ग्रामीण पर्यटनको केन्द्र ‘नलाङ’

You are currently viewing ग्रामीण पर्यटनको केन्द्र ‘नलाङ’

‘शहरको पनि एउटा गाउँ हुन्छ’ भन्नु भनेको ‘शहरलाई गाउँ चाहिन्छ’ भन्नु पनि हो । या ‘शहरबासी गाउँसँग जोडिनु पर्छ’ भन्नु हो । यद्यपि सबैको गाउँ नहुन पनि सक्छ । सायद यसकै विकल्प सोचेर गाउँलाई ‘ग्रामीण पर्यटन’को रूपमा विकास गर्दै व्यवसायीकरण गरिएको छ । जसले गाउँमा रोजगारी सिर्जना गरिरहेको छ नै, विभिन्न गाउँका सांस्कृतिक, प्राकृतिक, ऐतिहासिक सम्पदासँग देश-विदेशलाई परिचित गराएको छ । 

ग्रामीणमुखी पर्यटन क्षेत्र विस्तार भएमा ती क्षेत्रमा रोजगारीका नयाँ अवसर सिर्जना हुने र यसबाट ग्रामीण जीवनस्तरमा वृद्धि हुन गई क्षेत्रीय सन्तुलन कायम राख्न तथा गरिबी निवारण गर्न पनि मद्दत पुग्छ । विकासको सम्भावना सहज र खर्चिलो भई दृष्टि पुग्न नसक्ने पर्वतीय तथा दुर्गम क्षेत्रका लागि पर्यटन एउटा सशक्त लाभदायी आर्थिक क्रियाकलाप सिद्ध भइसकेको छ । जति त्यस्ता नयाँ ठाउँको प्रयोग गर्न सकियो, त्यति नै त्यस क्षेत्रका बासिन्दाले पर्यटनबाट लाभ प्राप्त गर्नेछन् । पर्यटकले ग्रामीण क्षेत्रका स्थानीय तहमा उपलब्ध सेवा र सुविधाको उपभोग गर्ने हुँदा अर्ध दक्ष तथा अदक्ष कामदारले समेत काम पाउने लायक हुन लागेका स्थानीय कला सीप तथा संस्कृति जगेर्ना हुने र समाजका तल्लो स्तरका समुदाय समेत, लाभका हिस्सेदार हुनेछन् । यसबाट महिला तथा पिछडावर्गले समेत प्रत्यक्ष लाभ लिन सक्नेछन् । 

Mt Hiunchuli, Mt. Manaslu, Mt. Boudha as seen from the Rooftop of Shreeban Nature Camp

साथसाथै, ग्रामीण क्षेत्रमा पर्यटनको विकास भएमा प्राकृतिक स्रोतको अध्ययन, अनुसन्धान र परिचालन समेत हुने उदाहरणहरू प्रशस्त देखिएका छन् । गाउँका मानिसबिच सामाजिक अन्तरक्रिया बढाउने, परम्परागत समाज र आधुनिक समाजका भिन्नता जान्न-बुझ्न सघाउने,  ग्रामीण बजारको विकासमा टेवा पुग्ने,  पर्यटकले ग्रामीण उत्पादन कलात्मक वस्तुहरू किन्ने हुँदा त्यसका उत्पादनले आफ्ना उत्पादनको बजार प्राप्त गर्ने मौका पाउने, यातायात तथा सञ्चारको विकासको सम्भावनादर बढ्ने, ग्रामीण क्षेत्रमा विद्यमान आर्थिक तथा सांस्कृतिक सम्पदाको अध्ययन भई अनुसन्धान गर्ने कार्यमा थप सहयोग आदि महत्त्वपूर्ण कार्यहरू ग्रामीण पर्यटनमार्फत हुने गर्दछन् । 

यसैगरि, ग्रामीण जनताको यथास्थितिवादमा परिवर्तन हुन्छ र उनीहरू गेयात्मक हुन्छन् । विस्तारै जातीय विभेद, छुवाछुत, छाउपडी आदिजस्ता सामाजिक कुरीति समाप्त हुन्छ र समाजले काँचुली फेर्छ । सांस्कृतिक आदानप्रदान विभिन्न संस्कृति र सम्प्रदायका व्यक्ति पर्यटकका रूपमा गाउँमा आउँदा गाउँका जनताले नयाँ व्यक्तिको रहनसहन र नयाँ व्यक्तिले गाउँको रहनसहनको आदानप्रदान गर्दछन् जसबाट विश्व नै एउटा गाउँ बन्न जान्छ । यसैकारण यतिबेला नेपालमा ग्रामीण पर्यटन निकै फस्टाएको छ । शहरको तनावपूर्ण जीवनबाट केही समय बिदा लिएर मानिसहरू मनको शान्ति र आनन्दको खोजीमा गाउँ पुग्ने गर्छन् । 

नलाङ

सिद्धलेक गाउँपालिका स्थित साबिकको नलाङ गाविसमा ग्रामीण पर्यटनको महत्त्वलाई आत्मसात् गरि दुई वटा (रिजोर्ट एवं कफी हाउस) केन्द्रहरू सञ्चालनमा आइरहेका छन् । यी दुई रिजोर्टको सामान्य परिचय र ग्रामिण पर्यटन विस्तारका चुनौतीहरूलाई यहाँ समेट्ने जमर्को गरिएको छ ।

१. श्रीवन नेचर क्याम्प:

करिब ४९ वर्ष पर्यटन व्यवसायमा लागेका मेघराज नहर्कीले आफ्नै गाउँ नलाङलाई पर्यटकीय केन्द्र बनाएका छन् । उनले सन् २००१ बाट नलाङको पात्ले डाँडामा श्रीवन नेचर क्याम्प चलाइरहेका छन् । ‘ग्रामीण पर्यटन प्रवर्धन’ मुख्य नारा लिएर उनी गाउँ फर्किएका हुन् ।

श्रीवन नेचर क्याम्पका सन्चालक मेघराज नहर्की

१५ वर्षकै उमेरमा पर्यटन व्यवसायमा लागेका उनले हिप्पी युगमा झोछेंमा होटेल तथा रेस्टुराँ चलाएका थिए ।  त्यसैगरि सौराहामा जंगल लगुन रिजोर्ट समेत सञ्चालन गरेका थिए ।  श्रीवन नेचर क्याम्प भूकम्पभन्दा अघि धेरै राम्रो चलिरहेको थियो । तर भूकम्पले देशभरि असर पुर्‍याउँदा यो क्याम्प पनि अछुतो रहन सकेन । त्यसपछि सम्हालिने अवस्था आउँदै थियो र दैलोमा कोरोना महामारी आइपुग्यो । त्यसको असर अहिलेसम्म परिरहेको छ । क्याम्पको मुख्य उद्देश्य ग्रामीण पर्यटन प्रवर्धन गर्नु रहेको छ ।   

पर्यटनकर्मसँगै सामाजिक काममा समेत उनको योगदान अतुलनीय छ । उनले सिद्ध सेवा समाज संस्था मार्फत गाउँमै पहिलो चोटि एम्बुलेन्स भित्र्याए । शिक्षामा काम गरे र स्वास्थ्य शिविर चलाए ।

हाल मेघराजलाई उनका छोरा सन्देश नहर्कीले सघाउँदै आइरहेका छन् । युवावयका सन्देशको बचपन सौराहमै बित्यो, यद्यपि उनी आफ्नो गाउँलाई औधि माया गर्छन् । नलाङको छेउकुना डुल्न मन गरिरहने उनी भन्छन्, “पदयात्राका सौखिन आन्तरिक तथा बाह्य पर्यटकका निम्ति यो सुलभ गन्तव्य हो नलाङ, जरूर आउनुहोस् ।”

सन्देश नहर्की

पाहुनाहरूको ठुलो समूह आउँदा क्याम्पमा पञ्चेबाजा बजाउने, नाचहरू देखाउने चाडबाड विशेष कार्यक्रमहरू प्रस्तुत गर्ने गरिन्छ । गाउँको सांस्कृतिक सम्पदासँग पाहुनालाई परिचित गराउन मेघराज प्रयास गरिरहन्छन् । केही समयअघि चर्चित कार्यक्रम रोडिजका पाहुनाहरू आएर स्ल्याक लाइनिङ (डोरीमा हिन्ने) समेत गरेका थिए । यी-यस्ता कामहरूबाट  नलाङ पाखामा रहेका प्राकृतिक एवं भौगर्भिक सौन्दर्यहरू प्रचारप्रसारमा आउने उनले बताए ।

“अग्लो भूभागमा रहेको नलाङ ‘किलर माउन्टेन’ का रुपमा चिनिने संसारका अग्ला १० हिमालमध्येको मनास्लु, अन्नपूर्ण हिमशृंखला र लाङटाङ हिमाल नियाल्ने उपयुक्त ठाउँ पनि हो । यहाँ परिवार र साथीसँग यात्रा गर्न सकिन्छ”, उनी भन्छन् ।

क्याम्पले ब्रेकफास्ट, लन्च हुँदै डिनरसम्मकै प्याकेज दिइरहेको छ । होटेलहरूले दिने जत्तिकै राम्रो र सुललित सेवा प्रदान गर्ने गरेको छ । फरक-फरक सुविधाका २० कोठा रहेको क्याम्पमा १०० जनाभन्दा बढीको समूहलाई पनि राम्रो सेवा दिई सन्तुष्ट बनाएर पठाउने गरिरहेको छ। क्याम्पमा खान बस्न सहित प्रति व्यक्ति ३५०० रुपैयाँ लिने गरिएको छ । पाहुनालाई विदेशी खानाभन्दा यहीँको रैथाने खानाका परिकारहरू पस्किने गरिन्छ । ढिँडो र यहीँ पालिएका लोकल कुखुरा प्रायको रोजाइमा पर्ने गर्छ । 

यहाँ भदौ पहिलो हप्ताबाट सिजन सुरु हुन्छ किनभने त्यतिबेला मौसम खुलेको हुन्छ । मौसम खुलेको समयमा २२० डिग्रीको रेन्जमा हिमालहरू देखेर पाहुनाहरू आनन्दित हुने गर्छन् । यो मनमोहकता देखेर एकरातका लागि आएका पाहुनाहरूले पनि आफ्नो बसाइँ लम्ब्याउने गर्छन् ।

छोरा सन्देश भन्छन्, “एकपटक एक हप्ताका लागि भनेर एउटा जर्मनी जोडी आएका थिए । तर यहाँको प्राकृतिक सौन्दर्य देखेर उनीहरू ६ महिना बसेको मेघराजले सुनाए । यहाँ बारीमा मृगहरू चर्न आउने गर्छन्, जङ्गलमा चितुवा कराएको सुनिन्छ । यो देख्दा/सुन्दा पाहुनाहरूको हृदय पुलकित भएर आउँछ ।”  सन्देश १३५० मि. मा अवस्थित श्रीवन नेचर क्याम्प हयाङआउट हुने उपयुक्त थलो भएको बताउँछन् ।

प्रथमतः काठमाडौँका भएका ट्राभल कम्पनीहरूमार्फत पाहुनाहरू मेघराजको आतिथ्यका लागि नलाङ पुग्छन् । त्यसैगरि, सामाजिक सञ्जालमार्फत श्रीवन क्याम्पमा पाहुनाहरू डाक्ने गरिन्छ । पहिला आफ्नै कार्यालय थियो र नेपालभरिको भ्रमणको प्याकेज मेघराजको कार्यालयले बनाउने गर्थ्यो । कार्यालय बन्द भएपछि त्यसरी पठाउने गरिएको छैन । यसबारेमा मेघराजले पुन:विचार गरिरहेका छन् । 

पहिला राम्रो चल्ने यो पर्यटन व्यवसाय अहिले भने सिजनमा मात्र प्याक हुन्छ । अरूबेला फाट्टफुट्ट पाहुना आउँछन् । कहिलेकाहीँ त खाली पनि हुन्छ । भूकम्प, कोरोना लगायतका कारणले यसमा असर परेको उनले बताए । हाल पालिकासँग राम्रो समन्वय रहेको क्याम्पमा पालिकास्तरीय छलफल कार्यक्रमहरू भइरहेका छन् । त्यसैले अहिले बैठक कोठाको निर्माण भइरहेका छ । त्यसलाई समयअनुकुल प्रयोग गर्ने योजना बनाइएको छ । 

मेघराजले प्याराग्लाइडिङको बारेमा पनि सोचिरहेको छन् । पहिला २००१/२००२ तिर यहाँबाट प्याराग्लाइडिङ हुने गर्थ्यो । प्याराग्लाइडिङका लागि चाहिने केही विशेष ग्याँस त्यस क्षेत्रमा प्रचुर मात्रामा रहेको उनी बताउँछन् । त्यतिबेला केही युरोपियन पाइलटहरूले प्याराग्लाइडिङ गरेका थिए । नहर्की यस क्षेत्रमा प्याराग्लाइडिङ सेवालाई पुनः स्थापना गर्न सकिएमा यस क्षेत्र पर्यटन हब बन्ने कुरामा निश्चित देखिन्छन् । त्यसको लागि अनुमति लिनुपर्ने हुन्छ त्यसैले यसबारे छलफल भइरहेको छ । त्यसैगरि यो ठाउँ रक क्लाइमिङ, हाइकिङ गर्नका लागि पनि विशेष छ । साथै सांस्कृतिक पर्यटनलाई कसरी आकर्षित गर्ने भन्ने विचार गरिरहेको उनले बताए ।   

नलाङमा क्षेत्री, ब्राह्मण, नेवार, गुरुङ, मगर, दलितको बसोबास रहेको छ । यस क्षेत्रमा खिरे गाउँ, पात्ले, आमकोट, फले, ठाँटी लगायतका गाउँ छन् । त्यसैगरि १५५० मि.मा रहेको सिद्ध बाबाको मन्दिरबाट ९ जिल्ला अवलोकन गर्न सकिन्छ । डाँडाबाट धौलागिरि, अन्नपूर्ण, मनास्लु, लाङटाङदेखि गौरीशङ्कर हिमालसम्मको लामो लर्कन देखिन्छ। साथै धादिङका गाउँबेसी उस्तै मनमोहक देखिन्छन्।

ग्रामीण भेगको परिवेश, संस्कृति, प्रकृति र खानपानको आनन्द लिन पाहुनाहरू पुग्नै पर्ने एक विशेष ठाउँको रूपमा परिचित हुँदै छ- ‘श्रीवन नेचर क्याम्प ।’ त्यसमाथि मेघराजले पस्किने मिठो आतिथ्यले फर्की-फर्की पुग्न मनलाग्छ ।       

२. कन्ट्री प्याराडाइज कफी रिजोर्ट

हाडे उन्यू र रुदिलो फुल्ने घारी हाल आन्तरिक पर्यटनको केन्द्र बनिरहेको छ भन्दा पत्यार लाग्दैन । तर, धादिङ जिल्लाको सिद्धलेक गाउँपालिकास्थित पात्लेमा अवस्थित चतुरमाईको डाँडो हाल ‘कफी डाँडा’का नामले सुपरिचित छ । नजिकै खानेपानी र सिँचाइका लागि समेत पानीको स्रोत नभएको यस डाँडा कफीकै कारण हाल जिल्लाकै प्रमुख पर्यटकीय आकर्षणको केन्द्र बनेको छ ।

पर्यटन व्यवसायी दिननाथ (भरत) रेग्मीले हिमालयन अनटप अर्ग्यानिक कफी स्टेट प्रालिबाट धादिङको सिद्धलेक गाउँपालिकाको वडा नं. २ नलाङको चतुरमाई डाँडामा करिब १२ वर्ष अघि सुरु गरेको कफी खेती फस्टाएसँगै यस ठाउँ कफीडाँडाको नामले आफ्नो परिचय भ्रमणप्रिय जनमानसबिच साट्न सफल भएको हो । रेग्मीले कफी फार्म भित्रै ‘कन्ट्री प्याराडाइज’ नामक कफी रिजोर्ट समेत चलाएका छन् ।

ठूलो क्षेत्रफलमा लगाएको कफीका बोट र जंगलको बीचमा सञ्चालनमा ल्याइएको रिजोर्टले कफी प्रवर्द्धनमा मद्दत पुर्‍याएको छ । रिजोर्टमा दिनहुँजसो स्वदेशी-विदेशी पर्यटकहरू कफी फार्म घुम्न र बास बस्न आउने गरेका छन् । विदेशी मात्रै होइनन्, स्वदेशी उच्च पदस्थ अधिकारी, नेता, उद्योगी व्यवसायी, पत्रकार र संघसंस्थाका प्रमुखहरू समेत आन्तरिक पर्यटकको रूपमा कफीडाँडा पुग्ने गरेका छन् । विदेशी पर्यटकहरू र उच्च पदस्थ अधिकारीहरूलाई कफीका बिरुवा रोप्न लगाई उनीहरूको नेमप्लेट बिरुवाको छेउमा राख्ने गरिएको छ । यसले नयाँ पाहुनाहरूलाई थप आकर्षण गरिरहेको छ । 

कफीको पकेट क्षेत्रको रूपमा मानिने यस क्षेत्रमा किसानहरूलाई प्रोत्साहित गर्ने विभिन्न कार्यक्रम समेत आयोजना गरिँदै आएको छ। जिल्ला कृषि विकास कार्यालय धादिङले किसानहरूलाई तालिम, बोटबिरुवा तथा आवश्यक सामग्रीहरू पनि प्रदान गर्दै आइरहेको छ । यहाँ उत्पादित कफीलाई बजार समेत पैठारी गर्ने गरिन्छ । प्रशोधित अर्ग्यानिक कफी प्रति किलोको चार हजार रुपैयाँ भन्दा बढी मूल्यमा फार्मबाटै बिक्री हुने गरेको सञ्चालक रेग्मी बताउँछन् । रेग्मी पुराना पर्यटन व्यवसायी हुन् । उनले अल्पाइन फ्लो नेपाल नामक पर्यटन व्यवसायी कम्पनीमार्फत सेवा दिने गर्दछन् । 

नेपालमा कफीको इतिहास ७८ वर्ष पुरानो छ । हिरा गिरीलाई तत्कालीन समयमा नेपालमा कफीको बोट भित्र्याएको श्रेय दिइन्छ। बर्मामा जागिरे रहेका उनले सन् १९९५ मा बर्माबाट अरेबिया जातको बोट गुल्मीमा भित्र्याएका थिए । त्यही बोटबाट नेपालका ४२ जिल्लामा कफीको व्यावसायिक खेती हुँदै आएको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको एक अध्ययन (एनलाइसिस अफ ह्याबिट्याट सुइट्याविलिटी अफ कफी इन नेपाल, २०१८) अनुसार समुद्र सतहबाट ८००–१६०० मिटरसम्म उँचाइ भएका सबै स्थानमा कफी खेतीको सम्भावना देखिएको छ । २० हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा कफी खेती गर्न सकिने जिल्ला २६ वटा छन् । 

नेपाली कफीबारे अध्ययन गरिरहेका डा. बद्रीप्रसाद बस्ताकोटीका अनुसार भारतमा कफीको उत्पादकत्व प्रतिहेक्टर ९०० किलोग्रामदेखि एक टनसम्म छ, नेपालमा भने राष्ट्रिय उत्पादकत्व प्रतिहेक्टर १८९ किलोग्राम मात्र छ । उत्पादकत्व वृद्धिसँगै अर्ग्यानिक भनेर चिनिने हाम्रो कफीको गुणस्तर र ब्राण्डिङमा विशेष ध्यान दिने हो भने रेग्मीले सरह नै जिल्लाका अन्य भेगले कफी उत्पादन मार्फत स्वदेशी-विदेशीलाई आकर्षण गर्न सक्ने देखिन्छ । 

कसरी पुग्ने ? 

यी दुवै रिजोर्टमा जान गाडीको सुविधा रहेको छ । केही विदेशी पाहुनाहरू बुङचुङबाट ग्रामीण भेगको अवलोकन गर्दै हिड्दै-हिड्दै आउन पनि रुचाउँछन्। 

काठमाडौँ–फुर्के खोला– बैरेनी ७४ किमी पिच बाटो । बैरेनी, अर्चले, तारनलाङ, ठाँटी, खिर्रे हुँदै १० किमी बाटो छिचोलेर यहाँ पुग्न सकिन्छ ।

Leave a Reply