बुकाहोलिक्सको चकटी बहसमा ‘जियरा’

You are currently viewing बुकाहोलिक्सको चकटी बहसमा ‘जियरा’

काठमाडौं- पुस्तक पढ्ने र त्यसबारे छलफल गर्ने समूह बुकाहोलिक्सको ७३ औं चकटी बहस सम्पन्न भएको छ । भक्तपुरको कौसलटारस्थित रिडर्स हबको प्रेक्षालयमा बुकाहोलिक्सले ‘जियरा’माथि बहस आयोजना गरेको हो ।

अभिषेक भट्टराईले सन्चालन गरेको कार्यक्रमको मुख्य आकर्षण उपन्यासकार नयनराज पान्डे थिए भने कवि राजु झल्लु प्रसादले पुस्तकमाथि समीक्षात्मक टिप्पणी गरेका थिए । झल्लु प्रसादले जियराले मधेसको आवाज बोलेको मात्रै नभई मधेश भएर प्रश्न पनि गरेको पनि बताए । 



“काठमाडौंमा महल बनाएर मधेशको नाममा राजनीति गरिरहेकाहरूसँग मधेशको समस्यालाई कसरी सम्बोधन गर्ने भन्ने खाका छैन तर नयन दाइसँग त्यो खाका देखिन्छ । जियराका हरेक पात्र यथास्थितिबाट उठेका छन् । यो त सुन्दर कुरा हो नि,” झल्लु प्रसादले भने, “यहाँ दमन, दलन र विभेद मात्रै देखाइएको छैन, त्यसबाट निस्किभाग्ने उपाय र निस्किएको दृश्यहरू पनि देखाइएको छ ।” 

उलारको प्रेमललुवा जियरामा आइपुग्दा चन्द्रलाल भएर सिंहदरबार छिरेको उल्लेख गर्दै उनले भने “सिंहदरबारभित्र छिरेपश्चात गलत्याइएका चन्द्रलालहरू चुपो लागेर बसेका छैनन्, कट्टा बनाइरहेका छन् । जेल पर्छन् तर जेलबाट इतिहास पुनःलेखनको माग गर्छन् । दोस्रो दर्जाका रूपमा हेपिएर, पिल्सिएर अनागरिक भएर बाँच्न विवश चन्द्रलालहरू, हक्का पहलमानहरू, शिवरामहरूमा देखिएको आक्रोशलाई क्रान्तिको घटकको रुपमा हेरिनुपर्दछ । मधेसको कथा यसरी भनिनु आवश्यक थियो ।”



झल्लु प्रसादको टिप्पणी एवं पाण्डेको  स्पष्टिकरण सुन्न पुराना पुस्ताका दर्जन र नयाँ पुस्ताका झण्डै दुई दर्जन पाठक भेला भएका थिए । शनतकुमार वस्ती, आश्विनी कोइराला, रुपेश श्रेष्ठ, हाइवे सन्जित भारती, मोहित जोशी, पूर्णिमा गिरि, दीक्षा पोख्रेल, विजय लुइँटेल, आयुष घिमिरे, गणेश गिरि लगायत व्यक्तिहरूको उपस्थिति रहेको थियो ।



अध्येता शनतकुमार वस्ती, संस्थापक सगुना शाह, अरुण शर्मा, मोहीत जोशी लगायतले पुस्तकमाथि टिप्पणी गर्दै केही प्रश्नहरु सोधेका थिए । कार्यक्रमपछि लेखक र समीक्षकलाई बुकाहोलिक्सका तर्फबाट पुस्तकहरु उपहार दिइएको थियो । कार्यक्रमको प्रायोजक रिडर्स हब कफी सपले गरेको थियो ।



चकटी बहस’ लेखक, पाठक, प्रकाशक आदिको जमघट हुने थलो हो । पठन संस्कृतिको प्रवद्र्धन गर्दै नयाँ पुराना पुस्ताका लेखक पाठकबीच अन्तरक्रिया गर्न सघाउने उद्देश्यले यस कार्यक्रम सुरु भएको बुकाहोलिक्सकी संस्थापक सगुना शाह बताउछिन् । “यस्ता कार्यक्रममा उपस्थित मात्रै हुँदा आफूले नपढे पनि पुस्तकका विभिन्न पाटाबारे फरक दृस्टीकोण निर्माण हुने भएकाले अध्ययनको दायरा पनि बढ्दछ,” शाह भन्छिन् ।




Leave a Reply