- (शब्द सोपानको लागि शनिबारीय अंक)
दैनन्दिन मेरो झ्यालबाट एउटा लम्बेतान डाँडाहरूको शृङ्खला देखिन्छ । दक्षिणकालीको खोँचदेखि थानकोटको खोँचसम्म सर्प झैँ गुडल्किदै लस्किरहेका यी पर्वतीय शृंखलाले मेरो निन्द्रा खोसेका छन् । चैन लुटेका छन् ।
मेरो आराम हराम गर्ने यी डाँडाहरू एक समयको मेरो कर्णप्रिय मोबाइल गेम ‘हिल क्लाइम्ब’को एनिमेसन जस्तै लाग्छ । र, म यिनै डाँडाहरूमा आफ्नो दैनन्दिन जीवनयापनका विभिन्न चरणका खुड्किलाहरू चढिरहन्छु र झरिरहन्छु । कहिले दुईपाङ्ग्रे मोटरबाइक हुइँक्याउँछु, कहिले चार पाङ्ग्रे ट्र्याक्टर । यो खेलमा त्यति धेरै आश्चर्यता अब बचेको छैन । कारण हो आइसोलेसनका केहि दिनमा नै मैले यी डाँडा-ए-काँडालाई यतिधेरै पटक यति धेरै आँखाले नियालिसके कि अब यिनमा देख्न-ए-हेर्न बाँकी त्यसो केहि पनि छैन । आँखाहरू अब डाँडा छाडेर परिवर्तित बादलआ थुम्केलीहरूमा अल्झीरहेका हुन्छन् ।
कुरा साँचो हो, आकस्मिकता र आश्चर्यताको म दिल्लगीबाज भएता पनि लकडाउनको माहोलमा छाएको मानसिक तहसनहसले मेरो उठीबास बनाएको छ । ‘न्यू भेरियन्ट’ नामक नाम बेलायतदेखि जुराएर हिन्द महासागरको बाटो हुँदै हवाईजहाज र पानीजहाज चढेर भारत र त्रिभुवन विमानास्थल हुँदै आएको यो माम्पाखा कोरोनाले मलाई दिक्क-ए-दिक्दार बनाइदिएको छ । काँतर-ए-डरछेरुवा बनाइदिएको छ । डर-ए-त्रासले हृदयमा बास मागेको छ । रिस-ए-गाली मस्तिष्कमा पाहुना भाँती विराजमान छ । र, मैले यिनीहरूको स्वागत-ए-सत्कारमा थर्मोमिटर-ए-पल्स अक्सोमिटरलाई घरि काखीमा चेपिरहेछु, घरि औँलाबीच छिराइरहेछु । कहिलेकाहीँ लाग्छ यस माम्पाखा कोरोनाले पल्लो कुनादेखि मलाई दाँत देखाएर भनिरहेको छ – ‘नाटकै हो, नौटंकी नै हो ।’
खैर, म मेरो बार्दली सामुन्नेको ‘हिल क्लाइम्ब्स डाँडा’को चर्चा गरिरहेको थिएँ । प्रायजस्तो यी डाँडाहरूमा उक्लने गर्दछु । जबजब किस्ताबन्दीमा आत्महत्या गर्दा गर्दा वाक्क-ए-दिक्क उर्फ ट्वार्र-ए-छ्यार्र हुन्छ, त्यतिबेला म यी डाँडाहरूमा लगेर आफ्नो पुठो बिसाउँछु । आत्महत्याले पखला चलाउँदा यी डाँडाहरूले आत्मरक्षाको गोटा पारिदिन्छन् । त्यसपछि पखला र गोटाबीच म ठसठसी कनीरहेको हुन्छु । जुन कन्याई केहि हप्ताका लागि सूरुचीपूर्ण सिद्ध हुन्छन् ।
भाइ प्रभात र सुवास जी, यस्तै बेला मकन आइपुग्छन् । त्यतिबेला हामी आ-आफ्ना हैरानी-ए-परेशानी बिसाउन यी डाँडाहरूको थुम्कोमा उक्लिन्छौँ । उक्लने क्रममा कहिले सल्लाको रुखमा बसेर सुवास जी पुराना गीत गुनगुनाउनुहुन्छ, कहिले भ्यु टावरको सिरानमा प्रभात भाइ ‘दिल होम होम करे’ गुनगुनाउँछन् । यसैबीच हाम्रो तीन प्लेट चाउमिन सेलाउँछ । तीन बोतल कोक रित्तिन्छ। कहिलेकसो अनकन्टार जंगलबीच एक मस्तमुला (मुला नै हो) बाबासँग भेट हुन्छ । उसले बन्चरो लिएर लखेटेको प्रसंग सम्झँदै पानीपुरीका दानाहरू चपाइरहँदा हामी शान्तिनगर, बुद्धनगर र दरबारमार्गलाई भुसुक्कै भुस्काइदिन्छौँ (बिर्सिदिन्छौँ) । त्यसपछि नित्य दिनहरूमा संकल्पमार्ग र रसिकमार्गतिर चिया घुट्काइरहँदा फेरी अर्को डाँडा उक्लने प्लान बन्छ । हरेकको छुट्टी मिल्छ, पैसाको जोहो हुन्छ, जाने ठाउँ र फर्किने समयको पक्कापक्की हुन्छ तर त्यति नै बेला ‘न्यू भेरियन्ट’ महाशयको ब्रोड इन्ट्री हुन्छ । सब प्लानमा पानी फिर्छ । बाढी चल्छ । पहिरो जान्छ ।
उसो त, केहि वर्षपहिले म प्रेमिकाहरूसँग यी डाँडाकन पुग्ने गर्दथे । बादलका थुम्काथुम्की भेट्नलाई उचालिएका प्रेमिकाहरूको हातले तुँवालो टिप्दथेँ, कुहिरो समेट्दथेँ । ती तुवाँलो र कुहिरो हाम्रो प्रेम हुन्थ्यो । प्रेमको निशानी हुन्थ्यो । प्रेम धेरै केहि रहेनछ, म म हुनु पाउनु र उहाँ उहाँ हुनु पाउनु रहेछ । एकअर्काको साथले हामीलाई आ-आफू खोज सघाउथ्यो । दैनन्दिनमा अल्झिएर वाक्क-ए-दिक्क हुँदा भक्कानिएर एकअर्काको अँगालो लुटपुटीनु मात्रै प्रेम होइन रहेछ । उहाँसँग हुँदा जे-जसरी मैले आफूलाई खोजेँ, अन्वेषण गरे र पाएँ, त्यो त्यो कुराहरू प्रेमको सौगात थियो । प्रेम थियो । र, प्रेम अन्तर्मुखी प्रवृतिको हुँदो रहेछ- भित्रतर्फ उन्मुख, अन्तस्करणतर्फ उन्मुख ।
जस्तो हामी कहिलेकाहीँ, दुई वटा रुखहरू देखाएर भन्ने गर्थ्यौँ, ‘यो तिमी, यो म ।’ त्यसपछि प्रेमिकाजीको सैतानी दिमाग चल्थ्यो, ती दुई रुखका बीच उम्रिरहेको बुट्यानलाई देखाउदै ‘उ … त्यो चाहिँ हाम्रो बच्चा’ भनिदिनुहुन्थ्यो । अन्तत: हामी त्यही बुट्यानमुन्तिर ओझेल लाग्थ्यौँ, ओत लिन्थ्यौँ र एक-अर्कालाई कुहीरो र तुँवालोले ढाक्थ्यौँ ।…ती अचाक्ली सुखका दिनहरू थिएँ । अन्तरहृदय प्राणमय भएका दिनहरू थिए ।
ती दिनहरूलाई अटेसमटेस गरिकन आफ्नो हृदयमा च्याप्न नसकेको पश्चातापमा पिल्सिरहँदा मलाई ती दिनहरूको न्यास्रो लाग्छ । एक मुलायम तिर्खा, जसलाई छोइराख्न मन हुन्छ, जसलाई भेट्न हृदय लम्किरहन खोज्छ । जहाँ पुग्न नसकेको क्षण पैतालाहरू अन्तिमेत्थम् (चेतावानी) दिइरहेका हुन्छन्, म बस् खामोस रही तुँवालो र कुहिरोमा लपेटिएका डाँडाहरूलाई नियालिरहन्छु ।
फेरि अर्को कुनै दिन, निवर्तमान प्रेमिकासँग भूतपूर्व प्रेमिकाको वर्णन गर्दै त्यही डाँडाहरूतिर उक्लँदा ती दुवै रुखहरू काटिइसकेका हुन्थे र उम्रिरहेको सानो बुट्यानको छातीमा डोजरको डाम परिरहेको हुन्थ्यो । भूतपूर्व प्रेमिकाको यादमा निवर्तमान प्रेमिकाको पोल्टोमा मुख जोतेर यसप्रकार धेरैपटक म रोएको छु । अन्धमुष्टि भई हृदयमा हर्हर्ती आगो सल्काईरहँदा उहाँ अग्निमोचक बनिदिनुहुन्छ । उहाँको ओठ शीतको स्पर्श भाँती मेरो ओठमा परिरहन्छ, सनै..सनै..म आरोग्य हुँदै आउँछु । त्यो मुलायम, नरम शीतका दानाहरूलाई म हृदयसम्म निल्छु । हृदय कल्पनातीत सुखभोगमा रमण गर्न थाल्दछ । त्यो आनन्दको अनूभूति अवर्णनीय छ ।
बढ्दो शहरीकरणले मलाई बेलाबेला यसैगरी चिमोटिरहन्छ । कोतरिरहन्छ । चिथोरिरहन्छ । यस्तो बेला म जंगली लेउ र पहाडी खेतखलियानका खोपिल्टामा जमेर बसेको झ्याउहरूमा आफूलाई चिप्लाइरहन्छु । घुँडा दबार्न पुग्छु, कुहिनो चिथोर्न पुग्छु । हत्केलाभर पानीअमलाका पोथ्राहरू समाउन पुग्छु ।
जग्गा सम्याउने नाममा काठमाडौँका यी हरिया डाँडाहरूमा जहातही भेटिने पहेँला-पहेँला डोजरहरूसँग मेरो जम्काभेट हुँदा मेरो निन्द्रा खोसिएको छ । चैन लुटिएको छ । आरामको सत्तोपरान उडेको छ । यस्तैयस्तै बेला म यी डाँडाहरू निरन्तर नियालिरहन सक्दिन । हृदयको घाउ चहर्याउन थाल्छ । ओखतीमुलोको खोजीमा म बार्दलीदेखि भित्र पस्छु र झ्यालमा झुन्डिरहेको दृश्यमा पर्दा चढाइदिन्छु । अनि लामो निश्वास ओकलेर निवर्तमान प्रेमिकालाई भन्छु- ‘आउ न एक गेम लुडो खेलौँ ।’
लुडो खेल्ने क्रममा उहाँ आफूले गरिरहेको नोटलाई परतिर धकेल्नुहुन्छ । र, निरन्तर गोटीलाई घरतिर पसाउन थाल्नुहुन्छ । उहाँको लुडो खेल्ने अन्दाज-ए-बयाँ अच्छा छ, धेरै अच्छा ! यसप्रकार कि हार्दाखेर गेमलाई ‘फ्रड’ भनिदिनुहुन्छ । ‘यो गेमले मैले जितेको देख्न नसक्ने रहेछ’ भन्दै उहाँ ठुस्किदिँदा यता मेरो तोरीलाहुरे दिल मुख च्वासे पारेर न्याम्म परिरहेको हुन्छ ।
म भन्छु- ‘एक गेम फेरी खेलौँ तर यसपाली जित्नेले एउटा प्रश्न सोध्नेछ जसको हार्नेले सहिसहि जवाफ दिनुपर्नेछ । यसमा झेली गर्न पाइने छैन ।’ सम्भाव्यताको दाद दिनुपर्छ, उहाँ यो गेम जितिदिनुहुन्छ । पहिलो गेम जितेको बलमा म प्रश्न हुत्याउँछु, ‘फेरि खेल्ने मुड छ ?’, उहाँ लम्बेतान हाँसो ओकलेर छोटो जवाफ दिनुहुन्छ, ‘छैन ।’
“अनि तिम्रो प्रश्न ?”, म सोध्छु ।
‘म पछि सोधुला ।’
‘बचाएर राख्या ?’
‘अँ ।’
‘कुन बेला कहाँ न्याक्ने हो अब तिम्ले ?’
‘हेरम् अब ।’
उहाँ यसपछी अलप हुनुहुन्छ । म झ्याल खोलौँ कि नखोलौँको दोधारमा एकछिन टोलाइरहन्छु । हल्लिरहेको झ्यालदानी(पर्दा)को हलचल नियालिरहन्छु ।
मेरो झ्यालमा एउटा मात्रै झ्यालदानी छ । पर्दा निकै लामो छ । झ्यालदानीमा बिहानीपखको घाम पोखिँदा सुनौलो देखिन्छ । दिउँसोको घाम पर्दाखेर सेत्ताम्मे देखिन्छ । झ्यालदानीले समयअनुसार रंग फेरिरहन्छ । रातिको समयमा कोठाको ब्लु लाइटको प्रभावले होला झ्याल शान्त समुन्द्र जस्तै लचक लचक हल्लिरहेको हुन्छ । त्यहाँ समुन्द्री झार र शंखेकिरा सलबलाउन थाल्छन् । एकाध घण्टा म शान्त समुन्द्र किनारमा पैताला चोबलेर डुबिरहेको लजालु-ए-गाजलु जुनलाई जिस्काइरहन्छु ।
‘मैचांग, तिम्रो नाकमा डन्डीफोर आएछ नि ? निचोरीदिम् ?’
‘मैयाँ, आऊ न एकछिन रातको बिछ्याउनामा ढल्किऊँ । मुसा, मुसा भ्यागुतो खेलौँला ।’
यो झ्यालदानीबारे एउटा किस्सा छ, जुन यसप्रकार छ;
यो झ्यालदानी पुल्चोक क्याम्पसको हो । क्याम्पसको हलमा झुण्डीरहेको यस झ्यालदानीलाई पुल्चोक हुँदै पुरानो बानेश्वरसम्म झोलामा राखेर ल्याउने एउटा प्राणी छ, जसले राम्रा कविता लेख्छ र राम्रा कविता बडो नराम्रोसँग सुनाइराख्छ ।
म ती दिनहरूमा बानेश्वर-बुद्धनगरतिर गुँड बनाई बस्दै थिएँ । बनस्थलीको गुँडदेखि आफ्ना पुस्तकहरूलाई काखी च्यापेर शंखमूल किनारमा गुँड सरेको थिएँ, झिनामसिना घस्यौटा र सुकेका पातहरू संकलनमा अहोरात्र खटिइरहेको थिएँ । भर्खर गुँड सरेको थिएँ, अत्याधुनिक झ्यालदानी जड्नुपर्ने किसिमको बडो ठिस-ठिस-महाठिस किसिमको घर थियो त्यो । र, अत्याधुनिक झ्यालदानीको मूल्य मेरो ओहोदाभन्दा धेरै परको थियो ।
उसो त झ्यालदानीसँग मेरो व्यक्तिगत हिमचिम त्यति बाक्लो छैन । म झ्यालदानीको उति साह्रो औचित्य देख्दिन । तर बहिनी पनि साथमा हुँदा र लेखनको लागि प्राइभेट स्पेसको औचित्यलाई स्थापित गर्न झ्यालदानी आवश्यक थियो ।
माघको एक ठहर्याइलो साँझ राम्रा-राम्रा कविताहरू लेखिरहने त्यो जन्तु, मकन आएको थियो । जसै उसले चाल पायो कि मेरो डेराका तीनवटा झ्यालमा कतै गम्छा, कतै तन्ना र कतै मजेत्रोले झ्यालदानीको काम गरिरहेका छन् । उसकन दया आयो या माया, उही जानोस् तर ऊ त्यसको तीनचार दिनपछि मकन एक भारी झोला बोकेर टुपुल्कियो । र, झोलामा उसले सोही अत्याधुनिक झ्यालदानी बडो कलात्मक तरिकाले लपेटेको थियो । फेरी माघकै कुनै मनोहर दिउँसो ऊ मकन उसैगरि अर्को भारी झोला बोकेर टुपुल्किएको थियो । उसको यस किसिमको मोहित बनाउने मित्रताले मेरो हृदयकन प्रफुल्लता प्रस्फुरण गरायो, जसको कम्पन आजसम्म पनि मकन जीवित नै छ ।
खैर झ्यालदानीको माघ महात्म्येपश्चात अब कुरालाई गति प्रदान गरौँ । वर्तमानतर्फ अग्रगामी छलाङ लगाऔँ । (कमरेड माओ, तपाईँको छलाङको म यहाँ किन्चित कुरा गरिरहको छैन ।)
देब्रेपट्टिको झ्यालदानी खोल्छु र दक्षिणकालीको खोँच नियालिबस्छु । तुवाँलोले धेरै परसम्म देख्न दिँदैन । नजिकैको चोभार जङ्गल समेत डम्म ढाकिएको छ । भगवान् श्री कृष्णद्वारा चरम स्पर्श भएको र बोधिसत्त्व पद्मशम्भवको तपस्या स्थल दक्षिणकाली यतिखेर तुवाँलोको तकिया च्यापेर निरन्तर घुरिरहेको होला । उसलाई मङ्गलमय निन्द्राको कामना । निन्द्रामा माता श्री दक्षिणकालीको महाप्रस्थान होस् । मसँग दयाको कुम्लाकुम्लीहरू छन्, तिनलाई यतै छाड्दिन्छु । तिनलाई यस झ्यालदानीले सँगालोस्, बटुलोस् ।
फेरी दाहिनेपट्टिको झ्यालदानी खोल्छु र थानकोटको खोँच नियालिबस्छु । थानकोट भञ्ज्याङ आजभोलि दक्षिणकाली झैँ निदाइरहन सक्दैन । उसलाई मोटरका आवाजहरूले लगातार छेडखानी गरिरहन्छन् । ‘भिमफेदीबाट बोकेर ल्याइएको मोटर-कार चन्द्रागिरीबाट थानकोट झारिँदै’ नामक फोटोको याद आइरहेछ यतिखेर ।
जसप्रकार मकवानपूरको ऐतिहासिक नगरी भिमफेदीले थानकोटको निन्द्रा चोर्यो, बिल्लीबाँठ पार्यो । उसैप्रकार थानकोटको नित्य जामले मेरो बिल्लीबाँठ उडाएको छ-पटकपटक ।
थानकोटको जामले करिबन ५/७ वर्ष मलाई सास्ती दियो । आजभोलि थानकोटले अलि संयमता अपनाएको छ तर पनि दिनदोपहरमै ओठतालु सुकाउन छाडेको छैन । हतार नभइकन गाडी चढ्ने कुरा भएन । कहीँ दूर पुग्न मन नभइकन गाडी चढ्ने कुरा भएन । सहर छोड्ने मन नभइकन गाडी चढ्ने कुरा भएन । तर यो फटाहा यस्तो छ, जतिखेर च्वाप्प च्वाप्प समातेर ल्वाप्प ल्वाप्प आफ्नो काखी सुँघाउन खोजिरहन्छ । थानकोटको काखीजस्तो सुवासयुक्त त सत्ते सत्ते मलाई ‘क्लाइभ क्रिश्चियन नम्बर वान इम्पेरियल मजेस्टी’ नामक परफ्युम पनि बास् नआउँदो हो । आजभोलि सहरमा नयाँ जोकले मुन्टो उठाएको रहेछ, ‘बानेश्वर देखि थानकोटको जाम के जाम, सगरमाथाको जाम पो जाम ’ । आफू सगरमाथा नपुगे पनि त्याँको जामको कल्पनाले मलाई थानकोटको जामदेखि पर घचेट्छ ।
ठ्याक्कै नाक सामुन्ने चन्द्रागिरी रिसोर्ट-ए-केवलकार देखिन्छ । यसलाई देखेपछि मलाई मेरो प्राचीन दिनहरूको याद आउँछ । त्यतिबेला कीर्तिपुरमा म आफ्नो ‘झल्लु दरबार’को जग निर्माण गर्दै थिएँ । ती दिनहरूलाई याद गरिरहँदा मलाई लम्बेतान घटनाहरूको सम्झना हुन्छ । त्यसमध्येको एक प्रमुख घटना यसप्रकार छ:
यस चन्द्रागिरी हिल्स आफ्नो ऐतिहासिक २,५०० मिटर उचाइको हवाला दिँदै प्रचण्डको हातबाट आफ्नो उद्घाटन सत्र मनाउँदै थियो । कुरो, ७३ साल पुसको दोस्रो हप्तातिरको हुनुपर्छ । म मेरो प्राणप्रिय प्रेमिका उर्फ साइकल-ए-पुसबाइकलाई काँधमा हालेर चन्द्रागिरी हिल्स मुन्तिर भेटिएको पिल्सको प्याकेटलाई ओल्टाइपोल्टाइ गर्दै थिएँ । केहिबेर ओल्टाइरहेपछि, पल्टाइरहेपछि मलाई याद भयो, मैले पिल्स-ए-ई कोन नखुवाइकन भर्खरै प्रेमिकालाई बिदाइ गरेको थिएँ । हत्त न पत्त फोन गरे र भने, “म्याडम जी, पिल्स खान नभुल्नुहोला नि है ।’ उहाँले यसपटक खाइसकेको र अब आइन्दा खान नसक्ने बताइसकेपश्चात मैले चन्द्रागिरी हिल्समुनि बसेर फेसबुक खोलेको थिएँ । न्युजफिडमा एक लाइभ प्रसारण भइरहेको थियो । आवाज थियो- निवर्तमान प्रम पुष्पकमल दाहाल उर्फ प्रचण्डको । उहाँ भन्दै हुनुहुन्थ्यो, ‘यो केबलकार चामत्कारिक विकासको नमुना हो ।’ त्यसदिन प्रमज्यू केबलकारको उद्घाटन सत्रमा हुनुहुँदो रहेछ । त्यस दिनदेखि मैले त्यो हिल्समा पाइला हाल्दिन भनेको छु । कहिलेकसो साथीहरू हाइकिङको लागि उस्तै चामत्कारिक नमुनाको रूपमा चन्द्रागिरीको हिल्सको चर्चा-ए-परिचर्चा गरिरहेका भेटिन्छन् । त्यतिबेला मलाई तिनीहरूलाई पनि एक-एकुन्टा पिल्स दिन मन लाग्छ । र भन्न मन लाग्छ, “यो पनि निकासको चामत्कारिक नमुना हो । लेओ, एकएकुन्टा निल । र चन्द्रागिरी जाने तिमीहरूको प्लान तुहाओ ।”
मलाई कहिलेकाहीँ लाग्छ, चन्द्रागिरी हिल्समा अनावरण गरिएको ५.८ फिट अग्लो पृथ्वीनारायण शाहको सालिक सहरी विकासको चामत्कारिक नमुनादेखि जिल्स-ए-टिल्स भइरहेको होला । मलाई यतिखेर यस्तैयस्तै फिल्स भइरहेछ ।
अब प्रसङ्गलाई डाँडाकाँडाबाट ओरालेर आफ्नो कोठा र बुइगलतिर पर्छार्नुपर्छ । नत्र ‘सिमसिमे पानी रै’छौ बेइमानी’ हुन्छ । यो सिमसिमे झरीमा तपाईँहरूलाई र आफूलाई यी यस्ता खोँच-ए-हिल्सतिर डुलाएर लखतरान बनाउनु हुँदैन ।
वैशाखकै महिना भए पनि ठन्डा-ठण्डा कुल कुल मौसम छ । यतिबेला भुइँमा पछारिरहेको १५-१६ किलोको डसनातिर बसौँ । एक-दुईवटा चाक्ला तकियाहरू छन्, त्यसमाथि आ-आफ्ना बाक्ला-पातला चाकहरू बिसाउनुस् । त्यसपछि एक-एक कप अदुवा हालेको कफी समाउनुहोस् । अनि कुरालाई सुरु गरौँ, आ-आफ्ना तन मन सम्पूर्ण मलाई सुम्पिएर तपाईँहरू ‘सुरुप्प, सुरुप्प.. पार्न सक्नुहुन्छ तर याद रहोस्, सुरुप्प सुरुप्पको आवाज चर्को भएको खण्डमा हामी फेरि अनकन्टार खोँच-ए-खोल्सातिर पुग्नेछौँ, जहाँ सिर्फ एक काम गर्न सकिनेछ…आच्छुछु..आच्छुछु..।
अँ, म भन्दै थिएँ- सामुन्नेको डाँडा मेरो नित्य उपासनाको भजनमण्डलीजस्तो भएको छ । डाँडालाई नियालिरहन्छु, लामो समयसम्म चुपचाप बार्दलीमा अडिग रहिरहन्छु । र झर्कोफर्को लाग्नेगरी त्यहाँ आसन जमाइसकेपछि म यही ओछ्यानमा लड्न आइपुग्छु । जहाँ गोलघेरा लागेर तपाईँहरू आ-आफ्ना चोरी र बुढी औँलामा अदुवा हालेको कफी कप फसाएर मेरो आँखामा ट्वाल्ल-ए-वाल्ल परेर हेरिरहनु भएको छ ।
तपाईँहरू यस किसिमको कफीको स्वाद निलेर सोचमग्न हुनुभएको होला । ‘यार..कफीमा अदुवा कसले हाल्छ बे ?’
तपाईँहरू सही नै हुनुहुन्छ । चिनी बेगरको खल्लो-खल्लो-महाखल्लो दूध कफीमा अदुवा सर्भ्ड भएको यो एक ऐतिहासिक क्षण हो । यस क्षणको मजा उठाउनुस् । मजा उठाउनुपूर्व तपाईँहरूलाई यस किसिमको आन्ग्रेपाङ्ग्रे रेसिपीको बारेमा सम्पूर्ण विवरणहरू बताउनु उपयुक्त हुनेछ । विवरण तपशील बमोजिम छ, जसको सुविस्ताले चर्चा हुनेछ ।
यतिखेर बिहानको १० बज्न खोज्दै छ । होइन, होइन तपाईँहरूले आ-आफ्नो घडी हेर्नुपर्ने छैन । यो मेरो अन्दाज हो, तपाईँहरू पनि आ-आफ्नो हिसाबले समयको अन्दाज लगाउन सक्नुहुनेछ । समयको अन्दाज लगाउनु र गलत साबित हुनु यो एक खुबसुरत कुरा हो, यसको सुवासमा मस्त रहनुस् । आफ्नो नाडीको घडीलाई नाडीमै छाडिदिनुहोस् । त्यो समय के समय जो घडीमा छ, नाडीमा छ ? समय त घडीबाहिर पो छ, समय त नाडीबाहिर पो छ ।
अँ, आजको मेरो बिहान बहुत आवारा रह्यो । मसँग उठिसकेपश्चात गर्नको लागि केही पनि थिएन । उठिसकेपछि गर्नलाई दिसा-पिसाब त रहन्छ भन्नुहोला, रातभरि सुत्नुपर्ने हुन्छ त्यसो गर्नको लागि । बिहानको ३ बजेतिरै नै मैले आफ्नो नित्यकर्म तमाम गरिसकेको हुनाले आज उठिसकेपछि दिसा-पिसाब गर्ने कामसम्म मसँग रहेन । कति अभागी होला त्यो मान्छे, जो बिहानको दिसा-पिसाबबाट वञ्चित हुनुपरेको छ ? अनुहार पखाल्न सक्थेँ, दाँत खकाल्न सक्थेँ ।
तर यो सब गर्नुको अर्थपरकता मैले भेटिनँ । नुहाऊँ नुहाऊँ लागेको थियो तर दर्किरहेको झरी देखेर मेरो जीउ थर्किरहको थियो, थरर थरर..थर्र थर्र..थरर..।
कुरा के भन्दा, देशभर लकडाउन छ । लकडाउनभन्दा पनि फकडाउन छ । फकडाउन भएको देशमा जतिखेर उठे पनि के ? ननुहाए पनि के ? मुख नधोए पनि के ?
‘धनीमानी चोकचोकै, गरीबहरू भोकभोकै’ भइरहेको वर्तमान स्थितिमा संवेदनशिलता अपनाउनु नितान्त जरूरी छ । यतिबेला हाहा र हिहि गर्नेबेला छैन । ओली सरकारले चामत्कारिक रूपमा कोरोनाको न्यू भेरियन्टलाई फैलाइरहेको अवस्थामा अदुवा हालेको मिल्क कफी तपाईँहरू सामुन्ने छ, जसलाई निलिरहँदा तपाईँहरूले आफ्नो मोला (मास्क) चिउँडोतिर सर्काउनु भएको छ । मोला लगाएर कफी पिउन सकिएको खण्डमा चमत्कार होइजान्थ्यो । र, यतिबेला मोला दाल, भातभन्दा जरूरी भएको छ । बरू दिसापिसाब रोक्नुस् तर मुखमा मोला लाउन नबिर्सिनुस् । तपाईँहरू सबैको मुखमा मोला देख्दा मलाई खुसी लागेको छ ।
न्यु भेरियन्टको जोडतोडको सङ्क्रमण बढ्दो छ । सरकार र कोरोनाबीच घम्साघम्सी छ, छ्याइमाने हुतुतु चलिरहेको छ- कसले पहिले जनता सिद्ध्याउने भनेर । माहौल हेर्नलायक छ, देख्नलायक छ । तर महशुस गर्नलायक पटक्कै छैन । आफ्नो छातीमा सरकार र कोरोना दुवै एकसाथ लडिरहँदा मस्तिष्क सन्न भएको छ, कन्पारोको नसा बटारिएको छ । दुई साँढे जुधिरहेका छन् । र, दुवैको अहिलेसम्म सिङ फुक्लिएको छैन । सिङ फुक्लँदासम्म मलाई लागिरहेछ, हामीहरूको दैलोमा गन्धेका झारहरू बढ्नेछन् ।
यता, प्रि-मनुसनको हवाला दिँदै सुरु भएको निरन्तरको वर्षातले लामखुट्टे पालन सुरु गरेको छ । लामखुट्टेहरूको उल्लेख्य रूपमा जनसङ्ख्या वृद्धि हुनेबेलासम्म हामी बाँचिरहनु अत्यावश्यक छ । अन्यथा रगत चुस्न नपाएको निहुँमा लामखुट्टेहरूले सरकार चुस्नेछन् र सरकारले लामखुट्टे । त्यसपछि अर्को एक निर्णायक लडाँइ हुनेछ- न्यु भेरीयन्टसँग । सो घम्साघम्सी हेरेर ताली पिट्ने हामी हुनुपर्नेछ । घटना यसप्रकार नहुने पुरापुरा सम्भावना छ । तर यतिखेर चलिरहेको प्रदेशस्तरीय छ्याइमाने हुतुतुले यसैप्रकारको स्थिति निम्त्याइरहेछ । र, केन्द्र सरकारको कुनै पनि हिसाबले ‘फ्याक्ट चेक’ गर्न बाँकी छैन । रमिता आयोजना यसैले गरेको हो। अनिश्चितकालीन ‘छ्याईमाने हुतुतु’ आयोजना समारोहमा मस्त सरकार सम्भावित दुर्घटनादेखि बच्नका लागि ‘पार्टीभित्रको अन्तर कलह यथावत्’ नामक तँछाडमछाडदानी किन्दै छ र राष्ट्रपति महोदया फटाफट विधयेकहरूमा हस्ताक्षर पडकाउँदै हुनुहुन्छ । ‘लालछाप’ नामक धुप सल्काएर उहाँ त्यो मछाडदानीमा निदाइरहेको सरकारको गस्ती गरिरहनुभएको छ, पहरा दिइरहनुभएको छ ।
दैलोमा कोरोना छ । दैलोदेखि निस्कने कुरा भएन ।
अस्पताल भन्छ- ‘अब भुईँमा राखेर उपचार गर्ने हो ।’
डाक्टर भन्छन्- ‘नसुतेको हप्ता दिन नाघ्यो ।’
बिरामी भन्छन्- ‘अब बाँच्न सकिएला जस्तो छैन ।’
कोरोना भन्छ, ‘अब चाहिँ बाँचिएला जस्तो छ । ‘
सरकार भन्छ- ‘दिदीबहिनी एवं दाजुभाइहरू ! गजब छ..। भव्य छ । तयारी छ। आत्तिनु हुँदैन । बेलौती छ, बेसार छ ।’
(प्रधानमन्त्रीले हिजो साँझ नै देशवासीको सम्बोधन पड्काइ सक्नुभयो । उहाँको अनुसार फ्याटिए तत्त्वको हिजोअस्तितिरै भ्यासेक्टोमी भइसकेको छ ।)
दिदीबहिनी एवं दाजुभाइहरू !
त्यही हो, शुक्रकीटबाहिनी नली (वीर्यनली)मा दुईचार बुँद शुक्रकीट निख्रिन बाँकी होलान्, त्यसकारण ३/४ महिना कन्डम (लकडाउन) प्रयोग गरौँ । घरमै बसौँ । आफू आफ्नाहरूको अनुहार हेरिरहौँ । त्यतिन्जेल म देशको अण्डकोष थैली(पुँजी) रित्ताइसक्छु । अहिलेलाई आ-आफ्नो नलीमा बेसार दल्दै गरौँ । बेलौतीको पात चपाउँदै गरौँ ।
सरकार बेसार व्यवस्थापनमा तीव्रतम रूपमा लागेको छ, बेलौतीका पातहरू गाईबस्तुको मुखमुखदेखि थुतेर भए पनि ल्याइनेछ । त्यतिले पनि पुगेन भने कोलकाता बन्दरगाहाबाट आपूर्ति गरिनेछ । रासायिनिक मलको अल्पताले हामीकहाँ बेलौतीका रुखहरू सुकेको अनुमान लगाईएको छ तर म तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु कि, दोस्रो लहरको रोकथाम र नियन्त्रणका लागि सरकारका सम्पूर्ण बेसारे एवं बेलौते संयन्त्र परिचालित भएका छन् । सङ्क्रमणको साङ्लो चुडाउन अस्पताल वा आइसोलेशन केन्द्रमा बेसार खेती गरिनेछ, बेलौतीको रुख लगाइनेछ । नेपाली सेनालाई प्रदेश तथा राजधानीमा शीघ्र एक/एक हजार बट्टा बेसार र बेलौतीको बेर्ना राहतस्वरूप प्रदान गर्न निर्देशन दिइसकिएको छ ।
दिदीबहिनी एवं दाजुभाइहरू !
सरकारी तथा निजी अस्पतालले आफूकहाँ उपलब्ध बेसारजन्य साथै बेलौतीजन्य स्वास्थ्य सामाग्रीहरूको विवरण सूचिकृत गर्ने र त्यस विवरण तत्काल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा अध्यावधिक गर्नेछन् भनेर म विश्वस्त छु । कुनै अस्पतालले विवरण पूरा नपठाई बेसारका बट्टा र बेलौतीको बेर्ना लुकाएको भेटिएमा ती अस्पतालहरूको वैधताको पिसीआर परिक्षण गरिनेछ ।
दिदीबहिनी एवं दाजुभाइहरू !
यस भेरियन्टले श्वासप्रश्वासमा जटिल समस्या पार्ने हुँदा एन्टिभाइरल औषधि तथा अन्य जीवनरक्षक औषधिमा भर नपरी बेसार र बेलौतीमा नै आफ्नो तनमन खर्चिनु हुनेछ भनेर मैले विश्वास लिएको छु । अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन अहिलेका लागि बेसारे अस्पताल र बेलौतीजन्य उपचार प्रयोजनका लागि मात्र प्रयोग गर्नेगरी अन्य क्षेत्रमा आपूर्ति गर्न रोक लगाइएकाले तपाईँहरूलाई विनम्र अनुरोध छ, सास फेर्ने उपक्रममा सकभर नबरालिनु हुन तथा मृत्यु नै अन्तिम सत्य हो भन्ने वास्तविकतालाई आत्मसात गर्न अनुरोध गर्दछु ।
मलाई आशा छ, जुन रुखबाट हामी कार्बनडाइअक्साइड पाउँछौँ, जुन रुखहरूलाई हामी अक्सिजन दिन्छौँ, त्यही रुख यदी रहेन भने के हुन्छ, हालत ? यसर्थ सरकार हलेदो र बेलौती खेतीमा अग्रगामी छलाङ मार्दै हलेदो र बेलौतीको वृक्षारोपणतर्फ सक्रियताका साथ लागेको र ‘नयाँ युगको सुरुवात’ गर्नतर्फ अग्रसर भएको वास्तविकतालाई मनन गरिदिनुहुन आग्रह गर्दछु ।
दिदीबहिनी तथा दाजुभाइहरू !
जनशक्तिको अभाव हुन नदिन सङ्घ, प्रदेश र स्थानीय तहमा अवकाशप्राप्त बेसार परामर्शदाता र बेलौती जनस्वास्थ्यविज्ञहरूलाई एक वर्षका लागि करारमा भर्ना गरिनेछ । कोभिड-१९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारप्रसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, चालक तथा सहचालक र सफाइकर्मीका साथै कर्मचारीहरूलाई प्रारम्भिक तलब स्केलको ५० प्रतिशत जोखिम भत्तास्वरूप ५०० बेर्ना हलेदो र परिवारलाई फ्याटीए उपचार र बेलौती बीमा व्यवस्था गरिनेछ ।
सङ्क्रमणको साङ्लो तोड्नको लागि जारी गरिएको निषेधाज्ञा तथा बन्दाबन्दीका कारण कसैलाई पनि भोकै पर्न नदिनेमा सरकार सचेत रहन्छ । कसैले भोकै मर्नुपर्ने स्थिति आएको बताएमा घरघरमा एक-एक पोका बेसार र बेलौतीको समिश्रणबाट तयार पारिएको ‘फेमली बेलौती-बेसार तेल’ दैलो-दैलोमा पुर्याइनेछ । पानी खाएर त बाँचिन्छ भने यसप्रकारको अमूक औषधिजन्य तेल सेवनबाट नेपालीहरूको मुटु दह्रिलो एवं बलियो हुने कुरामा कुनै शंकै भएन ।
दिदीबहिनी तथा दाजुबहिनिहरू !
नेपालमा कोभिड-१९ विरुद्ध सबैलाई निःशुल्क खोप उपलब्ध गराउने प्रक्रिया सुरु गरिएकोमा त्यसबाट खासै ‘नयाँ युगको सुरुवात’ होला जस्तो नदेखिएकाले त्यसलाई बन्द गर्दै कोभिडबाट मृत्यु हुनेको संख्या गन्न हामी अग्रसर भएका हौँ । लकडाउनको समयमा ‘राष्ट्रिय जनगणना कार्यक्रम’लाई सफलता दिलाउनुहुन तपाईँहरू सम्पूर्णले आ-आफ्नो नाम ‘कोरोना मृतक’को संख्यामा सूचीकृत गर्नुहुनेछ भनेर मैले आशा गरेको छु ।
दिदीबहिनी तथा दाजुभाइहरू !
अत: छिटोभन्दा छिटो पर्याप्त मात्रामा नेपाललाई मसानघर बनाउने अभियानमा तपाईँहरूको संक्रिय संलग्नता रही सरकारको प्रयत्नलाई सफल बनाउनुहुनेछ भन्ने आशा गरेको छु ।
गजब छ…। भव्य छ । तयारी छ । आत्तिनु हुँदैन । बेलौती छ, बेसार छ । नमस्कार ।
ए..कुरा कताकता बटारिएछ, तपाईँहरू हातमा कप समाएर मेरो मुखमा प्वाक्क परेर हेरिरहनु भएको रहेछ । म कुरा गर्दागर्दै, कताकता पो पुगे । सोझो सोझो बताउनलाई हालसम्म मैले बेलौतीको पात चपाएको छैन । बेलौतीबेसार तेल सेवन गरेको छैन । यसर्थ माफ पाऊँ ।
मैले त बस्, तपाईँहरू अदुवा हालेको कफीको रेसिपी बताउँछु भनेको थिएँ । अँ, एक्कासि आज मकन अदुवा हालेको कफी कसरी पाक्यो होला ? यसको सप्रंसश व्याख्या यस्तो छ,
साढे ९ बजेतिर मैले ताप्केमा पानी बसाले । एक कप पानी पिएर बचेको अर्को कप पानीमा दुई चम्चा चियापत्ती राखेर अदुवा थिचे । अदुवालाई पनि त्यही खनाएँ । जसै कालो चियाले आफ्नो परिचय दिन सुवास छाड्यो, मेरो आँखाले स्टिलको गिलास भरिभरि ढलपल ढलपल गरिरहेको दूध देख्यो । एक मन त सोचेँ, बिग्रियो कि ? तर दूध बिग्रिए पो पनिर । यही सोचेर भक भक उम्लिरहेको कालो चियामा खललल..त्वाप त्वाप..त्वाप्प दूध खनाएँ । जसै चिनीबेगरको दूध चिया छड्कन थाल्यो, मेरो हृदयले भन्यो कफीका दानाहरू पनि होलान् ।
मेरो हत्केला र आँखा यति रफ्तारमा बट्टाहरू हल्लाउन उद्वेलित भए कि तिनले हर्लिक्सको भाँडा भरिभरि डम्म भरिएको कफी भेट्टाएर छाडेँ । अन्ततः कालो चियाले दूध हालेको चिया हुँदै अदुवा हालेको कफीसम्मको यात्रा तय गर्यो ।
अदुवा हालेको कफी मैले प्रथमपटक खाएँ । र, स्वाद ?…लाग्यो के भन्दा, स्वादको यो एक अनुपम नमुना थियो । गन्धको बेजोड काव्यात्मक प्रस्तुति । मिठासको अतुलनीय कलात्मक अभिव्यक्ति । माम्पाखा…अदुवा हालेको कफीलाई मेरो साधुवाद छ । यति मीठो लाग्यो, तपाईँहरूलाई पनि बोलाएँ । तपाईँहरूलाई पनि पिलाएँ । तपाईँहरूलाई पो कस्तो लाग्यो ? जस्तो लाग्यो, जे लाग्यो..भन्नुहोला । एउटा अनुरोध, साँचोसाँचो भन्नुहोला ।
लेखक परिचय
धादिङका राजु झल्लु प्रसाद कविता, कथा, मनोविश्लेषणात्मक लेख साथै अखबारीय लेखनमा पनि सक्रिय छन् । अनलाइन पत्रिका न्युजकास्ट नेपालमा कलासाहित्य विधाका प्रमुख रहेर काम गरिरहेका झल्लु प्रसाद त्रि-चन्द्र कलेजमा बिएससी अध्ययन समेत गर्दैछन् ।
(प्रकाशन मिति: बैशाख २२, २०७८, शब्द सोपान)