राजु झल्लु प्रसाद
‘सबै कुरा ठिकठाक चलिरहेको छ,
र, यो कुनै शंकास्पद कुरा होइन!’
यही ‘ठिकठाक’ हुनुको एउटा लय छ केटि, जो तिमीसँग हुँदा मात्रै सुनिन्छ।..सुनिरहेको छु।
म अचेल आफूभित्र एउटा ‘जागिरहेको’ महसुस गर्दैछु, मानौँ, म वर्षौँदेखि आफ्नै अस्तित्वको गहिरो निद्रामा थिएँ र तिम्रो उपस्थितिले मेरो निधारमा बिस्तारै सुम्सुम्याइदियो। अब यो महसुस मलाई भएको भयै छ।..भइरहेछ।
हेर न, तिमीसँग हुँदा समय कुनै हतारोमा छैन; ऊ त आफैँ मनेर सुस्ताउन आएजसरी पलेटी मारेर ढसमस्सै बस्दिएको छ। अचम्म छ, तिमीसँग रहँदा न समयले ‘घुँडा दुख्यो, अब हिँडौँ’ भन्छ, न मैले आलस्यको एउटै हाइ ओकलेको छु। न ऊ कुनै नतिजाको खोजीमा दौडिन्छ, न म कुनै गन्तव्यको हतारोमा छु। बस, तिम्रो छेउमै बसिबस्छु, अनि त्यतिमै यो ब्रह्माण्डको सारा आवश्यकता पूरा भएजस्तो लागिरहेछ। अनि, समय पनि सायद हामी दुवैलाई यसरी ‘भइबसेको’ देखेर दङ्ग छ, मानौँ, हामीले यो दौडिरहेको दुनियाँमा एउटा सानो, स्थिर र सुन्दर ‘टापु’ फेला पारेका छौँ।
कस्तो कायदाको कुरा छ नि है केटि !
***
तिमीसँग हुँदा ‘अहिले’ नै सधैं हुन्छ। न भूत छ, न भविष्य। त्यो ‘अहिले’ नै अनन्तता हो जस्तो लागिरहेछ। घडीले समय नाप्छ, तर तिम्रो सास र मेरो सासको बीचको यो लय कुनै घडीले नाप्दैन कि क्या हो नि ?
अँ केटि, तिमी ‘मेरी’ भन्न मिल्ने गरी चुपचाप मेरो मनमा घर बनाउँदैछौ। सायद बनाइसकेकी छौ।
अनि फेरि, तिमी ‘मेरी’ हुनु स्वामित्व जस्तो होइन है, भरोसा जस्तै पो लाग्छ त।
कस्तो आफ्नोपन पाउँछु, तिमीसँग हुँदाको आफूमा। अनि तिम्रोमा पनि कहिल्यै पराइपन देख्दिनँ।
यसो भनूँ, म आफूमा तिम्रो ‘असर’ देख्छु। र, तिम्रो उपस्थिति असरदार छ, केटी। संसार ‘प्रभावशाली’ मात्रै बन्न खोजिरहेको यस घडीमा, ‘असरदार’ तिमी भेट्नु गजबको कुरा हो। संसार प्रभाव जमाउन आतुर छ, हरेक कुराको ‘अर्थ, भ्यालु, क्लु, रिजन वा चम्किलो’ देखिन खोजिरहेको छ। त्यही भीडमा बस् असरदार भएर शान्तसँग उभिनु, यो तिम्रो तरिका रहेछ। अनि तिम्रो यो तरिकाको म दिवाना हुँदैछु।
तिमीसँग हुँदा ‘म पूर्ण भएँ’ भन्ने मेरो दाबी होइन, तर अपूरो छु भन्ने महसुस त्याग्न खोज्दैछु।
तिमीले मेरो जीवन ठ्याक्कै उल्टाएकी छैनौ, अलि सन्तुलित बनाइदिएकी छौ।
अनि यो परिवर्तन चर्को छैन, तर गहिरो छ। महसुस गरिरहेको छु केटि।

म तिमीलाई अब आवश्यकताका शब्दमा होइन, आदतका वाक्यमा सम्झिरहेछु।
र, मलाई लाग्छ, तिमीले यो महसुस बुझेकी छौं।
सत्य के हो भने, तिमीसँग हुँदा म भयंकर खुसी भएको पनि होइन, म त ठिकठाक अवस्थामा मात्रै छु। अनि यो ठेलमठेल दुनियाँमा ठिकठाक हुनु पनि त एक किसिमको सुखबोध हो नि। म त्यही सुखबोधमा गुज्रिरहेछु यतिखेर।
तिमीसँग हुँदा सबै कुरा अर्थपूर्ण हुन्छ भनेर म उडन्ते भइदिन्नँ, तर हरेक कुराको अर्थ खोज्ने जुन हतारो मसँग थियो, त्यो सामसुम हुँदै छ।
आफैलाई परिभाषित गर्नुपर्ने वा कथित परिभाषाहरूबाट मुक्त रहनुपर्ने यावत झन्झटमा म मुक्त हुँदैछु। म कस्तो मान्छे हुँ, के बन्नुपर्छ, के गर्दैछु, किन गर्दैछु जस्ता लम्बेतान प्रश्नहरूले ‘सुसाइडको बाटो’ रोजिसकेका छन्, जुन साह्रो कायदाको कुरा हो। दामी बात हो। जो हुँ, जस्तो हुँ, त्यति हुँदा भयो मलाई। कहिलेकाहीँ के हुन्छ भने, म आफैं ‘आफूलाई’ देखेर अचम्मित भइरहेको हुन्छु। अनि यो महसुस साह्रो कायदाको पनि छ।
सबै कुरा निश्चित हुनैपर्छ भन्ने जिद्दी घटेको छ। अनिश्चितसँग पनि बस्न सकिन्छ भन्ने एकप्रकारको धैर्यले मुटुमा बास गरेको छ।
र, म यो पनि सोचिबसेको छु कि, हामीले यो ‘हुनु’लाई पनि कति धेरै भारी बनाइदिएका छौँ। मान्छेले हुनुलाई सधैँ ‘केही बन्नु’ सँग जोडेर हेर्यो। कसैको श्रीमान् हुनु, कसैको प्रेमी हुनु, सफल हुनु, चम्किलो हुनु, यो ‘हुनु’को पछाडि सधैँ एउटा विशेषण झुण्ड्याइएको हुन्छ। तर तिमीसँग हुँदा मैले पहिलो पटक ‘विशेषण विहीन हुनु’को स्वाद पाइरहेको छु। केही नभएर पनि ‘छौँ’ मात्रै महसुस गन्रुको आनन्द कति गहिरो हुँदो रहेछ, म त्यो महसुस गर्दैछु। यो ‘हुनु’ नै हाम्रो सबैभन्दा ठूलो विलासिता हो केटि।

***
अनि, म तिमीलाई सधैं ‘विशेष’ बनाइराख्न खोजिरहेको छैन, अनि तिमीले पनि मलाई केन्द्र बनाइराख्न खोजेकी छैनौ । सायद यही सामान्यपन हाम्रो सम्बन्धको सबैभन्दा असामान्य कुरा हो। अनि यो मलाई हाम्रो सम्बन्धको साह्रो सुन्दर पक्ष लागिरहेको छ।
सायद प्रेम एकअर्कालाई बदल्ने प्रक्रिया होइन, एकअर्काको उपस्थितिमा आफ्नै स्वरूप स्वीकार गर्न सक्ने साहस हो। अनि यसमानेमा हामी साहसी हुँदैछौं कि?
कहिलेकाहीँ लाग्छ, यो संसारमा सबैजना कसै न कसैलाई ‘सच्याउन’ वा ‘सुधार्न’ लागिपरेका छन्। तर तिमीले मलाई मेरो सबै ‘मेस’ र कमजोरीसहित यसरी स्वीकार गर्यौ कि मलाई अब ‘राम्रो’ देखिनु पर्ने कुनै हतारो नै रहेन। म तिमीसँग हुँदा ‘बेस्ट भर्सन’ हुन खोज्दिनँ, म त बस ‘रियल भर्सन’ हुन्छु। र, सम्भवत: तिमी पनि सोही महसुस गर्दैछौ।
अझ भनूँ, संसारले हरेक कुराको एउटा ‘नतिजा’ खोज्छ, हरेक सम्बन्धको एउटा ‘गन्तव्य’ माग्छ। तर मलाई तिमीसँग कतै पुग्नु छैन। सधैजसो कतै पुग्ने हतारोमा बाटोका फूलहरूलाई समेत वास्ता नगर्ने मान्छे म, अहिले भने तिम्रो साथमा त्यही बाटोमा अलमलिन थालेको छु।.. अनि अल्मल्याइरहेछु तिमीलाई पनि। अनि यो अल्मल्याई मलाई निको लागिरहेको छ।
***
केहि दार्शनिकहरू भन्छन्, प्रेम एउटा ‘उत्तर’ हो। तर म भन्छु केटि.., तिमीसँग हुँदा मलाई प्रश्नहरूसँग पनि प्रेम हुन थालेको छ। तिमी मेरो कुनै ‘समाधान’ होइनौ, बरु तिमी त त्यो सुन्दर ‘अलमल’ हौ, जसमा हराउनुको आफ्नै आनन्द छ। मलाई कतै पुग्नु छैन, मलाई त बस यो अलमललाई अझै केही बेर लम्ब्याउनु छ।
तिमीलाई पनि थाहा छ, हामी बीचको यो सम्बन्ध कुनै कथाको ‘क्लाइमेक्स’ जस्तो भव्य पनि छैन, एउटा कविताको ‘लय’ जस्तै सुमधुर र शान्त छ। न मलाई तिमीलाई बदल्नु छ, न तिमीलाई मलाई। हामी त बस, एकअर्काको अस्तित्वलाई अलि बढी उज्यालो बनाइदिने दुईजना साधारण मान्छे हौं। अनि यो साधारण हुनु नै मेरो लागि असाधारण खुसी हो।
अहिले म सुस्तरी सोचिरहेछु, हामी कुनै ठूलो कुराको प्रतीक्षामा छैनौं। न कुनै भव्य उत्सव, न कुनै अचम्मको मोड। हामी त बस, सँगै बसेर चिया पिउँदै गर्दाको त्यो सानो र सामान्य पलमा पनि ‘यो मान्छेद्वारा प्रताडित पृथ्वीमा’ एकअर्कालाई छोएर, एकअर्कालाई हेरेर बाँच्न सक्ने भएका छौं।
केटि, मलाई तिम्रो सबै कुरा मन पर्छ भन्ने पनि त होइन। तिम्रा कतिपय कुराले मलाई झर्को पनि लाग्छ, तर त्यो झर्कोभित्र पनि एउटा अधिकार छ- ‘मलाई तिमीसँग झर्को मान्न पाउनुको अधिकार।’ सायद यही साना-साना ‘झर्को’हरू नै प्रेमलाई मान्छेको जस्तो बनाउँछन्, देवताको जस्तो होइन। (देवताको प्रेमकथाहरूमा टन्नै ‘झर्कोफर्को’ झन् धेरै छन्, त्यो बेग्लै कुरा।)
***
कहिलेकाहीँ लाग्छ, हामी एउटा सपनाभित्रको सपना हौं। …तर तिम्रो हातको स्पर्शले यो सपनालाई सत्य बनाइदिन्छ।
कहिलेकाहीँ लाग्छ, तिम्रो हाँसो बिहानको पहिलो चराको चहचहाइ जस्तै छ…। अपेक्षित पनि र अप्रत्याशित पनि।
कहिलेकाहीँ लाग्छ, म नदी हुँ, तिमी किनारा। तिमीबिना म बाढी हुन्छु, तिमीसँग म संगीत हुन्छु।… र, मलाई नदीको संगीत खुब मनपर्छ। म बुढीगण्डकीले सुसेली सुनेर हुर्किएको मान्छे पनि हूँ।
कहिलेकाहीँ मलाई लाग्छ, हामी एकअर्काका लागि ‘अपरिहार्य’ होइनौं। तिमी बिना पनि मेरो संसार चल्छ, र म बिना तिम्रो पनि। तर चल्नु र ‘सुन्दर हुनु’मा फरक छ। तिमी बिनाको मेरो जीवन एउटा ‘ब्ल्याक एन्ड ह्वाइट’ डकुमेन्ट्री जस्तो मात्र हुन्थ्यो होला, तिमीले त्यसमा केही रङ्ग होइन, बरु एउटा ‘साउन्डट्र्याक’ थपिदियौ। हामी एकअर्काको ‘जरुरत’ नभएर ‘रोजाइ’ हुनु नै हाम्रो सम्बन्धको सबैभन्दा असजिलो तर सुन्दर सत्य हो।
मलाई यी यावत कुराहरू पनि भन्नुछ, तर यसमा ‘रोमान्टिक कविहरूको’ प्रभाव देख्लिऊ कि भन्ने डर पनि छ। यद्यपि त्यसो चाहिँ होइन केटि। अँ, मलाई भन्न मन लागेको के हो भने, तिम्रो कपालको गन्धमा पुरानो पुस्तकालय र नयाँ वर्षाको मिश्रण भेट्छु। मलाई मनपर्ने गन्ध भेट्छु भन्न आँटेको नि!

***
धेरैले भन्छन्, ‘प्रेममा दुईवटा आत्मा एउटै हुनुपर्छ।’ मलाई भने यो कुरा अलि डरलाग्दो लाग्छ। मलाई तिमीभित्र हराउनु छैन र तिमीलाई मभित्र विलीन गर्नु पनि छैन। बरु मलाई त तिम्रो अस्तित्वको छेउमा मेरो अस्तित्व सुरक्षित छ भन्ने महसुस गर्नु छ, जुन मलाई भइरहेको छ, जुन मैले सुरुमै भनि पनि सकें। केटि, हामी दुईवटा अलग र पूर्ण ‘संसार’ हौं, जो सँगै ठोकिँदा कुनै विनाश हुँदैन, बरु एउटा नयाँ प्रकाश पैदा हुन्छ। तिमीले मलाई म हुनुको स्वतन्त्रता दियौ, र मैले तिमीलाई तिमी हुनुको, सायद यो नै हाम्रो सम्बन्धको सबैभन्दा ठूलो क्रान्ति हो।
मलाई अलिकता यसबारे कुरा गर्न मन लाग्यो, ग्रीक मिथकले भन्छ, “मान्छेहरू सुरुमा पूर्ण थिए, पछि छुट्याइए र अहिले आफ्नो ‘अर्को आधा’ भाग खोज्दै भौंतारिइरहेछन्।” तर मलाई लाग्छ केटि, हामी एकअर्काका ‘आधा भाग’ होइनौं। हामी त दुईवटा पूर्ण मान्छे हौं, जो एउटै बाटोमा हिँड्ने निर्णयमा आइपुगेका छौं। म तिमीलाई भेटेर ‘पूर्ण’ भएको होइन, बरु तिमीसँग हुँदा ‘अपूर्ण हुनुको पीडा’ बाट मुक्त भएको हुँ। हामी कुनै हराएको टुक्रा जोडिएका होइनौं, बरु दुईवटा स्वतन्त्र ग्रह हौं जो एउटै कक्षमा रमाइरहेका छौं।
इरानका सुफीहरू पनि भन्छन्, ‘प्रेम त्यो हो, जहाँ तिमी र म भन्ने दुरी नै समाप्त हुन्छ।’ तर मलाई हाम्रो बीच रहिरहेको ‘दुरी’ पनि प्रिय लागिरहेछ। मलाई तिमीमा बिलाउनु छैन। मलाई त तिम्रो अगाडि ‘म’ नै भएर बस्नु छ। रुमीले ‘म’ र ‘तिमी’ भन्दा परको एउटा मैदानको कुरा गरेका थिए, सायद हामी अहिले त्यही मैदानमा पलेटी मारेर चिया पिउँदैछौं, जहाँ कुनै सही वा गलतको बहस छैन। बस, एउटा ‘असरदार’ उपस्थिति छ।
बुद्धले भनेको ‘अनित्य’को डर मलाई अचेल लाग्न छाडेको छ केटि। ‘सबै कुरा सकिन्छ, सबै कुरा बदलिन्छ’ भन्ने थाहा हुँदाहुँदै पनि यो घडीमा तिम्रो छेउमा ‘ठिकठाक’ हुनु नै मेरो लागि निर्वाण जस्तै भइदियो। अनि मलाई लाग्छ पनि, हामी कुनै ठूलो बोधिसत्व बन्ने दौडमा छैनौं, हामी त बस यो ‘क्षण’लाई नपक्रिकन बग्न दिइरहने मुडमा छौं। अनिश्चितसँग बस्न सक्ने जुन धैर्यको कुरा मैले गरें, त्यो सायद बुद्धले सिकाएको त्यही शून्यता हो, जहाँ केही नहुँदा पनि सबै कुरा भएजस्तो लाग्छ।
अनि मलाई यस्तो पनि लाग्छ के, हिन्दू धर्मले जुन शिव र शक्तिको मिलनलाई सृष्टिको आधार मान्दछ, जसबारे हामीले कुरा पनि गरिसकेका छौं। तर मलाई के लाग्छ भने, हाम्रो सम्बन्धमा कुनै ठूलो ‘सृष्टि’ गर्नु छैन, न त कुनै ताण्डव नै गर्नुछ। मलाई त शिवको त्यो ‘मौनता’ र शक्तिको त्यो ‘सहजता’ मात्र चाहिएको हो। उसै पनि, हामी कुनै ब्रह्माण्डीय नाटकका पात्र होइनौं, हामी त बस घाम तापेर बसिरहेका दुई साधारण प्राणी हौं, जसलाई यो ब्रह्माण्डको रहस्य सुल्झाउने कुनै हतारो छैन।
वा भनौँ, माघको ठिहीमा, एकअर्काको अँगालोमा एकअर्कालाई बेहरेर, पशुपति आर्यघाटमा नदीको एक छेउ गङ्गा आरति र अर्कोछेउ बलिरहेको चिता नियालिरहेका प्राणी हौं। चिताको आगो र दियोको बत्ती, दुवैले उज्यालो दिन्छन्, दुवै अन्तत: निभ्छन्। तर बलिरहँदा दुवै सुन्दर छन्। सम्भवत: हामी त्यहिँ हौँ। दियो र चिता, दुवै उज्यालो छौं र दुवै बलिरहेका छौं। दुवै एकसाथ, समान्तर। निभ्ने कुरा, भविष्यको कुरा भो..मलाई त्यो गर्नुछैन यतिखेर। किनभने, हिजो सम्झना हो, भोलि कल्पना। तर तिमीसँगको यो ‘अहिले’ नै एकमात्र सत्य हो। र, मलाई यहि सत्य मात्रै गर्नुछ। र, मलाई यतिखेर यस्तो पनि लागिरहेको छ, म तिमीलाई सम्झन्नँ, किनकि तिमी कहिल्यै बित्दैनौ। तिमी सधैं वर्तमानमा छ्यौ यार केटि..।

***
अघिदेखि म कुन्नि केके भनिरहेछु तर, मैले भन्न खोजेको कुरा के हो भने, माया सभ्यताका मान्छेहरू समयलाई चक्रमा हेर्थे। तिमीसँग हुँदा मलाई पनि लाग्छ, समय सिधा रेखामा हिँड्दैन। हामी कतै पुग्नका लागि दौडिरहेका छैनौं, हामी त एउटै सुन्दर लयमा घुमिरहेका छौं। जहाँबाट सुरु गरेका थियौं, त्यहीँ आइपुग्दा पनि नयाँपन महसुस हुनु नै तिम्रो ‘असर’ हो। तिमीसँगको समय ‘खर्च’ हुँदैन, त्यो त केवल ‘दोहोरिन्छ’। एउटा मिठो धुन जस्तैगरि।
मैले केही अफगानका कविताहरूको अनुवाद पढेको थिएँ (ती अफगानी नभएर इरानी हुन् पनि सक्छन्), ति कविताहरूका अनुसार, ‘प्रेम त्यो हो जसले तिम्रो घरको ढोका नखोलिकनै भित्र उज्यालो भरिदिन्छ।’ तिमीले पनि मेरो जिन्दगीका पुराना ढोकाहरूलाई जबरजस्ती उप्काएनौ, बस झ्यालबाट बिहानीपखको छिर्ने घामजस्तै चुपचाप मेरो कोठाबाट छिरिदियौ र मलाई न्यानो बनाइदियौ।

अँ केटि, म अहिले ठ्याक्कै त्यही दृश्य सम्झिरहेछु, हामी पशुपतिको त्यो भिडमा छौं, जहाँ प्लास्टिक खाइरहेका साँढेहरूलाई कुनै ‘मोक्ष’को हतारो छैन र पानीको बोतलबाट मान्छे जस्तै पानी पिइरहेका बाँदरहरूलाई कुनै ‘सभ्यता’को चिन्ता छैन। हामीले पशुपति जङ्गलको एउटा कुनामा बसेर बदाम छोडाउँदै गर्दा, त्यो बाँदरले कसैको हातबाट खाजा खोसेर लादै गर्दा अनि पछि हामीले नै खाइरहेको बदामको थैलो खोस्दा पनि हामी हाँस्यौं मात्रै। सायद हामीले बुझिसकेका छौं, यहाँ सबैजना आफ्नै अस्तित्वको लडाइँमा छन्। कति ‘क्योस’ छ त्यहाँ, तर त्यो भद्रगोलको बीचमा पनि म तिम्रो छेउमा उभिएर एउटा शान्त ‘पज’ महसुस गर्छु। म अघिदेखि यही ‘पज’को कुरा मात्रै गरिरहेको छु।
***
मलाई पशुपति जङ्गलको त्यो अग्लो रुखमा एक्लै बसिरहेको त्यो हुइचिल (वा चिल, जो भए पनि) जस्तै हुनु छैन (सायद म त्यस्तै हुँदै थिएँ), जो उचाइमा त छ, तर एक्लै छ। म त बरु तिमीसँगै यो आर्यघाटको पेटीमा बसेर नदीको एउटा छेउमा गङ्गा आरतीको झिलिमिली र अर्को छेउमा बलिरहेको चिता नियाल्न तयार छु। एकातिर खरानी उडिरहेछ, अर्कोतिर मन्त्र गुञ्जिरहेछ। मान्छेहरू भन्छन् यो ‘वैराग्य’ हो, तर मलाई लाग्छ यो नै ‘सत्य’ मात्रै हो। सत्य ठ्याक्कै यही हो। बागमती वल्लो र पल्लो दुवै किनारमा समानान्तर रूपमा जीवन र मृत्युका चिजबिजहरू छन्। अनि यसैले त मलाई लागेको नि, जीवन र मृत्युको यो दोसाँधमा, चिसो ढुङ्गामा बसेर चियाको एउटा कप साटासाटसम्म नगरिकन आ-आफ्नो कप चिया पिउनु नै त सबैभन्दा सुन्दर कुरो छ। किन पनि भने हामी, त्यही ‘चाउमिन’ जस्तो साधारण छौं, जसमा कुनै स्वास्थ्यको ग्यारेन्टी छैन तर स्वादको एउटा इमानदार सम्झना छ।
अनि फेरि अहिले म, पचास वर्षपछि पनि यसरी नै चिया पिउँदै बस्ने हो कि भन्ने पनि सोच्दिनँ, तर आजको यो चियामा त्यो सम्भावनाको मिठास चाहिँ छ है!
***
मलाई डर लाग्दैन भन्यो भने त्यो झुट हुनेछ। डर लाग्छ केटि, यो ‘ठिकठाक’ अवस्था भोलि नहोला कि भन्ने। तर त्यो डरले मलाई कमजोर बनाउँदैन, बरु अझ बढी सचेत बनाउँछ। हामी पचास वर्षपछिको सपना त देख्दैनौँ, तर भोलि बिहान तिम्रो ‘असरदार’ उपस्थितिको एउटा झल्को फेरि देख्न पाइयोस् भन्ने एउटा सानो धोको चाहिँ मनको कुनातिर कतै सुरक्षित छ।… जलवायु परिवर्तनले संसारै पग्लिए पनि, हाम्रो यो सानो र साधारण ‘हामी’ को टापु चाहिँ नडुबोस् भन्ने लाग्छ नि यार..।
बदाम छोडाउँदै गर्दा बाहिरको बोक्रा फालिन्छ र भित्रको दाना खाइन्छ, हाम्रो सम्बन्ध पनि त्यस्तै भइसक्यो। हामीले बाहिरका ती यावत सामाजिक परिभाषा र आडम्बरका बोक्राहरू फाल्दै गयौं, र अब हामीसँग जे बाँकी छ, त्यो एउटा सानो, ठोस र मीठो ‘तथ्य’ मात्रै हो। मलाई त यस्तै लाग्छ यार केटि!
मलाई सम्झना छ, त्यो दिनहरूमा, पशुपतिमा हावामा दुईवटा बास्ना मिसिएका थिए, एउटा मन्दिरको धूप र अर्को आर्यघाटको धुवाँ। अनौठो कुरा, मलाई ती दुवैबाट कुनै उकुसमुकुस भएन। मान्छेहरू मन्दिरमा ‘वरदान’ माग्छन्, हामीले त बस त्यही धुवाँको बीचमा एकअर्काको सासलाई महसुस गर्यौं। मेरो हातमा भएको चियाको कप तातो थियो, तर तिम्रो हातको स्पर्श त्योभन्दा बढी न्यानोपन थियो। यसैले त भनेको, म मज्जाको न्यानोमा थिएँ।
***
अनि, यो सम्बन्धमा कुनै ‘ग्यारेन्टी’ छैन, अनि मलाई त्यो ग्यारेन्टी चाहिएको पनि छैन। भोलि के हुन्छ भन्ने डरभन्दा पनि आज हामी यसरी ‘हामी’ भएर उभिएका छौं भन्ने तथ्य नै मेरो लागि पर्याप्त छ। हामी कुनै कारणले अस्तित्वमा छैनौं, हामी त बस छौं। यो ‘छौं’ भन्ने तथ्य नै पर्याप्त हो।
हामी एकअर्काको लागि ‘हुनैपर्ने’ मान्छे होइनौं, तर हामी एकअर्काको लागि ‘भइरहेका’ मान्छे हौं। अनि यो ‘हुनु’को निरन्तरता नै मेरो लागि सबैभन्दा ठूलो विलासिता हो। अनि म यो पनि सोचिरहेको छु कि, पहाडहरू एक्लै उभिन्छन्, तर तिनीहरूको जरा जमिनमुनि एकै छ। हामी पनि त्यस्तै हौं।
म अचेल हामी बीचको ‘भोलि’को चिन्ता गर्दिनँ र ‘हिजो’को हिसाब पनि राख्दिनँ। मान्छेहरू प्रेमलाई एउटा ‘लगानी’ सम्झिन्छन्, जहाँ भोलि केही फिर्ता पाइने आशा हुन्छ। तर मलाई तिमीसँगको यो यात्रामा कुनै ‘रिटर्न’ चाहिएको छैन। तिमीसँग बिताएको यो वर्तमान नै मेरो लागि ‘प्रिन्सिपल’ र ‘इन्ट्रेस्ट’ दुवै हो। हामी कतिन्जेल सँगै हुन्छौं? यो प्रश्नको उत्तर मलाई थाहा छैन, र मलाई त्यो थाहा नहुनुमै एक किसिमको रमाइलो लागिरहेछ।
**
अनि, हामी कुनै महान् काम गरिरहेका पनि छैनौं केटि। हामी त बस यो प्रताडित पृथ्वीमा, एकअर्कालाई अँगालोमा बेरेर ‘हुनु’को आनन्द उठाइरहेका छौं। यो साधारणपन नै हाम्रो विद्रोह हो, र यो अलमल नै हाम्रो सबैभन्दा स्पष्ट बाटो हो।
मैले भन्न खोजेको कुरा यत्ति हो, ‘तिमीसँग हुँदा, म म हुन पाउँछु। अनि यो नै सायद सबैभन्दा दामी कुरा हो केटि।’ तिमीले मलाई फेला पारेकी होइन्, मलाई म भएको याद दिलाएकी हौँ। यसका लागि तिमिलाई साधुवाद भन्न मन लागेको हो केटि। सायद मैले भन्न सकें कि?
साधुवाद केटि! अब फेरि एउटा बदाम छोडाऔँ र यो धुवाँको मुस्लोमा हराउँदै गरेको पशुपतिलाई एकछिन चुपचाप हेरौँ।

