ‘खियाइ-खेला’ र ढुङ्गाको धुलोको धमिलो-स्पर्श मै तृप्त हुन्छ, म पनि यो ‘स्मृति-सुरुङ’मा त्यसरी नै हराइजानेछु।

यतिखेरसम्म, मलाई आफ्नै पसिनाको गन्धमा पनि कुनै विस्मृत-अत्तरको आभास भइरहेछ। म को हुँ? म कसलाई सम्झिरहेको छु? यी प्रश्नहरू अब मेरो चेतनाका लागि केवल ‘प्रश्न-प्रदूषण’ मात्र हुन्। बस् त्यत्ति!

यस्तो पनि लाग्छ, म त मात्र यो भाव-भ्रमणको एउटा ‘अविश्रान्त-यात्री’ हुँ। एउटा यस्तो यात्री, जो कतै पुग्नका लागि वा कुनै ‘गन्तव्य-गाँठो’ फुकाउनका लागि हिँडिरहेको छैन; म त केवल यो हिँडाइकै नसामा मदहोश छु। मेरो पैतालाले महसुस गरिरहेको यो खस्रो-बाटो नै मेरो लागि मखमली बिछ्यौना भएको छ।
म रित्तो हुनुमै पूर्ण छु। म हराउनुमै भेटिएको छु।

तर, यो नसा पनि कस्तो ‘बेहोस-होस’ हो? जहाँ म आफूलाई हराइरहेको छु र हराउनुमै एउटा विस्मृति-विजय महसुस गरिरहेको छु। मलाई लाग्छ, यो याद कुनै मान्छेको होइन, यो त एउटा समय-सुगन्ध हो, ठ्याक्कै ओसले भिजेको पुरानो पाण्डुलिपिको बास्ना जस्तो। सायद यो त्यो समयको याद हो, जुन समय अझै भविष्यको गर्भबाट बाहिर आएकै छैन। अथवा त्यो समय, जो मभित्रै कतै ‘भ्रुण-अवस्था’ मा सुतिरहेको छ र मेरो चेतनाको तातोले ब्युँझिन खोज्दैछ।

म जुन याद-लिपिको अनुवाद गर्न खोजिरहेछु, त्यो त सम्भवतः कसैले लेखेकै छैन। यो त हावामा कोरिएको एउटा अदृश्य-अनुहार हो। 

अचम्मै छ हाव! म आफ्नो मनको ब्याकयार्ड-बगैँचामा उभिएर एउटा यस्तो फूलको प्रतीक्षा गरिरहेछु, जसको न कुनै बीउ छ, न त कुनै माटो नै। केवल एउटा हावा-हर्कत छ, एउटा यस्तो कम्पन, जसले मेरो प्राणको तन्तुमा रेशमी काउकुती लगाइरहेको छ।

खै के भनौँ? कसरी भनौँ? अब यसलाई के भनौँ?

कि यो एउटा आध्यात्मिक-अल्छीपन हो? जहाँ मलाई सत्यको कडा घाममा सेकिनु छैन, केवल ‘भ्रम-भोजन’को शीतल छहारीमा सुस्ताउनु छ। यदि त्यसो हो भने, मलाई यो बेनाम-विरासतको हकदार बन्नु छैन। म त केवल यसको एउटा निमित्त-नायक मात्र बन्न चाहन्छु। र, सम्भवतः म त्यो बनि पनि सकें कि?

किनकि, यसरी ‘शब्द-शून्य’ कोदालोले खन्दा-खन्दा माटोको गहिराइ सकिएर पातालको एउटा ‘अनन्त-शून्यता’ भेटिइसकेको छ। म अहिले त्यस्तै एउटा उल्टो-खाडलमा खसिरहेछु, जहाँ खस्नु नै उड्नु हो। खन्दा-खन्दा म यति गहिरो पुगिसकेँ कि अब यो धर्तीको ‘गुरुत्वाकर्षण’ ले मेरो चेतनालाई समात्न छोडिसक्यो। सम्भवत: म अब एउटा ‘उपग्रह-याद’ भएँ, जसको न कुनै जमिन छ, न कुनै आकाश।

एक अनुभूति-अन्तरिक्षको एउटा मसिनो चोक्टो। यत्तिकै। निस्फिक्री। फनफनी घुमिरहेको। रिँगिरहेको। 

यदि यसो हो भने, म त अब यो याद-यात्राको एउटा यस्तो पूर्णविराम-बिन्दुमा आइपुगेको छु, जसले वाक्य त टुङ्ग्याउँछ तर अर्थलाई भने एउटा अनन्त-आकाशमा खुल्ला छोडिदिन्छ। बस, एउटा मौन-महसुसमा म अजर-अमर भइरहेछु।

**

र, 

अहिले यो एकान्तमा मलाई आफ्नै श्वासको आवाज, एउटा विशाल गुफाभित्रको प्रतिध्वनि जस्तो सुनिन थालेको छ। म एउटा यस्तो घरको कल्पना गरिरहेछु, जहाँ म कहिल्यै गइनँ, तर त्यहाँको भित्ताको रङ्ग र ढोकाको खुइलिएको पेन्टको खस्रो-अस्तित्व मलाई हुबहु याद छ। यो कस्तो ‘स्मृति-पाप’ हो? कि म कसैको सम्झनामा होइन, बरु कसैको विस्मृतिको एउटा कुनामा बाँचिरहेको छु?

छिमेकीको भान्साको त्यो मसलाको गन्ध अब चिसिइसकेको छ। हावाको लहरमा पौडिँदै आएको त्यो ‘गन्ध-गोली’ अब एउटा ‘चिसो-खरानी’ बनेर मेरो चेतनाको पिँधमा थुप्रिएको छ।

बाहिर कतै एउटा कुकुर भुक्यो।
एकपटक मात्र, एउटा ‘एकाकी-आवाज’। अनि फेरि सबै चुप। 

तर यो सन्नाटामा पनि मलाई कसैले मेरो नाम फुसफुसाए जस्तो लाग्छ, अति मसिनो गरी, मानौँ त्यो आवाज मभन्दा हजारौँ वर्ष टाढाबाट आइरहेको छ। वा मेरैछेउबाट आइरहेछ ? ..थाहा छैन!

मैले झ्यालको ऐनामा हेरेँ। बाहिरको अँध्यारोमा मेरो आफ्नै अनुहारको साटो अर्कै कसैको ‘छायाँ-छवि’ मुस्कुराइरहेझैँ देखियो। एउटा यस्तो अनुहार, जसलाई म बिर्सन चाहन्थेँ तर जसको नाम मलाई अझै थाहा छैन।

र, म झसङ्ग भएँ- के म यतिन्जेल उसैको याद गरिरहेथेँ? कि मैले यतिविघ्न ‘स्मृति-खन्ती’ चलाएर याद गरेपछि मात्र ऊ त्यहाँ आइपुगेको हो? एउटा यस्तो ‘आमन्त्रित-अपरिचित’, जो मेरा आफ्नै विचारहरूको बाक्लो कुहिरोबाट जन्मिएको छ।

अथवा, के त्यो बाहिरको आकृति पनि मै हुँ? के म यतिन्जेल आफूभित्र जसलाई खनिरहेको थिएँ, ऊ त बाहिर झ्यालको ऐनामा विस्मृत-बिम्ब बनेर मलाई नै नियालिरहेको थियो? 

यदि त्यसो हो भने, यो कस्तो विरोधाभासी-विभाजन! मेरो चेतनाको एउटा चोक्टो कुर्सीमै सुस्ताइरहेछ र अर्को चोक्टो बाहिरको अँध्यारोमा एउटा ‘बेवारिसे-बासिन्दा’ बनेर मुस्कुराइरहेछ।

धत्तेरी! आफैँलाई याद गर्नु र आफैँलाई चिन्नु त संसारको सबैभन्दा ठुलो ‘पुरातात्त्विक -अठ्यारो’ पो रहेछ यार।

म ऐनाको नजिक जान्छु। ऐनाभित्रको ‘म’ले पनि हात बढाउँछ। तर हाम्रा औँलाहरू सिसामा ठोकिँदा, त्यहाँबाट कुनै आवाज आउँदैन। बरु, मेरो चेतनामा फेरि त्यही ‘अविष्कृत-अक्षर’ को एउटा मधुरो प्रतिध्वनि सुनिन्छ।

म अब जान्दिनँ, म यो लिपिको ‘संरक्षक’ हुँ कि यसको ‘कैदी’?

सायद, भोलि बिहान जब म ब्युँझनेछु, फेरि एउटा नयाँ ‘याद-बेल्चा’ बोकेर म मेरै भग्नावशेष खन्न निस्कनेछु। किनकि यो यादको कुनै अन्त्य छैन, यसको त केवल ‘पुनरावृत्ति’ मात्र छ।

अस्तु !

Leave a Reply