एउटा यस्ताे पेय, जसलाई बाख्राले पत्ता लगायाे, मान्छेले खुब रुचायाे

You are currently viewing एउटा यस्ताे पेय, जसलाई बाख्राले पत्ता लगायाे, मान्छेले खुब रुचायाे

नेपालका साना–ठूला सबै शहरमा कफी संस्कृति मौलाइरहेको छ । पछिल्लो समय कोरोना कहरको दखलपश्चात राजधानीमा चिया घरहरू थपिएको पनि पाइएको छ । तर, यहाँ कफी हाउस र चिया घरतर्फ जाने मेसो छैन । 

कफीसँग सम्बन्धित (लगभग मिथक भन्न मिल्ने) पुराना घटनाहरूलाई अगाडि ल्याउने जमर्को गरिएको छ । 

प्रथमतः नेपालतर्फ हेरौँ,
हिरा गिरी भन्ने जोगीलाई तत्कालीन समयमा नेपालमा कफीको बोट भित्र्याएको जस दिने गरिन्छ । बर्मामा जागिर गर्ने क्रममा गिरीले १९९५ सालमा बर्माबाट अरेबिया जातको बोट गुल्मीको आपचौरमा रोपेका थिए । त्यही बोटबाट आज नेपालको ४२ जिल्लामा कफीको व्यावसायिक खेती हुँदै आएको छ । विसं. २०२५ सम्म कफीको पात खाने कि फल खाने भन्नेसम्म जानकारी नभएका नेपालीहरू आज व्यवसायीक कफी खेतितर्फ लागेका छन् । यो खुसीको कुरा हो । 

अब कफीको प्राचीन इतिहासलाई हेरौँ,
कफीको इतिहास इथोपियाबाट शुरू भएको मानिन्छ । प्राचीन समयको इथियोपियाको पठार क्षेत्रमा चरिरहने एक बाख्रालाई कफी अन्वेषणकर्ता मानिन्छ । अन्वेषणको सम्पूर्ण श्रेय मानिसलाई दिइने/लिइने मानवीय चेतका कारण सो बाख्राका गोठालो ‘काल्दी’लाई कफी अन्वेषणको श्रेय दिइयो । तर, इतिहासमा पहिलोपटक बाख्राले कफी पत्ता लगाएको थियो ।  

भएको के रहेछ भने, इथोपियाको जंगलमा एक बाख्राले सधै एक प्रकारको पात र फल खाएर दिनदिनै मोटाउँदै गएको र फुर्तिलो बन्दै गएको फेला पर्‍यो । सो बाख्रा रातिको समय निदाउन समेत छाड्न थाल्यो । अरू किसानको बाख्रा दुब्लाए पनि त्यो पातरदाना खाने बाख्रा हृष्टपुष्ट हुनुको रहस्य किसानले खोतल्न थाले । 

किसानले खोतलेको रहस्य रहस्य रहिरहन सकेन ।  स्थानीय मठाधीशहरूले साँझको प्रार्थनालाई अझ लामो र आफूलाई एकाग्र बनाउन सो बिरुवालाई आफ्नो पेय पदार्थलाई मिलाउन थाले । ऊर्जावान बिरुवाको नाममा विस्तारै यसको चर्चा/परिचर्चा बढ्दै गयो । 


Magic Beans- The History of Coffee - Naked History

जसरी शब्द (लिपी)हरूको बसाईसराइदर पूर्वतर्फ ज्यादा भएको इतिहास छ, उसैगरी कफीको हकमा पनि इथोपियाको ऊर्जावान बिरुवा अरेबियन पेनिसुलिया (अरब प्रायद्वीप)तर्फ फटाफट बसाइँ सर्न थाल्यो । यो शुरूवाती यात्रा थियो, जहाँदेखि ऊर्जावान बिरुवा उर्फ बिन्स (कफी)सम्मको यात्रा तय हुनेछ । 

अरब प्रायद्वीपः
अरब प्रायद्वीपमा पुगेपश्चात कफी खेती र व्यापार शुरू भयो। १५ औं शताब्दीसम्म, कफी अरबको येमेनी जिल्लामा उब्जाउने गरिन्थ्यो ।  तर १६औं शताब्दीको शुरूवातसँगै फारस, इजिप्ट, सिरिया र टर्कीमा कफीले आफ्नो पहिचान बनाउन सक्यो।

कफी भान्छामा मात्र सीमित रहेन, पूर्वी शहरका सार्वजनिक कफी हाउसहरू (जसलाई ‘काहवेह खनेह’ भनिन्छ) मा देखा पर्न थाल्यो । यतिबेलासम्म कफीले वर्ग निर्धारण, वर्ग विभेद, असमानता जस्ता सामाजिक गतिविधिलाई अस्तित्वला ल्याइसकेको थिएन । 

तर, यो स्थिति धेरै समय रहेन । कफी संरक्षकहरूले कफी पिउने काम मात्रै गरेनन् । कफीका बारे बातचित शुरू गरे । बातचितमा मात्रै पनि उनीहरू संलग्न भएनन्, कफी पिउँदै संगीत सुन्ने, चेस खेल्ने र समाचार पढ्ने जस्ता कार्यहरू अघि सारियो । यसपश्चात कलाप्रेमी, साहित्यप्रेमी एवं समाजका मनोसामाजिक घटनाहरूमा रुचि राख्ने व्यक्तिहरूले कफीको बारेमा जानकारीहरू आदान-प्रदान गर्न थाले । क्रमशः कफी ‘बुद्धिमानीहरूको खान्की या बुद्धिमानहरूको स्कुल’को रूपमा दरिन आइपुग्यो ।



अझ, मक्का-मदिना हज गर्न आउने हजारौँ तीर्थयात्रीहरूले ‘अरबको वाइन’ नामले कफीको चर्चा-परिचर्चा गरेर विश्वका कुनाकाप्चीमा  कफीलाई पुर्याउन सघाए । यसप्रकार कफीले विश्वमा आफ्नो उपस्थिति देखाउन पुग्यो । 

कफीको युरोप प्रवेशः
अर्ब नजिकैका पूर्वी युरोपेली यात्रीहरू एक असामान्य गाढा कालो पेयको कथाहरू आफ्नो घर-गाउँसम्म पुर्याए । १७औं शताब्दीसम्ममा कफी यूरोपको लागी लगभग नौलो विषय थियो तर  विस्तारै कफीको लोकप्रियता युरोपमा बधाई गयो । हाल  कफीले अत्यावश्यक पेय पदार्थको रुपमा युरोपमा आफूलाई उभ्भाइसकेको छ  । 

युरोपका केही मानिसहरुले नयाँ पेय पदार्थप्रति शंका एवं डर पनि व्यक्त गरे । ती मानिसहरूले यस नयाँ पेय पदार्थलाई  ‘शैतानको कटु आविष्कार’ (bitter invention of Satan) नाम दिएका थिए । सतान (शैतान) लाई लुसिफर भन्ने गरिन्छ । लुसिफर नामको एक वेभ सिरिज नेटफ्लिक्समा उपलब्ध छ । 

यस घटनापश्चात कफी विवाद निम्तियो । इस्वीको १६१५ मा नै कफी भेनिस पुगेको थियो । कफी आफूकहाँ आएपछि स्थानीय पादरीहरूले कफीको निन्दा गरेका थिए। यो विवाद यति ठूलो थियो कि पोप क्लेमेन्ट आठौंलाई हस्तक्षेपकारी निर्णय नै लिनु परेको थियो । तर रमाइलो के भयो भन्दा, उनले निर्णय लिनु भन्दा पहिले कफीको स्वाद लिने चाह व्यक्त गते ।  जसै कफी पिए उनी यति सन्तुष्ट भइगाए कि उनले उक्त पेय पर्दाथलाई  ‘पोपल अनुमोदन’ दिए। रोमन क्याथोलिक चर्चामा पपको आदेश सबैभन्दा माथि हुने समय थियो त्यो, थप विवाद निम्तिने कुरै थिएन । कफीले यसप्रकार पोपल अनुमोदन लिएर युरोपको गल्लीगल्ली डुल्न थाल्यो । 

यस्ता विवादहरू निम्तिरहे तर कफीको जीत भइराह्यो । इंग्ल्याण्ड, अष्ट्रिया, फ्रान्स, जर्मनी, हल्याण्ड जस्ता देशका ठुला शहरहरू कफी प्रचारप्रसार केन्द्र बनिरहेका थिए । यो काम दिनानुदिन बढ्दो थियो । 

यो सिलसिला यतिमै रोकिनेवाला थिएन । कफीको हस्तक्षपले अन्य पेय पदार्थमा किनारमा पर्न थाले । बियर र वाइन जस्ता पेयहरूलाई कफीले प्रतिस्थापन गरिदियो। 

रक्सीको सट्टा कफी पिउने सुझावहरू आउन थाले । स्वास्थ्य गुणवत्ताको हिसाबले पनि कफी रक्सीभन्दा धेरै ठीक थियो । यसप्रकार नामुद जड्याहहरू पनि नामुद कफी पियक्कड बन्दै गए । 

१७औं शताब्दीको मध्यसम्म आइपुग्दा, लन्डनमा ३०० भन्दा बढी कफी घरहरु निर्माण भइसकेका थिए । कफी घरहरूमा प्रायजसो, पानीजहाज व्यापारी, दलाल एवं कलाकारहरूको आगमन बढ्न थाल्यो । यस अलवा मध्यमवर्गीय तर समान विचारधाराका संरक्षकहरूलाई पनि कफीले आकर्षित गर्न सक्यो।

धेरै व्यवसायीहरू कफीघरतर्फ आकर्षित भए । ल्योल्ड ओफ लन्डन  (Lloyd’s of London) सोही समयमा स्थापित भएको कफी घर हो । पछि यसले अन्य व्यापारमा आफ्नो हात बढायो । 



नयाँ विश्वमा कफीः 

प्रथमतः कफीको अमेरिका प्रवेशबारे पनि चर्चा गरौँ,
१६ औँ शताब्दीको मध्यताका कफी दक्षिण अमेरिकाको गुयानास्थित न्यू एम्सतडम शहर पुगेको इतिहास भेटिन्छ । पछि ब्रिटीसहरूद्वारा न्यूयोर्क पुर्याइयो ।

इस्वीको १७७३ आइपुग्दासम्म उपनिवेशकारी देशहरू एवं शासकहरूको मनपसन्द पेयको रुपमा कफी स्थापित भइसकेको थियो । उपनिवेशकारी राजामध्येकै एक किङ जर्जले चियामा भारी कर लगाए, जसलाई बोस्टन चिया विद्रोह भनिन्छ । यसपश्चात अमेरिकामा कफीले आफ्नो उपस्थिति देखाएको पाइन्छ । यसैताका ‘कफी सभ्य संसारको प्रिय पेय’ हो भनेर थोमस जेफरसनले प्रचार नै गरे । 

कफी खेतीको विस्तारः
यसपश्चात संसारभर कफी वृक्षारोपणको होडबाजी चल्यो । बाहिरी देशहरूले कफी खेती प्रतिष्पर्धामा आफूलाई सरिक गराए । डचहरूले १८ औँ शताब्दीको उत्तरार्धमा कफीको बिरुवा पाए । उनीहरूले भारतमा कफीको विरुवा लगाउने असफल प्रयास गरे तर प्रयास जारि राखे १ अन्ततः उनीहरू बटाभिया, जाभा टापु (इन्डोनेसिया) मा सफल भए । 

बिरुवाहरू फस्टायो र चाँडै नै कफी उत्पादन र बढ्दो व्यापारका लागि डचको नाम अगाडि आयो । डचहरूले क्रमशः सुमात्रा र सेलेब्सको टापुहरूमा कफी रूखहरूको खेती विस्तार गर्दै गए । डचलाई अरू देशहरूले पछ्याउँदै गए ।



मिशनरी, यात्री, व्यापारी एवं उपनिवेशवादीहरूले कफीको बीउहरू नयाँ-नयाँ भूमिहरुमा लैजान जारी राखे ।यसप्रकार कफीको बिरुवाहरु दुनियाभर रोपिन थालियो १ १८औँ शताब्दीको अन्त्यसम्म, कफी विश्वको सबैभन्दा लाभदायक निर्यात बाली मध्ये एक भएको थियो । कच्चा तेलपछि, कफी संसारमा सबैभन्दा माग गरिएको कमोडिटी हो ।

(भदौ ३, २०७८ बिहिबार, द मार्जिनमा प्रकाशित)

Leave a Reply