अस्तित्व संकटमा गुप्तेश्वर गुफा (३ वटै भाग)

You are currently viewing अस्तित्व संकटमा गुप्तेश्वर गुफा (३ वटै भाग)

अस्तित्व संकटमा गुप्तेश्वर गुफा (भाग-१)

Raju Jhallu Prasad

गुफा सहित गुफा परिसरको भजनमण्डली, तल्लो सत्तल, गुफामाथि रहेको गायत्री मन्दिर परिसर सहितको पाखा भासिने जोखिम टड्कारै छ ।

image

पर्वत । पुरातात्त्विक र वैदिक परिचय दिने ‘भालु दुलो’ नामले परिचित कुश्मा नगरपालिका वडा नं ४ स्थित गुप्तेश्वर गुफाको अस्तित्व सङ्कटमा परेको छ । कमिसनको लोभमा अनेकन् शीर्षकमा हचुवामा सञ्चालित योजनाहरूबाट नगरपालिकाको उत्तर–पश्चिम कालीगण्डकी तटमा अवस्थित गुप्तेश्वर गुफा संकटासन्न रहेको हो ।

गुफा प्रवेशद्वारको ज्यानमारा विद्युत् ट्रान्सफर्मर, डौँडारे खोलाले बर्सेनि निम्त्याउने जोखिम, खुलेआम जग्गा अतिक्रमण, ग्रील र कङ्क्रिटको थुप्रो (निर्माणाधीन शिव-पार्वती पार्क) लगायत अविवेकी गतिविधिहरूले आदिम युगलाई बचाइरहेको गुफालाई तथानामको विकासले आपतविपतको स्थितिमा पुर्‍याएको हो ।

गुफा प्रवेशद्वारमाथि कंक्रिटको ‘भव्य संरचना’ ओढाइएको छ

इतिहास:

ज्ञात इतिहास अनुसार, कालीगण्डकी नदीमा नुहाएर फर्कँदै गर्दा वि.सं. १९९१ चैत्र ६ गते स्थानीय रत्नबहादुर कार्की, दलबहादुर राना मगर, रूपनारायण श्रेष्ठ, सर्वजीत खत्री र श्यामप्रसाद जोशीसहित पाँचजना युवा प्रथमपटक गुफामा प्रवेश गरेका थिए । यसपछि गुफाले स्थानीय समाजसँग परिचय साट्यो र आफू विराट र अलौकिक रहेको एकपछि अर्को प्रमाण पेश गर्‍यो ।

फरक भौगोलिक विशेषता बोकेको जिल्ला सदरमुकाम कुश्मा (कुमुपुर/कुशुमपुर)लाई तत्कालीन समयमा भोट-मधेश गर्ने नाकाको रूपमा  लिइन्थ्यो । उतिबेलै काठमाडौँ-पोखरा हुँदै मुक्तिनाथ, दामोदरकुण्ड, मानसरोवरसम्म जाने स्वदेशी-विदेशीहरूको आगमनसँगै कुश्मामा आर्थिक चहलपहल बढ्दै गयो । फलतः गुफा जनमानससम्म पुग्यो ।

यसैक्रममा, राजा महेन्द्र पनि कुश्मा आइपुगे । ०१५ सालमा तत्कालीन राजा महेन्द्रको पश्चिम क्षेत्रको भ्रमणको सिलसिलामा यहाँ आइपुगेका बताउँछन्, स्थानीय जगदीश श्रेष्ठ । “त्यतिबेला तीन तले गुप्तेश्वर गुफालाई राजा महेन्द्रले एक हजार मुरी माटो दान दिएका थिए”, उनले भने । हाल भक्तजनहरूले क्रमशः पहिलो तलालाई स्वर्गलोक, दोस्रोलाई ब्रह्मलोक जस्ता नाम दिएको पाइन्छ ।

गुफाभित्र अन्गीनत यस्ता पुरातात्त्विक आकृतिहरू छन्

२०१९ साल माघ १६ गते पोखरा मल्टिपल हाइस्कुलका प्रधानअध्यापक नवीनकुमार श्रेष्ठसहित सातजना कुश्मा आइपुगेको स्मरण गर्छन्, साहित्यकार एवम् गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थाका पूर्व अध्यक्ष शान्तिनारायण श्रेष्ठ (जन्म:१९९६) । उनीहरूलाई गुफा घुमाउने जिम्मा श्रेष्ठले पाए । “उहाँहरूलाई गुफा छ भन्ने थाहा भएको तर, कहाँ छ/कसरी जाने थाहा रहेनछ । म कालीगण्डकीमा पौडी खेलेर फर्कँदै थिएँ, उहाँहरूसँग भेट भयो”, उनी आफ्नो युवावय सम्झँदै भन्छन् ।

२००१ सालमै आफ्ना केही साथीसहित गुफाको तीन तलासम्म उक्लिएर गुफाको कुना-कुना चहारिसकेका श्रेष्ठले कुशलतापूर्वक आफ्नो भूमिका निभाए । “गुफाको प्रचारप्रसार खासै नहुँदा पनि उहाँहरू यहाँ आइपुग्नुभयो । गुफा घुमिसकेपछि उहाँहरूले गुफा अलौकिक रहेको तर यसको प्रचारप्रसारका लागि पुस्तक, ब्रोसर, पम्पलेट, गाइड पुस्तकको आवश्यकता औँल्याउनुभयो”, श्रेष्ठ भन्छन् ।

साहित्यकार एवम् गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थाका पूर्व अध्यक्ष शान्तिनारायण श्रेष्ठ (बायाँ)

‘गुप्तेश्वर खण्डकाव्य’ले दिलाएको गुफाको परिचय

यसपछि गुफाको प्रचारप्रसारकै खातिर श्रेष्ठले १० दिनमै अर्थात् २०१९ माघ २६ गते ‘गुप्तेश्वर खण्डकाव्य’ तयार पारे ।

त्यतिबेला स्थानीयस्तरमा स्थानीय सामग्री अध्ययन, अनुसन्धान, प्रकाशन गर्ने प्रेस थिएन । पाण्डुलिपि त्यसै रहिरह्यो । पछि, २०२४ सालमा उनी चितवन (सहकारी सब इन्स्पेक्टर, भूमिसुधार कार्यालय) मा रहँदा साक्षातकार प्रेस, नारायणघाट पुगी १००० प्रति पुस्तक (रु. १० मोल) प्रकाशन गरे । यस पुस्तकले गुफाको प्रचारप्रसार तथा विकासमा मनग्य टेवा पुर्‍याएको दाबी श्रेष्ठको रहेको छ ।

छन् राम, सीता, लक्ष्मण, साथै निहुरेका हनुमान ।
भरत अनि शत्रुधन पनि, ठीक मिल्ने अनुमान ।।
चौतर्फी हेर्नुस् पखेरा भीर, बीचमा चौका छ ।
त्यसैमा राम विराजमान, हेरने मौका छ । (गुप्तेश्वर खण्डकाव्य, पृ.१९)

यसप्रकार, गुफाको वृहत् आकार, गुफामा खोपिएका उत्सुकता, रहस्य, सपना, आशा र सम्भावनाका दृश्यहरूको चामत्कारिक वर्णन प्रचारमा आयो । फलतः टाढाटाढाबाट दर्शनार्थीको घुइँचो लाग्न थाल्यो । र, लागिरह्यो ।

बिडम्बना, गुफाले त्यो प्रचार र परिचय लामो समयसम्म स्थापित गर्न सकेन, जो देशका अन्य गुफाले कायम राखे । अव्यवस्थापन र आर्थिक अकर्मण्यताका कारण बर्सेनि गुफाको मौलिकता मासिँदै गयो । पोखराको महेन्द्र गुफासहित अन्यत्रका गुफाहरू परिचयमा आउँदै गर्दा गुप्तेश्वरका गुहालेख, गुहाचित्र, शिलानिर्मित मूर्ति, चट्टान अभिलेखको अन्वेषण, अनुसन्धान त परको कुरा, यथेष्ट प्रचारप्रसार समेत हुन पाएन ।

आक्कलझुक्कल गुप्तेश्वर गुफा पुग्ने बाह्य पर्यटकहरू कहिलेकसो भन्ने गर्छन्, “बाफरे, क्या बेजोड ।”  तर, यी आवाजहरूले त्यो सामूहिक स्वर पाएन । अतः गुप्तेश्वर गुफाका दुखाइ, हेपाइ, चेपाइ र लुटाइका अनगिनत कथाहरू आजसम्म भनिएका छैनन्, सुनिएका छैनन् ।  र, यहाँ अब त्यही गरिनेछ –  गुफाका दुःखका पहाडहरू, अप्ठ्याराका अङ्कुसेहरू, कोपरिरहने कर्कसे काँडाहरूको यथार्थ वर्णन ।

बन्जी हान्नुभन्दा गुफा छिर्नु साहसिक 

कुश्मा हाल बन्जी जम्पका लागि प्रख्यात थलो बन्दैछ । द क्लिफ प्रा.लि.ले विश्वकै दोस्रो अग्लो बन्जी जम्प ( २२८ मिटर/९,७४८ फुट) सहित अन्य साहसिक गतिविधि सञ्चालनमा ल्याएसँगै कुश्मा पर्यटकीय हबको रूपमा जुर्मुराउँदैछ ।

दुर्भाग्य, बन्जी हान्न ओइरिने लर्कोमध्ये सीमित व्यक्तिमात्रै गुफा छिर्ने गरेका छन् । क्लिफ प्रा.लि.मा आएका पर्यटकहरूमध्ये १ प्रतिशतमात्रै गुफा छिर्ने आँकलन छ । उनीहरूलाई गुफासम्म पुर्‍याउन सामान्य होर्डिङ बोर्ड, सूचनापाटीसम्म यहाँ देख्न पाइँदैन । केही ठाउँमा भएता पनि तिनीहरू वैज्ञानिक छैनन् । मानिसहरू गुफा पुग्न अलमलिन्छ्न् ।

बन्जी हान्ने ठाउँदेखि ५ मिनेटकै दूरीमा रहेको तीन तलाको विराट र अलौकिक गुफाबारे थाहा दिने संयन्त्र विकास नहुनु लाजमर्दो कुरा छ ।बन्जी सरह नै गुप्तेश्वर एवम् अल्पेश्वर गुफा छिर्नु पनि साहसिक कार्य नै हो । 

netra prasad parajuli

द क्लिफ प्रा.लि.का सञ्चालकमध्ये एक नेत्रप्रसाद पराजुली

द क्लिफ प्रा.लि.का सञ्चालकमध्ये एक नेत्रप्रसाद पराजुलीका अनुसार, बन्जी हान्न मात्रै दिनमा १०० जनासम्म कुश्मा पुग्ने गरेको रेकर्ड छ । यसबाहेक अन्य साहसिक गतिविधिका लागि दिनहुँ ५ सयसम्म जिल्ला, जिल्लाबाहिर र विदेशका साहसिक पर्यटकहरू कुश्मा आउने गर्छन् ।

बन्जी हान्न आएका आन्तरिक-बाह्य पर्यटकहरूलाई गुफासहित समग्र पर्वत जिल्लामा पुर्‍याउन आफूहरू कोसिसरत रहेको पराजुली बताउँछन् । “बन्जी हान्न आउनुभएकाहरू बेलुका नै पोखरा फर्किनुहुन्छ । आएका कसैले सोध्नुभयो भने हामीले गुप्तेश्वर, अल्पेश्वर, दुर्लुङकोट, मोदी-बेनीघाटबारे बताउने गरेका छौँ । मलाई लाग्छ, यस कार्यमा पालिकाको समन्वयकारी भूमिका देखिनुपर्छ”, उनी भन्छन् ।

पर्वतमा आएका पर्यटकको बसाइँ लम्बाउन पूर्वाधार निर्माण गर्नुपर्नेमा स्थानीय तह चुकेको र अन्यत्रै भुलेको उनले बताए । कुश्मा सेरोफेरोका विविध पर्यटकीय गन्तव्यस्थलहरूको छनौट र पहिचान गर्न नसक्ने राजनीतिक व्यवस्थाको सिकार भई गुफा गुमनाम हुनपुगेको पराजुलीले बताए ।

गुफा प्रवेशद्वारमाथि ओढाइएको कंक्रिटको भवन, जसको जग डौँडारे खोलाले बर्सेनि काट्दै छ

२. गुफा प्रवेशद्वारको ज्यानमारा विद्युत् ट्रान्सफर्मर

गुफा छिर्ने बाटोछेउमै विद्युत् ट्रान्सफर्मर उभिएको छ, जसले अनगिनत बाँदरको प्राण मात्रै होइन, हालसालै एक बालकको हातसमेत लुछ्यो । नेपाल विद्युत् प्राधिकरण (पर्वत) को लापरबाहीले गत वैशाख ४ गते परीक्षा सकेर विद्यालयबाट फर्किँदै गरेका आठ वर्षीय सनम परियारले आफ्नो दाहिने हात सधैँको लागि गुमाए ।

होटेलमा सरसफाइको काम गर्ने आमा फूलमाया परियार ‘गुफा जाने बाटो छेउमै जोखिमपूर्ण अवस्थामा रहेको विद्युत् ट्रान्सफर्मर तुरुन्त नहटे यसले कयौँ सनमको ज्यान लिने बताउँछिन् । “हामीले पटक–पटक जोखिमपूर्ण ट्रान्सफर्मर लाइन यहाँबाट हटाउन पहल गर्‍यौँ, विद्युत् प्राधिकरणले चासो दिँदैन । ऊ गुफाभित्र गरिएको लाइटिङबाट उठेको रकममै आँखा लगाइरहेको छ”, परियार भन्छिन् ।

यसैगरी, गुफाभित्र बिछ्याइएको तारका कारण पनि गुफा छिर्ने पर्यटकहरूमाथि जोखिम बढेको छ । गुफा प्रवेश गर्दा शरीर र टाउकोमाथि तार जेलिने जोखिम र तीर्थयात्रुहरू एक चिहान हुने खतरा पनि उत्तिकै छ । अर्कोतर्फ, गुफामा राखिएका बत्तीहरू गुफाका प्राकृतिक आकारप्रकार देखाउन असमर्थ छन् ।

गुफा प्रवेश गर्दा शरीर र टाउकोमाथि तार जेलिने जोखिम र तीर्थयात्रुहरू एक चिहान हुने खतरा उत्तिकै छ

गुफाभित्र रहेका सयौँ चमेराहरूले उस्तै संकट झेलिरहेका छ्न ।  सहरका बिजुलीको तारमा बस्ने क्रममा पनि चमेरा मर्ने गरेको चमेरामाथि अनुसन्धान गरेका युवा विद्यार्थी वसन्त शर्मा बताउँछन् ।

गुफा क्षेत्रवरपरका विजुलीका पोलले यहाँ बर्सेनि सयौँ चमेराको ज्यान लिइरहेको बताउँछन्, गुफाका पुजारी खेमनाथ पौडेल । “यहाँ त समितिपिच्छेका लहडी सोच/योजनामा काम हुन्छन् । वर्षौदेखि करोडौँको खर्च भयो भन्छन्, गुफाको जोखिम ज्यूकात्यू छ”, उनी हामीसँग चिन्ता बिसाउँछन् । 

३. स्थानीयलाई हिँड्नै सकस

घाँसपात गर्न कालीगण्डकी नदी तटतिर ओर्लँदै गरेका स्थानीयवासी गुफा वरपर खसेको पैह्रो र विद्युत् ट्रान्सफर्मर लाइनले थप दुर्घटना निम्ताउन सक्ने त्रासमा आफूहरू बाँचिरहेको बताउँछन् ।

स्थानीय पदम नेपाली विद्युत् ट्रान्सफर्मर मात्रै नभई आफूहरूले घाँसपात गर्ने मूल बाटो नै जोखिमपूर्ण रहेको बताउँछन् । “विद्युत् ट्रान्सफर्मरले मात्रै होइन, कुनबेला यो बाटोले पनि हाम्रो ज्यान लिन्छ । भित्ता कोपरेर हिँड्नु पर्छ । काली किनारसम्मै यही हालतको जोखिम छ । गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थालाई बाटो बनाइदिन कति आग्रह गर्‍यौँ, सुनेको नसुन्यै गर्छ”, उनी भन्छन्, “पहुँचवालाहरू गुफाछेउमा अन्गीनत व्यापारिक भवन ठड्याउँछन्, हुने नहुने काम गर्छ्न् । तर, हामी स्थानीयलाई त्यसको लाभांश छुट्याउँदैनन् । उनीहरूको विकासले हाम्रो विनाश हुने भयो ।”

ता, घाँसदाउरा गर्न जाने गोपाङ, अर्मादी र कालीघाटसम्म आउजाउ गर्ने बाटोहरू समेत ठाउँठाउँमा अवरुद्ध छन् । “पैदल ओहोरदोहोरगर्न पनि निकै कठिन छ, हामी त दिनहुँ घाँसदाउरा गर्न यही बाटो हिँड्नुपर्छ । आज हो या भोलि यो बाटो खस्ला भन्ने डर छ, वर्षायाम त झन् कसरी हिँड्ने ?”, स्थानीय सुमन जिसी प्रश्न गर्छन् ।

संरचनामुखी विकास खर्चले मानिसको दैनिकीलाई सम्बोधन गर्न नसकेको यो दोस्रो दृश्य हो ।

यो पनि पढ्नुहोस्: कङ्क्रिट र ग्रीलको थुप्रो: कुश्माको शिव-पार्वती पार्क

डौँडारे खोलाले बर्सेनि निम्ताउने जोखिम

गुप्तेश्वर गुफा छेउ भएर बग्ने डौँडारे खोलाले निम्ताउने जोखिम बर्सेनि बढ्दो छ । पाखाथरवासीहरू के हिउँद के वर्षा, पहिरोको सन्त्रास भोग्न अभिसप्त छन् । नगरपालिकाले अभ्यास गरेको गलत विकासका कारण बर्सेनि दुर्लुङ डाँडादेखि नै जमिन भासिँदै छ ।

वर्षा सहकाल हो, तर कुश्मावासीका लागि महाकाल हुँदैछ । हिउँदमा डोजर लगाएर सडक खन्ने र अबीर जात्रा गर्नेहरूले वर्षामा त्यही अव्यवस्थित सडकले निम्त्याएको पहिरोका कारण गाउँ-पाखो खसिरहेको चुपचाप हेरिरहेका छन् । पहिरो दशकौँदेखि खसिरहेको छ । पानीका मुल मुहान सुक्ने समस्याहरू बढ्दो छ । वर्षेनी आउने लगानि प्रत्युत्पादक छैन ।

“निर्माण व्यवसायीहरू पहिरोले बगाएको ढुङ्गा/गिट्टी (ग्रेगरको थुप्रो) सोहोरेर अकुत कमाइरहेका छन्”,  कालीगण्डकी बचाऔँ अभियन्ता एवम् प्रकृति चिन्तक आरके अदीप्त गिरि भन्छन्, “नगर तटबन्ध गर्नतर्फ सोच्दैन, तिनै व्यवसायीसँग कमिशन माग्छ ।” डौँडारेको सौम्य प्रवाहको लागि राजनीतिक प्रजाति (राज्यले लाज ढाक्ने)का सिसौ-सल्लो एवम् मिचाहा प्रजातिका रुख-बुट्यान, झाडीहरू हटाउनुपर्ने एवम् अवैज्ञानिक बस्ती विकास र शहरीकरणको उन्मत्तता थाम्नु पर्ने उनको भनाई छ । 

आरके अदीप्त गिरि

“कुश्माको जमिन अत्यन्तै कमजोर छ । शहरीकरण तीव्र छ । वातावरणीय प्रभावको ख्याल नै नगरी हामी काम गरिरहेका छौँ । यस्तो लाग्छ, आफ्नै खुट्टामा बन्चरो हानिरहेका छौँ । विकास योजनामा सकेसम्म वातावरणीय अध्ययनै नगर्ने, गरे पनि कार्यान्वयन भए/नभएको निगरानी नहुँदा कतिपय प्राकृतिक स्रोत समूल मासिँदै छन् । बाढी पैर्होले वर्षेनी क्षति पुर्याएको छ । तर, हामी टुलुटुलु हेर्नबाध्य छौँ”, उनी भन्छन् ।

“कालीगण्डकी नदीको दोहन अझै धेरै छ । दुर्लुङमा सल्लो रोपिएको छ, त्यसले जमिनलाई कमजोर बनाउने र वातावरणीय विनाश निम्ताउनेमा उनको तर्क छ । जसको संकट गुफाले बेहोरेको छ । विकासका सन्दर्भमा हामीले हाम्रा लागि दीर्घकालीन महत्त्व के हो, अहिल्यै खुट्ट्याउन सक्नुपर्छ । वातावरण तथा जैविक विविधता संरक्षण सहितको विकासले मात्र समाज दिगो रूपमा समृद्ध बनाउन सक्छ”, गिरी भन्छन् ।

कालीगण्डकी करिडोर एवम् दौडारे खोलाले वर्सेनी निम्ताउने जोखिम

गायत्री मन्दिर सहितको पाखा भासिने जोखिम टड्कारै

गुफा परिसरको भजनमण्डली, तल्लो सत्तल, गुफामाथि रहेको गायत्री मन्दिर परिसर सहितको पाखा भासिने जोखिम टड्कारै छ । डौँडारे खोलाले बर्सेनि निम्ताएको जोखिमप्रति चिन्ता नहुने हो भने निकट भविष्यमै गुप्तेश्वर गुफा पुरिन सक्ने चिन्ता व्यक्त गर्छन्, गायत्री मन्दिरका महन्त राजेन्द्र गिरि ।

कुश्माको उपल्लो बजार (पुरानो ७ र ९ नम्बर वडा) को नालीको फोहोर डौँडारे खोलामा फ्यालिँदा गुप्तेश्वर गुफा परिसरमा दुर्गन्ध बढेको गिरि बताउँछन् । गुफाको बाह्य परिसरमा यत्रतत्र फ्यालिएको फोहरको यथोचित व्यवस्थापन प्रणालीअझै विकसित हुन् नसकेकोमा उनी चिन्ता व्यक्त गर्छन् । “यहाँ पैसा आउँछ भनेर ३/३ वटा अनावश्यक शौचालय बनाइयो । गुरुकुल शिक्षा पद्धतिको आड लिएर ‘इस्कुल’ खोलेर नक्कली विद्यार्थी खडा गरियो । अनावश्यक भवन निर्माण गरियो तर कमजोर सामग्रीका कारण ती चर्किसके । यहाँ मनलाग्दी चलेको छ, बेकामी शीर्षकका खर्चहरू धेरै गरिए तर पहिरो रोकथामतर्फ सोचिएकोछैन”, उनी भन्छन् ।

गायत्री मन्दिरका महन्त राजेन्द्र गिरि

लामो समयदेखि नेपालको हिमाली तथा पहाडी गुफा अध्ययन गरिरहेका गुफा अध्येता जोनाथन मोरिस हालैको वर्षमा गएको भीषण पहिरोले मध्यपहाडी लोकमार्ग (कुश्मा हुँदै अगाडी बढ्ने) को भू-बनोट कति कमजोर रहेछ भनेर दर्शाउन गतिलो उदाहरण पेश गर्छन् । “यहाँको माटोको अवस्थिति खुकुलो र कमजोर छ । सदियौँदेखि भित्री पाटो खिइँदै गएको छ । चुनको बगाइले वरिपरिका ढिस्काहरू खसि/भत्किरहेका छन् ।

गायत्री मन्दिर सेरोफेरो र  पहरामा अड्किएका ‘ह्याङ्गिङ’ ढुङ्गा/ढिस्काहरू गुफामाथि खस्ने जोखिम बढ्दो छ”, मोरिस भन्छन् । “यसैगरि डौँडारे खोला बौलाउँदै गयो भने कालीगण्डकी थुनिने जोखिम छ”, उनी भन्छन्  । मोरिस भूगोल नचिनी विकासका गतिविधि सञ्चालन नगर्न सुझाउँछन् ।

मनोमानी रूपमा गुफाको जग्गा अतिक्रमण:

गुप्तेश्वर गुफाको विकास, संरक्षण र संवर्द्धनका लागि आएका विभिन्न स्रोतका रकमहरू भौतिक संरचना निर्माणमै खर्चिएको पाइएको छ ।निर्मित संरचनाको लगानी एवम् खर्चको वासलात पारदर्शी छैन ।

नगर, पुरातत्त्व विभाग, संस्कृति मन्त्रालयको ध्यान पुग्न सकेको छैन । हालसालै स्थानीय घनश्याम पौडेलले गुफा छिर्ने मुखैको कान्लोलाई ताँसेर निजी व्यापारिक थलो बनाइरहेका छन् । पूजा सामाग्री राख्न उनले समितिसँग स्वीकृति समेत लिएका छैनन् । यसमा स्थानीय नगर र गुफा समितिको चासो र ध्यान पुग्न सकेको छैन ।

गुफा छिर्ने मुखैकोकान्लोलाई ताँसेर निजी व्यापारिक थलो बनाइरहेका पौडेल

गुफा संस्थाका पूर्व अध्यक्ष शान्तिनारायण श्रेष्ठका अनुसार, वि.सं. २०२४ सालमा प्रशासकीय भवन निर्माण गरिँदा भवन निर्माणमा जग्गाको शोधभर्नामा यही गुप्तेश्वर गुफाको गुठी ३४८ मुरी माटो अर्थात् ७४ रोपनी जग्गा विभिन्न व्यक्तिका नाममा अतिक्रमणमा पर्‍यो । हाल ३८ रोपनी पाखा पखेरु भएको जग्गा मात्रै गुफाको नाउँमा कायम छ भने हाल गुफा उठाइएको क्षेत्र १ रोपनी पनि रहेको छैन ।

गुफा जग्गा अतिक्रमण भएको चर्चा श्रेष्ठले आफ्नो खण्डकाव्यमा यसरी गरेका छन् :

अन्यत्र पनि सार्वजनिक जमिन थिए नि ।
गुप्तेश्वरकै गुठीको जग्गा सोधभर्ना लिए नि ।।
सुकुम्वासी भनेर फेरी केहीलाई बाँड्दिए ।
मामाको धन फुपूको श्राद्ध झैँ गुठी गर्दिए ।।

अब बाँकी जगंल भएर अठ्तीस रोपनी ।
बेवास्ता गरि बस्ने हो भने हड्प्लान त्यो पनि ।।
गुप्तेश्वर प्रति अनास्था गर्‍यौँ भने त अवश्य ।
उन्नति होइन दुर्गति होला कुश्माको भविष्य ।।

अनियमितताको दलदलमा फसेको संस्थाले आयव्यय सार्वजनिक गर्दैन

गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थामा हरेक दुई वर्षमा आयव्यय सार्वजनिक गर्ने प्रावधान छ । तर, अघिल्ला कार्यसमितिले सन्तोषजनक रूपमा सो काम गरिरहेको पाइएको छैन । गुफा हेर्न आउनेहरूबाट जनही २० रुपैयाँ शुल्क गरिएको छ,  त्यसको लेखापरिक्षण हुँदैन ।

यद्यपि, संस्थाका अध्यक्ष तुलसी पौडेल लेखापरिक्षण भइरहेको दाबी गर्छन् । “सोमबार र दान पेटिकामा आउने केही रकम बाहेक संस्थासँग कुनै सहयोग छैन । यसैबाट पूजारीलाई तलब दिइरहेका छौँ । १७ मनोनीत सदस्य रहेको यस संस्थामा ११ जना कार्यसमितिमा रहेका छौँ, हाम्रो हिसाब पारदर्शी छ”, उनी भन्छन् । पौडेल नगरले जोगीको खर्च भने कहिलेकसो १५/२० हजार दने गरेको त्यसबाहेक कुनै सहयोग प्राप्त नभएको उल्लेख गर्छन् । पौडेलले गुफाले बजेट अभाव खेपिरहेको समेत बताए ।

गुफालाई सबैको गन्तव्य, पहुँचमा पुर्‍याउन र यसको विकास, संरक्षण, प्रवर्द्धन गर्न ०४३ सालमा ११ सदस्यीय ‘गुप्तेश्वर धार्मिक तथापर्यटकीय संस्थाको स्थापना गरि विधिवत् काम हुँदै आएको हो । ०५८ सालमा गुफामा बिजुली जडान गरियो  तर, समितिको दुष्नियतर बदमाशीका कारण लामो समयसम्म बिजुलीको बिलसम्म तिरिएन ।

०६४/०६५ मा शान्तिनारायण श्रेष्ठले गुफा संस्थाको अध्यक्षता सम्हाले । उनले संस्थाको कोष वृद्धि गर्नेदेखि सरकारी, गैरसरकारी व्यक्ति एवम् संस्थासँग पहलकदमी गरि गुफाको स्तरोन्नति गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरे । आफूले अध्यक्षता सम्हाल्दा समिति ऋणमा डुबेको एवम् विद्युतको बिलसम्म तिर्न नसक्ने स्थितिमा रहेको श्रेष्ठ बताउँछन् ।

चैत्र २८, २०६४ देखि गुफा प्रवेश शुल्क (रु. ५) राख्न थाले । प्रथमतः धार्मिक थलोमा कर लगाउने भनेर स्थानीयवासीले विरोध गरे तरश्रेष्ठ रोकिएनन् । एक जना कर्मचारीको व्यवस्था गरि उनलाई उठेको रकमको २५ प्रतिशत दिने व्यवस्था बसाले । पहिलो महिना ५,८००जति उठ्यो । यसरी उठेको रकम श्रेष्ठले विद्युत् प्राधिकरणलाई बुझाउन थाले र त्यो ऋण चुक्ता गरे ।

“खान पल्किएको समितिले दिनभरिको पैसाले बेलुका रोटी, खिर बनाएर खाएर सिद्ध्याइरहेको रहेछ । म र तत्कालीन कोषाध्यक्ष बाहेक पराना पदाधिकारीले दानभेटीको रकममा पारदर्शितता देखाएनन्”, उनी भन्छन् ।

श्रेष्ठका अनुसार यसपछि जिल्ला विकास समितिबाट डौँडारे खोलाले बर्सेनि निम्ताउने जोखिम र सङकटलाई जोगाउन गुफा परिसरमा तारजाली गरि व्यवस्थापन गरियो । त्यसपछिको समितिले सत्तल, मठ मन्दिर बनायो तर त्यसमा मौलिकताको ख्याल राखेन ।

गुफालाई प्राचीन स्वरूप सहित संरक्षण गर्नुपर्नेमा व्यापारिक दृष्टिकोण अपनाई पछिल्ला समितिले मनोमानी ढङ्गले ठेकेदार पोसेको श्रष्ठ बताउँछन् । “संस्था अनमियतताको दलदलमा फस्यो र गुप्तेश्वरको अस्तित्व सङ्कटमा पुग्यो”, उनी भन्छन् ।

श्रेष्ठले बताएअनुरूप नै यहाँ पुजारी निवास, सत्तल, व्यवस्थित मन्दिरलगायत पूर्वाधार निर्माण भएको देखिँदैन ।  बनाइएका संरचनालाई डौँडारे खोलाले बर्सनि खोतल्दै छ, तर संस्था पहिरो व्यवस्थापनपट्टि नलागी अनावश्यक संरचना निर्माणमै जोड दिइरहेको छ ।

गुफा परिसरमा ग्रिल र कंक्रिटको अत्याचार बढिरहेको छ

गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाले भक्तजनको सुविधाका लागि भन्दै निर्माण गरेको सिमेन्टेड सिँढी, गुफालाई पुरेर बनाइएको असुहाउँदिलो भवन एवम् सत्तलले गुफाको आदिम स्वरूप त ध्वस्त पारेको छ नै, बाटो पुनर्निर्माण एवम् सरसफाई लगायतका सामान्य काम समेत नगरेको देखेर चिन्ता व्यक्त गर्छन्, गुफाका महन्त रामअवतार गिरि । बोलबम गिरि (घुङरु बाबा) ले जलसमाधि लिएसँगै गिरि असारदेखि यस गुफामा आएका हुन् ।

गुफाका महन्त रामअवतार गिरि 

उनी गुफा दर्शनसँग जोडिएको धार्मिक आस्थाहरू नष्ट हुने क्रम रहेकोमा चिन्ता व्यक्त गर्छन् । “साधु सन्तको वास हुन् छाड्यो । कसरी संरचना बनाउने र व्यापार बढाउने भन्ने प्रवृत्ति बढ्दो छ । यसले प्रकृति दोहन त गर्‍यो नै, गुफाको चमक पनि खोस्यो ।” उनी गुफाभित्र बिछ्याएको ग्रीलसँग पनि सन्तुष्ट छैनन् ।

बोलबम गिरि (घुङरु बाबा)

गुप्तेश्वर गुफाको विकास कि विनाश ? (भाग-२)

Raju Jhallu Prasad

अल्पकालीन विकास चेत र गलत भौतिक संरचनाको शृंखलाबद्ध नवनिर्माणले निस्सासिरहेछ- कुश्मा ।

image

पर्वत । कुश्मा नगरको प्रख्यातिमा यहाँ अवस्थित गुप्तेश्वर गुफाको उल्लेख्य महत्त्व छ । यसै प्राकृतिक तथा ऐतिहासिक गुफालाई संरक्षण र पूर्ण खोज गर्नुको सट्टा अहिले गुफाको भित्री तहसम्मै मनपरी ग्रील र कङ्क्रिट थोपर्ने काम भएको छ ।

गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाले गुफाभित्र ८०० मिटर भन्दा बढी ग्रील बिछ्याएर गुफाको प्राकृतिक रूप र सौन्दर्ययतालाई ध्वस्त बनाइसकेको छ । संस्थाका पूर्वाध्यक्ष गणेश बहादुर भण्डारीको नेतृत्वकालको गुफा सीमित, केही आसेपासे व्यक्ति, नेता, कर्मचारीको हित साँध्न हचुवामा ग्रील जडान गरिएको हो ।

हाल नाङ्गो खुट्टा ग्रीलमा टेक्दा गुफा अवलोकन गर्न गएकाहरू अल्झिएर लड्ने क्रम बढेको छ भने अव्यवस्थित विद्युत् जडानका करण करेन्ट लाग्ने जोखिम बढेको छ । साथै, गुफा उज्यालो बनाउने नाममा जडित यस विद्युत् लाइनले गुफाको प्राचीन स्वरूप प्रस्टाउन सकेको छैन । जडित विद्युत् लाइनले गुफाको सौन्दर्य थप नष्ट पारेको छ ।

०६४/०६५ मा गुफा संस्थाको अध्यक्षता सम्हालेका शान्तिनारायण श्रेष्ठ गुफामा कङ्क्रिट र ग्रीलको अत्याचार बढेको देख्दा खिन्न हुन्छन् । “पहिले ढुङ्गाको सिँढी र काठको भर्‍याङ थियो । गुफा अवलोकन गर्न आउनेहरू गुफाबाट झरिरहेको पानीमा खुट्टा डुबाउँदै गुफा छिर्थे ।बाहिर निस्कँदा निथ्रुक्क भिज्थे, गुफाको जीवन्त अनुभव लिएर बाहिरिन्थे”, उनी भन्छन्, “अहिले ग्रील बिछ्याएर ‘सपिङ मल’जस्तो बनाइएको छ ।”

समितिले गुफाभित्र ग्रील बिछ्याएर गुफा सँगसँगै गुफा अवलोकन गर्न आउनेहरूलाई ज्यानको जोखिम बढेको बताउँछन् श्रेष्ठ । “धेरै केही होइन, गुफाभित्र हालिएको ग्रील तुरुन्त निकाल्नुपर्छ, श्रेष्ठ भन्छन् ।

झुट बोल्छन् नगरप्रमुख, ‘आफूले होइन’ भन्दै पन्छिन्छन् समिति अध्यक्ष

कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशी नगरपालिकासँग समन्वय नगरी ग्रील बिछ्याएको बताउँछन् । “हामीहरूसँग समन्वय गरिएन, यदि त्यसो हो भने निकाल्नुपर्ला”, जोशीले छोटो जवाफ फर्काए ।

श्रेष्ठको जवाफ सुनिसकेपछि हिमाल दर्पणले संस्थाका अध्यक्ष तुलसी पौडेलसँग सम्पर्क गरि नगरले खबर गरेको/नगरेको बुझेको थियो तर, पौडेलले नगरपालिकाले आफूहरूलाई हटाउने/नहटाउने केही नभनेको बताए ।

यसप्रकार नगरप्रमुख सरासर झुट बोलिरहेका छन् ।

पौडेल आफूहरूले ग्रील नबिछ्याएको नबनाएको बताएर पन्छिन्छन् । “म गत असार ३२ गते आएँ । गत साउनमा पत्रकार साथीहरूद्वारा यसबारे कुरा उठेको थियो, तत्पश्चात् यस सम्बन्धमा थप काम भएको छैन । ग्रील हटाउने/नहटाउने भन्नेमा कुनै निर्णय भएको छैन”, उनी भन्छन् । पौडेल यसका बारेमा विषय विज्ञसँग आवश्यक छलफल थालिने बताउँछन् ।

नगरका प्रमुख प्रकाशकीय अधिकृत कुमान सिंह गुरुङ बिछ्याएको ग्रील झिक्नतर्फ पालिका अग्रसर हुने बताउँछन् । “गुफाको संरक्षण गर्ने दायित्व लिएको संस्थाले गुफा मार्ने यस्तो काम गर्छ भने त्यसलाई रोक्नुपर्छ । मेरो जानकारीमा रहेसम्म गुफाभित्र ग्रील बिछ्याउने नगरपालिकाको योजना कहिल्यै थिएन”, गुरुङ भन्छन् ।

गुफाभित्रको पुरातात्त्विक महत्त्वलाई उजागर गर्न सकिएको छैन

विकास भन्ने बित्तिकै- ‘कङ्क्रीट र ग्रील

कानून, योजना, रणनीति, प्रतिबद्धताअनुसार काम भएमा अर्थतन्त्रको समग्र उत्पादकत्व बढ्ने तर यस्ता यान्त्रिक गतिविधिले गुफाको परिचय नै मेटिने खतरा बढेको बताउँछन्, कालीगण्डकी बचाऔँ अभियानका अभियन्ता आरके अदीप्त गिरी ।”गुफाको सन्तुलनका लागि  भूमिगत पानीको तह, मात्रा र बग्ने दिशाले पनि भूमिका खेल्ने गर्छ । भित्रभित्र भ्वाङहरू पार्नु र मनलाग्दी विद्युत् जडान गर्दा गुफामाथि अत्याचार भएको छ”, उनी भन्छन् ।

गिरि हालसम्म पनि गुप्तेश्वर कस्तो बनाउने भनेर वृहत् छलफल नहुनु दुःखद कुरा रहेको बताउँछन्, “गुफाको धार्मिक महत्त्व मात्रै नभई ऐतिहासिक र पुरातात्त्विक महत्त्व पनि हुन्छ र त्यसका लागि विषय विज्ञहरूको आवश्यकता पर्दछ भन्ने महसुसको कमी देखिन्छ ।”

“गुफाको दिगो विकास, जैविक, धार्मिक तथा प्राकृतिक विविधता एकर्काका परिपूरक हुन्, यिनलाई सापेक्षरूपमा अध्ययन गरेर गुफाभित्रको पुरातात्त्विक महत्त्वलाई सर्वत्र उजागर गर्नुपर्थ्यो । त्यसलाई बिर्सेर समितिले मनोमानी काम अघि बढाइरहेको छ । हाम्रो ध्यान तत्कालीन लाभ, अनियन्त्रित तथा अवैज्ञानिक संरचना खडा गर्नमै गयो”, गिरी चिन्ता व्यक्त गर्छन् । गिरि गुफामाथि भएका सबै किसिमका बेथिति र हस्तक्षेप विरुद्ध प्रश्न उठाउँदै आइरहेका छन् ।

“विडम्बना, स्थानीय सरकार र सरोकारवाला निकायले यी र यस्ता सम्पदा र यिनको मौलिकता संरक्षण गर्नुको सट्टा मनोमानी यी र यस्ता हर्कत बढ्नु सम्पदामाथिको महाअपराध हो” गिरी भन्छन् । अहिले स्थानीय सरकारहरू स्वायत्त र बलिया छन्, तिनले यस्ता क्षेत्रहरूको प्रागैतिहासिक महत्त्व भुल्न नहुनेमा उनको सुझाव छ । “विकास भन्ने बित्तिकै आउने ‘कङ्क्रिट र ग्रील’को परिभाषा र सोचलाई चिर्नुपर्छ”, गिरी अनुरोध गर्छन् ।

सरकारी संरक्षण निकाय, विज्ञ, संरक्षण संस्थाहरू र संरक्षणकर्मीहरूले संरक्षणको पाटोलाई मात्र ध्यान दिने र आमउपभोक्ताले उपयोगलाई मात्र प्राथमिकतामा राख्ने गर्दा संरक्षण र दिगो उपयोगबिच असन्तुलन पैदा हुने क्रम बढेको बताउँछन्, वातावरणको मुद्दा बोकेका समाज अगुवा एवम् वामपन्थी नेता उत्तम कँडेल । “यसको न्यूनीकरणका लागि जैविक विविधताको अनुसन्धान, संरक्षण, दिगो उपयोग र व्यवस्थापनमा नीति-निर्मातासँगै जनचासो, जनसहभागिता र अपनत्वको मूलप्रवाहीकरण जरुरी छ”, उनी भन्छन्  । कँडेल सङ्लो त्रिशूली अभियान सहित जलवायुका मुद्दाहरूमा बोलिरहेका हुन्छन् ।

सङ्ग्लो त्रिशूली अभियान सहित जलवायुका मुद्दाहरूमा बोलिरहने उत्तम कँडेल

मौलिक विकास खोजिरहेको गुफा

बजारबाट करिब एक किलोमिटर अगाडी दक्षिण-पश्चिम खण्डको मध्यभागको भिरालो पाखोमा अवस्थित गुफाको प्राकृतिक स्वरूप अर्थात् उकालो, ओरालो, खोपिल्टो, उडिल्लो भू-सतह सबैसबै छोप्ने गरि अग्लो-फराक भवन ठडिएको छ । यहाँ पुग्ने कुनै पनि पर्यटकले त्यो भव्य भवनभित्र गुफा छ भनेर सोच्न सक्दैन । कसैले बताएमा पनि विश्वस्त हुन् सक्दैन । व्यवस्थापनको नाममा विकासको दरिद्रताले गुफा ढपक्कै छोपेको आँखा भएका हरेकले देख्नेछन् ।

प्राकृतिक दृश्य रसपान गर्ने आदिमथलो गुप्तेश्वर गुफामाथि ओढाइएको कङ्क्रिटकृत भव्य भवनले हाम्रो विकास चेतलाई गिज्याइरहेको छ । आफ्नो कला, संस्कृति र प्राकृतिक सम्पदालाई जगेर्ना गर्न नजान्ने स्थानीय तहको यसप्रति जबाफदेहिता समेत देखिँदैन । ऊ ‘पहिल्यै बनाइएको’ भन्ने फितलो जवाफ दिएर पन्छिन्छ ।

गुफा हो कि व्यक्तिगत निवास भनेर चिन्नै गाह्रो छ

पर्यटन पत्रकारिता गरिरहेका अमृत भादगाउँले गुफाको मुख नै पुरिने गरि कङ्क्रिटका संरचना बनाइएको, गुफाभित्र फलामै फलाम बिछ्याइएको, गुफा मास्तिर पहिरोले कटान गरिरहेको, गुफा अघिल्तिर बनाइएको भवनले पनि अगाडिको भाग पनि धसिँदै गरेको पाउँदा चिन्ता व्यक्त गर्छन् ।

“एकातिर गुफा जोखिममा परेको छ भने अर्कातिर गुफाकै नाउँमा करोडौँ रुपैयाँ खर्चेर रेलिङ, पर्खाल लगाउने, पार्क बनाउने काम भइरहेको छ । जोगाउने नाममा गुफामाथि भौतिक संरचनाको भार थप्नु न्यायोचित देखिनँ”, उनले भने ।

पर्यटन पत्रकारिता गरिरहेका अमृत भादगाउँ

सिनियर इन्जिनियर एवम् पर्वते पुलका परिकल्पनाकार सूर्यप्रकाश पौडेलले अलौकिक र ऐतिहासिक गुफाभित्र हाल भएको गैरकानुनी हर्कतलाई अविवेकीहरूको कमिसनको खेलको संज्ञा दिन्छन् । “जनताले विकल्प खोज्न आग्रह गर्छन्, विरोध गर्छन् । तर, यहाँ विकास आयोजनाका कामहरू गर्दा एकल निर्णय र खल्तीको मान्छेलाई ठेक्का दिने परिपाटि धेरै छ”, पौडेल बताउँछन् ।

वडा नम्बर ५ का वडाध्यक्ष ईश्वर गिरी गुफा सीमित क्षेत्रको पेवा जस्तो बन्न पुग्दा यस्तो अवस्था आएको बताउँछन् । “संस्थाको विज्ञताको कमी हुनाले प्राविधिक हिसाबले गुफामा गर्न नहुने धेरै कामहरू भएको महसुस गरेका छौँ । पर्वतको पर्यटनको मुख्य थलो यस गुफाका पुरातात्त्विक संरचनाहरू ध्वस्त गर्ने कामहरू हुनु न्यायोचित छैन”, उनी भन्छन् ।

बन्जी जम्प हान्ने यस पुलदेखि ५ मिनेटको दुरीमा गुप्तेश्वर गुफा रहेको छ

गुफामा अब डोजर हुल्न मात्रै बाँकी छ

कालीगण्डकी किनारका बटवृक्ष (लताविधान), पशुपंक्षी एवम् स्थानीयवासी यहाँ चलिरहेको चरम प्रकृति दोहनबाट आजित छन्  बगिरहेको कालीगण्डकी र कालीगण्डकीमा कुर्कुच्चा डुबाएर बसेका पहाडहरूमाथिको यो ज्यादतीले आफूचिन्ते पुँजीवादको नग्न प्रदर्शन गरिरहेको कुश्मा कला परियोजनाका अध्यक्ष एवम् पर्यटन र विकासका जानकार आरके अदीप्त गिरी बताउँछन् ।

“स्थानीय तहहरूमा देखिएको बढ्दो अनियमित गतिविधिहरू नियाल्न यहाँ आए पुग्छ । गुफामा अब डोजर हुल्न मात्रै बाँकी छ”, उनी भन्छन्, “गुप्तेश्वर सहित दर्जनौँ पर्वते गुफाले यही नियति भोगिरहेका छन् । कुश्माको प्रख्यातिसँग जोडिएको प्राकृतिक गुफा नास्ने अधिकार कोही-कसैलाई छैन”, उनी भन्छन् । योगी, ध्यानी, तपस्वी, महर्षिहरूको वास भएका गुफा मन्दिरभन्दा बढी आध्यात्मिक र पवित्र हुनेमा उनको मत छ ।

“विकास नवीन सोचको जोडले गर्ने हो । हाम्रा परम्परागत धर्म–संस्कृति र प्रकृतिलाई विकृत एवं विनाश गर्ने काम नगरौँ । मौलिक सांस्कृतिक सोचले विकासमा अघि बढौँ । आजको विकास नीति भोलिका लागि दुर्गति नबनोस्,” गिरि भन्छन् ।

गुफाभित्र जडान गरिएको लाइटले गुफाकै सौन्दर्य नासेको छ

“पछिल्लो समय विकासलाई केवल ठूलाठूला भौतिक संरचना विकासमा सीमित गरिँदै छ, जुन विकाससम्बन्धी गलत अवधारणा हो । यो विकासप्रतिको दृष्ट्रिकोणीय अपव्याख्या हो ।  विकास भनेको चुनाव जित्नका लागि गरिने भौतिक पूर्वाधारका शिलान्यास र उद्घाटन मात्र होइन । विकासले साबिकको स्थितिमा नयाँ सिर्जना, रूपान्तरण र प्रतिस्थापन/पुनर्निमाणको काम गर्छ”, गिरि भन्छन् ।

“गुफाका आदिम देवीदेवताको दर्शनले सन्तान नहुनेको सन्तान हुने लगायतका विश्वास रहेको छ । यसैकारण गुफा भक्तजनहरूका लागि पूजाआजा र दर्शनको मार्ग बनेको छ । तर, यहाँ आइपुग्दा तीर्थालुको मन बिझाउँछ । धर्मको आडमा गुफा समितिले ठेकेदार पाल्ने काम सिवाय केही गरेको देखिँदैन”, स्थानीय पत्रकार भवानीप्रसाद शर्मा बताउँछन् ।

यसअघि गुफाभित्र धूप बालेर गुफालाई क्षति पुर्‍याइएकोमा हाल त्यो क्रम रोकिएको उनले बताए । “गुफामा ‘सिमेन्टेड’ सुरक्षा द्वार भएता पनि गुफाभित्रका महत्त्वपूर्ण शिला र मूर्ति चोरी हुने क्रम भने रोकिएको छैन”, उनी भन्छन् ।

यहाँ पहिले काठको भर्याङ थियो, जसले गुफाको सौन्दर्य जोगाएको थियो

चाक्ले डिल खस्ने जोखिम बढ्यो, गुप्तेश्वर गुफा संकटमा (भाग-३)

Raju Jhallu Prasad

गुफा अध्येता जोनाथन मोरिस भन्छन्, “यस पाखालाई निकै भार बोकाइसकिएको छ, यसले निम्ताउने क्षति अगणित छ ।”

image

पर्वत । द क्लिफ प्रा.लि.ले सन्चालनमा ल्याएको बन्जी जम्पलाई लक्षित गरि विकास गरिएका रोड मुनितिरका होटेल, क्याफेहरूले चाक्लेको भीरलाई अतिरिक्त भार बोकाइरहेका छन् । हाल यस पाखामा ५० भन्दा बढी पर्यटक आकर्षित गर्ने होटेल, बार एवं क्याफेहरू सञ्चालित छन् ।

प्राकृतिक विशालतामा फैलिएको चौर मास्न तल्लीन नगरले विशाल शिव-पार्वती मूर्तिको ठेक्का दिइसकेको छ । विभिन्न सरकारी-गैरसरकारी सङ्घ–संस्थाको पहलमा गुफा परिसरभित्र राधाकृष्ण मन्दिर, भजन मण्डप, दुईतले ढलानसहितको सत्तल, डाँडामा महावीर मन्दिरजस्ता साना–ठूला मन्दिर निर्माण गरिएको छ, जो चाक्लेको डिलले थेग्न सक्दैन ।

बन्जी जम्पलाई लक्षित गरि विकास गरिएका होटेल, क्याफेहरूले चाक्लेको भीरलाई अतिरिक्त भार बोकाइरहेका छन्

“कुन भूगोलले कति भार थेग्छ, कुन भूगोलमा कस्तो संरचना बनाइनुपर्छ, केही ख्याल राखिँदैन । पैसा आउँछ भनेपछि स्थानीय सरकार जे गर्नपनि तयार हुन्छ । चाक्लेको डिललाई पोखराको लेकसाइडसरह व्यवसायीकरण गर्न हौसिएको नगरकै कारण कुन दिन गुफा त पुरिन्छ,पुरिन्छ, चाक्लेको डिल नै नरहला कि भन्ने भयो”, गुफा संस्था सदस्य प्रनिश गिरी बताउँछन् ।

भौतिक पूर्वाधारसहितका कुनै पनि संरचना निर्माण गर्दा त्यसले वातावरणमा पर्नसक्ने नकारात्मक प्रभावलाई मूल्याङ्कन गरी सम्भावित दुष्परिणाम नियन्त्रणका लागि आयोजना सुरु गर्नु अगाडि नै वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) र प्रारम्भिक वातावरणीय परिक्षण (आईईई) गर्नुपर्ने कानूनी मान्यता छ । तर, साहसिक पर्यटनको थलो बनिरहेको कुश्माले यस कुराको ख्यल राख्न नसकेको बताउँछन्, वातावरण पत्रकार केशव शर्मा ।

“विकास बहुआयामिक अवधारणा हो । एकातिरका जनतालाई सुविधा दिन अर्कोतिरका जनताको अधिकार खोस्ने कार्य विकास हुँदैन । विकासले असुरक्षा वृद्धि गर्नुहुँदैन”, शर्मा भन्छन् । उनी मानिसका लागि उपयोग नभएका प्राकृतिक स्रोतहरू जीवजन्तुका लागि उपयोग हुन् सक्ने भएकाले प्राकृतिक स्रोतको जथाभावी दोहनले वातावरणीय सन्तुलनमा खलबली निम्त्याउने बताउँछन् । “हामीसँग भएका ऐन, कानुन र नीति निर्देशिकाभित्र रहेर नै यस्ता गतिविधि गरिनुपर्छ,” उनले भने, “यसमा स्थानीय सरकारको जागरूकता जरुरी छ ।”

यो या त्यो बहनामा गुफा क्षेत्र एवम् चाल्नेको डिल वरपरको पाखामा अतिरिक्त भार थप्नु जोखिमपूर्ण छ

गुफा अध्येता जोनाथन मोरिस यो या त्यो बहनामा गुफा क्षेत्र एवम् चाल्नेको डिल वरपरको पाखामा भार थप्नु जोखिमपूर्ण रहेको बताउँछन् । “यस पाखालाई निकै भार बोकाइसकिएको छ, यसले निम्ताउने क्षति अगणित छ । भौगोलिक, भौगर्भिक अध्ययन, अनुसन्धान बेगर यस पाखामा बस्ती विस्तार गरिरहेमा भविष्यमा त्यसको ठूलो क्षति कुश्मावासीले व्यहोर्नुपर्नेछ”, उनी भन्छन् ।

इतिहासविद् महेशराज पन्त एकान्तवास र प्रागैतिहासिक प्रयोजनका लागि गुफालाई हेरिनुपर्ने बताउँछन् । “जङ्गलको कछार वा अफ्ठ्यारो भूगोलमा रहने गुफाहरू हाम्रा पुर्खाबारे लेखिएको अनुसन्धानात्मक पुस्तक हो । नगरसभ्यता वा प्राचीन दरबारसरह नै विस्मृतिको गर्भमा विलुप्त हुने क्रममा पुगिरहेका गुफाहरूको अध्ययन, अनुसन्धान र वृहत् चासो एवम् छलफल हुनुपर्दछ । मुलुक भूक्षय र भू-कम्पको जोखिममा रहेका हुँदा पनि यस काममा ढिला गर्नु हुँदैन”, पन्त भन्छन् । पन्त गुफा क्षेत्र वरपर ठूला संरचना निर्माण गर्नु ठूलो भुल हुने बताउँछन् ।

विकास चेत बिर्सिएको कुश्मा नगर हचुवामै यहाँ भ्यू टावर खडा गर्दैछ

स्थानीय एवम् गुफा संस्थाको पूर्वाध्यक्ष मानकुमारी गिरि सबैभन्दा कमजोर क्षेत्र नै गुफा परिसरलाई मानिने बताउँछिन् । “मुलुक नै भू-कम्पीय जोखिममा छ । त्यसमाथि गुफा क्षेत्र आफैँमा कमजोर भू-सतह हो । गुफा क्षेत्र वरपर शिव-पार्वती पार्क बन्नु निकै जोखिमपूर्ण छ”, उनी भन्छिन् । गिरि गुप्तेश्वर गुफाको संरक्षणमा कुनै हेलचेक्र्याइँ नगर्न सुझाउँछिन् ।

विकासले समाजको मात्रात्मकभन्दा गुणात्मक प्रगतिलाई जनाउने बताउँछन्, कुश्माको समग्र सांस्कृतिक, ऐतिहासिक एवं प्राकृतिक विकासका लागि आवाज उठाइरहेका आरके अदीप्त गिरी ।

“विकास विवेकले गर्ने हो । विकास डोजर जोतेर मात्रै आउँदैन । नवीन सोचको जोडले आउँछ । कुश्माको प्रख्यातिसँग जोडिएको प्राकृतिक गुफा नास्ने अधिकार कोही-कसैलाई छैन । योगी, ध्यानी तपस्वीहरूको बास भएको गुफा मन्दिरभन्दा बढी आध्यात्मिक र पवित्र हुन्छन् । यिनको संरक्षण गर्नुपर्नेमा यो ज्यादती देख्दा मन खिन्न हुन्छ । विकास अभिसाप होइन, वरदान होस्” गिरी बताउँछन् ।

गुप्तेश्वर गुफाको लम्बाइ, चौडाइ, गुफा घुमाउने गाइड लगायतका कुरा अझै पनि थाँती छन् । यसप्रकार मुक्ति क्षेत्र र पोखराको ट्रान्जिट पोइन्ट कुश्मा अल्पकालीन विकास चेत र गलत भौतिक संरचनाको शृंखलाबद्ध नवनिर्माणले निस्सासिरहेकोमा गिरि चिन्ता व्यक्त गर्छन् । उनी निर्माणाधीन भ्यू टावरको विरोधमा बोलिरहेका छन् ।

भ्यू टावर बनाउन हौसिएको नगरले जमिनले त्यो भार थेग्छ/थेग्दैन सोचेकै छैन

साहाराविहिन परेवा र बाँदर

अघिल्ला बाबा बोलबम गिरी (घुङरु)ले पालेका परेवा र बाँदरहरू आहाराको कमिले विस्थापित भएका छन् । गुप्तेश्वर गुफा परिसर एवम् चाक्ले डिल वरपर मनोमानी रुपमा संरचनाहरू निर्माण एवम् स्थानीय सरकारले अविवेकी हिसाबले संरचना निर्माण थालेपछी यस भेगका परेवा एवम् बाँदर विस्थापित हुन् संघारमा पुगेका हुन् ।

बाबा परेवा र बाँदरको सेवामा मग्न रहन्थे । यहाँ आउने दर्शनार्थीहरूलाई चिया प्रसाद खुवाउने गर्दथे । ४५/४६ सालतिर भारतको गुजरातबाट तीर्थयात्राका लागि नेपाल आउँदा मुक्तिनाथ जाने क्रममा उनको प्रवेश गुप्तेश्वरमा भएको थियो । उनले हालसालै जलसमाधी लिएका हुन् ।

बाबा बोलबम गिरी (घुङरु)

बाबा बोलबम गिरी (घुङरु)

“मानवता, प्रेम, सद्भाव, सदाचार, र असल आचारणका उनी मानव र जनावरलाई विशिष्ट प्रेम गर्नुहुन्थ्यो । आफू शान्त भएर उनीहरूको सेवा गर्नुहुन्थ्यो । अहिले उहाँको सेवाभाव खड्किएको छ । परेवा, बाँदरहरू आउनै पनि छोडे”, स्थानीय श्याम पुन बताउँछ्न् ।  मान्छेको जस्तै पशुपंक्षीको पनि उत्तिकै बाँच्ने अधिकार छ । परेवा, बाँदर यहाँका खास सौन्दर्य थिए । “तिनलाई आज नदेख्दा मन खिन्न हुन्छ,” पुन भन्छ्न् ।

माथि डाँडामा महावीरको मूर्तिसहित गायत्री मन्दिर, वेद वेदाङ्ग संस्कृत पाठशाला सञ्चालन गरिएको छ । शिक्षक, विद्यार्थीका लागि आवश्यक खाद्यान्न, भाँडावर्तन गुप्तेश्वर गुफामा बसेका नाङ्गा बाबा शिव गिरिबाट प्राप्त भइरहेकोमा त्यो सम्बन्ध टुटेको छ ।

चाक्लेको डिलमा परेवा, बाँदरहरू कमै देखिन्छन्

चासो बाहिर गुफाभित्रका चमेरा

गुप्तेश्वर गुफाको थप आकर्षण भन्नु उड्न सक्ने एकमात्र स्तनधारी प्राणी चमेरा पनि हुन् । झुण्ड-झुण्डमा चमेराको बासस्थान देख्दा मन खुशीले रम्छ । चमेराले गुफाभित्रको पर्यावरण संरक्षणमा मात्र होइन, सुन्दरतामा पनि सबैको ध्यान खिचेको छ ।

नेपालमा पछिल्लो तथ्यांक अनुसार ५६ प्रजातिका चमेरा पाइने चमेरामा अनुसन्धान गरिरहेका युवा सञ्जीव बानियाँले बताए । “पृथ्वीको खाद्यचक्र, पारिस्थितिक प्रणाली, वातावरण सन्तुलनका लागि चमेरो निकै महत्त्वपूर्ण प्राणी हो”, उनी भन्छन् ।

गुफामा सयौँको सङ्ख्यामा चमेराको बासस्थान छ । चमेरामा अनुसन्धान गरेका युवा विद्यार्थी वसन्त शर्माले केही अगाडि यहाँ आई चमेराको अध्ययन गरेका थिए । उनले गुप्तेश्वर गुफानजिकै बाँसघारीमा नेपालका लागि हालै नयाँ प्रजातिको ‘ताइलोकपेरिस प्रजाति’को चमेरा फेला परेका थिए ।

गुप्तेश्वर गुफामा सयौँको सङ्ख्यामा चमेराको बासस्थान छ, फोटो: राजु झल्लु प्रसाद

यो प्रजातिको चमेरा बाँसमा बस्ने गर्छन् । त्यसैले, यसलाई नेपालमा ‘बाँसेचमेरा’ नाम दिइएको शर्माले बताए । शर्माले पत्ता लगाएको  चमेराको संरक्षण एवं अन्य प्रजातिको चमेराको संरक्षणतर्फ सरोकारवाला लाग्नु आवश्यक छ ।

“हाल गुफाभित्रका अप्राकृतिक संरचना, बिजुली बत्तिका कारण पनि गुफाभित्र चमेराले बासस्थानको जोखिम र संकट झेलिरहेका छ्न् ।    प्रकृति र मानवका लागि अत्यन्तै उपयोगी चमेरोको अनुसन्धान र संरक्षणमा अपेक्षाकृत प्राथमिकता नदिइनु गुफा समितिको बिडम्बना हो ।” शर्माले भने ।

संसारमा पाइने करिब १२०० प्रजातिका चमेरामध्ये नेपालमा ५१ भन्दा बढी प्रजाति पाइन्छन् ।

चमेरोको अनुसन्धान र संरक्षणमा अपेक्षाकृत प्राथमिकता नदिइनु गुफा समितिको बिडम्बना हो,फोटो: राजु झल्लु प्रसाद

गुफाको अलौकिक सुन्दरता

गुफा कल्पनाशीलता हो, सिर्जना हो र क्रिया र प्रतिक्रियाको नवीन आकार हो । जमिनको रासायनिक प्रक्रियामा परिवर्तन हुँदा, हावा, पानी र हिउँको प्रभावले भूक्षय हुँदा र जमिनमा रहेका लाइमस्टोन, चक, डोलोमाइट, मार्बल, नुन, जिप्सनजस्ता खनिज तत्त्वहरू खिइँदै बाहिरिँदा ओढारको रूप लिन्छ । ओढारलाई गुफा भन्न मिल्दछ ।

भौगर्भिक कारण गुफाहरू निर्मित हुने भएता पनि यसमा धार्मिक आस्था पनि लेपन गरिएको भेटिन्छ । प्राकृतिक घटना र मानवीय सिर्जनाहरूलाई धार्मिक मिथकसँग मात्रै नजोडी  गुफाको रहस्यपूर्ण प्राकृतिक खोजकार्यलाई पनि अघि बढाइनुपर्छ । यिनीहरू भौगोलिक खाल्टाहरू मात्र होइनन्, सांस्कृतिक साक्षी हुन् । गुफाहरू मानव गतिको मापक हुन् । गुफाले आदिम युगलाई आफूसँग जीवित राख्दछन् ।

सुन्दर गुफा नियालिरहँदा आँखामा ग्रील बिझाउँछ, फोटो: राजु झल्लु प्रसाद

गुप्तेश्वर गुफाको प्रमुख विशेषता भनेको यहाँभित्र प्राकृतिक रूपमा निर्मित शिव, पार्वती, विष्णु, लक्ष्मी, सरस्वती, शेषनाग, सुमेरु पर्वत, भगवती बाहन, कलश, कामधेनु, गरुड देवता, कछुवा अवतार, गोवर्धन पर्वत, कृष्णलिला आदि देवदेवीका आकृति नै हुन् । भगवानका यी अनेकौँ आकृति देख्दा जो कोही नास्तिक पनि आफ्नो नास्तिकपनलाई बिर्सन्छन् र गुफासामू नतमस्तक हुन्छन् ।

गुफाको रहस्यपूर्ण प्राकृतिक खोजकार्यलाई पनि अघि बढाइनुपर्छ, फोटो: राजु झल्लु प्रसाद

गुफाका विशेषताहरू:

गुफा प्रवेशद्वार एउटै मात्र भए पनि प्रवेशपश्चात् गुफाभित्र धेरै मार्ग छन् । गुफाभित्र पानी बगिरहन्छ  । तर हाल अविवेकी हिसाबले ग्रील विछ्याएर गुफाको सुन्दरता नष्ट गर्ने काम भएको छ ।

गुफा तीन तलामा फैलिएको  छ । गुफाको खास लम्बाइ यति नै हो भनेर किटानसाथ भन्न सकिँदैन तापनि मूलमार्ग अर्न्तगतको लम्बाइ करिब १ हजार २ सय मिटर र ५० मिटर चौडा भएको गुफाका पुजारी खेमराज आचार्य बताउँछन् ।  गुफाको तीन तह पार गरिसकेपछि ग्रीलको भर्‍याङ भेटिन्छ, पहिले यहाँ काठको भर्‍याङ थियो । काठको भर्‍याङले जुन मौलिकता दिएको थियो, त्यो ग्रीलको भर्‍याङले दिएको पाइदैन ।

भर्‍याङ पार गरिसकेपछि माथिल्लो भागमा प्रवेश गर्न केही अफ्ठ्यारो छ । पहिले–पहिले गुफाभित्र चम्कने ढुङ्गा धेरै थिए र समय क्रममा ढुङ्गाको चमक क्रमशः हराउँदै गयो ।

गुफामा एकैपटकमा पाँच सय जनासम्म ओहोरदोहोर गर्न सक्छन् । मनोरम प्राकृतिक छटा र अनौठा आकृतिले भरिपूर्ण गुफामा शिवरात्रि, बालाचर्तुदशी, एकादशी, साउन र तीजमा हप्तौँसम्म मेला लाग्छ । हिन्दू सनातन धर्मावलम्बीहरूले आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै सतबीज छरी बालाचतुर्दशीको दिन विशेष मेलासमेत लाग्ने प्रचलन बसेको छ ।

गुफा दर्शनले दुःखबाट मुक्ति, आपतमा बचाउने, सन्तान नहुनेलाई सन्तान मिल्ने लगायत मनोकाङ्क्षा पूरा हुने विश्वास छ ।

कसरी पुग्ने ?

पोखराबाट कुश्मा शिवालय चोकसम्म गाडीसम्म आएपछि भूपी राजमार्गछेउ दुई स्थानबाट गुफासम्म पुग्न सिँढीको बाटो पछ्याउन सकिन्छ । सिँढीको बाटो खतरापूर्ण भएकाले जोखिम मोल्नैपर्छ ।

खान र बस्न समस्या छैन । कुश्मा बजारमा सुविधायुक्त होटेल, लज र रेस्टुरेन्ट छन् ।

कुश्मा बजार


यो छुट्यो कि ?

अस्तित्व संकटमा गुप्तेश्वर गुफा (भाग-१)

गुप्तेश्वर गुफाको विकास कि विनाश ? (भाग-२)

कंक्रिट र ग्रीलको थुप्रो: कुश्माको शिव-पार्वती पार्क

Leave a Reply