- (शब्द सोपानको स्तम्भ, उक्ति-प्रतियुक्ति)
एउटा रमाइलो प्रश्न, तपाईँलाई मनपर्ने खेलहरू के-के हुन् ? बचपनतर्फ एकचोटि पुगेर फर्किनुहोस् न । तपाईँले पब्जी खेल्नुभयो ?
बालापन..! एक विस्मयादिबोधक स्थिति ।
बालापन..? एक प्रश्नप्रश्वाचक अवस्थिति ।
बालापन… । एक पूर्णविरामजन्य परिस्थिति ।
बालापन..,यो शब्द आफैँमा भरिपूर्ण छ, सिङ्गो छ । बालखकाल आफैँमा एक ब्रम्हाण्ड हो, सीमाहीन.., शब्दातीत.., वर्णनातीत… सामयिकी । उमेरको यस अक्करे पहाडमा आइपुगेर सुस्केरा बिसाइरहँदा लाग्ने गर्दछ, बचपन सभ्यताको उषाकालजत्तिकै शान्तिमय थियो । बचपन पुष्पकाल थियो, खुसयालीजन्य गोधूलि साँझ थियो । यस्तो लाग्छ, बचपन बर्बर समयको उर्वर कालखण्ड थियो.. ! र, दुखका कुरा, यतिबेला नष्ट भए ! मसँग छैनन् । मनेर छैनन् । मेरो बगल खाली छ, … मेरो आसपास रित्तो छ ।
थाहा छ, अब सोही भूगोलमा पुगेर पनि म ती पलहरू भेट्न सक्दिनँ, अब सोही सहेलीहरूसँग जुटेर पनि ती तिथिहरूलाई समात्न सक्दिनँ ।
बस्, यत्त्ति गर्न सक्छु- चर्को मिहेनतले पनि पार लगाउनै नसकिने शारीरिक, मानिसक र परिस्थतिपरक समयबाट फुर्सद मिल्दा म बालखपन सम्झिन्छु, सम्झनाका गोरेटाहरूमा लावारिस भौतारिइरहन्छु । घनघोर तवरमा भावातीत भई भनिदिन्छु, ती दिनहरू कसैगरी फेरी पाउँदो हुँ त सम्पूर्ण मेहनताना तिरिदिन्छु…सर्वस्व लुटाइदिन्छु !
“ये दौलत भी ले लो, ये शोहरत भी ले लो
भले छीन लो मुझसे मेरी जवानी
मगर मुझको लौटा दो बचपन का सावन
….
वो काग़ज़ की कश्ती, वो बारिश का पानी
वो काग़ज़ की कश्ती, वो बारिश का पा…”
तारुण्यतामा बरू म केही केही दागहरू भेट्दो हुँ, धब्बाहरू फेला पार्दो हुँ तर बालापनको दिवालियापन अर्कै छ..बिल्कुल सादगी मात्रै.. ! बस्, एक निष्कपटता त्यहाँ, नागदन्ती बुटीजस्तो- हुप्प हुप्प भइकन फुलेका सेता फूलहरू र हरिया पातहरू.. ! म आफ्ना ती बालिग बालापोथरीहरूलाई सम्झन्छु, उनीहरूको साथसाथ बिताएका बालसुलभ पलहरू सम्झन्छु ! र, त्यसैमा, त्यहीँनेर.., त्यही केटौली, त्यही लडकपन र त्यही बाल्यस्वभावको अँगालोमा लुटपुटिन पुग्दछु ।..लुटपुटिरहन्छु ।..त्यस समयलाई शमन गरिरहन्छु । ..पिइरहन्छु..घटघटी..!..तनतनी..!
बालखकालको समन्वेषण गरौँ भनी लाग्दा ज्ञात-अज्ञात दिनहरूको बाहुपासमा बेरिन पुग्छु ! ती दिनहरू- जो मैले जिएर आएँ, बाँचेर आएँ, भोगेर आएँ, छामेर आएँ, ..सुम्सुमाउँदै, मुसार्दै र चिथोर्दै आएँ, ..अब तीनको भौतिक स्वरूप मसँग छैन । यद्यपि भावनागत नाता-सम्बन्ध र स्मृतिगत साइनो-सौगातको सहायताले आज पनि त्यहाँ पुगिरहन सक्छु, पुगिरहन्छु ।
जान्दछु, बालखकालको तगारो खोल्नु चानचुने कुरा होइन, यसका आँगन फराकिला छन्, यसका दैलोहरू सुसज्जित छन् । म बालखकालको बलेसीमा निथ्रुक्क हुँदै गएँ, बालखकालको अगेनोमा रापिँदै गएँ.. । बस्, ..एक भावाकुलता…! एक कुत्ताइलो छटपटी..! ..एक मत्ताइलो कुतकुती..!
आँगनभर डण्डीबियो खेलका खोपिल्टाहरू छन्, मुर्झाउँदै गइरहेका वनमाराका काला पातहरू छन्, टुटे-फुटेका टलकदार गुच्चाहरू छन्, मेटिँदै गएका बाघचाल खेलका चारकुना र चौकुसाहरू छन्, फुट्दै गएका गट्टा र ढ्याकहरू छन् । लहरे खेलका डोबहरू बोकेर उभिएका जीर्ण खाबाँहरू छन् । मोजाको भकुण्डो चिथरचाथर भइसकेको छ । काला पाइपका पाङ्ग्राहरूको अस्थिरपन्जर छ । चोके काठ र बेरिङहरूको हस्तीहाड जीवित छ । चिलाउनेका दानाहरूमा भुरुङहरू सडिसकेछन्, गलिसकेछन् । फोटो हेर्दै एक-दुई-तीन गनेका पुस्तकका चित्रहरूको जिवाश्म समेत कतै छैन.. बस्, नङले दबारिएका प्लास्टिकका गाताहरूको अवशेष सुरक्षित छ ।
पिँढीमा कुटुली बुढीले माटो खोस्रिरहेकी छे, र एउटा अबोध अनुहार लगातार चोरी औलाले माटोको थुप्रोहरू चलाउँदै भनिरहेको छ, “कुटुली बुढी, कुटुली बुढी,.. तेराे घरमा चाेर पस्याे, नाङ्लाे ठटा ठटा !”
हरे..यो ‘चाइल्डहुड बायोग्राफी’ लाई कसरी लिपिबद्ध गरूँ म ? खै शब्दहरू..? जसो जसो म बालखकालतर्फ पाइला अघि सार्छु, शब्दहरू कम पर्दै जान्छन् । लिपिहरू अस्पष्ट हुँदै जान्छन् । तर जान्दिनँ कसोकसो त्यस क्षणहरूको गुरुत्व (ग्रिपिङ), चुम्बकत्वले मलाई तानिरहन्छ, खिंचिरहन्छ ।
यसरी यी दिनहरूको आलिंगनमा सिमेटिइरहँदा अपलक टोलाउँछु, टोलाइरहन्छु । टोलाउँदा टोलाउँदै एक्कासि चिच्याउन पुग्छु, ‘यार..दिस इज दि लक्की प्लानेट ब्रो । यहाँबाहेक कहाँ मानिस छन् भन् त ? यहाँबाहेक कहाँ जीवन सम्भव छ, मूला ? होलान्, जटिल हुनुपर्ने कारणहरू धेरै होलान् जिन्दगीमा । तर, सरल हुनुपर्ने कारणहरू पनि त प्रशस्तै छन्…, सोल्टी ।’
अचानक एउटा आवाज आउँछ, हृदयमा ठोकिन्छ । ‘खोज्, आफ्नो खुसीहरू । बटुल्, सर्वाङ्ग आफूलाई । भर् पोल्टो र नाच् ..उफ्रीउफ्री नाच् । कम्मर मर्काईमर्काई नाच् । पैताला सुनिने गरी नाच् । उफ्री..उछलकुद गर्, खुट्टा बाउँडिने गरी उफ्री, पाखुरा झट्कार्दै उफ्री । छैन, जिन्दगी कत्ति पनि अप्ठ्यारो छैन । छैन, दुनियाँ कत्ति पनि कुरूप छैन । सकिन्छ, सकिन्छ..आज पनि मनदेखि खित्का छाडीछाडी हाँस्न । सकिन्छ, सकिन्छ.., जत्ति पनि सकिन्छ.. आज हृदयभरिभरि स्वास लिन । जत्ति पनि सकिन्छ.., बादलहरूलाई औँलाले मिलाएर यताबाट उता, उताबाट यता सार्न ।..गर् यही..बस् यही बस्.. । नजा कतै..आइजो यतै, यहीँ बस् ! मेरो नजिक आ, मेरो सम्मुख आ !’
म आवाज आएतिर फर्कन्छु,..फर्किरहन्छु । आवाज आकाश होइदिन्छ, आवाज जमिन होइदिन्छ । आवाज हावा होइदिन्छ, आवाज प्रकाश होइदिन्छ । निरन्तर..आवाज आइराख्छ ।.. यत्तिकैमा मेरो बालखकाल मेरो कुममा प्याट्ट हिर्काएर दौडिँदै भाग्छ र अलि पर पुगेर भन्छ, “अब मलाई छो..अब मलाई भेट्टा,. अब म लुकेँ..अब मलाई फेला पार् ।..ओइ ! तँ डुम भइस् ल..मलाई खोज्, मलाई पक्डी..!”
यसप्रकार म प्राणान्त होइजान्छु, मर्लान्त बनिजान्छु । आफैँलाई भेट्छु र आफैँलाई भुलिदिन्छु । मानौँ, म कुनै बेगवान् नदी हुँ, लामो अन्तरालपछि हुन्हुनाउँदै समुन्द्रसम्म पुगेको छु । जसै पुगेँ, मैले आफ्नो गति बिर्सिगएँ, आफ्नो स्वभाव बिर्सिगएँ ।.. हाल यो मेरो !. दशा यो मेरो..! यस हर्षतिरेक क्षणलाई कसरी पो बताऊँ ? कसरी लेखूँ ?..
बरू यस्तो गरौँ- आउनुस्, आआफ्ना बालखकालीन ढिस्कुरोहरूमा उभिऔँ । बचपनतर्फ एकचोटि पुगेर फर्किऔँ र आआफ्ना मनपसन्द खेलहरू खेलौँ । सर्त बस यत्ति छ, तपाईँले आफूलाई सम्पूर्णतया रित्याउनुपर्नेछ, पोख्नुपर्नेछ ।
१.मिलन संग्रौलाको बालखकालीन ढिस्कुरो:
हुकाइ र बसाइँसराइसँगै धेरै खाले खेलहरूको अनुभव लिन पाएँ मैले । पहाडमा हुँदा घुर्रो, गुच्चा, झुम्रे गोल, गट्टी, सोइसोएला, भालेजुधाइ, कबड्डी आदि खेलियो भने तराई झरेपछि कागजको रेस्लिङ कार्ड, पौडी, क्रिकेट आदि खेलियो ।
भौतिक खेलहरूसँगसँगै प्रविधिको प्रयोगपश्चात विकसित ब्रिक गेम, मारियो, निड फर स्पिड टु, जिटिए भाइस सिटी, एज अफ अम्पायर्स, फ्ल्यास गेम आदि निकै खेलियो । तर अहिलेको सबैभन्दा लोकप्रिय गेम पब्जी भने मैले एकपटक पनि इन्स्टल गरिनँ । सायद मेरो रुचि सिर्जनात्मक अभ्यासहरूमै बढी तानिइसकेर होला ।
अहिलेका बच्चाहरू प्रविधिको पेलानमा परेर भौतिक खेलहरूबाट बञ्चित भएको देख्दा माया लागेर आउँछ ।
-मिलन संग्रौला, संग्रौलाको च्याट गर्ल र पर्पला नामक पुस्तकहरू प्रकाशित छ ।
२. अभय श्रेष्ठको बालखकालीन ढिस्कुरो:
पब्जी खेलिनँ । तास पनि खेलिनँ भन्दा हुन्छ । गुच्चा खुब खेलेँ । भली, टप्पु, डबलटिङ, ओखर, ह्वाकर्याङ, खोपी सबैमा म चोट्टा थिएँ । त्यतिखेर हामीसँग पैसै हुन्न’थ्यो । हामी चुरोटका खोलको कित्ता बनाएर जिती खेल्थ्यौँ । आशा चुरोटको कित्ताको मूल्य ५, गैँडाको १० र याकका बीस हुन्थ्यो ।
अलि ठूलो भएपछि चङ्गा उडाएँ । अरूको चङ्गा चैट पार्नमा म गाउँभरिको दादा थिएँ । चङ्गाको त म अहिले पनि उत्तिकै सौखिन हुँ । ठूलो भएपछि भलिबलको सौखिन भएँ । तर, ठाउँ र परिस्थिति दुवैले गर्दा खेल्न पाइनँ । त्यसको क्षतिपूर्ति स्वरूप फर्स्ट कोर्टमा स्पाइक गरेको सपना बारम्बार देख्छु ।
चेसको चाहिँ म मध्यमस्तरको खेलाडी नै हुँ । भक्तपुर जिल्लाव्यापी धेरै प्रतियोगितामा मैले केही म्याच जितेकै हुन्थेँ । भक्तपुर भनेपछि यो नबिर्सनु होला, त्यहाँका अधिकांश खेलाडी राष्ट्रियस्तरका हुन्थे ।
-अभय श्रेष्ठ, वैचारिक कविता लेख्दै आएका श्रेष्ठका फूलबिनाको शाखा (गजलसंग्रह, २०६०), कायाकल्प (कवितासंग्रह, २०६२), तेस्रो किनारा (कथासंग्रह, २०६८) प्रकाशित छ ।
३. सीमा त्रितालको बालखकालीन ढिस्कुरो:
म बचपनमा खुब खेल्न रुचाउने मान्छे हुँ । मैले बचपनका खेलेका खेलहरूमध्ये केही चाहिँ यसप्रकार छन्:
क). रुमाल लुकाइ:
‘रुमाल लुकाइ’ भनेपछि त हुरूक्कै झन् ।
म युकेजीमा पढ्थेँ (अझै ती दिनहरू ताजै छन्), टिफिनको समयमा खाजा हतार हतार खाइसकेर उफ्रिँदै साथीहरू बटुलेर रुमाल लुकाइ खेल्न गोलो घेरा लगाउँथ्यौँ । अनि घेरा लगाएर बस्थ्यौँ । जसले साथी बटुल्छ, उसले घुमेर अरूको पछाडि रूमाल राख्ने गर्थ्यौँ । आफूलाई मनपर्ने साथीको पछाडि लुकेर रूमाल हाल्ने र थाहा नपाएपछि मुर्गी बनाउनुको मजा नै बेग्लै थियो । खैर, हामी यसरी नै खेल्थ्यौँ- रुमाल लुकाइ ।
ख). लुकिडुम :
लुकिडुम.. ओहो ! सम्झँदा मात्रै पनि अहिल्यै खेलौँ खेलौँ लाग्छ तर के गर्ने उमेरले डाँडो काटिसकेछ । (सम्झनामै भएनि मज्जा छ ।)
गाउँका साथीभाइहरूलाई खेल्न बोलाएर एकदेखि पचाससम्म गनिसक्दा लुकिसक्नु पर्ने नियम हुन्थ्यो । मलाई चाहिँ एकदेखि पचाससम्म गन्न नआउने अनि गन्न नआउँदा ए..बि.. सि.. डि.. भन्दै एपिपी..एल..इ.. एप्पल भन्दै गन्ने गर्थेँ ।
गनिसकेर साथीहरू खोज्ने क्रममा साथीहरूलाई देखेपछि औँलाउनु पर्थ्यो र नामले बोलाउनु पर्थ्यो, नत्र फेरि डुम भइन्थ्यो ।
खेल खेल्दा घरभित्र लुक्ने गरिन्थ्यो । कहिले खाटको तल, कहिले ढोकाको कुना त कहिले सिरकभित्र । यसरी खेल्थेँ म लुकिडुम ।
ग). भाँडाकुटी:
आइहै..! भाँडाकुटीमा त झन् श्रीमान-श्रीमती, सासू-ससुरा, छोरा-छोरी सबै हुन्थ्यो । मामुको सललाई म सारी बनाएर घुम्टो ओढेर बस्थेँ । खाना पकाउने गर्थेँ, बालुवालाई कदमको पत्ता (पात) मा राखेर । केही साथीहरू सासू बन्थे, अनि उनीहरू चाहिँ बुहारीलाई कराइराख्ने गर्थे त कहिले छोराछोरी पिट्ने गर्थे ।
छोराछोरी चैँ म रुखलाई बनाउने गर्थेँ । फूलहरूलाई पाहुना सम्झिन्थेँ । साथी नहुँदा एक्लै पनि खेल्ने गर्थेँ । भाँडाकुटी यसैगरी पो खेलियो ।
घ). नाम बेगरको खेल:
अर्को एउटा खेल खेल्थिम्, जुन खेलको नाम नै छैन । घरदेखि अलिक पर थियो- बाँसघारी । साथीहरू बटुलेर बास घारी जान्थ्यौँ । लड्दै पड्दै बिस्तारै बिस्तारै झुन्डिएर बासलाई तल झर्थ्यौँ अनि हामी भुइँतर्फ नुघेको बाँसमा झुन्डिने गर्थिम्-एकाएक ।
एकचोटि त, त्यसरी झुन्डिएको के थिएँ म त माथि नै पुगेछु ।.. डरले मुटुले ठाउँ छोडिसकेको थियो! हात बाँसबाट छुटेर तल गर्ल्याम्मै… भुइँमै पछारिएँ अनि बाङ्गिँदै घर आएर सुतेको थिएँ । तै पनि बच्चाको दिमाग न हो, फेरि पनि बिहान-बेलुकी नै त्यै खेल खेल्ने गर्थिम् । डर बिर्सिहाल्थ्यौँ । यसरी पो खेलिन्थ्यो नाम नभएको त्यो रमाइलो खेल ।
ङ). चीँ मुसी चीँ:
मेरो मम्मिले खाना खुवाउने बेलामा चीँ मुसी चीँ भन्ने खेल खेलाउनु हुन्थ्यो ।
‘चीँ मुसी चीँ
तिम्रा दाजु मेरा दाजु
माछा मार्न गए
माछा मारी ल्याए
ढुङ्गामा सुकाए
चीलले लग्यो हा..’
अनि म पनि भ्रममा परेर ‘हा.. हा..’ भन्दै खाना खाएको पत्तो नै हुँदैन थियो । साँच्चिकै चील आएछ, माछा रहेछन् भनेर म ‘हा … हा…’ भन्दै कराउँथेँ । (हाहा..लामो हाँसो)
कति मजाले बितिहालेछ है बाल्यकाल ? आजभोलि जबजब पटक्कै खाना रुच्दैन, खानै मन लाग्दैन; म मनमनै त्यो गीत सम्झेर, त्यसैमा रमाउँदै, खेल्दै.. खाने गर्छु ।
-सीमा त्रिताल, त्रिताल मिडियाकर्मी हुन् ।
४. रवि मिश्रको बालखकालीन ढिस्कुरो:
सानोमा अनेक खेल खेलिन्थ्यो । ती खेलमध्ये त्यो बेलामा सबैभन्दा रमाइलो लागेको र मजा आएको खेल ‘ग्याम बल’ थियो ।
क). ग्याम बल :
भनुपर्ने त गेम थियो होला तर हामी ‘ग्याम’ भन्थ्यौँ । अहिले नि गेम भन्नभन्दा ‘ग्याम’ भन्न स्वाद आउँछ । त्यसमा खेलमात्रै होइन, खेल सामाग्री निर्माणको प्रक्रिया समेत रमाइलो थियो । मोजाभित्र झुम्रा घुसार्यो, खाँद्यो, डल्लो पार्यो अनि बाँध्यो । अझ घरबाट सियो धागो जिप्ट्याउन सकियो भने च्याट्ट बनाएर सिलायो । बल निर्माण भए’सी घर छाउने ढुंगालाई सानोसानो गोलोगोलो साइजमा मुठार्ने । यसरी खेलका सर्दम जुटाइसके’सी चौरमा गएर दुई टिम बनायो, ढुङ्गा खात लगायो अनि एउटा टोलीले ढुङ्गामा बलले पुक्क.. हानेर ढाल्दियो । त्यसपछि त्यो बल विपक्षीको हातमा पुग्थ्यो र बलले खेलाडीहरूलाई हान्न थाल्ने हुन्थ्यो । यदि बलले खेलाडीलाई लाग्यो भने ऊ आउट हुन्थ्यो । र बल छलेर त्यो ढुंगाहरू त्यसैगरी मिलाएर राखे’सी गेम हुन्थ्यो भने बल हान्नेले सबैलाई लगाएर सबै आउट गरे’सी अर्को पक्षको गेम हुन्थ्यो । ख). गुच्चा:
बच्चामा गुच्चा नि खेलिन्थ्यो । गुच्चा चैँ पढाइमा ध्यान नदिने, खेल्नमात्रै मन गर्ने केट्केटीले खेल्ने खेल मानिन्थ्यो । त्यसैले घर र स्कुलमा असल कहली टोपलिन लुकीलुकी खेलिन्थ्यो । मलाई सिसाका गुच्चाभित्र देखिने टेक्स्चर निकै सुन्दर लाग्थ्यो (लाग्छ) ।
ग). कागजको पुच्छर:
यो खेल थियो वा उटुङ्ग्याइँ थाहा छैन । तर पछाडि बसेर अगाडि बस्ने साथीलाई लुसुक्क कागजको पुच्छर हालिदिनु, अनि पछि ऊ उठे’सी उसको मजाक उडाउनु पनि खेलजत्तिकै रमाइलो थियो ।
घ). घुर्रा चकलेट:
त्यतिबेला घुर्रा चकलेट पाइन्थ्यो । गोलो, चेप्टो चक्लेटमा धागो छिराएर घुमाउन मिल्ने हुन्थ्यो । ‘ढिंढिं..’ पारेर घुर्रा घुमाउनु, चक्लेट खानुभन्दा स्वादिलो काम थियो । तर मलाइ घुर्रा घुमाउने ढंग थिएन । एउटा साथीलाई घुमाउन सिकाइदे भनेर दुई रुपियाँको घुर्रा चकलेट किनेर ल्याएको थिएँ, उसले ‘यसरी.. यसरी..’ भन्दै घुमाउन थाल्यो । म दंग परेर हेर्न थालेँ, एक छिनमा चक्लेट फुटेर नालीमा खस्यो । घुर्रा नि गयो । चक्लेट नि गयो ।
ङ). हुतुतु:
हाम्रो पालामा हुतुतु अर्को चलेको खेल थियो । शारीरिक शिक्षा किताबमा चैँ हुतुतु भन्न नजानेर ‘कबड्डी’ लेख्या हुन्थ्यो । कस्तो जान्दै नजान्ने मान्छेले लेख्या झैँ लाग्थ्यो । स्कुलमा सबैभन्दा मसिना फुच्चेहरूमा म पनि थिएँ । त्यसैले, हुतुतु खेल्दा ‘हुतुतु..’ बोलेर विपक्षीको मैदानमा जानु एउटा खड्को नै पार गर्नु जस्तो लाग्थ्यो । गयो, समात्ने मात्रै होइन, टपक्कै टिपेर पर.. पुर्याएर थपक्क भुइँमा राख्दिन्थे ।
च). फुटबल:
फुटबल नि खुब खेलिन्थ्यो । स्कुलमा भिरालो चौर थियो । एक टिमले चौरको माथितिरको गोलपोस्टमा गोल गर्ने हुन्थ्यो । अर्कोले तलतिरको । अब भन्नुहोला तलतिर गोल गर्नेले त सजिलै गर्थ्यो होला । तर त्यस्तो हुन्नथ्यो.. । ‘सर’ अर्थात माड्सापले नि हामीसँगै खेल्नुहुन्थ्यो । माड्सापले माथितिर गोल गर्न अप्ठेरो हुनेहुँदा त्यतैको पक्षबाट खेल्नुहुन्थ्यो । माड्सापसँग भिड्नाको डरले खुट्टामा आइसकेको बल नि हान्न सकिन्न थियो । फेरी तलतिर गोल गर्ने सँधै हार्थे । त्यतिबेला माड्सापलाई आतंककै रूपमा लिइन्थ्यो ।
छ). जल, थल र वायु खेलहरू :
हाम्रो खेलकौशल अद्भुतै थियो । जल, थल र वायु तीनैतिर । वायु खेलाडीको रूपमा हामी कागजका चरा बनाएर उडाउनेदेखि रकेट बनाएर आकाशमा प्रक्षेपणसम्म गर्थेम् ।
थल खेलाडीको रूपमा फुटबल, मोजाको बलदेखि पाइपको पांग्रा बनाएर पांग्रा गुडाइसमेत खेलिन्थ्यो ।
जल खेलाडीको रूपमा पौडी पनि प्रशस्तै खेलिन्थ्यो । बिहान ८ बजे नै स्कुल जाने भनेर हिँड्यो । बीचमा खोला थियो, पौडी खेल्दा-खेल्दै दश बजिसक्थ्यो । त्यसपछि ‘ओख्खो.., स्कुल जान पर्ने..’ भनेर कुद्यो । कहिले कलम हराउने, कहिले किताब । झोला बोक्ने चलन नै थिएन । च्याट्ट मिलाएर हातैमा काखी च्यापेर भएभरका किताबकापी बोकिन्थ्यो । अझ बढ्ने उमेरको भनेर कटुटु वा ‘पएँठ’ खुकुलो सिलाइदिएको हुने.. । एक हातले किताब अर्कोले पएँठ समाएर कुद्यो । यस्तोमा कुद्दा किताब, कपि-कलम कहाँ रहनु ?
पौडी साह्रै मनपर्ने खेल थियो । गर्मी ट्याममा स्कुल बिहान हुन्थ्यो । दिउँसो खाना खाएर आँखा छलेर लुसुक्क खोलातिर गयो, अनि त्यसपछि पौडी खेल्न थाल्यो । पौडीमा नि एक अर्कालाई ‘भेट्टा खेल्ने’ चलन थियो ।.. खेल माथि खेल ।
यस्तैमा कुन बेला दाइ लट्ठी लिएर आइसक्नुभएको हुन्थ्यो । अनि टाढा देखियो भने लुगा च्यापेर नजिकै आइ सक्नुभएको रैछ भने लुगै छोडेर म्याराथन दौड सुरु हुन्थ्यो । ढोकाबाट चोटामा जाँदा फलैँचामा बसेका अरूको गाली खाइन्थ्यो, लुसुक्क करेसा हुँदै ‘माउण्ट क्लाइम्बिङ’ खेलको प्रयोग गर्दै झ्यालबाट चोटामा गइन्थ्यो । र, हत्त न पत्त किताब झिकेर ‘लाउड स्पिकर’ स्वरमा पढ्न थालिन्थ्यो । अझ ढोकामा चुकुल लगाएर । आधा घण्टा जति पाठ गरे’सी घरमा गालीबाट बचिन्थ्यो ।
ज). गातामा जुँगा हालेको निहुँमा कुस्ती खेल:
अचेल स्कुलको टिफिन टाइमलाई त्यो बेला हाफटाइम भन्ने चलन थ्यो । हामी त्यस्लाइ ‘हाफ्टिम’ भन्थेम् । हाफ्टिममा घर नजिक हुनेहरू खाजा खान जान्थे । टाढा हुनेहरू खेल्न । म र एकजना उपद्र्याहा साथी थियो । कक्षाकोठामै बस्थेम् । त्यतिबेला रंगिबिरंगी फोटाको गाता हाल्ने चलन थियो । ‘साप्ताहिक’ को ब्लोअप त्यतिबेलाको उम्दा गाता थियो । हामी साथीहरूको किताब झिक्थेउँ र किताबको गाताको मान्छेमा कलमले जुँगा, चस्मा हाल्थेम् । कसैमा दारी त कसैमा टोपी पनि लाइदिन्थेम् । खास भन्ने हो भने मैले चित्र सिक्नमा यो विधिले नि काम गरेको थियो । हाफ्टिम सकिए’सी साथीहरू आउँथे । अनि सुरु हुन्थ्यो – गातामा जुँगा हालेको निहुँमा कुस्ती खेल ।
झ). अन्य खेलहरू :
मलाई यतिखेर बोध हुन्छ, बालखकालमा खेलिने खेलहरूमा पनि लैंगिक विभेद भरपूर थियो । गट्टा, घ्वाइँकासा, र चुङ्गी प्राय: केटीहरूले खेल्थे र केटीहरूले खेल्ने मानिन्थ्यो । तर हामी पनि खेल्थेम् । गट्टा राम्रै खेल्न जान्दथेँ म । घ्वाइँकासामा चाहिँ मेसो पाउन्नथे । चुङ्गी खुट्टामै उफारेर साथीहरूले पचास साठी गिन्ती पुर्याउँथे । जति प्रयास गरे नि मेरो मेक्सिमम रेकर्ड ‘दुई’ को थियो । एकचोटि के भयो कुन्नी ‘तीन’ पुग्यो । दिनभरि मुसुमुसु हाँसेको हाँस्यै भएँ ।
-रवि मिश्र, नुवाकोटका रवि मिश्र कार्टुनिष्ट हुन् । मिश्रका कार्टुन ‘कर्नर किक’ शीर्षकमा नयाँ पत्रिकामा छापिन्छन् । सामाजिक सञ्जालमा पनि उनका कार्टुन छाइरहन्छन् ।
५. डा. नवीनबन्धु पहाडीको बालखकालीन ढिस्कुरो:
क). गिर खेल:
बचपनमा ‘गिर’ खेलेर भरपूर रमाइयो तर आज यो खेल लगभग लोप भइसकेको छ । गिर खेलको तृष्णा क्रिकेटबाट मेटिरहेको छु ।
‘गिर’ अहिलेको क्रिकेट बलजस्तै काठको बल हो, त्यसलाई गल्फको लट्ठीजस्तो लट्ठीले हिर्काइन्थ्यो र मैदानको केन्द्रबाट जति टाढा पुर्यायो- उति नम्बर गनिन्थ्यो (पाइन्थ्यो) ।
मैदानमा एक केन्द्र हुन्थ्यो । पालै-पालो बल (गिर) लाई लट्ठीले हानिन्थ्यो, बल त्यहाँबाट मैदानको निश्चित कोर्ट कटेर गए निश्चित नम्बर आउँथ्यो ।
ख). डण्डीबियो हुँदै भलिबलसम्म :
डण्डीबियोको आदत पनि सपना न हो अहिले त, तर उबेला खुबै खेलियो । त्यसपछि लक्कु ढाल, तेलकासाबाट उठेर भलिबलसम्म पुगियो ।
ग). तेलकासा:
तेलकासा दुई समूहमा खेलिन्छ । लट्ठीलाई कुत्याएर खेलिन्छ । कुत्याउने समूहले लट्ठीको सहाराले कुत्तिने बियोलाई आफ्नो लट्ठीले (फुटबलजस्तै) अर्काको पोस्टसम्म पुर्याउन खोज्ने । र, रक्षा गर्ने टोलीले बियोलाई नछोइकन विपक्षीलाई आफ्नो पोस्टमा पुग्न नदिने नियमहरू हुन्थे ।
-डा. नवीनबन्धु पहाडी, शिक्षण पेसामा आबद्ध रहिसकेका पहाडीले अनुसन्धान परिषद् नेपाल संस्कृत विश्वविद्यालयबाट नेपाली समालोचनामा विद्यावारिधि गरेका छन् । पहाडीका कविताहरू (कविता संग्रह-२०५५), प्रकृतिका पुजारी भूमि (व्यक्तित्व अनुसन्धान, २०५६), कृष्णा (उपन्यास), सहलेखन (साधारण नेपाली–पाठ्यपुस्तक,स्नातक तह), सहलेखन (आधुनिक नेपाली व्याकरण), महाकाव्य (आमाको आँगन) लगायतक कृतिहरू प्रकाशित छन् ।
६.बद्री भिखारीको बालखकालीन ढिस्कुरो:
म त्यस्तो अभागी हुँ, जसले खेल्न नपाएर पछुताउनु परेको छ ।
क). गट्टी:
मैले खेलेका खेलहरूमध्ये एउटा हो- गट्टी (ससाना गिटी आकारका ढुङ्गा) । तीन, पाँच, सात, नौ, एघार.. अर्थात् बिजोर पारेर खेलिन्थ्यो । खासमा यो खेल केटीहरू खेल्छन् । मेरा साथी केटाकेटी बराबर भएकाले म पनि गट्टी खेल्थेँ ।
ख).डन्डीबियो:
मैले डन्डीबियो खेलेँ, कसैले गुली डन्डा पनि भन्छन् । माटोमा डन्डी अट्ने, बीचमा मोटो, वरपर साँघुरो, आँखाको लाम्चो आकारको जस्तै पारेर बियोलाई तेर्सो पार्ने र डन्डीले सकेसम्म पर हुत्याउने खेल हुन्थ्यो । अगाडि बसेको प्रतिद्वन्द्वीले समात्यो भने बियो हुत्याउने हारेको मानिन्थ्यो ।
ग).अन्य खेलहरू :
फुटबल पनि कुनै बेला खेलियो तर नगन्य । लुकी चोरी तपाईँले खेल्नुभएकै होला । चीँ मुसी चीँ पनि खेल्थ्यौँ (अब त भन्न जान्दिनँ) । आसपास खेल्थ्यौँ, नियम बिर्सेँ । गुच्चा खेल्थ्यौँ । यस्तै यस्तै.. ।
-बद्री भिखारी, आफू सरकारी जागिरे भइकन पनि लगातार बेथितिहरूमाथि कविता लेखिरहेका भिखारीका ‘हत्केलाभरिका रेखाहरू (मुक्तकसङ्ग्रह- २०४३)’, ‘माड्साबको झोला (कवितासङ्ग्रह- २०५६)’, ‘समुद्र–साउती (कवितासङ्ग्रह- २०७५)’ प्रकाशित छन् ।
७. सुष्मा तिमिल्सिनाको बालखकालीन ढिस्कुरो:
मलाई आफूजस्तै साथी सर्कलमा वनमाराको चुङ्गी खेल्न, स-साना ढुङ्गा बटुलेर गट्टा खेल्न, परपर सम्म उभिँदै हिँड्न, झगडा गर्न र फेरि एकैछिनमा मिल्न; यी सबै खेलहरू बचपनमा पनि मनपर्थ्यो अहिले पनि पर्छ । यी खेलहरू साँच्चै प्रिय छन्, समय मिल्यो र साथीसंगत मिल्यो भने आज पनि खेल्छु चुङ्गी ।.. तर मैले पब्जी चाहिँ खेलिन, मनै भएन ।
-सिन्धुपलान्चोक स्थायी घर भएकी सुष्मा तिमिल्सिना हाल काठमाडौँमा बसोबास गर्दै आइरहेकी छिन् । कविता लेखनमा साधनारत तिमिल्सिनाको साहित्यप्रति अगाध प्रेम छ ।
८. विक्रम पवन परियारको बालखकालीन ढिस्कुरो:
क). चीँ मुसी चीँ:
मलाई याद छ, सानो छँदा चीँ मुसी चीँ खेल खेलेदेखि प्रारम्भ भएको हाे जीवनकाे यात्रा । मान्छेकाे जीवन खेलसँगै सुरुवात हुँदाे रहेछ । स्कुल र खेलकाे माैन संवाद तर श्रव्यदृष्यकाे कारणले नजिक छ । अझ विद्यार्थी, स्कुल र खेल यी तीन विषयकाे अन्तरसम्बन्ध परिपूरक छ । सानाे छँदा स्कुलकाे पढाइ भन्दा खेल महत्त्वपूर्ण लागेर हाे या हैन तर थाहा नहुँदानहुँदै पनि खेलसँग नजिक थिएँ ।
ख).चुङ्गी:
विद्यालयकाे हाप छुट्टी हुनासाथ म साथीसँग मिलेर खेल खेल्न गइहाल्थेँ । कैले बनमाराकाे पातलाई झुम्राले बाँधेर गुच्छा बनाउँथ्याैँ र चुङ्गी खेल्थ्याैँ । चुङ्गी खेल्दा बढाे मज्जा आउँथ्याे । कसले कति सम्म पुर्याउन सक्छ ? जसले सबैभन्दा बढी अंकसम्म चुङ्गी खेल्छ त्याे विजय हुन्थ्याे ।
बचपन छँदाकाे रमाइलाे सम्झँदा अहिले पनि खेल खेलिरहुँ लाग्छ । खेल खेल्न पाए पछि खाना खाने यादसम्म हुँदैन थियाे । अझ भाेक नै लाग्दैन थियाे ।
ग). डन्डी बियाे:
फुटबल त्यतिकै खेलिन्थ्याे । डन्डी बियाे खेल्दाकाे मज्जा अझ धेरै । डन्डी बियाे प्राय हामी बाँझाे बारीकाे पाटामा खेल्ने गर्थ्याैँ । ४/५ जनाकाे ग्रुप बनाउँथ्याैँ र काठकाे डण्डी र बियाे बनाएर ग्रुप बिभाजन गर्थ्याैँ । बियाे राख्नलाई सानाे खाल्डाे बनाउँथ्याैँ र डण्डीले बियाेलाई टाढा पुग्ने गरि उठाएर फाल्थ्याैँ । जहाँ पुगेर जमिनमा खस्थ्याे बियाे त्यहिबाट प्रतिद्वन्द्वीले बियाे समाएर खाेपीमा तेर्साे पारेर राखेकाे डण्डीमा पुग्ने गरी फाल्थ्यौँ डण्डी छाेयाे भने हाम्राे नम्बर आउँदैन थियाे । अगाडि बियाे छेक्न बसेका प्रतिद्वन्द्विलाई सकेसम्म छलाउने काम गर्थ्याैँ, उनीहरूले बियाे समाएँ हाम्राे नम्बर आउँदैन थियाे ।
यदि प्रतिद्वन्द्वीले समाएनन भने डण्डीले बियाेकाे एक छेउमा हानेर बियाे माथी उफारेर डण्डीले कति ठ्याक लगाउन सकिन्छ लगाउँट्थ्याैँ । हामी एक ठ्याक बराबर कति नम्बर दिने नियम बनाउँथ्याैँ । वियाे जमिनमा नझारी डण्डीले जति ठ्याक लगाइरह्याे, त्यति फाइदा हुन्थ्याे र जहाँ पुगेर बियाे खस्छ त्यहाँबाट बियाेकाे खाेपीसम्म गिन्ती गरिन्छ ।
घ).माेजाकाे भकुण्डो बनाएर ढुङ्गाकाे माने ढलाउने खेल:
माेजाकाे भकुण्डो बनाएर ढुङ्गाकाे माने ढलाउने त छन् बेस्सरी खेलिन्थ्याे । याे खेलमा पनि हामी ४/५ जनाकाे ग्रुप बनाउँथ्याैँ । याे खेलमा द्वन्द्वि प्रतिद्वन्द्वि हुन्थ्याे । याे खेल प्रायजसाे खुल्ला फराकिलाे चउरमा खेलिन्थ्याे । चउरकाे बिचमा ढुङ्गाकाे माने बनाउँथ्याैँ मानेकाे नजिकै एक ग्रुप हुन्थ्याे प्रतिद्वन्द्वि मानेभन्दा अलि टाढा दुई टिमकाे सहमतिमा तेर्साे रेखा काेरिन्थ्याे त्याे रेखा छाेएर अगाडिको माने ढलाउनु पर्थ्याे । सकेसम्म माने ढलाएर भाग्नु पर्थ्याे । यसरी भाग्दा म धेरै चाेटी लडेकाे छु । माने ढलाएर भागे पछि माने ढलाउनेले टिमले गएर माने बनाउनु पर्ने हुन्छ यस्ताे गर्दा प्रतिद्वन्द्विको भकुण्डोकाे चुटाइ धेरै खाएकाे छु धेरै खुवाएकाे छु । भकुण्डो खाने खेलाडी आउट हुन्थ्याे । यो खेल खेल्दा बढाे मज्जा आउँछ ।
ङ). बाघचाल:
यस्तै अर्काे खेल छ बाघचाल । याे खेल चारकुनामा भएकाे ४ वटा बाघ बाख्राले थुन्दा मज्जा आउँछ । याे खेल पैसाकाे बाजि राखेर खेलिन्थ्याे । म चाहिँ प्राय बाघकाे पक्षमा हुन्थ्ये, साथी चाहिँ बाख्राकाे पक्षमा । म याे खेलमा प्राय हार्दिनँ थेँ ।
च). कबड्डी:
हाप छुट्टी थियाे । स्कुलमा एक घण्टा हाप छुट्टी हुने गर्थ्याे त्याे एक घण्टामा कबड्डी प्रायजसाे खेलिन्थ्याे । म ५ कक्षामा पढ्थेँ । केटा र केटी कबड्डी खेल्ने भयाैँ । हामी साना साना थियाैँ तर केटी मोटा र ठूला थिए । केटीहरूसँग कहिल्यै जितेनाैँ कबड्डी । ‘कबडी..’ भनेर गयाे समाइ हाल्ने ,कति धेरै बलिया थिए केटीहरू । हामी कहिल्यै नजित्ने भएपछि ‘कबड्डी..’ भनेर जाँदा सिध्यै केटीहरूकाे अगाडि हाम फाल्थ्याै किनकि कम्तिमा हामीलाई बाेक्थे नि । त्यही रहरले उनीहरूसँग कबड्डी खेल्थ्याैँ तर प्राय कबड्डी जित्दैनथ्याैँ ।
तर आज याे विज्ञानकाे प्रवृत्तिले यस्ता गाउँघरमा खेलिने खेलहरू लाेप हुँदै गएकाे छ । याे पब्जीकाे कारणले अझ विज्ञान प्रवृत्तिकाे कारणले गर्दा आजका केटाकेटीहरूलाई गाउँघरमा खेलिने कतिपय खेलहरूकाे बारेमा जानकारी छैन । हामीले विज्ञान प्रवृत्तिलाई मात्रै पछ्याउने हाे भने यस्ता खेलहरू इतिहासकाे पानामा मात्रै रहनेछन् । खेल खेलाैँ, स्वस्थ बनाैँ ।
– विक्रम पवन परियार, गीत, गजल र कवितामा कलम चलाइरहेका परियारकाे ‘जलेकाे मुटु’ गजल सङ्ग्रह – २०६८, ‘माैन सालिक’ खण्डकाव्य – २०७२ र आधा दर्जन गीतहरू बजारमा आएका छन् ।
९. कल्पना जोशीको बालखकालीन ढिस्कुरो
मनपर्ने खेलको सूची पनि उमेरअनुसार परिमार्जित हुँदै जाँदोरहेछ । केही वातावरणीय तत्वले प्रभाव पार्दोरहेछ त केही मनोवैज्ञानिक तवरबाट पनि प्रभावित भइँदोरहेछ । मलाई मनपर्ने खेलहरू कबड्डी, बक्सिङ, बास्केटबल र क्रिकेट पर्दछन् । तर, यी सबै खेल सानैदेखि मेरो मनपर्ने सूचीमा भने पटक्कै थिएनन् । मैले खेलेका खेलहरू कबड्डि, हाइजम्प, गिट्टीफोर, ढिकिच्याउँ, गट्टा, क्यारेम, लुकामारी, रुमाल चोर यस्तै-यस्तै खेलहरू थिए, बाल्यकालको बजेटअनुसारका पनि भन्न सकियो ।
अहँ ! पब्जी खेलिएन । अहिलेसम्म पनि पब्जी, अन्लाइन लुडो खेलिएको छैन । मलाई जाँगर पनि लाग्दैन ‘डिजिटल फिल्ड’ मा खेलहरू खेल्न न त त्यति साह्रो नियमहरू बुझ्छु । सायद मेरो बाल्यकाल ‘फिजिकल फिल्ड’मा खेलहरू खेलिने कालखण्डमा बितेको भएर पनि हुनसक्छ मलाई अहिलेका प्रविधिमैत्री खेलकुदले खासै आकर्षित गर्दैन ।
लेखक परिचय
राजु झल्लु प्रसाद
धादिङका राजु झल्लु प्रसाद कविता, कथा, मनोविश्लेषणात्मक लेख साथै अखबारीय लेखनमा पनि सक्रिय छन् । अनलाइन पत्रिका न्युजकास्ट नेपालमा कलासाहित्य विधाका प्रमुख रहेर काम गरिरहेका झल्लु प्रसाद त्रि-चन्द्र कलेजमा बिएससी अध्ययन समेत गर्दैछन् ।
(प्रकाशन मिति: जेष्ठ २७, २०७८, शब्द सोपान)