नेपाली हिन्दु समाजमा ‘देवी लक्ष्मी’ मानेर पुजिने पैसा वास्तवमा के हो ? पूजा गर्नलायक हदसम्म पैसाले आफूलाई कसरी पुर्यायो ? एक कागजले ईश्वरीय अवतार कसरी धारण गर्यो ? सामान्य हिसाबमा पैसा के हो ? स्वाभाविक रूपमा सबैका जवाफ भिन्न–भिन्न हुने गर्दछ नै ।
क्लासिक व्याख्याअनुरुप पैसा रकम खाताको एक एकाइ, मूल्यको भण्डार र विनिमयको माध्यमको रूपमा कार्य गर्ने वस्तु हो । प्रत्येक देशको सिक्का र कागज पैसाको आफ्नै विनिमय प्रणाली छ ।
पैसालाई कागजको एक टुक्रा मात्रै मानिदिँदा पैसाको बारेमा तमाम चर्चा आवश्यक छैन (छ पनि, तल चर्चा हुनेछ) । तर जब एक कागजको टुक्रालाई पैसा मानिन्छ तब तमाम व्याख्या-उपव्याख्याहरू आवश्यक पर्दछ । मुद्रा संस्थाको बारेमा कुरा गरेर गरिसाध्य छैन । पैसाको उद्देश्य, निचोड र निष्कर्ष पनि निकालिसाध्य छैन । (यहाँ मेरो त्यो उद्देश्य होइन पनि ।)
पैसाको इतिहास:
पैसाको इतिहासलाई सरसर्ती हेर्दा घुमन्ते र जंगली तथा झुण्डमा जीवन व्यतित गरेको मानव समाजले विनिमयको कुनै अवधारणा अवलम्बन गरेको थिएन । यद्यपी समयकालको गतिशिलतासँगसँगै खेतीपाती गर्ने युगमा मानवको प्रवेश भयो, तब क्रमिक रुपमा श्रम विभाजन हुन थाल्यो । विस्तारै मानिसहरूले आफ्ना आवश्यकता पुरा गर्नको लागि वस्तु विनिमय अर्थात् आ–आफ्ना सामान एकअर्कासँग साटासाट गरी आफ्ना आवश्यकता पूर्ति गर्न थाले । त्यस समयसम्म पनि पैसाको चलनचल्ती विकसित भइसकेको थिएन ।
वस्तुसँग वस्तु साटासाट गर्नुपर्ने चलन (वस्तु विनिमय) लाई मुद्राले हस्तक्षेप गर्यो । र, वस्तु विनिमय मुद्रा विनिमयको लुगा पहिरेर समाज लमक लमक लम्कन थाल्यो । मानिन्छ कि, विनिमयको पहिलो अभ्यासका कौडी (सबभन्दा तल्लो तहको मुद्राको मूल्य) को रूपमा हुन थाल्यो । विस्तारै कौडीमा धातु, सुन, चाँदी, तामा, पित्तलको लेपन लाग्न थाल्यो । यहाँनेर आइपुग्दा पैसाको महत्त्व र मूल्य स्थापित हुन पुग्दछ । त्यतिबेला धातुजन्य पदार्थहरू भरमार थियो, यसैले तिनको प्रयोग भयो ।
तपाईंलाई यो पनि मन पर्न सक्छ
“ भाषाको साहित्यमा पाश्चात्य साहित्यको विषयमा विवेचना गरेकै हुन्छ।”- राजनारायण प्रधान
समीक्षात्मक वेदीमा “इजा अर्घ्य” अर्पण – कृष्ण प्रधान
“चुनौतीमा गरेको कार्य नै ऐतिहासिक र सन्तोषजनक हुन्छ ।”- हर्कबहादुर लामगादे ‘रोहित’
कर्ण थामीको “उदुम्बरा” -लाई हेर्ने काकाकुली तिर्सनामा – कृष्ण प्रधान
वस्तु विनिमयबाट कौडिमा रुपान्तरण हुँदै सिक्का आफ्नो मान, पद र अहोदा धारण गरी कारोबारको माध्यम बनेसँगै मुद्राको युग (६ सय देखि ७ सय इसापूर्व) सुरु भयो । त्यतिबेला यो सोचिएको थिएन होला कि सहज विनिमयका लागि स्थापित कौडीले सिक्का हुँदै कागज (रुपियाँ) सम्मको यात्रा गर्दा जीवनयापनमा यति गहिरो प्रभाव पारिदिन्छ । वितण्डा मच्चाइदिन्छ ! आफूलाई इश्वरीय अवतार सिद्ध गरिदिन्छ !
सार कुरा यहि हो कि, मुद्राको कारोबारले मानव सभ्यताको विकासक्रममा मानिसले कल्पना गरेभन्दा बढी हलचल निम्तायो । मुद्राले वस्तु–विनिमय युगका कठिनाई र असहजतालाई समाप्त त पारिदियो, सँगसँगै धनि-गरिब र सम्पत्ति-पूँजीका तमाम असजिला-अप्ठ्यारा सिद्दान्तहरू पनि अघि सार्यो । आफूसँग भएको सम्पत्ति मुद्रामा परिणत गरेर मानिस आफूले चाहेको स्थानमा सजिलै लग्न सक्ने स्थितिमा पुग्यो । यो स्थिति त्यसताकासम्म रुचिकर रह्यो जबसम्म मानिस मुद्रालाई जीवन मानिरहेको थिएन या मान्न विवश भइसकेको थिएन । तर आज आधुनिक बैकिङ्ग पद्धतिलाई निहार्दा यावतयावत् उल्झनहरू सामुन्ने पर्दछन्, जसको हर्ताकर्ता पैसा नै हो ।
एकचोटी नेपालमा पैसाको इतिहास हेरौँ,
नेपालको सन्दर्भमा कुरा गर्ने हो भने सर्वप्रथम लिच्छवीकालीन राजा मानदेवले पैसाको शुरुवात गरेका थिए । उनको पालामा प्रयोगमा ल्याइएको तामाको सिक्का नै नेपालको पहिलो पैसाको रूपमा रहेको इतिहास बताउँछ । उक्त पैसालाई त्यतिबेला मानाङ्क भनिन्थ्यो । त्यसअघि किराँतवंशी राजाहरूले माटाका पैसाहरू प्रयोगमा ल्याएका थिए भन्ने यदाकदा सुनिन्छ ( तर प्रमाणित छैन) । मानदेवको उक्त कार्यले वस्तु विनिमय गर्न धेरै नै सजिलो भयो, जसले गर्दा उनी पछिका अरु राजाहरू अंशुवर्मा, नरेन्द्रदेव लगायतले पनि यसलाई निरन्तरता दिए ।
मल्लकालिन राजा महिन्द्र मल्लले सर्वप्रथम चाँदीको सिक्का प्रयोगमा ल्याए । उनको उक्त सिक्कालाई ‘महिन्द्रमल्ली’ भनिन्थ्यो । त्यसपछि अन्य केहि मल्लकालिन राजाहरूले छालाको पैसा पनि प्रयोगमा ल्याएको इतिहासमा उल्लेख छ । चाँदी, तामा, पित्तल लगायतका धातुबाट बनाइने गरिएको नेपालको सिक्काको इतिहासले कोल्टे त्यतिबेला फेर्यो जतिबेला कागजी नोटको प्रयोगको शुरुवात गरियो । यो समय थियो, वि.सं. २००२ साल । तत्कालिन राजा त्रिभुवनको पालामा उनकै तस्विर अंकित एक, दुई, पाँच र दश रुपैयाँका नोटहरू प्रयोगमा आएपछि पुरानो किसिमको पैसाको प्रयोगमा एकाएक नयाँपन आउन थाल्यो । सर्वसाधारणलाई कागजी नोटले वस्तु विनिमयमा अझ सहजता ल्याइदियो ।
अब पैसाको कुरा गरौँ, वतमान समयकालको धरातलमा पैसा के हो?
ज्याला मजदुरी गर्नेहरू हजारको चाहना राख्लान् । जागिरेहरू लाखको सपना देख्लान् । व्यापारी र उद्यमीहरू करोडभन्दा मुनिको चाहना र योजना बुन्लान् । तर पनि प्रश्न अझै छ, पैसासँग जोडिएर मानिसको चाहना र योजना कसरी तय हुनपुग्यो ?
जगजाहेर छ, ‘पैसा कमाउन दुःख छ । यसलाई जोगाउन उत्तिकै दुःख ।’ किन ? आखिर किन मानिस पैसाको पछि यतिबिघ्न मरिहत्ते गर्छ ? कति पैसा भए मानिस खुशी हुन्छ ? फेरी अर्को पनि प्रश्न, के पैसा खुशीको स्रोत हो ?
हामीकहाँ एउटा सुपरडुपरहिट भनाइ पनि छ, ‘पैसाले सबै थोक किन्न सकिएला, तर खुसी किन्न सकिँदैन।’ यस मन्त्रलाई गुनगुनाउँदै मानिस हरेक दिन पैसा कमाउन दौडिरहेका छन्, खुसी हुनकै लागि भनेर पैसा कमाउन मरिमेटिरहेका छन् । कस्तो वक्ररेखा ? यो कस्तो दृश्य?
हो, हरेक मानिसले कमाइ गर्ने थलो भनेको समाज हो । तर मानिस समाजमा पैसा मात्रै कमाउन किन यति मरिमेटिरहेको छ ? कमाउनको लागि पैसाबाहेक पनि धेरै थोक यहि समाजमा छन् । हो, मानिस सामाजिक र सांस्कृतिक जीव हो । तर मानिसभन्दा पनि ज्याद्रो तवरमा पैसा कसरी सामाजिक र सांस्कृतिक जीव बन्न पुग्यो ? यो प्रश्नको भयंकर ठूलो मुख छ, र म यतिखेर त्यहि मुख चिहाइरहेको छु ।
त्यो मुख चिहाइरहँदा एउटा निष्कर्षमा म पुगिहाल्छु, मान्छेको दिमाग र पैसाबीच अत्यन्तै गहिरो सम्बन्ध छ । अध्ययनहरू भन्दछन् कि, हरेक चारजनामध्ये एक जना सबैभन्दा धेरै पैसाबारे सोचिरहेको छ अर्को चाहिँ जागिरबारे । जागिरबारे सोच्नु भनेको पनि पैसाबारे नै सोच्नु हो । मनोविज्ञान र न्युरोसाइन्स प्राध्यापक ब्रायन क्नुट्सनका मतानुसार, ‘मानिसको दिमागमा पैसाको जत्तिको प्रभाव अरू केहिको छँदै छैन । न नग्न शरीरको, न शवको । पैसाप्रति दिमाग बेहद सक्रिय छ । जसरी खानेकुराले कुकुरहरूलाई उत्प्रेरित गर्छ, त्यसरी नै पैसाले मानिसलाई ।’
एउटा कुरा नि, पैसाबाट आवश्यकता पूरा गर्न सकिएला, तर असल जीवन जिउन खासै धेरै पैसा कमाउनु पर्दैन पनि भन्न सकिएला ! तर के थोरै पैसामा हामीहरूको आवश्यकता परिपूर्ति हुने अवस्था छ ? फेरी अर्को प्रश्न, कति पैसामा एउटा मानिसको आवश्यकता पुरा हुन्छ ? पैसा हुनेले नै समाज सेवा, घुमफिर र स्वस्थ जीवन बिताउन सक्छन् । यसर्थ त यो भन्न सकियो कि, पैसाले मान्छेलाई आत्मविश्वास दिलाउँछ । पैसा नहुनेहरू आत्मविश्वास गुमाउँछन् । मेरो आफ्नै अनुभवको आधारमा पैसा र आत्मविश्वास निकटतम हुन् भने निष्कर्षको नजिक म छु । गोजी रित्तो भएको दिन साथीहरूसँग बसेर चिया पिइरहँदा चियाको स्वाद नै थाहा नपाउने अवस्थामा म धेरैपटक पुगेको छु । यहाँनेर पैसाका कारण मेरो आत्मविश्वास गुमेकै हो ।
डेढ दशकअघि चीनको सन यात्सेन, अमेरिकाको मिनिसोटा र फ्लोरिडा विश्वविद्यालयका अध्येताले चिनियाँ विद्यार्थीमाथि गरेका अध्ययनहरूको निष्कर्षमध्ये एउटा थियो– बराबर संख्या र आकारका कागजका टुक्रा र पैसा गन्न दिने हो भने कागज गन्नेको भन्दा पैसा गन्ने व्यक्तिको मस्तिष्क बढी सक्रिय हुन्छ । (स्रोत: श्रीश भण्डारी)
आ..!, पैसा महात्मेबारे धेरै गन्थन किन गर्नु ? पैसाको अवधारणालाई लिएर सबैको एउटा मत छ, ‘पैसाले संसारको सबैभन्दा महँगो बिछ्यौना किन्न सके पनि मीठो निन्द्रा भने किन्न सकिँदैन । पैसा भनेको आवश्यक चिज हो, तर सबथोक भने होइन।’ के त्यसो हो ? यो भनाइ भनिएको जति नै सपाट र सहज छ ? जब कि यतिखेर हाम्रो मस्तिष्क पैसालाई लिएर यसरी अभ्यस्त भएको छ कि नाफा-नोक्सानको सोचबुझबिना हामी एक पाइला पनि हिड्न सक्देनौँ । एक शब्द पनि बोल्न नसक्नेगरी कजिएका छौँ । पैसा हाम्रो पैताला, जिब्रो, कान, आँखा, हत्केला जहाँतँही छ, लाइक अ चुइङ्गम। चुइङ्गम झैँ मस्तिष्कदेखि शरिरका हरेक ठाउँमा पैसा चुइङ्गमभाँती चिप्किरहेको छ ।
मसँग अझ प्रश्नहरू छन्, प्रश्नहरू मात्रै छन् भन्दा पनि हुन्छ ! भौतिक जीवनमा पैसालाई यत्रोविधि सदाचार, इज्जत र सम्मान हामी किन दिइरहेका छौँ ? पैसाले भौतिक युगमा जे पनि खरिद गर्न सकिने भयो, त्यो कसले गर्यो ? सन्तुष्ट हुनका लागि पनि पैसा अत्यावश्यक भयो, त्यो कसले गर्यो ? फेरी अर्को कन्सेप्ट पनि छ, ‘मान्छेहरू सन्तुष्ट हुनु भनेको देशको अर्थतन्त्रका लागि घातक हो ।’ उसो भए अर्थतन्त्र असन्तुष्ट मानिसहरूको संकलनकेन्द्र हो ? भण्डारणस्थल हो ? भकारी हो ?
जेनतेन जीविका चलाउने कि आरामदायी जीवनशैली बिताउने कि विलासी जीवनशैली र असीमित खपत गर्ने ? यो आ-आफ्नो रूची र छनौटको कुरा भयो । तर जेनतेन जीविका चलाउन खोज्दा पनि पैसा अपरिहार्य नै छ । पैसाबेगरको संसारको कल्पना यतिखेर सूदुर क्षितिजको दौड भएको छ । त्यो पनि बैशाखीबेगर ! यतिखेर दौड पनि पैसाका लागि, गन्तव्यस्थल पनि पैसा र दौडिने खुट्टा या बैसाखी पनि पैसा नै भएको छ !
समाजमा एउटा बडो आदर्शवाणी छ, ‘खान–लाउन पुगोस् । एउटा घर होस् । बालबच्चा पढाउन सकियोस् । बिरामी पर्दा उपचार गर्न सकियोस् । यो भन्दा धेरै पैसा के काम ?’ कुरा ठीक हो ! कुरा भयंकर साधुसन्त प्रवृतिको नै नै हो ! तर कस्तो खाने, कस्तो लाउने, कस्तो घर बनाउने, कस्तो स्कुलमा पढाउने, कुन अस्पतालमा उपचार गर्ने ? यी यावत प्रश्नले जेनतेन जीविका, आरामदायी जीवनशैली, विलासी जीवनशैली हुँदै असीमित खुसी खपत गर्ने स्थतिसम्म हामीलाई डोर्याउँछन् । यो डोरी बडो बलियो छ, यसमा गाँठाहरू अझै परिरहेकै छन् । जस्तो कि, आधुनिक अर्थशास्त्र वा बजारशास्त्रले मरेतुल्य पारिदिँदा अध्यात्म र जीवन दर्शनको सहारा लिनुपर्ने हुन्छ । तर त्यहाँ पनि पैसाको गठबन्धन सुरु भइसकेको छ -वृहत्तर रूपमा । एउटा कन्सेप्ट अनुसार, शिक्षा र स्वास्थ्यपछि अध्यात्म र दर्शनमा पैसाको रजगज छ ! त्यसो भए पैसाबाट अछुतो कुन क्षेत्र, स्थान, व्यक्ति र समाज छ ? पैसाको बाछिटाले डाम नबसाएको कुन चाहिँ बलेनी बाँकी छ ?
‘पैसा भनेको अंकहरू हो र अंकहरू कहिल्यै सकिँदैनन् । यदि तिमी पैसा बटुलेर खुसी हुन खोज्छौ भने तिम्रो खुसीको खोजी कहिल्यै पूरा हुन सक्दैन ।’ भन्ने बबमार्लीको यस भनाइ यतिखेर कत्तिको व्यवहारिक छ ? धर्मग्रन्थहरूमा खुसीका अनेकन् परिभाषाहरू छन् तर ती आजको समयको कत्तिको हितकारी छन् ? अझ महत्त्वपूर्ण प्रश्न, आजको सेरोफेरोमा पैसा बेगर तिनको स्थायित्व कत्तिको छ ? कत्तिको स्थिरता छ ?
अन्तिममा, पैसालाई कागजको टुक्रो मानिदिँदा या अंकको थुप्रो मानिदिँदा पनि समस्या हल हुँदैन । कोसँग कति कागजका टुक्राहरू छन् र कोसँग कति अंकहरूको थुप्रो छ भन्ने स्थिति सामुन्ने आउँछ । अहिलेका अनलाइन बैंकिङ कारोबारहरू जम्माजम्मी अंकहरूको थुप्रो नै हो ! फेरी पनि प्रश्न, के ती अंकहरूको थुप्रो मात्रै हुन् त ? हुन् भने तिनलाई लिएर हामी यो हदसम्म मानिसक उथलपुथलजन्य अवस्थामा किन छौँ ? नाथे अंकहरूले हाम्रो मानिसक चैनमाथि किन डाका डालेको छ ? लुटपाट मच्चाएको छ ?
यस हिसाबले त पैसा, पैसाभन्दा मनोविज्ञान हो कि ? भन्ने संशयछेउ म आइपुग्छु ! त्यससँगसँगै, पैसा पैसा भन्दा बेसी मानवजन्य संस्कार हो कि ? पैसा पैसाभन्दा बेसी प्रतिस्पर्धा र बजारीकरण हो कि ? भन्ने संशयछेउ म आइपुग्छु ! पैसा सेवा हो कि उत्पादन हो ? पैसा खपत हो कि बचत हो ? पैसा आवश्यकता हो कि रहर हो ? पैसा सहजता हो कि मृगमरीचिका हो ? के हो पैसा ? पैसा..पैसा..आखिर पैसा के हो ?
बैँक ब्यालेन्स बढायो, सम्पत्ति जोड्यो । सँगसँगै महत्त्वाकांक्षा पनि बढ्दै जान्छ, महत्त्वाकांक्षाले खर्च बढाउँछ ! खर्च बढेसँगै पैसा कमाउने चाहना पनि बढ्दै जान्छ । निरन्तर चलायमान रहिरहेको यसप्रकारको रिंगटा छुटाउने खेल कसले खेलाइरहेछ ? हामी खेलाडी भइरहेका छौँ कि रेफ्री ? खेल आयोजक कि खेलमैदान ? पैसाको खेललाई लिएर हाम्रो बुझाइ कस्तो छ ? यो निरन्तर बहसको विषय भयो । भइरहोस् ।
यहाँ मैले केहि व्यक्तिसँग पैसा र पैसाको अवधारणालाई लिएर संक्षिप्त कुराकानी गरेको छु ! ‘पैसा के रहेछ ? पैसाको अवधारणालाई कसरी हेर्नुहुन्छ ?’ भन्ने प्रश्नसहित तयार पारेको सामाग्री यहाँ प्रस्तुत छ:
पैसा साधन हो, भाइ । विनिमय कार्य सजिलो होस् भन्नका खातिर नै पैसा बन्यो भन्ने लाग्छ । तर यसले मानिसको चेतनालाई उथलपुथल बनाइदियो । जसको चेतनास्तर उच्च छ, उसले पैसालाई सीर्फ साधनको रूपमा लिन्छन् । मध्यम चेतनाले पैसालाई इज्जत, वैभव सोच्दछन् र अनावश्यक प्रयोग गर्दछन् । समाजमा तनाव पैदा गर्दछन् । निम्न चेतनाका लागि त पैसा जिन्दगी नै हो । पैसाका लागि शरीर/परिवार/देश सबै बेच्न तयार हुन्छन् ।
पैसाको अवधारणाको जन्मप्रतिको उत्सुकताबारे चम्पारण ब्लुज वा मस्तिष्कहरूको मृत्युबारे लेखेको थिएँ, त्यसै सन्दर्भप्रति तपाईँको प्रश्न हुनपर्छ । मान्छेको दिमागमा यस्तो कुनै वस्तुको (अहिलेको पैसा वा पुँजी) कल्पना कसरी आयो होला, जसले सबै सेवा र सुविधाहरू विनिमय गर्न सक्छ, भन्ने सोचेर विगतमा म छक खाए । पुँजीको अवधारणा बन्नु अगावै कसैले त्यस्तो सोच्न सक्नु विस्मयकारी थियो । प्राचीन कालमा, मानवजातिको पूर्वजले । पैसा मान्छेको अदभूत आविष्कार थियो, हो । त्यो सन्दर्भ यौटा जिज्ञासा थियो । पैसाको अर्थशास्त्र र मान्छेसँगको त्यसको सम्बन्धलाई मैले कहाँ बुझ्न सकेको छु र ? तै पनि, मेरो निम्ति पैसा मानवजातिले आविष्कार गरेको औजार हो । त्यो औजारलाई त्यो जे हो, त्यसै रूपमा बुझ्न सकिए, राम्रो हुन्छ । जुन तर अति कठिन छ ।
पैसा भाैतिक आवश्यकता हाे तर मेरा लागि सबथाेक हाेइन । भएकाे भए म कवि, लेखक हुन छाडेर जग्गा दलाल वा तस्कर हुन्थेँ ।
ओहो यो त जटिल प्रश्न हो । तथापि पैसाले मान्छेलाई यान्त्रिक बनायो भन्ने लाग्छ । मान्छे जन्मेर होस सम्हालेपछि यसको एक मात्र ध्येय पैसा कमाउनु, बटुल्नु मात्रै देखियो । यस अर्थमा पैसा पुँजीवादले विकसित गरेको भयानक रूप हो भन्ने लाग्छ । सायद समाजवादी व्यवस्थामा पैसाको महत्वलाई अर्कै अर्थ र प्रयोजनको रुपमा रुपान्तरण गर्न सकिन्छ होला भन्ने लाग्छ जुन अहिले जस्तो अवश्य हुने छैन ।
पैसा भनेको आवश्यकताको परिपूर्ति गर्ने चिज हो । पैसा त अहिले यति प्रभावकारी छ कि हरेक चिज यहिँ आएर जोडिन्छ ।
जस्तो एउटा उदाहरण भनौँ, मैले के सोच्थे भने म मेकअप सिक्दिन, गर्दिन । अब के सोच आइरा’छ भने अलिकति नसिकी काम छैन । सबै मेकअप गरेर टक्क भएर आएका बेलामा एक्लै कुनामा बसेर त भएन । मेकअप गर्ने तर कति गर्ने ? उसैगरी, पैसा कमाउने तर कति कमाउने ?
मलाईभन्दा हजुर(पुरुष) लाई कति गाह्रो होला । नेपाली समाजमा छोरा र पैसा अनि पारिवारिक जिम्मेवारी अन्त्यन्त अन्तरघुलित छन् । छोरा भएसी पैसा कमाउनै पर्ने, पारिवारिक जिम्मेवारी सम्हाल्नै पर्ने । पुरुष आफ्नै सांस्कृतिक र पुस्तैनी जिम्मेवारीबाट गधा भा’को छ ।
छोरीहरूले कामाउन थाल्या छन् तर छोराहरूले नै कमाउनु पर्छ भन्ने मानसिकता ज्युँ को त्युँ छ । अर्को कुरा चाहिँ, छोरीले कमाउँछन् अनि छोरीले आफूले नै खर्च गरेर सक्छन् । छोरीहरूले चाहिँ घर चलाउने भन्ने कन्सेप्ट नै छैन, अनि बिहे गरेसी त्यो नि सकियो । म त भन्छु कि केटाहरूले फेमिनिस्ट टाइपको केटी बिहे गर्नुपर्छ तर केटाहरूको बुद्धि नै छैन । श्रीमतीको मस्त कमाइ खान पाइन्छ । अर्को पारिवारिक स्थिति हेरेर छोरीहरूको बिहे हुन्छ, यहाँ पनि मेरो दिदी युरोप जानुले मेरो स्तर बढायो रे । नेपाली समाजमा पैसालाई धेरै मिस कन्स्पेटहरू छन् है ।
‘पैसा भनेको अंकहरू हो र अंकहरू कहिल्यै सकिदैनन् । यदि तिमी पैसा बटुलेर खुसी हुन खोज्छौ भने तिम्रो खुसीको खोजी कहिल्यै पूरा हुन सक्दैन ।’
अहिलेको भौतिक युगमा सबै मानिसका लागि पैसा निकै नै महत्त्वपूर्ण वस्तु भएको छ । हामी सबै आफ्नो समय केहि न केहि ढंगमा पैसाकै लागि गरिने काममा खटेर बिताउँछौँ । मेरो लागि चाहिँ पैसा एउटा स्वतन्त्र र सहायताको स्रोत हो । भन्नेले पैसा ‘हातको मैला’ भने पनि हाम्रो जीवनमा एउटा बहुमुल्य प्रकासको स्थान पैसाले ओगट्छ ।
यो समय यस्तो समय बनिदिएको छ । भावनात्मक, नातात्मकदेखि लिएर हर कुरामा आर्थिकत्व यसरी घुसिदिएको छ । जसको दलदल एकदम फोहोर छ भन्ने थाहा हुँदाहुँदै पनि हामी त्यस दलदलबाट बाहिर निस्किन खोज्दैनौँ । र पैसा के रहेछ भन्ने प्रश्नमा मेरो लागि पैसा सबथोक हो र होइन पनि !
लेखक परिचय
राजु झल्लु प्रसाद
धादिङका राजु झल्लु प्रसाद कविता, कथा, मनोविश्लेषणात्मक लेख साथै अखबारीय लेखनमा पनि सक्रिय छन् । अनलाइन पत्रिका न्युजकास्ट नेपालमा कलासाहित्य विधाका प्रमुख रहेर काम गरिरहेका झल्लु प्रसाद त्रि-चन्द्र कलेजमा बिएससी अध्ययन समेत गर्दैछन् ।
(शब्दसोपानमा बैशाख २८, २०७८ मा प्रकाशित)