पौराणिक आख्यान सदैव महत्त्वपूर्ण रहन्छन् तर महान् हुन्छ भन्ने छैन । यस कृति अलग छ । पोटिलो, रसिलो, भरिलो, खँदिलो साहित्यिक खान्की बिरलै पो जुर्छ, यो छटपटिँदो उराठलाग्दो साहित्यिक हावापानीमा ।
संस्कृत साहित्यका महाकवि कालिदासद्वारा लिखित, खड्गमान मल्लद्वारा अनुवादित, साझा प्रकाशनद्वारा प्रकाशित, मर्स्याङ्दी प्रिन्ट्सद्वारा मुद्रित प्राचीन नाट्यकृति ‘अभिज्ञान शाकुन्तल’ पढ्नु प्रकृतिको उषाकालतिर हाइक गएजस्तो पो भइगयो हाउ । म यसप्रकारको हाइक यसअघि राहुल सांस्कृत्यायनकृत ‘गङ्गासे भोल्गा’सम्म पढ्दा हिँडेको हुनुपर्छ । अन्यथा त्यो जुरेको थिएन ।
“प्रेम गर्नु र प्रेम कथा पढ्नु दुई अलग तर समानान्तर कुरा हुन् ।”
त, यो दुवै बरोबरी गरिरहने विचार पनि महाकाव्य पढिरहँदा गरियो नि । अनि अर्को विचार पनि गरियो, त्यो के भने- ‘प्रकृतितर्फ फर्काउने’ यस्ता कृतिहरू खोजिखबरी बढाउनु पर्यो र हाइक जाने, स्लो ट्राभल गर्ने, साइकल कुदाउने तारतम्यहरू अझै जुटाउनु पर्यो । अनि ‘ब्याक टु नेचर’ भन्ने रुसो वा वर्डस्वथलाई पनि यात्रामा बोलाएर ‘यताका प्राकृतिक विपत्ति’हरू देखाउनुपर्यो । के भन्नुहुन्छ ?
यस महाकाव्यले वन र वन्य जीवनसँगको साक्षात्कार, तत्कालीन भव्य नागार जीवनशैलीसँगको नजिक्याई, तात्कालीन विशाल वैभव भएको ऋषि सभ्यतासँग जम्काभेट, ऋषि, तपोवन, तपस्यामय ऋषिसभ्यता, ऋषिहरूप्रतिको श्रद्धाभाव, एवम् दिव्यलोक-सप्तलोकको परिवेशद्वारा मनको तुलबुल बढाउँछ । प्राकृत अवस्थाको क्या विधि चाखिलो वर्णन नि, क्या विचारणीय वाक्यांशहरू नि । पृथ्वी यस्तो पनि थियो भनि सोचील्याउँदा छक्कै पर्नु । कल्पना हो भनेर मान्दिदा पनि कीर्तनीय कल्पना । पल्क्याइलो कृति । पल्किरहूँ लाग्ने । सल्किरहू लाग्ने ।
नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाकृत शाकुन्तल यद्यपि मुल्तबीमै छ । र, यो कालिदासकृत अभिज्ञान शाकुन्तलमको जेजति कथना ।
***
लतावृक्षादिको चैतन्य प्रभाव:
संस्कृत काव्य–परम्पराका प्राचीन आलोचकहरूबाट उपमा–सम्राटको संज्ञा पाएको ‘अभिज्ञानशाकुन्तलम्’ पढ्नुपर्छ भन्ने थियो, तर त्यो जुरेको थिएन । शृंगार रसलाई पर्दामा र करुण रसलाई नेपथ्य राखी रचिएको यस नाटक नेपाली भाषामा पढ्नु र प्राकृत विम्ब/भूगोल/कथानकसँग लसपसिनु हर्षातिरेक क्षण बनि गो । यस पठनयात्रा मन्त्रद्रष्टा ऋषिहरूको तपोमय जीवनपद्धति जस्तो, लोभलाग्दो ।
यस अलवा, भाव, विचार, दर्शन, कथानक/कथाबीजको महिमागान छाड्दिने हो भने पनि यस महाकाव्यको सौन्दर्यचेतना र शृंगार रसले हरकोहीलाई पन्यालो बनाइदिन्छ । शिथिलभूत हुनुको यो अवस्थितिलाई लिपिबद्ध गर्नु मापाको लागिरहेछ । नसकेर नि । कथनहीन भइगएपछि गर्नु के त अनि ? वल्कल (रुखको बोक्रा) पह्रिएकी पातलो शरीर भएकी (कृशाङ्गी) शकुन्तलालाई देख्दा राजा दुष्यन्तको जुन हाल छ, सोही हाल मेरो ।…भन्नुपर्ने कुरै छैन, त्यही पनि भन्नु छ । क्या बोर नि, होइन ?
कृतिमा प्रकृतिको मानवीकरण गरिँदा मानव वृत्तिहरू गन्हाउँदैन या भनौँ मानव समाज यति रुग्ण र विकृत त्यतिबेला भइसकेको थिएन कि ? ऋषि सभ्यतासँगको लसपसले हुनुपर्छ काव्यभरि प्रकृति र पुरुषको अन्योनाश्रित सम्बन्धको सजीव वर्णन पाइन्छ । मानव समान नै लतावृक्षादिको चैतन्य प्रभाव पाठभर प्रवाहित भइरहन्छ । वैदिक ऋषिहरू जान्दथे, प्रकृतिसँग घनिष्ठता राखेर नै मानिसले आरोग्यता प्रदान गरेको हो ।
केही उदाहरणहरू:
१. राजा : देख्तेनौ तिमी ? यहाँ वृक्षमनि सुगाको गुडबाट खसेका निवारहरू छन्, कहीँ चिल्ला ढुंगाहरू चिउरीका गेडा फोर्नेजस्ता देखिन्छन् । विश्वास परिसकेकाले हिँडाइमा फरक नभएका हरिणहरू स्वर सुनेर झस्कँदैनन् । जलाशयका मार्ग वल्कलमा टुप्पाबाट चुहिएका तप्केनाले चिह्नित देखिन्छन् ।
२. प्रियवन्दा : सुगाको पेटजस्तो चिल्लो यही कमलको पातमा नङले अक्षर कोर । (पृ. ३२)
३. शिष्य: ..अझ, चन्द्रमा बिलाएकाले शोभालाई सम्झनुपर्ने नीरकमल मेरो दृष्टिलाई आनन्द दिँदैन । प्यारा परदेश लागेकाबाट उत्पन्न भएको दु:ख अबलाहरूलाई सहन वास्तवमा असाध्य गाह्रो हुन्छ । अरू पनि, मिरमिरे उज्यालोले बयरको वृक्षमाथिको हिउँ रातो पार्छ । निन्द्रा बिउंझेको मुजुर कुटीको कुशको छानो छोड्छ । यो हरिण पनि खुरले खोस्रेको वेदीको छेउबाट उठेर आफ्नो आङ तान्दा पछिल्तिरको भाग अग्लो पार्छ ।.. (पृ. ३९)
४. दोस्रो शिष्य: ..त्यहाँ हामीलाई कुनै वृक्षले चन्द्रमाजस्तो सेतो, मङ्गल कामको निमित्त सुहाउँदो रेशमी वस्त्र देखाए; कुनैले पाउँ रंगाउन राम्रो लाहाको झोल खन्याए; अरू वृक्षहरूबाट नारीसम्म निस्केका नयाँ पालुवासिट दाँजा लाग्ने, वनदेवताहरूले हत्केलाले गहनाहरू दिए ।
५. काश्यप: ए आश्रमनजिकका वृक्ष हो ! तिमीहरूले नपिईकन जो पहिले पानी पिउन खोज्दिनथिन्, शृंगार पार्न मन लागे तापनि स्नेहले गर्दा जो पालुवा टिप्तिनथिन्, तिमीहरूले फूल फुलाएको पहिलो बहारमा जो हर्षले उत्सव मनाउँथिन् । तिनै यी शकुन्तला पतिका घर जान लागेकी छन्, सबैले अनुमति देओ । (कोइलीको बोली सुनेजस्तो गरेर) यी शकुन्तलाले वनवासी बन्धु वृक्षहरूबाट अनुमति पाइन्, किनभने यिनीहरूले पुष्ट कोइलीको मीठो बोलीलाई आफ्नो उत्तर तुल्याए । (पृ. ४४)
विश्वविश्रुत महाकवि कालिदासलाई पढिरहँदा पत्ता लाग्दछ कि, गङ्गा मैदान किनारमा विकसित सनातन हिन्दू संस्कार विविध वनस्पति, नदी, पर्वत, चराचुरुङ्गी तथा ऋषि संस्कारको कुन उचो स्थानमा थियो । ऋषि सभ्यतासँगको लसपसले हुनुपर्छ त्यहाँ प्रकृति र पुरुषको बीचको तादम्यता बुझ्ने चेष्टा हरेक मानवमा थियो । नाटकमा सर्वत्र प्रेम-प्रणयको साथसाथै प्रकृतिको सजीव-निर्जीव तत्त्वको वर्णन छ । यस महाकाव्य पढिरहँदा म आजभोलि वातवारण साहित्य हराएछन् भन्ने पीरले सताइन्छु । जलवायु परिवर्तन, जैविक विविधतामा ह्रास, मरुभूमिकरण, समुन्द्रमा एल्गी र प्लास्टिकको बढ्दो प्रकोप, नाङ्गा हिमाली टाकुरा आदि झल्झली आँखामा आइबस्छन् ।
***
पौराणिक आख्यान सदैव महत्त्वपूर्ण रहन्छन् तर महान् हुन्छ भन्ने छैन । यस कृति अलग छ । पोटिलो, रसिलो, भरिलो, खँदिलो साहित्यिक खान्की बिरलै पो जुर्छ, यो छटपटिँदो उराठलाग्दो साहित्यिक हावापानीमा । संस्कृत बुझ्दो हूँ र कालिदासकै मूल ग्रन्थ पढ्दो हूँ त, त्यो अनुभव कति सार्थक हुँदो हो । तर, मसँग संस्कृत चेत शून्यप्राय: छ ।
शकुन्तला र राजा दुष्यन्तबारे केही कुरा:
मलाई यहिँनेर शकुन्तला र राजा दुष्यन्तका बारेमा केही कहन मन छ । भन्नुस्, गनगन गर्न मन छ । किनभने यो प्रेमकथा महाभारतकै उपकथा वा शीर्षकथा हो । यद्यपि कमै वर्णित हुन्छ ।
त, कथा यस्तो छ- असुराचार्य शुक्राचार्यको पुत्री देवयानीले शर्मिष्ठा (राजा वृषपर्वाकी पुत्री) सँग बदला लिनको लागि उनलाई आफ्नो सुसारेको रूपमा आफूसँगै दरबारमा लिएर गइन् । तर, पछि ययाति र शर्मिष्ठाको प्रेम भयो । प्रेम प्रसाद स्वरूप ‘पुरु’ जन्मिए । उता, ययाति र देवयानीबाट ‘यदु’ जन्मिए । पुरुमार्फत पाण्डव र कौरवहरूको वंश शुरु भयो । यदुमार्फत यादवहरूको उत्पत्ति भयो, कृष्ण यतै आइपर्छन् ।
पुरुको कुलमा राजा विश्वामित्र आए तर पछि उनी ऋषि हुन् पुगे । ‘ऋषिको तुलनामा राजाको शक्ति ज्यादै कम छ’ भन्ने महसुसका कारण ‘एउटा राजा ऋषि भयो’ भन्ने गरिन्छ । घोर तपस्यामा तल्लिन हुँदा राजा इन्द्र झोकिए । तपस्या विफल पार्न राजा इन्द्रले मेनकालाई खटाए । मेनका-विश्वामित्रबाट छोरी जन्मिन् । जन्मिएकी अनाम छोरीलाई दुवैले अपनाउन सकेनन् । अनि, उनी मालिनी नदी किनारमा छाडिइन् । शकुन/सकुन नाम (जात?) का चराले उनको हेरचाह गर्छन् । शकुनद्वारा रक्षित हुनाले ‘शकुन्तला’ नाम रहन गयो ।
शकुन्तला सन्दर्भमा एउटा व्याख्या प्रचलित छ, त्यो के भने विश्वामित्रको तपस्या अपुरो रह्यो, उनी जो चाहन्थे त्यो इन्द्रद्वारा खटित मेनकाको रति आह्वानका क्रान टुक्रियो । बाबुले अपुरो छाडेको तपस्या शकुन्तलाले पुरा गरिन् र आफ्नो प्रेम दुष्यन्त भेटिन । यद्यपि यस युक्तिमा कताकता पितृसत्तात्मक व्याख्याको गन्ध आउँदछ तर प्रेमलाई ‘समर्पणको एक प्रक्रिया’ मान्दिदा त्यो फरक हुन आउँछ । आफ्नो आश्रममा ऋषि दुर्वासा आएकोमा थाहा नपाउँदा शकुन्तला जुन दु:ख व्यहोर्नु परेको छ, त्यसलाई पाप या पश्चातापको नाम दिएर ‘ठिकै हो’ भनेर पन्छिन मलाई ‘अच्छा’ लाग्दैन । तर, अगाडि दुष्यन्तद्वारा जुन वेदना व्यतित हुन्छ, त्यसले शकुन्तला मात्रै होइन दुष्यन्त पनि दुर्वासाको श्रापको कारण प्रताडित थिए भन्ने प्रष्टिन आउँछ । यहाँसम्म आइपुग्दा मलाई यी दुवैको क्षणिक वियोग (करुण रस) महाकाव्यको मूल मर्म रहेछ भनेर बोध हुन्छ । यस कृतिको
अब दुष्यन्तबारे कुरा गरौँ,
दुष्यन्त चन्द्रवंशी राजा थिए भन्ने छ तर आमा-बुबाका सम्बन्धमा अलि प्रष्ट छैन । भागवत एवम् विष्णु पुराणमा रैभ्य (रैभ), हरिवंश पुराणमा सुंत, महाभारतमा ऐति र वायु पुराणमा मल्लि दुष्यन्तको पिताको रुपमा परिचित हुन्छन् । महाभारतमै आधारित कथा चाहिँ कालिदासद्वारा रचित अभिज्ञान शाकुन्तलमा प्रष्टिन आइपुगेको हो । तर, यस नाटकमा वर्णित दुर्वासाको श्राप र राजाको औठी खस्ने कथा-प्रसंग चाहिँ महाभारतमा वर्णित छैन, यो कालिदास-कल्पित हो भन्ने मानिन्छ । खैर, हामी यहाँ एकछिनमा आइपुगौँला ।
***
खैर, मूलपाठमा फर्किऔँ,
यो लेखलाई गुनासोहरू सँगालो (गथासो) व गन्थनहरूको पोको कथासो बनाउनु छैन किनभने सो काम कालिदासले कतैव गरेका छैनन् । कथामुख (प्रारम्भ) मा उनले शिवलाई गरेको वन्दनालाई त्यो अर्थमा बुझ्न चाहे पाइयो फेरि । तर, सूत्रधारद्वारा बोलाइएको एक वाक्यले भन्छ, “ यो सभाको कानलाई आनन्द दिनु भन्दा बढ्ता के चाहनु ?’ म सोचिरहेछु, ‘यस पठन संस्मरण पढ्ने आँखालाई आनन्द दिनु भन्दा बढ्ता के चाहनु ?’ तर, त्यो यहाँ नहुने सम्भावना पनि बढ्तै छ । त, गुस्ताकी माफ होस् ।
पुनश्च: मूलपाठमै फर्किऔँ । प्राचीन स्थानगत, कालगत र परिस्थितिगत परिवेशमा फुत्त पुगौँ, आउनुस् । त्यसका लागि कथांशको कथाकथान सरासर गर्नुपर्छ ।
त, सो यसरी गर्न सकियो- हस्तिनापुरको पुरुवंशी राजा दुष्यन्त एवम् विश्वामित्र-मेनका पुत्री वा कण्व धर्मपुत्री शकुन्तलाबीचको प्रणय कथा-व्यथा-गाथाका साथसाथै आठ विवाह परम्परामध्ये निकृष्ट कोटिमा रहेको गान्धर्व विवाह (अन्य:- ब्राह्म, दैव, आर्ष, प्राजापत्य, आसुरी, राक्षसी तथा पैशाच विवाह) को प्रसंग पनि यसको मूलपाठ नै हो । गन्धर्व विवाह भनेको आमा-बुबाको स्वीकृति बेगर गरिने विवाह भयो । यी दुईको बिहे भयो तर शकुन्तला हस्तिनापुर लगिइनन्, उनी मालिनी नदी किनारकै आश्रममै छाडिइन् । छाड्ने बेला दुष्यन्तले एक औंठी दिएँ, जहाँ उनको नाम अंकित थियो । दुष्यन्त गइगए । शकुन्तला रहिबसिन् । पछि गर्भवती शकुन्तलालाई दुष्यन्तको दरबार पुर्याइन्छ, जहाँ उनी गलत्याइन्छिन् । दुष्यन्तले चिन्न अस्विकार गरिदिन्छन् । आफू दुईको प्रेम चिनाउने औठी गङ्गामा खसिसकेको हुन्छ । त, शकुन्तला अलपत्र पर्छिन् ।
अलिक पछि, एउटा माझीले माछा काट्दा पेटभित्र सो औठी भेट्छ । भेटिएको औठी राजाकहाँ पुग्छ । र, राजा पश्चतापमा जली बहुलाई हिँड्छन् । त्यस्तैमा इन्द्रले युद्धका सहयोद्धाको रूपमा दुष्यन्तलाई बोलाउँछन् । उता जाँदै गर्दा शकुन्तला पुत्र भरतसँग दुष्यन्तको भेट हुन्छ । भरत श्रीहरिको अंशावतार थिए, उनको हातमा चक्र तथा पैतालामा कमलकोशको चिन्ह थियो । र, यसप्रकार क्रमिकरुपमा दुष्यन्त-शकुन्तलाको मिलन हुन्छ । र, एउटा गजबको साहित्यिक खान्की चटनी सरह ट्वाक्क जिब्रोमा लाग्दालाग्दै सक्किजान्छ ।
अत्रि-अनुसूया पुत्र ऋषि दुर्वासाको श्राप यस काव्यको मूल घटक हो, यो किन हो भनेर बुझ्नलाई नाटक पढेकै जाति । सबै कुरा यता खोलेर काम पनि त छैन नि । अभिज्ञान शाकुन्तल अर्थात् शकुन्तलाई पुन: चिन्नु नै यस कृतिको मूल कथ्य भइगो ।
तर, मलाई सरसर्ती कथाकथान गरेर चैन परेन । यसकारण आरामसाथ केही बताऊँ;
१. पहिलो पाठ:
धनुषवाण लिएर मृग पछ्याइरहेका राजा दुष्यन्तलाई सारथीले ‘शिव’ बताए पनि म उनलाई एक शिकारी नै देख्छु । निश्चितै थियो, दुष्यन्त मृगको शिकार नै गर्न चाहन्थे । तर, मृग जोगियो, शकुन्तलामाथि चाहिँ वाण चल्यो । शकुन्तला मृग जस्तो बन्न पुगिन् । दुष्यन्तले वाण चलाए या शकुन्तलाले त्यो मुल्तबीमै तर, प्रेमको वाण चल्यो । दुई हृदय चार भएन, एक भयो । तर, त्यसको लागि शकुन्तलाको हृदय छियाछिया हुनु पर्यो । कथामा करुण रस नेपथ्यमा छ, यसैले भनेको ।
कतैकतै भनिन्छ, राजा दुष्यन्त लडाइबाट थाकेका आफ्ना सेनालाई भोजन दिलाउन मृग लखेटिरहेका थिए । तर, सो कुराको छनक कालिदासले गरेको भेटिनँ । जे होस्, मृगलाई पाल्ने शकुन्तला र मृग लखेट्ने दुष्यन्तबीचको फरक व्यक्तित्त्व नै गजबको छ । फरक व्यक्तित्त्वबीचको प्रेमकथा सदैव रुचिकर नै हुन्छ ।
एउटा प्रसङ्गमा तपस्वी मृग आश्रमका तपस्वी भन्छन्, “कहाँ हरिणकाहरूका ज्यादै चञ्चल जीवन, कहाँ तीखा टुप्पा भएका हजुरका वाण ।’ यस वाक्यले पनि माख्लो कुरालाई बल दिन्छ ।
मृग नमारेका कारण राजा दुष्यन्तलाई चक्रवती छोरो पाउने आशीर्वचन मिल्दछ । यस्तो आशीर्वचन दिएका तपस्वीले मालीनी तीरतिर इशारा गदै कुलपति कण्व (काश्यप) को आश्रमतिर लखेटिदिन्छन् । अर्थात् कण्वको पौस्यपुत्री शकुन्तलासँग जम्काभेट गराउनेतर्फ । अर्थात् पुत्र भारत जन्माउने भविष्यतर्फ ।
यही पाठमा शकुन्तलाकी सखी प्रियम्वदा शकुन्तलालाई भन्छे, “स्तन बढाइदिने तिम्रो यौवनलाई दोष देऊ न ।” यस वार्तालाप जंगली लाताविधान पछाडि लुकी कान थापी शकुन्तलालाई घुरिघुरी हेरिरहेका दुष्यन्तले सुनिरहेका हुन्छन् । यस कथनलाई यौनभावको साटो प्रेमभावकै रुपमा हेर्न पुगेँ म चाहिँ । जसप्रकार जंगली लाताविधानको चर्चा-परिचर्चा हुन्छ, उसैप्रकारका वार्तालाप हुन्छन् । उमेर पुगेका सखीहरूले एकार्कालाई यसैप्रकार छेडखानी गरिरहन्छन् । आजका तरुनीहरू पनि यसैप्रकार गफ्फिन्छन् । यसमा बेसी किन सोच्नु ?
यस क्रममा एउटा प्रसङ्ग आइपर्छ- एउटा मधुकर (भमरा) शकुन्तलाको तल्लो ओठमा आइदिन्छ । रतिसर्वस्व भएको एक वर्णन । शृंगार रस यसैप्रकार यस पाठभरि छचल्किरहन्छ । यस पाठमा प्राकृतिक सौन्दर्यको साथसाथै वा अझ बढी शकुन्तलाको शृंगारात्मक वर्णन छ । शकुन्तलाको सुन्दरता जो नैसर्गिक, स्वाभाविक एवं प्राकृतिक दर्शनले लेपित पाइन्छ । शकुन्तला र उनकी दुई सखीबीचको वार्तालापमा राजा दुष्यन्तको मनमनै बोलिरहेका वाक्यांशहरूले अझ पठनमा स्वाद थप्छ ।
र, केहिबेरपछि राजा लाताविधान पछाडि लुक्न छाडेर शकुन्तला सम्मुख आउँछन् । शकुन्तलाका दुई सखी राजासँग गफ्फिन्छन्, शकुन्तला मनमनै बोलिरहन्छिन् । यसले अझ स्वाद थप्छ ।
जस्तै: शकुन्तला भन्छिन् : ‘(मनमनमा) हृदय । अधीर नहो । यी अनुसूया तैंले चिताएकै कुराहरू सोधिरहिछन् ।’
यसप्रकार यस पाठमा यी दुईको बोलीचाली सुरु हुन्छ र राजाको बक्सिस (विवाह?) स्वरूप औठी शकुन्तलाको औंलामा आइपर्छ । र, यो एउटा प्रेमकथाको गजब सुरुवात हो ।
गजब सुरुवातको अन्त्य गजबै होला, दोस्रो पाठ भन्छ, “हुँदैन, हुँदैन । हुँदै हुँदैन ।”
२. दोस्रो पाठ:
दोस्रो पाठ प्रेम जोडीको ‘देखादेख दोष’को पुनारावृति सम्बन्धमा छ । राजाका मित्र माधव्य (विदुषक) र राजाको दौडादौडबारे सुरुवाती कथनले रोचकता थप्छ । राजा र विदुषकबीच भएका कुराकानीले उनीहरूको सामाजिक, सांस्कृतिक एवम् नैतिक चरित्रांकन पनि साथसाथै गरिरहेको हुन्छ । यसका उदाहरण पाठभर बग्रेल्ती भेटिन्छन् ।
मलाई ती उदाहरणभन्दा दुष्यन्त र शकुन्तला आसपासका वार्तालाप र दुष्यन्त एवम् शकुन्तलाको छटपटीलाई उदाहरणस्वरूप पस्कन मन छ ।
जस्तै: विदुषक, “यसरी राजकाज छोडेर यस्तो अनकन्टार ठाउँमा कुसुण्डाको वृत्तिले हजूर राज भइराखेको छ । सत्ते, दिनका दिन जीवजानवरको पछि लाग्दा-लाग्दा जोर्निका गाँठाहरू खुकुला भएकाले अंगहरू आफ्ना हुँदै होइनन् भनेजस्तो भइसकेका छन् । अतएव ममा निगाह रही एक दिन त आरमी लिइबक्सियोस् ।”
यसपछि मनमनै राजा कथ्छन्, “यो पनि यसो भन्छ । मेरो पनि काश्यपकी कन्यालाई सम्झी सम्झी शिकारदेखि चित्त विरक्त छ किनभने, सँगसँगै बसी, निर्दोष हेराइ यस्तो हुन्छ भनेर प्यारीलाई शिक्षा दिनेजस्ता मृगहरूमाथि ताँदो बाँधेर वाण चढेको यो धनु खिच्न सक्तिनँ ।”
यसप्रकार अघि बढिरहेको कथन-उपकथनमा सार्थक र सजीव वर्णन एवम् दृश्य भेटिन्छ । पात्रको चरित्र चित्रण उसले बोलेका कुराबाट आंकलन गर्न सकिन्छ । किनभने यहाँ समाजका तल्लोतहदेखि उपल्लोतहसम्म फरक-फरक व्यक्ति आइपुगेका छन्,तथापि तिनको सोहीअनुरुपको चरित्रांकन छ । यसलाई कालिदासको वैशिष्ठ्य मान्नु पर्दछ ।
यसपछि अगाडि शकुन्तलाको आश्रम नजिक डेरा डालेर बसेका राजालाई राक्षसहरूबाट आश्रमको रक्षा खातिर बोलावट हुन्छ । के खोज्छस् कानो, आँखाको भाका यहाँ देखिन्छ ।
यहाँनेर राजा माधव्यलाई सोध्छन्, “माधव्य, शकुन्तला हेर्न सकसक छ ?”
विदूषक : ‘पहिले त चुल्लिएको थियो, अहिले राक्षसको वृत्तान्तले एक थोपा पनि बाँकी छैन ।’
तर, यहिनेर एउटा दोसाँध आइपर्छ । राजालाई ‘पुत्रपिण्डपालन’ नामको व्रतको खातिर दरबारबाट मुमा महारानीको हुकुम हुन्छ ।
राजा: यता तपस्वीहरूको काम छ, उता बडाको आज्ञा छ । दुवै नाघ्न नहुने छन् । यसमा के गरे ठीक पर्ला?
विदूषक: त्रिशंकुझैँ बिचमा रहीबक्सियोस् ।
अनि राजाले विदूषकलाई ‘छोरायोग्य’ बताएर दरबार लखेटिदिन्छन् । तर, उसले दरबारमा खबर गरिदिन्छ कि भनेर ‘हामीबीच प्रेमसरेम केही छैन’ भन्ने युक्ति बोलिदिन्छन् । राजाको सो बोलीमा विदुषकले सच्याई देख्ने गल्ति गरिदिन्छ । र, यसप्रकार प्रेमकथा एउटा घुम्तीमा पुग्दछ ।
यहाँ क्रमसँगै पाठ उल्लेख गर्दा कथा स्प्वाइल (Spoil) हुने डर बढ्ता छ, यसकारण यसलाई यही तुरौँ । चौथो पाठको शकुन्तला-दुष्यन्तको प्रेम-प्रणयका किस्सा एवम् त्यसपछि क्रमश: शकुन्तला र दुष्यन्तबीचको दूरीका कारण उब्जिएको करुण रसको पनि व्याख्या बाँकी नै छ । तर, त्यो सबै गर्न अहिले उपयुक्त लागेन । यद्यपि, एउटा काम भने गर्ने भैयो, कालिदासको कृतिहरू खोजीखोजी पढ्ने भइयो । त्यतिबेला अझ लेखौंला । अहिले लेख्दालेख्दै लेख्न नसकेको लघुताभास भयो ।
अस्तु !
#अभिज्ञान शाकुन्तल#राजु झल्लु प्रसाद
प्रकाशन मिति: २०७९, फाल्गुन १९, शुक्रबार १३:०१, साहित्यपोस्ट